पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ
पृथ्वीनारायण शाहलाई सुझबुझ तथा दूरदृष्टि भएका राजा भनी प्रशंसा गरिए पनि त्यो सबै सन्दर्भ र प्रसंगमा लागू भएको देखिंदैन। उनले आफूलाई सहयोग गर्ने भाइहरूको व्यवस्थापन गर्न नसक्दा दरबारमा गुटबन्दीको बीउ रोपिएको थियो।
राजा नरभूपाल शाहका चार रानी थिए। जेठी रानी खाँचीकी राजकन्या चन्द्रप्रभावतीबाट कुनै सन्तान भएन। माहिली रानी पाल्पाका राजा गन्धर्वसेनकी छोरी कौशल्यावतीबाट पृथ्वीनारायण शाहको विसं १७७९ पुस २७ गते जन्म भयो। कौशल्यावतीबाट नै दलमर्दन शाह (विसं १७८७ जेठ ६) र पृथ्वीपाल शाह (१७९४ चैत २१) को जन्म भयो। साहिंली रानी पर्वत राज्यका राजा मलेबमकी भतिजी बुद्धिमतीबाट वृन्दकेशर शाह (१७७९ पुस २७ को केही महीनापछि तर यकिन मिति खुल्दैन) र शूरप्रताप शाह (१७९४ चैत २१) मा जन्म भयो। कान्छी रानी तनहुँकी राजकुमारी सुभद्रावतीबाट महोद्दामकीर्ति शाह (१७८२ फागुन ८ गते) र दलजित शाह (विसं १७९० फागुन १४) को जन्म भयो।
‘दिव्योपदेश’ नामबाट चिनाइएको पृथ्वीनारायणको उपदेश संग्रहमा उनले आफ्ना पाँच जना दाजुभाइ भएको बताएका छन्। दिव्योपदेशमा उल्लेख छ‚ ‘हामी तिन षोपिका पाचपाण्डुवाको अवतार भयाका थिञुं’। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, गर्भ बसेको सात महीनामा पृथ्वीनारायण पुस २७ गते जन्मेका थिए। बृन्दकेशर भने पूरै समय गर्भमा रहेर जन्मिएका थिए। त्यसैले पहिले गर्भ बसेकालाई जेठो मान्ने वा जन्मेकालाई भन्ने प्रश्नले गोरखा दरबारलाई समस्यामा पारेको थियो। तर, बृन्दकेशरको सानो उमेरमा नै मृत्यु भएकाले उत्तराधिकारीको समस्या स्वतः समाधान भयो।
राजा नरभूपालका भित्रिनी रानीहरू पनि थिए। तिनीहरूबाट पनि सन्तान जन्मिएका थिए। तिनै भित्रिनी रानीहरूबाट जन्मिएका पृथ्वीनारायणका भाइहरूमध्ये एक हुन् रणरुद्र शाह। रणरुद्र गोरखाको राजनीतिमा सक्रिय थिए। पृथ्वीनारायण राज्य विस्तारको क्रममा अगाडि बढ्दा मूल राज्य गोरखा उनकै जिम्मामा छाडिएको पाइन्छ।
गोरखा राज्यलाई स्थापनाकालदेखि नै लमजुङबाट खतरा थियो। गोरखालीहरू राज्यको अस्तित्व बचाउन सधैं तम्तयार भएर रहन्थे। जसले गर्दा गोरखाली सेना परिपक्व र जुझारु थिए। छिमेकी राज्यका राजकुमारहरू मोजमस्तीमा लागेर बिग्रिएका थिए। यता गोरखाका राजकुमार पृथ्वीनारायण जेठी रानी चन्द्रप्रभावतीको रेखदेखमा हुर्किएकाले बिग्रिन पाएनन्। उनका सबै भाइहरूलाई सैन्य तालीम दिइएको थियो। गोरखाको सैन्य अभियानमा ती भाइहरू सक्रिय सहभागी भएको पाइन्छ।
राजा नरभूपाल शाहका तीन राानीबाट सात जना छोरा भए पनि ‘दिव्योपदेश’ नामबाट चिनाइएको पृथ्वीनारायणको उपदेश संग्रहमा उनले आफ्ना पाँच जना दाजुभाइ भएको बताएका छन्।
काठमाडौं अधीनस्त नुवाकोटमाथि आक्रमण गर्दा राजा नरभूपाललाई असफलता हात लाग्यो। जसले उनमा मानसिक आघात पर्यो। उनको निधनपछि २० वर्षको उमेरमा विसं १७९९ मा पृथ्वीनारायण राजा भए। उनी जेठी रानी चन्द्रप्रभावतीको सहयोगमा राज्य सञ्चालनमा सक्रिय हुन थाले। नुवाकोटमाथि अधिकार गर्ने र त्यसैको आडमा राज्य विस्तार गर्दै जाने नरभूपालको सोचलाई पृथ्वीनारायणले निरन्तरता दिए। राज्यारोहणपछि पहिलो सैन्य आक्रमण नुवाकोटमाथि गरे। तर‚ सफलता हात लागेन।
पहिलो पटक असफलता हात लागेकाले दोस्रो पटक भने बडो सुझबुझका साथ आक्रमण गरे। आक्रमणका लागि गोरखाली सेना पृथ्वीनारायण शाह, उनका भाइ महोद्दानकीर्ति शाह र कालु पाँडेको नेतृत्वमा तीन भागमा विभाजन भएर त्रिशूलीनदी पार गरी नुवाकोट पुगे। नुवाकोट रक्षार्थ खटिएका जयन्त राना कान्तिपुर दरबारमा गएको मौका पारी विसं १८०१ (२५ सेप्टेम्बर १७४४) मा आक्रमण गरिएको थियो। युद्ध भोलि बिहानैसम्म भएको थियो। यो वला जयन्तका छोरा शंखमणि राना सेनानायकका रुपमा थिए।
नुवाकोटको उच्चभाग महामण्डलमा दुईतिरबाट भएको आक्रमणलाई त्यहाँ तैनाथ सेनाले थेग्न सकेन। हताहत भयो। त्यही वेला पृथ्वीनारायणका भाइ १४ वर्ष मात्र कटेका दलमर्दनबाट शंखमणिको ज्यान गयो (दिव्योपदेशमा १२ वर्ष उमेर उल्लेख हुनु गल्ती हो)। युद्धमा आउनु पर्दैन भने पनि खुसुक्क सहभागी भएका उनै भाइबाट विपक्षी सेनानायकको हत्या र नुवाकोटमाथि विजय प्राप्त हुँदा पृथ्वीनारायण ज्यादै खुसी भएका थिए।
नुवाकोट विजयपछि गोरखाली सेनामा उत्साह जागेको थियो। त्यसपछि अन्य भूभागमाथि पनि धमाधम विजय गर्न थालेको पाइन्छ। पृथ्वीनारायको उद्देश्य नेपालमण्डलका तीन राज्य कान्तिपुर, पाटन र भक्तपुरमाथि विजय हासिल गर्ने थियो। यसका लागि सामरिक महत्त्वको एक क्षेत्र कीर्तिपुर थियो। कीर्तिपुर पाटन राज्य अन्तर्गत पर्दथ्यो। विसं १८१४ जेठ १९ मा कीर्तिपुरमाथि पहिलो पटक आक्रमण गर्दा काजी कालु पाँडे सहित ४०० जनाभन्दा बढी गोरखाली सेनाको ज्यान गयो। तर‚ सफलता हात लागेन। यो युद्ध कीर्तिपुरमा तैनाथ सैनिक र सर्वसाधारणसँग मात्रै नभएर कान्तिपुर, पाटन र भक्तपुरबाट आएका सैन्यशक्तिसँग मुख्यतः गढ पर्खालबाहिर भएको थियो।
युद्धमा सफलता हात नलागेपछि पृथ्वीनारायण गम्भीर समीक्षामा लागेको पाइन्छ। राज्य विस्तार धेरै मात्रामा भइसकेकाले उनले भारदारी पनि पुनर्गठन गरे। काजी कालु पाँडेको स्थानमा उनका छोरा वंशराज पाँडे र सेनापति शिवरामसिंह बस्नेतको मृत्युपछि खाली पदमा उनका माहिला छोरा केहरसिंह बस्नेतलाई नियुक्त गरे। चौतारा पदमा महोद्दानकीर्ति शाह थिए। अर्का भाइ दलमर्दनलाई पनि चौतारामा नियुक्त गरे।
कीर्तिपुरमाथिको दोस्रो आक्रमणमा शूरप्रतापको देब्रे आँखा फुट्यो‚ दलजित शाह गम्भीर घाइते भए पनि गोरखालीको हार भयो। हारको जिम्मेवारी शूरप्रताप रहेको पृथ्वीनारायणले आरोप लगाए।
गोरखा राज्यको शक्ति विस्तार मकवानपुर राज्यलाई मन नपर्नु स्वाभाविक हो। त्यसैले मकवानपुर बाह्य शक्तिसँग मिलेर गोरखालीलाई रोक्न लागिपरेको थियो। त्यसैले पृथ्वीनारायणले भाइ महोद्दामकीर्ति र दलजित शाहको नेतृत्वमा मकवानपुरमाथि विसं १८१९ (२१ अगष्ट १७६२) मा आक्रमण गरे। १० घण्टाको लडाइँमा एक हजार मकवानपुरे र ६० जना गोर्खाली सेनाको ज्यान गयो। दिग्वन्धन सेन र मन्त्री कनकसिंह बानियाँ भागेर हरिहरपुर पुगे। मकवानपुर रक्षाको भार नन्दु शाहलाई सुम्पेर सैन्य नेतृत्व हरिहरपुर प्रस्थान गरे र ४ अक्टोबरमा हरिहरपुरमाथि गोरखालीले विजय प्राप्त गरे।
पृथ्वीनारायणले कीर्तिपुरमाथि दोस्रो पटक आक्रमण गर्ने योजना बनाए। यसका लागि दुई भाइ शूरप्रताप र दलजित शाहका साथै श्रीहर्ष पन्थको नेतृत्वमा गोरखाली सेना तयार पारियो। महीना दिनअघि कीर्तिपुरसँगै जोडिएको चोभार र पाँगा क्षेत्रलाई सजिल्यैसँग कब्जा गरेको गोरखालीले विसं १८२१ (१६ सेप्टेम्वर १७६४) मा कीर्तिपुरमाथि आक्रमण गरे। यस पटक भने कीर्तिपुरलाई कुनै पनि बाह्य सहयोग प्राप्त भएन। बिर्सन नहुने कुरा के हो भने यति वेला कीर्तिपुर जुन राज्य अन्तर्गत थियो, त्यो राज्यको राजा पृथ्वीनारायणका भाइ दलमर्दन शाह थिए।
गोरखाली सेनाले उपत्यकाको चारैतिरका क्षेत्र जित्दै कान्तिपुर, पाटन र भक्तपुरलाई नाकाबन्दी गरेर जनजीवन प्रभावित पारिसकेको थियो। त्यसैले गोरखासँग मित्रता गाँस्न पाए केही सजिलो हुने ठानेर पाटनका ६ प्रधानहरूले पृथ्वीनारायणलाई राजा हुन आमन्त्रण गरेका थिए। प्रस्ताव अनुसार दलमर्दन शाहलाई राजा हुन पठाइएको थियो। यस्तो अवस्थामा पाटनबाट गोरखाली विरुद्ध लड्न सेना आउने कुरै भएन। कान्तिपुर र भक्तपुरबाट पनि सेना आउने गुन्जाइस रहेन। कीर्तिपुर विजयका लागि गोरखालाई यो सुनौलो अवसर थियो।
कीर्तिपुरका जनता किल्लाभित्र प्रवेश गर्ने द्वार बन्द गरेर बस्नु परेको थियो। गोरखाली सेनाहरू भने कीर्तिपुरभित्र पस्ने अनेक दाउ खोजिरहन्थे। कीर्तिपुरे जनताहरूले भित्रबाट ढुंगा तथा काँडको वर्षा गरेर गोरखालीहरूलाई अवरोध गरिरहेका थिए। यस्तैमा बाँसको भर्याङबाट पर्खाल चढ्ने क्रममा भित्रबाट आएको काँड लागेर शूरप्रतापको देब्रे आँखा फुट्यो। दलजित शाह पनि गम्भीर घाइते भए। त्यसपछि गोरखाली सेना तितरबितर भए।
यस पटक पनि पृथ्वीनारायणलाई असफलता हात लाग्यो। असफलताको कारण शूरप्रतापको हतारिने स्वभाव रहेको भन्दै त्यसको उत्तरदायी उनैलाई ठहर्याइयो। यस निर्णयले आफ्नो अपमान भएको महसूस गरी शूरप्रताप कास्कीका राजा सिद्धिनारायण शाहको शरणमा गए। शूरप्रताप आफ्नोमा आएपछि गोरखाबाट खतरा महसूस गरिरहेका चौबिसे राज्यहरू उत्साहित भए। उनीहरूले गोरखामाथि आक्रमण गर्न थाले। गोरखामाथिको यो आक्रमणलाई वंशराज पाँडेको नेतृत्वमा गएको गोरखाली सेनाले विफल पारिदियो। पछि शूरप्रताप पनि गोरखा फर्काइए।
दुई पटक असफलता हात पारेको गोरखालीले विसं १८२२ को असोजमा कीर्तिपुरमाथि तेस्रो पटक आक्रमण गर्यो। कीर्तिपुरको रक्षा गर्ने जिम्मा पाएका सिंख्वाल प्रधानले गुहारका लागि कान्तिपुर, पाटन र भक्तपुरमा सन्देश पठाए। तर‚ कतैबाट सैन्य सहयोग प्राप्त भएन। कीर्तिपुरका जनता ६ महीना गोरखालीको घेराबन्दीमा बसे। यस्तो अवस्था आएपछि वंशराज पाँडेले आत्मसमर्पण गर्न सल्लाह दिए। अन्ततः चैत ३ (१२ मार्च १७६६) को मध्यरातमा प्रवेशद्वार खोलिदिएर कीर्तिपुरेले आत्मसमर्पण गरे। तर‚ आत्मसमर्पण गरेका कीर्तिपुरका जनतालाई गोरखाली सेनाले अंगभंग हुने गरी कारवाही गरेको थियो।
भाइहरूकै सहयोगमा राज्य विस्तार गरेका पृथ्वीनारायणमा भ्रातृप्रेम थिएन।उनी भाइहरूलाई हठात् गाली गर्ने तथा हेप्ने गर्दथे।
कीर्तिपुरमाथि विजय प्राप्त गरेपछि गोरखाली सेनाले क्रमशः कान्तिपुर, पाटन र भक्तपुरमा आक्रमण गरे। यसअघि पाटनको राजा बनाइएका दलमर्दन शाह अपदस्त भइसकेको थियो। कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भागेर भक्तपुरमा शरण लिन पुगेका थिए। भक्तपुरमा शरण लिएर बसेका जयप्रकाश आफ्नो राज्य फिर्ता लिन सैन्य संगठन निर्माण गर्दै थिए। शरण लिन पुगेका दुई राजाको सुपुर्दगी गर्न भनिए पनि भक्तपुर तयार नभएपछि गोरखालीले भक्तपुरमाथि नै आक्रमण गर्यो। केही दिनसम्मको भीषण युद्धपछि विसं १८२६ भाद्र १ मा गोरखालीको विजय भयो।
भक्तपुर आक्रमण सफल भएकोमा शूरप्रतापले दाजुबाट पुरस्कार आशा राखेका थिए। तर‚ उनको हतारिने बानीले भक्तपुरमा ठूलो धनजनको नोक्सानी भएको भन्दै पृथ्वीनारायणबाट अपजस मात्रै पाए। पुरस्कार वंशराज पाँडेले प्राप्त गरे। यसबाट शूरप्रताप पुनः खिन्न हुँदै गोरखा गए। गोरखामा उनलाई कडा निगरानीमा राखियो। तर‚ त्यहाँबाट भागेर दुल्लु राज्यमा गए। उनको त्यतै मृत्यु भयो।
पश्चिमतर्फ असफल भएपछि पृथ्वीनारायणले पूर्वका चौदण्डी र विजयपुर राज्यमाथि आक्रण गर्ने निर्णय गरे। यस वेला वंशराज पाँडे पर्वतमा थुनिएका थिए। त्यसैले भाइ दलजित शाहलाई मन्त्री पदमा नियुक्त गरेका थिए।
राज्य ठूलो हुँदै गएको र भाइहरूले अब राज्यको अंशबण्डा गर्न चाहेको भन्ने कुरा केही लेख तथा पुस्तकमा पाइन्छन्। महोद्दामकीर्ति शाहले तराईको कुनै भूभागमा आश्रित राज्य राजा हुने चाहना व्यक्त गरेको पाइन्छ। अंशबन्डा वा स्वतन्त्र राज्य माग गरेका थिएनन्। आश्रित राज्यको चाहना गर्दा पृथ्वीनारायण रिसाउँदा महोद्दामकीर्ति चित्त दुखाएर कास्कीतिर लागे। यस्तै‚ दाजुको व्यवहारबाट चित्त दुखाएर कान्छा चौतारा दलमर्दन शाह पनि लमजुङतर्फ लागे।
राज्यको विधिवत अंशबण्डा गर्ने परम्परा गोरखामा मात्रै नभएर अन्यत्र पनि खासै देखिंदैन। दाजुभाइ बीच कुरा नमिलेर राज्य टुक्रिने बेग्लै कुरा हो। महोद्दामकीर्तिले आश्रित राज्यको माग गर्नु ठूलो कुरा थिएन। किनकि‚ पश्चिम विस्तारका क्रममा नेपाल दरबारको प्रभुत्व स्वीकार्न तयार हुने राज्यहरू आश्रित राज्य नै थिए। पृथ्वीनारायणले भाइलाई आश्रित राज्य दिएर वा अन्य कुराको बन्दोबस्त गरेर चित्त बुझाउन सक्थे। तर‚ यस सम्बन्धमा पृथ्वीनाराणले लेखेको पत्रमा उनी भाइप्रति सहिष्णु नभएको देखिन्छ। भाइहरूकै सहयोगमा राज्य विस्तार गरेका पृथ्वीनारायणमा भ्रातृप्रेम नभएको तथा भाइहरूलाई हठात् गाली गर्ने तथा हेप्ने स्वभाव थियो। चौतारा तथा मन्त्री पदमा भाइहरूलाई नियुक्त गरे पनि उनी पछिल्ला दिनहरूमा सशंकित भएको देखिन्छ।
पृथ्वीनारायणका भाइहरू देश र राजसंस्थाको अहितमा कहिल्यै पनि लागेको देखिंदैन। निर्वासित भए पनि उनीहरू सहयोगी मनस्थितिमा नै रहेको पाइन्छ।
पृथ्वीनारायणको भाइहरूप्रतिको व्यवहार उत्तराधिकार प्रतापसिंह शाहमा नराम्रोसँग परेको पाइन्छ। प्रतापसिंहबाहेक अर्को छोरा बहादुर शाह पनि थिए। यी दुई दाजुभाइको हुर्काइबढाइ तथा स्वभाव भिन्न थियो। दलजित शाहले दाजु पृथ्वीनारायणलाई राज्य सञ्चालनका दृष्टिले युवराज प्रतापसिंह शाहलाई भन्दा राजकुमार बहादुर शाहलाई नै आफ्नो उत्तराधिकारी बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिएका थिए। यही प्रस्तावबाट प्रतापसिंह काका दलजित र भाइ बहादुरको विरोधी हुनपुगे।
पृथ्वीनारायणका अन्तिम दिनहरू नुवाकोटमा बितेको थियो। उनको मृत्यु १८३१ माघ १ मा देवीघाटमा हुँदा भाइ दलजित र कान्छा छोरा बहादुर साथमा थिए। हनुमानढोका दरबारमा रहेका युवराज प्रतापसिंहलाई बाबुको मृत्युको खबर सुनाउन र नयाँ राजाको राज्यारोहण गराउन दलजित घोडा चढेर हनुमानढोका दरबार आइपुगे। १३ दिनको आशौच नसकिंदै काका र भतिजाको मनमुटाब भयो। त्यसपछि दलजित नुवाकोट दरबार प्रस्थान गरे। नुवाकोट दरबारमा रहेका दलजित र बहादुर शाहलाई त्यहीं नजरबन्द गर्ने राजाज्ञा भयो। दलजित नजरबन्दबाट भाग्न सफल भए। यद्यपि‚ उनको सर्वस्वहरण भयो।
जेठा चौताराका रुपमा रहेका महोद्दोमकीर्ति शाह कास्की र कान्छा चौतारा दलमर्दन शाह लमजुङ राज्यमा भएका कारण नयाँ मन्त्रीमण्डल गठन गरिंदा स्वतः पदच्युत हुनपुगे। नयाँ राजाको दर्शन गर्न भनी पछि आएका ५० वर्ष पनि नपुगेका काका दलमर्दन शाहलाई ‘काशीवास बस्न जानू’ भन्ने राजा प्रतापसिंहले आदेश दिए। अर्का काका महोद्दामकीर्तिलाई पनि काशीवास जानू भन्ने आदेश पठाउँदा उनी तराई झरे। महोद्दामकीर्तिका दुई छोरा बलभद्र शाह र श्रीकृष्ण शाहलाई पनि विदेश धपाइयो।
अब नयाँ राजा प्रतापसिंहका आफ्नै भाइ बहादुर शाह र काका दलमर्दन शाह मात्रै काठमाडौंमा रहे। राजा सल्लाहकारहरूको चंगुलमा फसिसकेका थिए। भाइ र काकालाई पनि देशनिकाला गर्ने बहानामा अनेक आरोप लगाउने काम भयो। अन्ततः दुबै गोरखा, लमजुङ र पाल्पा हुँदै भारतको बेतियातर्फ लागे। नुवाकोटबाट भागेका दलजित पनि त्यहीं भेटिए। नेपाल दरबारका यी राजकुमारहरू बेतियामा जसको आश्रयमा बसेका थिए, ती आश्रयदाता अन्य नभएर पृथ्वीनारायण शाहबाट देश निकाला गरिएका इशाई पादरीहरू थिए।
पृथ्वीनारायणलाई निकै सुझबुद्ध तथा दूरदृष्टि भएका राजा भनी प्रशंसा गरिए पनि त्यो सबै सन्दर्भ र प्रसंगमा लागू भएको देखिंदैन। हठी स्वभाव र महत्त्वपूर्ण सहयोगीको कुरालाई उपेक्षा गर्ने उनको कमजोरी थियो। अधिकांश युद्धको रणनीति उनी बनाउँथे भने त्यसलाई मूर्त रुप दिने काम ज्यानको बाजी लगाएर भाइहरू तथा अन्य सैन्यले गर्दथे। उनका भाइहरू देश र राजसंस्थाको अहितमा कहिल्यै पनि लागेको देखिंदैन। निर्वासित भए पनि उनीहरू पछिल्ला दिनहरुमा समेत सहयोगी मनस्थितिमा नै रहेको पाइन्छ। भाइहरूलाई चिन्न र व्यवस्थापन गर्न नसक्नुको पीडा देशले लामो समयसम्म भोग्नुपर्यो। दरबारमा गुटबन्दी र हत्याको राजनीतिको बीउ पनि यही हो। यस क्रममा शाहवंशीय राजतन्त्र कमजोर हुँदै गयो। भीमसेन थापा तथा जंगबहादुर राणाको समयसम्ममा आइपुग्दा त नाम मात्रको शाहवंशीय राजतन्त्र हुनपुग्यो। ‘भाइ फुटे गँवार लुटे’ भन्ने उखान यहाँ चरितार्थ भयो।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान जसरी बिर्सन सकिंदैन‚ त्यस्तै उनका सहयोगीहरूलाई पनि बिर्सन मिल्दैन। यद्यपि‚ पृथ्वीनारायणको दैवीकरण गर्दा नेपाल एकीकरणमा सहयोग गर्न उनका भाइहरूको दानवीकरण गरिएको पाइन्छ।