पृथ्वीनारायण शाहको ज्यानै जोखिममा परेका चार घटना

राज्य विस्तारका क्रममा कालु पाँडेको सल्लाह नमान्दा चार पटक पृथ्वीनारायण शाहको ज्यानै जोखिममा परेको थियो।
राजकुमार दिक्पालतत्कालीन समयमा गोरखा एक सानो पहाडी राज्य थियो। यो राज्यको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। आर्थिक अवस्था पनि गतिलो नभएको पहाडी राज्यका राजासँग सम्पन्न र शक्तिशाली मानिएका राज्यका राजाहरूले आफ्नी छोरीको विवाह गर्न पनि गाह्रो मान्थे। पृथ्वीनारायण शाहका पुर्खा राम शाह त्यतिखेरको धनी र शक्तिशाली राज्य पर्वत राज्यकी राजकुमारीको हात माग्न जाँदा राजा राज मल्लले आफ्नी छोरीको सट्टा भाञ्जीको बिहे गराएका थिए।
त्यस्तै, पृथ्वीनारायण शाहको पहिलो विवाह पनि निकै विवादित रह्यो। उनको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग निश्चित भई बेहुली अन्माइ पनि सकिएको थियो। तर, दुलही लिन ससुराली मकवानपुर पुगेका उनी रित्तो फर्किए। चन्द्रागिरी डाँडा हुँदै फर्कदा काठमाडौं उपत्यकाका तीन राज्यको दृश्य देखेर उनको मनमा त्यहाँको राजा हुने इच्छा पलाएको थियो।
बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा सम्पादित ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’ (२०६१ः३२) मा उनले ‘चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि धुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन् हो. त्यो काठमाडौ हो. भनि देषा र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो. भन्ने यस्तो मनमा परिरहेथ्यो’ भन्ने धारणा ब्यक्ति गरेबाट पनि राज्यविस्तार सम्बन्धी महत्वाकाँक्षाबारे बुझ्न सकिन्छ।
यो महात्वाकाँक्षा पूरा गर्न राजा हुने वित्तिकै १७९९ सालमा सबैभन्दा पहिले कान्तिपुर अधिनस्थ नुवाकोटमा हमला गर्न काजी महेश्वर पन्थको नेतृत्वमा फौज पठाए, तर सफलता पाउन सकेनन्। त्यसको दुई वर्ष पछि १८०१ असोज १५ गते भने नुवाकोटमाथि सफलता प्राप्त भयो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७-असोज २०२९ः१६४)।
नुवाकोट जित्दा पनि अँध्यारो मुख
गोरखालीले नुवाकोट कब्जा गरे पनि त्यहाँका उमराव भई बसेका जयन्त राना जिवितै थिए। त्यस युद्धको समय कान्तिपुरका राजा जयप्रकाश मल्लसँग सरसल्लाह र थप सैन्य सहयोगका लागि उनी कान्तिपुर गएका थिए भने महामण्डलमा भएको युद्धमा उनका छोरा शंखमणि मारिएका थिए।
नुवाकोटको महामण्डल गोरखालीको कब्जामा परिसकेको र त्यो युद्धमा आफ्ना छोरा मारिएपछि पुत्रशोकका साथ त्यहाँका उमराव जयन्त राना बेलकोटमा बसेका थिए। उनी गोरखालीसँग मुकाविला गर्न आफ्नो शक्ति एकत्रित गर्दै कान्तिपुरमा पत्राचार पनि गरिरहेका थिए। उनको यो अवस्था देखेर पृथ्वीनारायण शाह एकाएक उत्तेजित भइहाले। उनी कसैलाई खबर नगरी सिमित सेनाका साथ पालकीमा चढेर जयन्तमाथि हमला गर्न दौडी हाले।
जयन्तका विश्वासी मल्ल सेनाहरूले बाणको वर्षा गर्न लागे। त्यसपछि कालु पाँडे पनि दौडादौड गरेर घोरघाटमा पृथ्वीनारायणलाई भेट्टाए। कालु पाँडेले ‘हडबडमा लडाई छेडिहाल्नु हुँदैन’ भनी बिन्ति के बिसाएका थिए, पृथ्वीनारायण शाहले ‘तैले लडाई सिकाउलास र म लडाई गरुँला’ भनी पालकी अगाडी बढाए। उनी शत्रु सेनाको शिविर नजिकै पुग्दा शत्रुपक्षबाट बाणको भारी वर्षा भयो। त्यहाँ धेरै वीर सेना ढले।
पृथ्वीनारायण चढेको पालकी बोक्ने पुतुवार पनि घाइते भए। स्थिति प्रतिकूल हुन पुग्दा गोरखाली सेना निक्कै हडबडाएका थिए। खतरा आइपरेपछि पृथ्वीनारायण शाह युद्धस्थलबाट फर्कन लागेका थिए, तर कालु पाँडेले छेडिइसकेको युद्धबाट फर्कनु हुँदैन, त्यो भयो भने शत्रुपक्षको मनोबल बढ्छ भनी सम्झाएर युद्ध जारी राखे। त्यसपछि जयन्त राना पक्राउ परे र युद्ध थामियो।
वेलकोटमा गोरखाली पक्षको ठूलो क्षति भयो। घाइते सैनिकतर्फ नजर फिजाएर जीतको अवसरमा पनि पृथ्वीनारायण शाहको अनुहार मलिन देखिएपछि कालु पाँडेले कारण सोधे। आफ्नो सेना ध्वस्त भएकोमा भूल सुधार गर्दै उनले कालु पाँडेलाई ‘अबदेखि कटकका कुरामा विना तेरा सल्लाह गन्र्या छैन’ भन्दै कालुको पीठमा धाप दिए। पक्राउ परेका जयन्तलाई साथमा लिएर बेलकोटबाट नुवाकोट फर्के। (गंगा कर्माचार्य (हाडा), ‘कन्ट्रिब्युसन्स् टु नेपालिज स्टडिज’ वर्ष ३१, अंक २-जुलाई २००४ः३४५-४६)।
एकातिर नुवाकोट जितेको खुशीको उन्माद थियो, अर्कातिर आफ्नो ज्यान जोखिममा परेको पीडा। पहिले गोरखा राज्यको सेवा गरेका जयन्त रानालाई आफूसँग मिल्न आउन खबर पठाएका थिए। तर, कान्तिपुरको नुनको सोझो गरी जयन्त गोरखाली सेनासँग युद्ध लडेका थिए। उनलाई पक्रन जाँदा पृथ्वीनारायण शाह स्वयंको ज्यान जोखिममा परेको थियो। जसले गर्दा पक्राउ परेका जयन्त रानालाई पृथ्वीनारायणले जिउँदै छाला काढ्न लगाई मार्न लगाएका थिए।
कालु पाँडेको सल्लाह नसुन्दा
कालु पाँडे पृथ्वीनारायण शाहका एक परिपक्व र विश्वासिला काजी थिए। बेलकोटको युद्धमा हतारिएर जयन्त रानालाई आक्रमण गर्न पुग्दा यदि कालु नपुगेका भए, पृथ्वीनारायण जोखिममा पर्ने निश्चित नै थियो। उनले त्यसवेला अबको युद्ध कालुको सल्लाहविना नगर्ने पनि बताएका थिए।
तर, पृथ्वीनारायण हठी स्वभावका थिए। कीर्तिपुरको पहिलो युद्धमा उनको यहीँ हठ प्रत्युत्पादक सावित हुन पुग्यो। कालु पाँडे मारिए, उनको पनि ज्यान मुस्किलले जोगियो।
कान्तिपुर राज्य घेर्दै जाने क्रममा आफूलाई प्राप्त भएका उपलब्धिबाट पृथ्वीनारायण बडो उत्साहित थिए। उनलाई कीर्तिपुर हात लिन हतारो थियो। १८१२ असारमा जयप्रकाश मल्लले ललितपुरका मुख्य प्रधान कालीदाशलाई मार्न लगाएको केही महीनापछि राजा राज्यप्रकाश मल्लको पनि देहान्त भयो। ललितपुरको राजगद्दिमाथि जयप्रकाश मल्लको दाबी थियो। तर, कालीदाशका छोरा देवीदाशले विष्णु मल्ललाई ललितपुरको राजा बनाए।
ललितपुर राज्यभित्र खिचातानी चलिरहेको दाउ छोपेर पृथ्वीनारायण शाहले सरदार तुलाराम पाँडेका साथ गोरखाली सेना पठाए। लामीडाँडाको पूर्वी सीमाना ललितपुरको अधिकारमा रहेको दहचोकगढीमा अधिकार जमाए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ५०, भदौ २०३८ः६)। पृथ्वीनारायण त्यहीँ दहचोक गढीमा गोरखाली फौजलाई तैनाथ राखेर कीर्तिपुर आक्रमण गर्ने पर्खाईमा थिए।
कालु पाँडेले तत्कालीन परिस्थितिलाई गम्भीरतापूर्वक नियालेर युद्धका लागि समय अनुकूल नभएको बताइरहेका थिए। उनले उपत्यकाका तीनै राज्य एक भइरहेको अवस्थामा कीर्तिपुर आक्रमण गर्न समय प्रतिकूल रहेको बताइरहेका थिए। कालु पाँडेको सल्लाह सुनेर पृथ्वीनारायण उल्टै क्रुद्ध हुन पुगे।
त्यसपछि पृथ्वीनारायणले कुलानन्द जैसीलाई युद्धको साइत निकाल्ने आदेश दिए। तर, कुलानन्दले पनि ‘अहिले हजुरको दिनदशा पनि उस्तो असल छैन। कीर्तिपुर हान्ने साइत पनि पाइएको छैन। कीर्तिपुर हान्ने उद्योग नगरी बक्स्योस। जहिले साइत ठहर्ला उहिले बिन्ति गरी पठाऊँला’ भने।
दहचोकगढी कुरेर बसेका हरिवंश उपाध्यायले पनि तत्काल कीर्तिपुरमा विजय पाउन सम्भव नभएको बिन्ति बिसाए। तर, क्रुद्ध बनेका पृथ्वीनारायणले दुवैलाई नराम्ररी हप्काएर ‘तिमीहरू दुवै कालेको मूतमा बगेका रहेछौ’ भन्दै बालकृष्ण जैसीलाई युद्धको साइत हेर्न लगाए (‘प्राचीन नेपाल’ सङ्ख्या २२, माघ २०२९ः११)।
राजाको यस्तो हठ र क्रोध देखेर दिक्क मान्दै ज्योतिष कुलानन्द ढकाल लमजुङतिर गए। बालकृष्ण जैसीले साके १६७९ (वि.सं. १८१४) जेठ १९ गते शनिबारको साइत निकालिदिए। फेरि पनि कालु पाण्डेले पृथ्वीनारायण शाहसमक्ष ‘महाराज, अझ पनि म बिन्ति गर्छु, कीर्तिपुरका मद्धतलाई तीनै राजाका लस्कर आएका हुनाले हाल कीर्तिपुर बलियो छ, तसर्थ हान्नु ठीक छैन। पछि यी तीन राजालाई फोरी हान्नु वेश हुन्छ’ भनी बिन्ति बिसाए।
तर, पृथ्वीनारायण शाहले उनलाई ‘तलाईँ मर्न गाह्रो लाग्यो कि’ भनी फेरि हप्काए। त्यसपछि कालुले ‘मैले मरी हजुरको सब्य हुन्छ भने म मर्छु’ भनी मुखमा पञ्चरत्न हालेर आफ्ना नावालक छोरा वँशराज पाँडेलाई पृथ्वीनारायण शाहको जिम्मा दिएर उनी युद्धका लागि कीर्तिपुरतर्फ अघि बढे (‘प्राचीन नेपाल’, माघ २०२९ः१२)।
उपत्यका जित्न चाहनेका लागि कीर्तिपुरको डाँडो ठूलो चुनौती थियो। उत्तर पश्चिम पाखो र दक्षिण पनि आधाभन्दा बढी भाग जङ्गलले ढाकिएको थियो। जङ्गलमा रुख काट्नु, हाँगा छाँट्नु, बाँदर, सर्प मार्नु वर्जित थियो। वस्ती पर्खालले घेरिएको थियो। हालको गागल, पालिफल, नाय्त्व र बाहिरी गाउँको ढोका मात्र तलसम्म आएका थिए। अन्य आठ वटा ढोका भिरालो या डाँडामाथि थिए।
दहचोकबाट डेढ घण्टा हिडेपछि कीर्तिपुरको डाँडामा पुगिन्छ। बल्खु खोला तरेर जङ्गल छिचोली गढको रुपमा रहेको पर्खाल वा ढोका फोडी वा गढपर्खाल उक्ली कीर्तिपुरमा हमला गर्नु कठीन थियो। कीर्तिपुर हान्न कालु पाँडेको नेतृत्वमा आएको गोरखाली सेनाले पश्चिमी पाखोमा पुगेर ढोका ढकढक्याउन थाल्यो। घेरा हाले (शुक्रसागर श्रेष्ठ, ‘कीर्तिपुरको सांस्कृतिक तथा पुराताङ्खिवक इतिहास’ २०५७ः१५)।
युद्ध गढपर्खालमा नभई उत्तर र पूर्वी फाँटमा हुन पुग्यो। पाटन र भक्तपुरका सैनिक बागमती नदी तरी भाजङ्गल हुँदै पुगे। कान्तिपुरका सैनिक बल्खु तरी हालको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)तर्फ बढिरहेका थिए। गोरखाली सेना ती दुवै सैनिकलाई छेक्न तल ओर्लनु परेको थियो। फलस्वरुप हालको रंगशालादेखि दक्षिण सुन्दरीघाट पश्चिम कीर्तिपुर डाँडादेखि झःख्यः र नरलफाँटमा घमासान युद्ध भयो (श्रेष्ठ, २०५७ः१६)।
बालकृष्ण जैसीले निकालिदिएको साइतअनुसार, १८१४ जेठ १९ गते उज्यालो नहुँदै खानपिन सकेर कालु पाँडे एक हजार दुई सय जति सैनिक आफ्नो साथमा लिई दहचोक गढीबाट तल झरे। सैनिक दलका पछि आफ्ना अङ्गरक्षकसहित पृथ्वीनारायण पनि दहचोकबाट तल झरे। कीर्तिपुरदेखि उत्तर-पश्चिमको झम्सिखेल चौरमा गोरखाली सैनिक दल जम्मा हुँदा जयप्रकाश मल्लको नेतृत्वमा कान्तिपुरको सैनिक दल पनि आइपुग्यो।
गोरखाली र कान्तिपुरका सैनिक युद्धरत रहेको अवस्थामा मध्याह्नमा ललितपुर र अपराह्न भक्तपुरका सैनिक युद्धमा सामेल हुन आइपुगे। गोरखाली सैनिकले नै दपेटा दिइरहेको अवस्थामा अचानक शत्रुपक्षबाट छुटेको काँड कालु पाँडेको शिरमा लाग्यो। उनी ढले। सेनापति नै ढलेपछि गोरखाली सैनिक तितरबितर हुन थाल्यो (कर्माचार्य (हाडा), सन् २००४ः३५०)।
खुँडा प्रहार गरिएकाले कालु पाँडेको मृत्यु भएको भन्ने अर्को विश्वास पनि छ। युद्ध चलिरहेको वेला काजी धनवन्तका छोरा वीरनरसिंहले उनको गर्दनमा खुँडा प्रहार गरी शिर छिनालिदिएका थिए। शिर विनाको उनको शरीर ५० फिट जति दगुरेपछि ठक्कर लागेर अड्कियो। तैपनि उनको हातमा तरबार छँदै थियो (कर्माचार्य (हाडा), सन् २००४ः३५१)।
आखिर कालु पाँडेले भनेजस्तै भयो, युद्धको परिणाम पनि। अलि परबाट युद्धको दृश्य हेरिरहेका पृथ्वीनारायणले आफ्ना सैनिकलाई फर्कन आदेश दिए।
युद्ध मैदानमा कालु पाँडेको मृत्यू भएपछि कीर्तिपुरे फौजले पृथ्वीनारायणलाई लखेट्न थाल्यो। त्यो लखेटाईमा पर्दा एक जना कीर्तिपुरे सैनिकले पृथ्वीनारायणको गर्धनमा ताकेर खुँडा प्रहार गर्नै लागेका थिए, कसैले ‘सेनाले राजालाई मार्नु हुन्न, राजालाई राजाले मार्नुपर्छ। होइन भने धर्मविपरित हुन्छ’ भनेकाले पृथ्वीनारायण दहचोकसम्म पुगेर बाच्न सफल भए (कर्माचार्य (हाडा), सन् २००४ः३५२)।
दहचोक पुगेर ‘काल्याले त भन्याथ्यो मेरो हट्ले लडाई विगर्यो’ भन्दै पृथ्वीनारायण शाह ठूलो पश्चाताप गर्दै विह्वल बनेका थिए।
नगरकोटीद्वारा तरबार प्रहार
१८२६ कात्तिक २८ गते भक्तपुर जितेपछि पृथ्वीनारायण शाहले आफ्ना मीत बुवा रणजित मल्ललाई कतै उचित ठाउँ दिएर नजरबन्दमा राख्ने विचार गरेका थिए। तर, रणजित मल्लले काशीमै तीर्थबास गरी बिताउने इच्छा देखाए। आफू काशी जाने वेलामा गोरखाली फौजबाट बन्दी बनाइएका आफ्ना मठ्या छोरा अवभूतसिंहलाई पृथ्वीनारायणसमक्ष आग्रह गरी कैदमुक्त गराए। त्यसपछि कान्छी पत्नी लिएर उनी काशीबासतिर हिँडे (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’, २०६१ः३६०)।
रणजित मल्ल काशीबासमा गएर पनि आफ्नो हिजोको राजकीय विरासत फिर्ता गर्न चाहन्थे। उनी आफ्ना छोरा अवभूतसिंहलाई काठमाडौं उपत्यकाको राजा बनाउन चाहन्थे। रणजित मल्लले काशी पुगेर पटनामा कार्यरत एक अंग्रेज अधिकारी अलेक्जेन्डरलाई भेट गर्ने इच्छाका साथ पत्र पठाए। कलकत्ताको गभर्नरलाई सोधनी हुँदा पत्रको जवाफ नआउँदै रणजित मल्लको देहान्त भयो (आचार्य, २०६१ः३९२)।
काशी पुगेका अवभूतसिंहसँग धनको कुनै कमी थिएन। उनीको साँठगाँठ चौदण्डीका राजा कर्ण सेनसँग थियो। यी दुईको मतोबाट ललितपुरका भूतपूर्व प्रमानहरूसँग मिलेर नगरकोटी सेना लगाई पृथ्वीनारायण शाहको हत्या गर्ने योजना बनाइयो। यसका लागि नगरकोटी सेना पनि तयार भयो (आचार्य, २०६१ः३९३)।
त्यतिखेर भक्तपुरका हाकिम भएर कालीदाश खड्का बसेका थिए। यसबारे गुप्ती कुरा पृथ्वीनारायण शाहसमक्ष बताउने योजना बनाई कालीदाश कान्तिपुर पुगेर निम्ता दिए। त्यतिखेर युवराज प्रतापसिंह शाहका अंगरक्षक स्वरुपसिंह कार्की थिए। उनी पहिले कर्ण सेनका काजी भएकाले पृथ्वीनारायण शाह उनलाई त्यति रुचाउँदैनथे। पृथ्वीनारायण शाह भक्तपुर पुगेपछि कालीदाशले उनीमाथि षडयन्त्र भइरहेको अवभूतसिंह सम्बन्धी गुप्ती कुरा खोलेर शंकाको तीर ललितपुरका भूतपूर्व प्रधानहरू र स्वरुपसिंह कार्कीमाथि तेर्स्याए।
त्यो थाहा पाएर पृथ्वीनारायण शाह काठमाडौं फर्कदै थिए। उनी पालकीमा चढेर बाटोबाट देखिने लहलहाउँदा हरिया गहुँको दृश्य हेर्दै फर्किदै थिए। अचानक केही नगरकोटीका साथ घोडामा सवार भवानी सिंह देखा परे। तत्कालै पृथ्वीनारायण शाहले आफ्ना अंगरक्षक श्रीहर्ष पन्थलाई भवानी सिंहलाई पक्राउ गर्ने आदेश थिए। यो सुन्नेवित्तिकै भवानी सिंह आक्रमणमा उत्रिहाले। उनले पृथ्वीनारायणमाथि तरबार प्रहार गरे। तर, तरबार पालकीमा अड्क्यो।
भवानी सिंह गोरखालीको प्रहारबाट ढले। उनका अनुचर भागे। त्यसपछि १८२७ चैत ११ गते देवीदास लगायत ललितपुरका ६ जनै प्रमानलाई काट्न लगाए। त्यसपछि घरघरै मानिस पठाई अढाई सय नगरकोटीलाई पनि काट्न लागए (आचार्य, २०६१ः३९४)।
अर्को स्रोतअनुसार, पृथ्वीनारायण भक्तपुर जाँदा ह्वाह्वापाटीमा पुगेपछि नगरकोटी सिपाहीहरूसँग भेट भयो। भेटमा नगरकोटीहरूले घोडाबाटै उनलाई सलाम गरे। नगरकोटीहरूको यस्तो ब्यवहारले उनलाई क्रुद्ध बनायो। तत्कालै नगरकोटीहरूलाई मार्ने आदेश दिए।
त्यसैवेला नगरकोटी प्रमुख भवानी सिंहले पृथ्वीनारायण शाह चढेको पालकीनेर आएर उनीमाथि तरबार चलाए। त्यसपछि गोरखालीले नगरकोटीहरूको संहार शुरू गरे। यो काममा बहादुरी देखाएवापत पृथ्वीनारायण शाहबाट श्रीहर्ष पन्तले प्रशस्त पुरस्कार र ‘विजुली पन्त’ नाम प्राप्त गरे (‘प्राचीन नेपाल’, सङ्ख्या २३, वैशाख २०३०ः१-२)।
सुरा तर, हठी स्वभावका राजा पृथ्वीनारायण शाहले युद्धका क्रममा यसरी तीन पटक आफ्नो ज्यान जोखिममा पारेका थिए। तैपनि, मकवानपुरबाट बेहुली नलिई फर्किदा चन्द्रागिरी डाँडाबाट काठमाडौं उपत्यका देखेर ठूलो राज्यको राजा हुने जुन सपना देखेका थिए, त्यो आफ्नो जीवनकालमा आंशिक रुपमा भने पूरा गरेरै छाडे।
ज्यान बचाउन भेष परिवर्तन
यी घटना युद्धका समयका हुन्। तर, भर्खरै राजा भएपछि बनारस भ्रमण सकेर फर्किदा पनि एक पटक उनको ज्यान जोखिममा परेको थियो। ज्यान बचाउन अर्कै ब्यक्तिलाई राजा तुल्याई पालकी चढाएर सुरक्षित स्थानतर्फ ल्याउनु परेको थियो। पृथ्वीनारायण शाह भने एक सर्वसाधारण प्रजाको रुपमा नक्कली राजाको पछि लागेर हिडेका थिए।
पृथ्वीनारायण शाह १७९९ वैशाख ३ गते गोरखाको राजसिंहासनमा बसे। आफ्नो राज्याभिषेकपछि बनारस भ्रमणमा निस्के। इतिहासकार बाबुराम आचार्य (२०६१ः११५) ले उनी सन् १७४३ अक्टोवर (वि.सं. १८००, असोज÷कात्तिक) तिर बनारस प्रस्थान गरेको अनुमान गरेका छन्।
पृथ्वीनारायण शाहको बनारस भ्रमण बाहिरी रुपमा हेर्दा आध्यात्मिक जस्तो मात्र देखिन्छ। उनको भ्रमणको मुख्य उद्देश्य तीर्थस्थलको दर्शन मात्रै थिएन, तत्कालीन राजनीतिक परिस्थितिको विषयमा गहन अध्ययनका साथै युद्धका लागि हतियार खरीद गर्नु पनि थियो। युवराज हुँदै नेपाल (उपत्यका) माथि आँखा लगाइसकेका उनी राज्यविस्तार अभियान प्रभावकारी रुपमा यथासक्य चाडै चलाउन चाहन्थे।
बनारस भ्रमणबाट फर्किदा गोरखपुरको बाटो पाल्पा हुँदै गोरखा पुग्ने योजना थियो। भारतबाट फर्किदा बाटोमा पर्ने एक जगात भन्सार उठाउने चौकीदारले उनको भारी खोल्न कर लगाए। पृथ्वीनारायण शाहले ती कर्मचारीको ब्यवहारबाट आफ्नो अपमान भएको सम्झे। कुरा बढ्दै जाँदा कर्मचारीले हातै छाड्न थालेपछि आफ्ना अङ्गरक्षक लगाएर कटाइदिए (आचार्य, २०६१ः११८-११९)।
भन्सारका ती कर्मचारीले पृथ्वीनारायण शाह चढेको घोडाको चारजाम पक्रने काम गरे। उनकै अगाडि रहेका गोरखाली अफिसर लक्ष्मीनारायण पाँडे, गुणनिधि पन्त, रामकृष्ण थापा र विराज बखेतीको तरबार खोस्न खोजे। पृथ्वीनारायण शाहले इशारा गरी उनीहरूलाई तरबार नदेऊ भन्ने आदेश दिए। त्यसपछि तत्कालै गोरखाली अफिसरहरूले तरबार चलाएर ती कर्मचारीहरूको ज्यान लिए (‘प्राचीन नेपाल’, सङ्ख्या २१, २०२९ कात्तिकः१६)।
आचार्य (२०६१ः१३८-१३९)का अनुसार आफूमाथि हातपात गर्ने भन्सारका कर्मचारीमाथि तरबार चलाउनेमा विष्णु शाह, तुला शाह, भद्र शाह, लक्ष्मीनारायण पाँडे, गुणनिधि पन्त, रामकृष्ण थापा ग्रान्जा, नन्दु उपाध्यय कडरिया, चामु खत्री, जसिवन्त राना, देवु राना, सोट्या बनुवा थापा, जसकर्ण बोहरा, मुढ्या थापा, शिवराम बस्नेत, चामु रोकाया, अंगद द्वारे, ठुन्या द्वारे, सतै द्वारे, मनिकंठ राना वुसाल, नैचराम द्वारे, धज्जमनि द्वारे, बलिभञ्जन मल्ल र विराज बखेती थिए।
यो घटना बरुणा चौकीमा भएको थियो। घटनापछि पृथ्वीनारायण शाहलाई त्यहाँका सुरक्षाकर्मीबाट सुरक्षा चुनौती आउने भयो। पालकीमा चढेर फर्किदा पहिचान खुल्ने र निशानामा पर्ने भय थियो। त्यसैले पृथ्वीनारायण शाहले तत्कालै निकालेको जुक्तिअनुसार, उनको वेषभुषा लगाएर राजाका रुपमा विराज बखेतीले पालकी चढेर यात्रा गर्नुपर्ने भयो। पृथ्वीनारायण शाह भने साधारण भारदार बनेर पैदल यात्रा गर्न तयार भए।
भाइ-छोरा थरघरले जय बानियाँ नामका अर्का भारदारको अनुहार पृथ्वीनारायण शाहसँग मिल्दोजुल्दो भएकाले उनैलाई राजाको भेष धारण गराई पालकी चढाए। सुरक्षित स्थानमा आइपुगेपछि जय बानियाँले भेष बदले (‘प्राचीन नेपाल’, २०२९ः१६)।
बनारसमा त्यो समय नागा वैरागीका गुण्डादल यत्रतत्र हुन्थे। पृथ्वीनारायण शाहले त्यस्तै गुण्डादलका एक नाइके फेला पारे। उनलाई प्रशस्त धन दिने लोभ देखाई बुटवलसम्म सुरक्षित रुपमा पुर्याइदिन आग्रह गरे। गुण्डादलको सहयोगमा पृथ्वीनारायण शाहसहित गोरखाली टोली सुरक्षित रुपमा बुटवल पुग्न सफल भयो।