होमस्टे क्रान्ति
देशभर सात हजार घरधुरीमा चलेका होमस्टेले मासिक आम्दानीसँगै प्रकृति, वातावरण, संस्कृति संरक्षण र महिला सशक्तीकरण समेत गराउँदै छन्।
२०६७ सालमा कमैया मुक्तिको घोषणापछि बर्दियाका कृष्ण चौधरीको परिवारले सरकारबाट पाँच कट्टा जमीन पायो। त्यो चार दाजुभाइलाई भाग लगाउँदा वास बस्न र बस्तुभाउ बाँध्नै ठिक्क भयो। त्यसैले बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गावर गाउँका कृष्णले जीविका धान्न होमस्टे चलाउने योजना बनाए। आवश्यक तालीम लिए। “२०७० सालमा आफ्नै घरको दुई कोठाबाट होमस्टे शुरू गरें, तीन वर्ष एक्लै चलाएँ,” उनी भन्छन्, “गरे हुँदो रहेछ भन्ने बुझेपछि समुदाय नै लाग्यौं।”
होमस्टेकै आम्दानीले कृष्णले चार बिघा जमीन जोडिसके। दुई कोठाको होमस्टे अहिले चार वटा घरमा फैलिएको छ। समुदायका समेत गर्दा गावरमा अहिले २५ घर होमस्टे छन्। डेढ दशकदेखि होमस्टे प्रवर्द्धनमा खटिँदै आएका तिलक ढकाल भन्छन्, “गावर भ्याली होमस्टे वातावरण, प्रकृति, वन्यजन्तु र संस्कृति संरक्षणमा सामुदायिक प्रयासको उदाहरण पनि हो।”
सुविधासम्पन्न होटल-लज नरहेका ग्रामीण र दुर्गम क्षेत्रमा पर्यटकलाई खानेबस्ने सुविधा दिने प्रयोजनले होमस्टेको अवधारणा ल्याइएको हो। पर्यटनलाई ग्रामीण विकाससँग जोड्ने क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले कास्कीको गुरुङ गाउँमा पहिलो पटक सन् १९८० को दशकमा नमूना होमस्टे शुरू गरेको थियो। त्यसको झन्डै ३० वर्षपछि बल्ल सरकारले ‘होमस्टे सञ्चालन कार्यविधि, २०६७’ लागू गर्यो।
नेपालको पहिलो होमस्टे स्याङ्जाको सिरुबारी (आँधीखोला गाउँपालिका-१) ले गत फागुनमा रजत महोत्सव मनाएको छ। गुरुङ बस्तीका ४४ मध्ये २० घरमा सञ्चालित होमस्टेले अहिले एकैपटक ११० पर्यटकलाई सेवा दिन सक्छ। एक हजार ६१० मिटरको उचाइमा रहेको सिरुबारी होमस्टेले सन् २००१ मा प्यासिफिक एसिया ट्राभल एशोसिएशनले दिने पाटा अवार्ड र २०७४ सालको उत्कृष्ट होमस्टे प्रथम पुरस्कार पनि पायो। सिरुबारीपछि प्रेम घलेको अग्रसरतामा लमजुङको घलेगाउँमा होमस्टे शुरू भएको थियो।
गुरुङ समुदायको परम्परागत संस्कृतिको केन्द्र भुजुङ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण घान्द्रुक, नेवारी कला-संस्कृतिको थलो बन्दीपुर जस्ता थुप्रै होमस्टेले ग्रामीण पर्यटनलाई अघि बढाए। आज ६८ जिल्लामा एक हजार ५०० हाराहारी सामुदायिक होमस्टे सात हजार घरपरिवारको आर्थिक उपार्जनको माध्यम बनिरहेका छन्।
समुदायमा आधारित पर्यटनले स्थानीय स्तरमा रोजगारी वृद्धि गरी गरीबी निवारणमा सघाउनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बनाउने देखिएको छ। “अर्को सुखद पक्ष भनेको स्थानीय स्रोतसाधनको उच्चतम उपयोग हो,” ढकाल भन्छन्, “गाउँठाउँमै फलेको अन्नपातको खपत भयो। स्थानीय महिलामा नेतृत्वको सीप तथा आत्मविश्वास पनि बढायो।”
“होमस्टेले गाउँघरमै बस्दा पनि महिलाले पैसा कमाउन सक्छन् भन्ने सिकायो,” होमस्टे महासंघका पूर्व अध्यक्ष केशव बडाल भन्छन्, “होमस्टेले सामाजिक सद्भाव पनि राम्रो बनाएको छ।”
नेपाल होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दनिया पनि महिलामा नेतृत्व क्षमता बढ्नुलाई होमस्टेको उच्चतम योगदान मान्छन्। “पाहुनासँग बोल्दा उहाँहरूमा आत्मविश्वास बढ्दै गयो। होमस्टेको समितिमा बसेका मान्छे वडाका विभिन्न पदमा निर्वाचित भएका छन्,” उनी भन्छन्।
मर्दनियाका अनुसार, होमस्टेले विकासलाई पनि गति दिएको छ। बाटोघाटो, स्कूल, स्वास्थ्य केन्द्र होमस्टे भएकै क्षेत्र आसपास खुलेका छन्। विगतमा सहरबजारमा मात्र पर्यटकीय केन्द्र बन्थे। विकास पूर्वाधार त्यहीं केन्द्रित हुन्थे। होमस्टे सञ्चालनपछि गाउँठाउँका सांस्कृतिक, पुरातात्त्विक संरचनाको पनि संरक्षण भएको मर्दनिया बताउँछन्।
होमस्टेले कृषि जैविक विविधता जगेर्ना गर्दै रैथाने ज्ञान, सीप र परिकारको प्रसारमा पनि मद्दत पुर्याइरहेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको नेपाल जीन ब्यांकका बालकृष्ण जोशी बताउँछन्। “ग्रामीण समुदाय मिलेर काम गर्दा कृषि जैविक विविधता संरक्षण पनि भइरहेको छ,” उनी भन्छन्।
कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख रामकृष्ण श्रेष्ठ किसानलाई पर्यटनसँग जोड्दा ग्रामीण रूपान्तरण हुने तर्क गर्छन्। “होमस्टे संस्कृतिसँग पनि जोडिएको हुन्छ। मुख्य कुरा यसले किसान वा स्थानीय गाउँलेलाई आम्दानीको बाटो दिन्छ,” उनी भन्छन्, “गाउँको उत्पादन खपत गर्न शहरबाट मान्छे जाँदा होमेस्टे स्वयंमा एउटा मार्केट भयो।”
होमस्टे महासंघको गण्डकी प्रदेशका अध्यक्ष धनीराम थारू गाउँठाउँमा सामाजिक, आर्थिक र व्यक्तिगत विकासको आधारका रूपमा रहेका होमस्टेलाई आधुनिकताबाट जोगाउनुपर्ने चुनौती देख्छन्। होमस्टे मार्फत समुदायले हासिल गरेको उपलब्धि जोगाउन दर्ता प्रक्रिया, निरीक्षण, नियमनका काम प्रभावकारी बनाउनुपर्नेमा उनी जोड दिन्छन्। “पहिला पर्यटन कार्यालयले अनुगमन गर्दा मापदण्डको ख्याल हुने गरे पनि अहिले पालिका लगायतले दर्ता गर्दा बेवास्ता गरेको पाइन्छ,” थारू भन्छन्, “अनुगमन र निरीक्षणको नीतिगत अस्पष्टता अहिलेको चुनौती हो।”
(हिमालको २०८० वैशाख अङ्कबाट।)
कभर स्टोरी: