मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ।
दीनानाथ भण्डारी
यस वर्षको मनसुन शुरू भइसकेको छ। वर्षायामका करीब चार महीनामा वर्षभरिको लगभग असी प्रतिशत पानी पर्छ जुन हिमालय र अन्य भूभागका विभिन्न जलाशय (मुहान, तालतलैया, नदी, भूमिगत जल आदि) मा सञ्चय भई वर्षैभरि उपलब्ध हुन्छ।
दक्षिणएशियाका सिन्धु, गंगा, ब्रह्मपुत्र जस्ता ठूला नदी प्रणाली मनसुनी वर्षामै निर्भर छन्। यस क्षेत्रका डेढ अर्बभन्दा बढी मानिसको जीवन, अर्थ व्यवस्थाका साथै अन्य सम्पूर्ण प्राणीको जीवनधारा यही मौसमी र नदी प्रणालीमा आश्रित छ।
हिजोआज वर्षाको चरित्र फेरिएको छ। छोटो समयमै तीव्र वर्षा हुँदा जोखिम अझ बढेको छ। अर्कातर्फ, आसन्न प्रकोप र जोखिमको ख्याल नगरी बनाइएका सडक, सहर, तटबन्ध जस्ता भौतिक संरचनाले पहाडी भूभागमा बाढी-पहिरो निम्त्याउँदै छन्। गत वर्ष बाढीपहिरोका कारण नेपालमा ३२७ जनाले ज्यान गुमाए।
भारी वर्षा र पहिरोबाट एक हजार ५३ परिवार तथा बाढीबाट २७९ परिवार प्रभावित भए। देशभरि अर्बौं रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्तिको क्षति भयो। बाटो, विद्युत्, सञ्चार जस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन पुगे। जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्न केही प्रयास त भएका छन्, तर ती पर्याप्त छैनन्।
केही वर्षयता बाढी पूर्व सूचनाले मधेशमा हुने मानवीय क्षति केही कम गरेको छ। बाढी आउने सूचना पहिल्यै पाउँदा स्थानीयले वेलैमा जीउधन जोगाउन सकेका छन्। बाढीको पूर्वानुमानलाई उन्नत प्रविधियुक्त र थप भरपर्दो बनाइए क्षति अझै कम गर्न सकिन्छ। तब विपद्पछि गर्नुपर्ने उद्धार र राहतको खर्च पनि घट्छ।
अनिष्ट टार्न मौसम पूर्वानुमान
मौसमको भविष्यवाणी गर्ने चलन नौलो होइन। सबै समुदायमा मौसम पूर्वानुमान गर्ने परम्परा पाइन्छ। जस्तो, कतै कमिलाले फूल सारे छिट्टै पानी पर्ने ठानिन्छ त कतै मौरी घारबाट चर्न निस्केनन् भने त्यस दिन मौसम राम्रो नहुने लख काटिन्छ। अनि कतै भनिन्छ, ‘फलानो दिशाबाट आएको बादलले पानी पार्छ।’ पुर्ख्याैली ज्ञान, व्यक्तिगत तथा सामुदायिक अनुभवका आधारमा गाउँठाउँमा यस्ता अनुमान गर्ने चलन बसेको हुनुपर्छ।
अहिले आगामी केही सातासम्मकै मौसम पूर्वानुमान गर्न सकिन्छ जसले जल, स्थल र हवाई यातायात सञ्चालन गर्न, हिमाल आरोहण, खेतीपाती साथै अन्य दैनिक गतिविधि सहज बनाएको छ।
हिजोआज वैज्ञानिक प्रविधिबाट मौसमको पूर्वानुमान गरिन्छ। भू-उपग्रह र दूरसञ्चार प्रविधिको विकासले मौसम पूर्वानुमान गरी समुदायसम्म तत्काल सूचना पुर्याउन सम्भव भएको हो। अहिले आगामी केही सातासम्मकै मौसम पूर्वानुमान गर्न सकिन्छ जसले जल, स्थल र हवाई यातायात सञ्चालन गर्न, हिमाल आरोहण, खेतीपाती साथै अन्य दैनिक गतिविधि सहज बनाएको छ।
विभिन्न देशले मौसमको वैज्ञानिक पूर्वानुमानलाई संस्थागत गरेका छन्। सबैजसो देशमा मौसमको निगरानी गरी भविष्यवाणी गर्ने निकाय छन्। तिनले आपसी समन्वयमा जोखिम घटाउन पनि सघाउँछन्। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम संगठनले सबै देशका मौसम सम्बन्धी निकायबीच जानकारी, सीप र प्रविधि आदानप्रदान सहज पार्दै आएको छ।
विश्वमै मौसम पूर्वानुमानका आधारमा गरिएका बचाउ प्रयासबाट तुलनात्मक रूपमा आँधी, अतिवृष्टि जस्ता घटनामा मानवीय क्षति कम भएको छ। सन् १९७० को भोला नामको आँधीले बाङ्लादेशमा पाँच लाख मानिसको ज्यान लिएको थियो। सन् १९८५ र १९९१ का आँधीमा करीब एक लाख ४० हजारको ज्यान गएको थियो। सन् २००९ को ‘आइला’ आँधीमा बाङ्लादेशका १९० जनाको मृत्यु भयो। त्यसयताका आँधीमा मृत्यु-सङ्ख्या कम छ, धनमालको क्षति समेत घटेको छ।
सही पूर्वानुमान र वेलैमा सूचना सम्प्रेषणकै कारण जोखिममा रहेका समुदाय सुरक्षित स्थानमा सर्दा यो सम्भव भएको हो। विश्व मौसम संगठनको यस वर्षको प्रतिवेदनले ‘पूर्वानुमान, चेतावनी र प्रकोप जोखिम न्यूनीकरणमा भएको सुधारका कारण उष्णप्रदेशीय आँधीबाट मृत्यु हुनेको सङ्ख्या नाटकीय रूपमा घटेको’ निष्कर्ष निकालेको छ।
प्रभावमा आधारित पूर्वानुमान
नेपालमा परम्परागत पूर्वानुमानका आधारमा मौसमको भविष्यवाणी गरिंदै आएको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिन हेरौं, ‘पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।’ (२०७९/०२/३१ गते बिहान ०६ः०० बजे प्रकाशित बुलेटिनबाट उद्धृत)।
मौसमको सम्भावना र प्रभावको स्तर विश्लेषण गरेर न्यून, मध्यम वा उच्च कुन तहको जोखिमको सम्भावना छ भनेर निर्क्योल गर्न सकिन्छ।
यो बुलेटिनमा मौसमले कहाँ, कुन समयमा, के-कस्तो प्रभाव पार्ला भन्ने आकलन गरिएको छैन। यस्तो पूर्वानुमान विपद्अघि नै बचाउका काम गर्न त्यति प्रभावकारी हुँदैन। योभन्दा आधुनिक र प्रभावकारी विधि भनेको प्रभावमा आधारित मौसम पूर्वानुमान हो। यसमा मौसमको जानकारीसँगै जनजीवनमा पार्ने प्रभाव समेत पूर्वानुमान गरी सम्बद्ध सबैलाई सजग रहन वा बचाउका काम गर्न सुझाव दिइन्छ। समयमै विपद्को जानकारी पाए जोखिममा रहेकाहरूले सावधानी अपनाउन पाउँछन्।
प्रभावमा आधारित पूर्वानुमानका लागि धेरै विषयको जानकारी चाहिन्छ। पहिलो त जुन ठाउँका लागि पूर्वानुमान गरिंदै छ, त्यहाँको अवस्थासँगै कुन समयमा के-कस्ता गतिविधि हुन्छन् भन्नेसम्म थाहा हुनुपर्छ। पूर्वानुमान गरिएको क्षेत्र पहिरो गइरहने कमजोर भिरालो पाखो हुन सक्छ, ह्वात्तै बढ्न सक्ने खहरे खोला हुन सक्छन्।
मानिसहरू विभिन्न गतिविधिमा संलग्न भएका हुन सक्छन्। जस्तै, किसानहरू खेती लगाउन/स्याहार्न लागेका हुन सक्छन्, रङ्गशालामा खेल आयोजना गरिएको हुन सक्छ, मन्दिरमा मेला लागेको हुन सक्छ, मानिसहरू वनभोज गएका हुन सक्छन्, सहरी क्षेत्रमा बिहान र साँझ गाडीको चाप बढी हुन्छ आदि।
यस्ता जानकारी प्रतिकूल मौसमी घटनाबाट ती स्थानमा जनधनमा के-कस्तो असर पर्न सक्छ भनी विश्लेषण गर्न सहयोगी हुन्छन्। मौसमको सम्भावना र प्रभावको स्तर विश्लेषण गरेर न्यून, मध्यम वा उच्च कुन तहको जोखिमको सम्भावना छ भनेर निर्क्योल गर्न सकिन्छ। मौसम प्रतिकूल हुने सम्भावना भई त्यसले जनजीवनमा प्रभाव पार्ने देखिए क्षति कम गर्न कसले, कुन समयमा, कहाँ, के गर्नुपर्छ वा के गर्नु हुँदैन भन्ने सुझाव/निर्देशिका तयार गर्न सकिन्छ।
सुझाव/निर्देशन सहितको यस्तो पूर्वानुमान आधिकारिक, भरपर्दो र छिटोछरितो सञ्चार माध्यम मार्फत सम्बन्धित सबै मानिससम्म पुर्याइनुपर्छ। यिनै सुझाव/निर्देशनका आधारमा सम्बन्धित निकाय, समुदाय, व्यक्तिले आआफ्नो जिम्मेवारी बमोजिम बचाउका काम गर्न सक्छन्। जिम्मेवारी अनुसार कामको निर्देशन फरक हुन सक्छ। जोखिम कम गर्ने एउटै ध्येय भए पनि खेल आयोजक, मेला व्यवस्थापक र सडक विभागले गर्नुपर्ने काम फरक हुन्छन्।
विपद् व्यवस्थापन गर्ने निकायबीच समन्वय भए सामान्य प्रकारको पूर्वानुमानले पनि जनधनको क्षति कम गर्न सफलता मिलेका थुप्रै उदाहरण छन्।
धेरै चुनौती तर अपरिहार्य
मौसम पूर्वानुमानमा सुधार गर्नु त छँदै छ, देशका सबै भागमा विपद् जोखिम नक्शाङ्कन गर्न पनि उत्तिकै जरुरी छ। समुदायको सङ्कटासन्नता र दैनिक जनजीवनसम्बन्धी अद्यावधिक जानकारी भए मौसमले कहाँ, के-कस्तो प्रभाव पार्न सक्छ भनेर निर्क्योल गर्न सकिन्छ। अन्तरनिकाय समन्वय र सहकार्य गर्ने संस्थागत परिपाटी बसाउन भने ठूला चुनौती छन्।
मौसम पूर्वानुमानका अन्य चुनौती हुन्- नेपालको जटिल भूबनोट र यहाँका अनगिन्ती सूक्ष्म मौसमी प्रणाली। जटिल भूबनोटका कारण मौसमको प्रभाव अनुमान गर्न झनै कठिन हुन्छ। हरेक वर्ष जमिन प्रयोगको अवस्था परिवर्तन भइरहेको हुन्छ। त्यसको लेखाजोखा गर्न स्रोतसाधन छैन। मौसम पूर्वानुमान गर्न पर्याप्त दक्ष जनशक्तिको कमी छ। त्यसलाई परिपूर्ति गर्न सरकारले कर्मचारी थप्ने र निजी क्षेत्रबाट विज्ञसेवा लिने रणनीति अवलम्बन गर्न सक्छ।
नेपालमा अत्याधुनिक प्रविधि भित्र्याउन र ल्याइएका प्रविधि सञ्चालन गर्न चुनौती छ। उन्नत प्रविधिका आधुनिक उपकरण सञ्चालनमै नआई बिग्रिएका धेरै उदाहरण छन्। हरेक तह/तप्कामा प्रतिबद्धता नभएसम्म व्यवस्थापनका चुनौती पार गर्न सकिंदैन। हाम्रो जटिल भूभाग र परिस्थिति अनुकूलको प्रविधिको विकास हुन सकेको छैन। यस्तो प्रविधिले पूर्वानुमानलाई थप भरपर्दो बनाउन सकिन्छ। अनुसन्धान र प्रविधि विकासमा लगानी गर्ने कुरा राज्यको प्राथमिकतामै छैन।
विपद् व्यवस्थापनमा मौसम पूर्वानुमान महत्त्वपूर्ण रणनीति हो। विपद् व्यवस्थापन गर्ने निकायबीच समन्वय भए सामान्य प्रकारको पूर्वानुमानले पनि जनधनको क्षति कम गर्न सफलता मिलेका थुप्रै उदाहरण छन्। मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाउन सके सम्भावित प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा कम गर्न सकिन्छ। जलवायु परिवर्तनले मौसमी प्रणाली विचलित बनाएको सन्दर्भमा मौसमको अनुगमन र जोखिम पूर्वानुमान पद्धति सुधार्नु अपरिहार्य भएको छ।