साइकलमा रकट बोकेर शुरू भएको चन्द्रमा यात्रा
चन्द्रयान-३ को सफलताले भविष्यमा भारतलाई आफ्नै क्षमताको भरमा सबैखाले चन्द्र अभियानहरू सञ्चालन गर्न सक्ने बनाएको छ। यसले चन्द्रमामा मानिसको उपस्थिति गराउने भारतको आकांक्षा पूरा गर्ने सम्भावना सिर्जना गरेको छ।
२०८० भदौ ६ (२३ अगस्ट २०२३) भारत र सिङ्गो अन्तरिक्ष अन्वेषणका लागि ऐतिहासिक महत्त्वको दिन बन्न पुग्यो। ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन’ (आईएसआरओ)ले पठाएको चन्द्रयान-३ चन्द्रमामा नेपाली समय अनुसार बेलुका ६:१९ मा सफलतापूर्वक अवतरण गरेसँगै भारत चन्द्रमा पुग्ने चौथो देश बन्यो।
यसअघि संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीन चन्द्रमामा पुगिसकेका छन्। चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भने चन्द्रयान-३ नै पहिलो बन्यो।
पानी, हिउँ र महत्त्वपूर्ण खनिजहरू भएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ पुग्नु चन्द्रमाको अन्वेषण इतिहासमै पानीढलो हो। यो सफलताको प्रभाव महत्त्वपूर्ण छ र यस परीक्षणबाट प्राप्त तथ्याङ्क र विवरणले भविष्यका चन्द्रमा पुग्ने अभियानहरूलाई योगदान त गर्नेछन् नै, विश्वव्यापी ध्यानाकर्षण गर्न पनि सफल हुनेछन्।
यहाँनेर सन् २००८ मा भारतले पठाएको चन्द्रयान-१ को उल्लेख गर्नु पनि महत्त्वपूर्ण छ। भारतले पृथ्वी बाहिर पठाएको त्यो पहिलो यानको उद्देश्य चन्द्रमाको सतहमा पानी छ/छैन खोज्नु नै थियो। त्यो सफलताले अमेरिका र चीनको अन्तरिक्ष परियोजनाहरूलाई पनि प्रभाव पारेको थियो।
अमेरिकाको आर्टमिस-३ पनि चन्द्रमाको दक्षिणी ध्रुवमा पठाउने योजना छ। यस क्षेत्रमा भएका काला खाल्डाहरूमा पानी हुन सक्ने र त्यसलाई विभिन्न कामका लागि प्रयोग गर्न सकिने अनुमान वैज्ञानिकले लामो समयदेखि गरिआएका छन्।
चन्द्रयान-१ को खोजेले अनुमानलाई सघाएको थियो।
अथक समर्पण
चन्द्रयान-३ को सफलतासम्म भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) यत्तिकै पुगेको होइन। साइकल र गोरुगाडामा रकेटका विभिन्न हिस्सा बोकेको क्षणदेखि चन्द्रयान-३ सम्म आइपुग्दासम्मको आईएसआरओको विकासको कथा कुनै फिल्मभन्दा कम छैन।
चन्द्रयान-३ पृथ्वीबाट पठाइँदै गर्दा १४ जुलाई २०२३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका थिए- ‘चन्द्रयान-३ ले भारतको अन्तरिक्ष यात्रामा नयाँ अध्याय रचेको छ...यसले हरेक भारतीयको सपना र आकांक्षालाई उँचो बनाएको छ। यो महत्त्वपूर्ण उपलब्धि हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको उदाहरण हो।’
उनी एकदमै सही थिए।
आईएसआरओको इतिहास लचकता, नवप्रर्वतन र सहकार्यको इतिहास हो। सन् १९६९ मा स्थापित यस संस्थाले सन् १९८८ देखि सुदृढ खालको रिमोट सेन्सिङ प्रोग्राम (भू-उपग्रहबाट निश्चित क्षेत्रफलको विस्तृत तस्वीर खिच्ने कार्यक्रम) सञ्चालन गरिरहेको छ, जसले विभिन्न उपकरण मार्फत पृथ्वीको अवलोकनका लागि आवश्यक पर्ने आकाशीय र भूसतही तस्वीरहरू उपलब्ध गराइरहेछ।
धेरैलाई थाहा नहुन सक्छ, सन् १९९९ मा अमेरिकाबाट ‘डिजिटल ग्लोब्स आइकोनोस भू-उपग्रह’ प्रक्षेपण नगर्दासम्म सबैभन्दा उच्च रिजोलुसन भएको क्यामेरा यही संस्थाको थियो।
अहिलेसम्म आईएसआरओले १२४ वटा अन्तरिक्षयान प्रक्षेपण गरिसकेको छ। तीमध्ये तीन वटा चन्द्रमामा र एउटा मंगल ग्रहमा पठाइएका थिए। त्यस्तै, अन्य देशबाट गरिएका ४२४ वटा भू-उपग्रहको प्रक्षेपणमा पनि आईएसआरओले सघाएको छ। यस संस्थाको रकेट ‘पोलार स्याटेलाइट लन्च भेइकल’ (पीएसएलभी) भू-उपग्रहको प्रक्षेपणका लागि पहिलो रोजाइ हुने गरेको थियो।
आईएसआरओले सन् २०१७ मा एउटै रकेटबाट १०४ वटा स्याटेलाइट पठाएको थियो। सन् २०२१ मा ‘स्पेसएक्स ट्रान्सपोर्टर-१’ ले नउछिन्दासम्म यो नै विश्वकीर्तिमान थियो।
सन् २०१८ मा आईएसआरोले आफ्नै नेभिगेशन प्रणाली ‘नाभिक’ पूरा गर्यो जसले भारतलाई यस्तो क्षमता भएका शक्तिशाली देशहरू (अमेरिका, रूस, चीन, यूरोपियन युनियन, र केही हदसम्म जापान) सम्मिलित ‘एलिट क्लब’ मा प्रवेश गरायो।
विदेशी सरकारले नियन्त्रण गरेको वैश्विक नेभिगेशन स्याटेलाइट प्रणालीले अप्ठ्यारो अवस्थामा काम नगर्न सक्छ भन्ने बोधका कारण नाभिकको सिर्जना गरिएको थियो। सन् १९९९ मा त्यस्तो भएको पनि थियो जति वेला भारतले भारत-पाकिस्तान सिमानाको कार्गिल क्षेत्रको जीपीएस तथ्याङ्क माग्दा अमेरिकाले उपलब्ध गराउन अस्वीकार गरेको थियो।
चन्द्रयान अभियानहरूले संस्थाको यही इतिहासलाई निरन्तरता दिएका हुन्। चन्द्रयान-२ बोकेको ‘जीएसएलभी एमके-३’ को सफल प्रक्षेपणले आईएसआरओलाई गह्रौं सामग्री पनि पठाउन सक्ने बनायो। यही उपलब्धिमा टेकेर चन्द्रयान-३ मा अहिलेसम्मका सबै उपलब्धिलाई परिष्कार गरियो।
यो सफलताले भविष्यमा भारतलाई आफ्नै क्षमताको भरमा सबैखाले चन्द्र अभियानहरू सञ्चालन गर्न सक्ने बनाएको छ।
जहाँसम्म आर्थिक पाटो छ, त्यो त कहिल्यै पनि पर्याप्त थिएन। सन् २०२३-२४ का लागि आईएसआरोको वार्षिक बजेट एक खर्ब २५ अर्ब ४३ करोड ९० लाख भारु (एक अर्ब ५० करोड अमेरिकी डलर) छ।
अघिल्लो बजेटमा आठ प्रतिशतले कटौती गरेर यति पुर्याइएको हो, जसमध्ये चन्द्रयान-३ र यसपछि सूर्यको अध्ययनका लागि पठाइने आदित्य एल १ अभियान जस्ता अन्तरिक्ष विज्ञानमा हुने खर्चमा ३२ प्रतिशतले कटौती गरिएको छ।
जबकि सन् २०२३ मा नासाले २५ अर्ब ४० करोड अमेरिकी डलर बजेट पाएको छ, जुन सन् २०२२ को तुलनामा करीब ५.६ प्रतिशतले बढी हो।
सन् २०१३ मा मंगलयानको सफलतासँगै आईएसआरओको प्राविधिक क्षमताप्रति विश्वको ध्यानाकृष्ट भएको थियो। यो केवल कुनै एक देशको पहिलो सफल प्रयत्न थिएन बरु हलिउडले उक्त यान प्रक्षेपण हुनु केहीअघि लन्च गरेको विज्ञान आख्यानमा आधारित फिल्म ग्र्याभिटीको लागतभन्दा दुई करोड ६० लाख अमेरिकी डलरले कम सात करोड ४० लाख अमेरिकी डलर थियो। उक्त फिल्मको कुल लागत १० करोड अमेरिकी डलर थियो।
चन्द्रयान-३ अभियानको कुल खर्च पनि करीब सात करोड ५० लाख अमेरिकी डलर (नौ अर्ब ९२ करोड रुपैयाँ जति) हो।
चन्द्रयान अभियानको गाथा
चन्द्रयान-१ प्रक्षेपण गरेको नौ वर्षपछि जुलाई २०१९ मा चन्द्रयान-२ प्रक्षेपण गरिएको थियो, जुन असफल भयो। योजना गरिए जस्तै उक्त यान चन्द्रमाको कक्षमा पुगेको थियो। त्यसपछि ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने तयारी गरिएको थियो (रोभरले चन्द्रमाको सतहको रासायनिक विश्लेषण गर्छ भने ल्यान्डरले रोभरलाई बोकेर सतहसम्म पुर्याउँछ)। तर, तोकिएको पथमा नहिंड्दा ल्यान्डर दुर्घटना भयो।
चन्द्रयान-३ सबै हिसाबले चन्द्रयान-२ जस्तै हो। यसमा केवल चन्द्रयान-२ को सफ्टवेयरमा भएको त्रुटि फेला पारेर सुधार गरिएको थियो।
चन्द्रयान-३ को सफलताले चन्द्रमामा मानिसको उपस्थिति गराउने भारतको आकांक्षा पूरा गर्ने सम्भावना सिर्जना गरेको छ। आर्टेमिस सम्झौता अनुसार आईएसआरओले अवतरण गरेको क्षेत्रमा उत्खननको अधिकार दाबी गर्न सक्छ।
आईएसआरओले विभिन्न चुनौतीका बावजूद काम गर्न सक्ने भारतीय वैज्ञानिकको क्षमता पुष्टि गरेको छ। कर्मचारितन्त्रको झमेला, राजनीतिक जटिलताहरू र सीमित स्रोतका बावजूद आईएसआरओले आफ्नो क्षमता पुष्टि गरेको छ।
(क्यानडावासी लेखक एवं पत्रकार दत्तको विशेष रुचि दिगोपना र पृथ्वीमा छ। पहिला ‘जियोस्पाटियल वर्ल्ड’ मा कार्यरत दत्तले ‘सीबीसी’ लगायतमा आफ्ना लेख प्रकाशन गरिसकेकी छिन्। यो स्पेस न्यूजमा प्रकाशित लेखको सम्पादित अनुवाद हो।)