दुई वर्षपछि लयमा फर्किँदै मुक्तिनाथ क्षेत्र
![दुई वर्षपछि लयमा फर्किँदै मुक्तिनाथ क्षेत्र](https://www.himalkhabar.com/uploads/posts/800X600/muktinath_(14)_1654923779.JPG)
कोरोनाभाइरसको महामारीका कारण दुई वर्ष सुनसान बनेको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा फेरि पर्यटकको आगमन बढ्न थालेको छ।
केही महीनाअघिसम्म आन्तरिक एवं बाह्य पर्यटकलाई पीसीआर परीक्षण गरेको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था थियो। त्यो हटाएसँगै आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको मुक्तिनाथ मन्दिरका व्यवस्थापक रबिन सुवेदीले बताए। “अहिले दैनिक एक हजारदेखि डेढ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन्, यसमा भारतीय पर्यटक धेरै छन्,” सुवेदीले भने।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20%288%29.JPG)
मुक्तिनाथ क्षेत्रको भ्रमणका आएका वाह्य पर्यटक पनि प्रफुल्लित छन्। भारतका हैदरावादबाट आएकी ४५ वर्षीया विजया निर्मलाले मुक्तिनाथ पुग्दा विषेश आनन्द प्राप्त भएको बताइन्। लामो समयको योजनापछि मुक्तिनाथ पुगेको बताउँदै उनी भन्छिन्, “प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ।” केही स्थानमा असहज रहेको बाटो सुधार्नुपर्ने उनको सुझाव छ।
अर्का भारतीय पर्यटक चन्द्रशेखरले बाटोमा केही असुविधा भएको बताए। बेनी बजारबाट सानो गाडी सात हजार भारतीय रुपैयाँमा भाडा लिएकोमा गुनासो गरे। गाडी भाडामा एकरुपता गर्नुपर्ने उनको भनाइ छ।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(9).JPG)
मक्तिनाथ क्षेत्रको बाटो निर्माणले पर्यटकलाई सहज भएको छ। तर, बाटोमा खुलेका होटलहरूले जथाभावी भाडा लिँदा पर्यटक समस्यामा पर्ने गरेका छन्। “बाटोमा स्वास्थ्योपचारको पनि व्यवस्था छैन,” चन्द्रशेखरले भने।
मुक्तिनाथ क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा भारतीय पर्यटकको आकर्षण जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर नै हुन्छ। समुद्री सतहबाट तीन हजार आठ सय मीटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मालम्बीले पवित्र स्थलका रुपमा लिन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(10).JPG)
मुक्तिनाथलाई हिन्दूले बिष्णुको अवतारका रुपमा र बौद्ध धर्मालम्बीले बुद्धको प्रतिकरुप आर्यावलोकितेश्वर मानेर पूज्ने गरेको मूल पुजारी कृष्णप्रसाद सुवेदी बताउँछन्। तपस्यामा रहेका वेला विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र त्यही पानीका १०८ धारा रहेको किंवदन्ती छ। यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी सुवेदीले बताए।
मुक्तिनाथ क्षेत्रमा दुई वटा याममा पर्यटकको आगमन हुन्छ। अहिले धार्मिक आस्था बोकेर आउँछन् भने असोज–कात्तिकमा घुमफिरका लागि आउने गरेका छन्। “कोरोना महामारीपछि मुक्तिनाथ क्षेत्र विस्तारै लयमा फर्किने थालेको छ,” सुवेदीले भने।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(4).JPG)
दुई सय वर्ष पूरानो रानीपौवा
मुक्तिनाथ क्षेत्रमा रहेको रानी पौवाले करीब दुई सय वर्षको इतिहास जोगाएर राखेको छ। यस भेगकै पुरानो र भव्य काष्ठको महल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
पुजारी सुवेदीका अनुसार १८६३ सालमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा मुक्तिनाथको दर्शनका लागि पुगेकी थिइन्। उनीसँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(2).JPG)
त्यसपछि रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार रानीपौवामा धर्मशाला निर्माण गरेकी थिइन्। स्थानीय बासिन्दाका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो। त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो।
अहिले पनि मुक्तिनाथ आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो। धर्मशाला बाहिर रुखमुनि राखिएको पत्थरको शिलालेखमा रानी पौवा निर्माण गरिएको विषयमा लेखिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(5).JPG)
५५ वटा झ्याल र २६ वटा ढोका रहेको पौवाको बीचमा चोक र चारै दिशामा दुईतले भवन छ। ढुंगा र काठबाट निर्मित भवनमा १२ वटा ठूला कोठाका अतिरिक्त साना कोठाहरू पनि छन्।
रानी सुवर्णप्रभाले रानीपौवाको निर्माणका साथै सदावर्तका लागि राखु भेकमा दुई हजार ५३० मुरी धान फल्ने दुई खेतको गुठी पनि व्यवस्था गरिदिएकी थिइन्। त्यहाँ आउने तीर्थयात्रीका लागि खाना र आवासको सुविधा पु¥याउनुपर्ने बन्दोबस्तबारे रानीपौमा रहेको शिलालेखमा उल्लेख छ।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20(11).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/muktinath/muktinath%20%2812%29.JPG)