चिनौं घर छिमेकका चरा
![चिनौं घर छिमेकका चरा](https://www.himalkhabar.com/uploads/posts/800X600/_भँगेरा_।_तस्बीरः_निकेत_प्रधान_।_1654171929.jpg)
जबसम्म सर्वसाधारणले प्राणी प्रजातिप्रति सद्भाव राख्दैनन् तबसम्म संरक्षण प्रभावकारी हुन सक्दैन। आम मानिसलाई प्रजातिबारे थाहा दिनु नै संरक्षणतर्फको पहिलो पाइला हो।
विश्वमा भएका चरा प्रजातिलाई जोगाउन प्रविधिको प्रयोग गरेर चरा चिन्ने कार्यक्रम नेपालमा पनि सञ्चालन गरिने भएको छ। ६ महीनाअघि पहिलो पटक मोबाइल एप मार्फत गरिएको चरा चिन्ने कार्यक्रमको दोस्रो शृङ्खला जेठ २० गते शुक्रबारदेखि जेठ २३ सम्म गरिंदै छ।
नेपालको पन्छी संरक्षणमा काम गर्दै आएको नेपाल पन्छी संरक्षण संघले एप मार्फत चरा चिन्ने ‘छिमेकी चरा’ कार्यक्रम सुरुवात गरेको हो। कार्यक्रमको उद्देश्य बस्ती आसपास आउने चराबारे सर्वसाधारणलाई जानकारी गराउनुको साथै तिनको अभिलेख राख्नु पनि हो। घरछिमेकमा आउने चरा प्रजातिमा भँगेरा, मलेवा, परेवा, गौंथली, ढुकुर, चखेवा, धोबी चरो, काग, लाटोकोसेरो, सुगा लगायत हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%AE%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%20%E0%A4%9B%E0%A4%BF%E0%A4%AE%E0%A5%87%E0%A4%95%E0%A5%80%20%E0%A4%9A%E0%A4%B0%E0%A4%BE%20%E0%A5%A4.jpg)
मोबाइलमा छिमेकी चरा।
एपमा नेपालको तराई क्षेत्रदेखि उच्च पहाडी क्षेत्रमा पाइने सय वटा चराको सूची राखिएको छ। चराका चित्र, आवाज र चराबारेको जानकारी पनि सो एपमा समावेश छ। आफूले देखेको चरा प्रजाति र सङ्ख्या सजिलै मोबाइलमा भर्न सकिन्छ। एपमा नभएको चरा भेटिएमा आफूले नयाँ प्रजाति थप गर्न पनि सकिन्छ। हालसम्म यो एप २५ सय जनाले डाउनलोड गरिसकेका छन्।
“जाडोमा गणना गर्दा गर्मीयाममा आउने चरा छुट्ने भए। त्यही भएर हामीले यसलाई वर्षको दुई पटक गर्ने कार्यक्रम बनाएका छौं,” ‘छिमेकी चरा’ कार्यक्रमकी संयोजक आरती नेपालीले भनिन्।
नयाँ पुस्तालाई चराप्रतिको माया बढाउन र सकेसम्म धेरैभन्दा धेरै मानिससम्म पुग्न यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ। हालसम्मको प्रतिक्रियाले आफूहरू उत्साहित रहेको संघका सञ्चार अधिकृत निरज दाहाल बताउँछन्। “यसै पनि चरा अवलोकन विज्ञ समूहमा मात्रै सीमित भएको हो कि भने जस्तो देखिन्छ। त्यसलाई चिरेर आम सर्वसाधारणमा पुग्न पनि यो कार्यक्रम गर्न जरुरी छ,” दाहाल भन्छन्। यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय लेन्स निर्माता कम्पनी जेइसस र नेपालकै एभरेष्ट बैंकले पनि सघाएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88%20%E0%A4%9A%E0%A4%B0%E0%A4%BE%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87%20%E0%A4%AC%E0%A4%A4%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A5%88%20%E2%80%98%E0%A4%9B%E0%A4%BF%E0%A4%AE%E0%A5%87%E0%A4%95%E0%A5%80%20%E0%A4%9A%E0%A4%B0%E0%A4%BE%E2%80%99%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20%E0%A4%B8%E0%A4%82%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%95%20%E0%A4%86%E0%A4%B0%E0%A4%A4%E0%A5%80%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20%E0%A5%A4.jpg)
विद्यार्थीहरूलाई चरा प्रजातिबारे बताउँदै ‘छिमेकी चरा’ कार्यक्रम संयोजक आरती नेपाली।
६ महीनाअघि पहिलो पटक भएको मोबाइल मार्फत घरछिमेकको चरा गणना सफल मानिएको थियो। त्यतिखेर एप नयाँ भएको र अभिमुखीकरण कार्यक्रम पनि व्यापक हुन नसकेका कारण केही प्राविधिक र रिपोर्ट गर्दाका समस्या देखिएका थिए।
यो पटक त्यसो नहुने अपेक्षा छ। संघका ‘छिमेक चरा’ को कार्यक्रममा आबद्ध स्वयंसेवकहरूले दैनिक अनलाइन अभिमुखीकरण र भिडिओ कन्फरेन्स मार्फत धेरैलाई एप तथा चराबारे जानकारी दिएका छन्। झण्डै चार सय संस्थासँग सम्पर्क तथा सहकार्य गरिएको नेपालीले बताइन्।
देशभर नै यो कार्यक्रम गर्न खोजिए पनि नौ वटा जिल्लामा भने सम्पर्क स्थापित हुन नसकेको उनले बताइन्। ती जिल्लामा रौतहट, पर्सा, सप्तरी, मुस्ताङ, पूर्वी रुकुम, सल्यान, डोल्पा, प्युठान, पाल्पा छन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%83%E0%A4%A4%20%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%20%E0%A4%8F%E0%A4%AA%E0%A4%AE%E0%A4%BE%20%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE%20%E0%A4%B8%E0%A4%AF%20%E0%A4%B5%E0%A4%9F%E0%A4%BE%20%E0%A4%9A%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B%20%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%20%E0%A5%A4.png)
विस्तृत विवरण सहित एपमा भएका सय वटा चराको चित्र।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ पुस्तालाई चराको संसारमा प्रवेश गराउनु हो। “त्यसैले हामीले बढीभन्दा बढी स्कूल कलेजलाई संलग्न गराउने प्रयास गरेका छौं,” नेपालीले भनिन्, “६० भन्दा बढी निजी तथा सरकारी स्कूलमा कार्यक्रमको अभिमुखीकरण गरेका छौं।”
संघले इच्छुक सर्वसाधारणलाई पनि दैनिक भिडिओ कन्फरेन्स मार्फत अभिमुखीकरण गराउँदै आएको छ। “कतिपय ठाउँमा चरा गणनाका लागि हामीले शुरूदेखि अन्तिमसम्म फिल्डमा नै डेमो पनि गरेका छौं,” स्वयंसेवक निकित प्रधानले भने, “यसो गर्दा चरा चिन्ने तरीका पनि सिकाउँछौं।”
स्कूलमा भाइबहिनीहरूको उत्साहप्रद सहभागिता रहेको कार्यक्रममा संलग्न दीपशिखा नेम्वाङ बताउँछिन्। “फिल्डमै गएर चरा देखाउँदा विद्यार्थीहरूमा चराप्रतिको लगाव बढ्ने देखिन्छ,” नेम्वाङ भन्छिन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%AA%E0%A4%BE%E0%A4%A4%E0%A4%B8%E0%A4%BF%E0%A4%89%E0%A4%A8%E0%A5%87%20%E0%A4%AB%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%8B%20%E0%A5%A4%20%E0%A4%A4%E0%A4%B8%E0%A5%8D%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%83%20%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%20%E0%A5%A4.JPG)
पातसिउने फिस्टो। तस्वीरः निकित प्रधान।
चरा अभिलेखका लागि उपयोग हुँदै आएको विदेशी एप इबर्डजस्तै ‘छिमेकी चरा’ पनि चलाउन सजिलो रहेको र यसका प्रयोगकर्ता बढिरहेको कैलालीबाट चरा गणनामा सहभागी हुँदै आएका पन्छी अवलोकनकर्ता हिरुलाल डंगौरा बताउँछन्। “कैलाली क्षेत्र र आसपासका जिल्लामा यसको विस्तार भइरहेको छ,” उनले भने, “यसले समग्रमा चरा संरक्षणलाई राम्रै हुनेछ।”
अहिलेको नयाँ पुस्ता मोबाइल र इन्टरनेटमै रत्तिने गरेको सन्दर्भमा यही माध्यमबाट चराको संसारमा जान पाउनु सकारात्मक पहलकदमी भएको नहकुल भुसालको तर्क छ। उनका अनुसार, घर आँगनमा आउने चरा चिनाउने नेपालकै एप हुनु राम्रो पक्ष हो। “यो चलाउन पनि सजिलो छ,” वन विज्ञान अध्ययन संस्थान, हेटौंडामा स्नातक तहको अन्तिम पढाइ गरिरहेका भुसाल भन्छन्, “नयाँ पुस्तालाई प्रविधिको प्रयोग गरेर प्रकृतिसँग मेल गराउने यो कार्यक्रम प्रभावकारी छ।”
जसरी चिनेको साथीको माया लाग्छ त्यसै गरी चरा चिनियो भने तिनको पनि माया लाग्छ। ‘छिमेकी चरा’ आमजनलाई चराप्रतिको माया बढाउने प्रयास हो। “जब आमजनलाई चराको माया लाग्छ तिनले चराको संरक्षण गरिहाल्छन्,” दाहाल भन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%B8%E0%A5%87%E0%A4%A4%E0%A5%8B%E0%A4%95%E0%A4%A3%E0%A5%8D%E0%A4%A0%E0%A5%87%20%E0%A4%AE%E0%A4%BE%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%87%20%E0%A5%A4%20%E0%A4%A4%E0%A4%B8%E0%A5%8D%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%83%20%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%20%E0%A5%A4.jpg)
सेतोकण्ठे माटिकोरे। तस्वीरः निकित प्रधान।
एप मार्फतको यो गणनाले शुरूमा चरा चिनाउँछ, त्यसपछि प्रजाति। “शुरूमा भँगेरा मात्रै चिन्छन्। बिस्तारै घर भँगेरा, रुख भँगेरा, पीतकण्ठे भँगेरा, कैलो भँगेरा भनेर चिन्छन्। शुरूमा सुगा मात्र थाहा पाउनेले पछि कर्रा सुगा, कण्ठे सुगा, मदना सुगा भन्ने थाहा पाउँछन्,” दाहाल भन्छन्।
अघिल्लो पटक ५५ वटा जिल्लाबाट चरा गणनाको रिपोर्ट आएको थियो। “हामीले यो अभियानलाई ७७ वटै जिल्लामा पुर्याउने कोशिश गरिरहेका छौं,” दाहालले भने, “अझै नौ वटा जिल्लामा पुग्न नसकिए पनि हालसम्मको सहभागिता र प्रतिक्रिया उत्साहप्रद छ।”
अधिकांश प्रयोगकर्ता काठमाडौं उपत्यकामा रहेको देखिए पनि उपत्यका बाहिर पनि उल्लेख्य सङ्ख्यामा प्रयोगकर्ता छन्। ५३ प्रतिशत प्रयोगकर्ता काठमाडौं बाहिर रहेको नेपाली जनाउँछिन्।
![](https://www.himalkhabar.com/uploads/editor/bird/Migratory%20Birds/Cheemeki%20Chara/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88%20%E2%80%98%E0%A4%9B%E0%A4%BF%E0%A4%AE%E0%A5%87%E0%A4%95%E0%A5%80%20%E0%A4%9A%E0%A4%B0%E0%A4%BE%E2%80%99%20%E0%A4%8F%E0%A4%AA%20%E0%A4%9A%E0%A4%B2%E0%A4%BE%E0%A4%89%E0%A4%A8%20%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A5%88%20%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%20%E0%A5%A4.jpg)
विद्यार्थीहरूलाई ‘छिमेकी चरा’ एप चलाउन सिकाउँदै निकित प्रधान।
यस एपमा अफलाइनमा चराको विवरण भरेर पछि इन्टरनेट कनेक्शन गरेर रिपोर्ट पठाउन सकिन्छ। घरदेखि आधा घण्टाको दूरीमा देखिने चराको गणना गर्ने कार्यक्रम भएकोले नै यसलाई छिमेकी चरा नाम दिइएको हो।
यस पटक सही तथ्याङ्क आउने अपेक्षा रहेको कार्यक्रमका समीक्षक कृष्ण भुसाल बताउँछन्। “अघिल्लो पटकको गणना पहिलो पटक भएको हुँदा केही द्विविधा रहेको हुन सक्छ,” भुसाल भन्छन्, “डंगर, सेतो र सुन गिद्ध प्रजाति नेपालको पश्चिम क्षेत्रमा मात्र सीमित छन्। ती प्रजाति नेपालका अन्य ठाउँबाट रेकर्ड भएको देखिंदैन। त्यस हिसाबले डाटाहरू सही नै हुनुपर्छ भन्ने हाम्रो अपेक्षा छ।”
अन्य प्राणी प्रजाति जस्तै चरा जोगाउन पनि संरक्षणका विभिन्न क्रियाकलाप गर्नुपर्ने आवश्यकता छ। बर्ड अफ नेपालको नेपाली अनुवाद नेपालका चराहरूमा लेखिएको छ, ‘धेरै नेपाली युवाहरूमाझमा संरक्षणको क्षेत्रमा काम गर्ने चासो बढ्दो छ। फलस्वरूप धेरै संवेदनशील व्यवस्थापन र जनचेतना सम्बन्धी समस्याहरू समाधान हुँदै गएका छन्। पन्छी संरक्षणमा चासो लिने मानिसहरूको सङ्ख्या असाधारण रूपमा बढ्दो छ। नेपालमा ठूलै सङ्ख्यामा आफ्नो जैविक विविधता गुमाइसकेको वा गुम्ने क्रममा भए पनि अझै पनि बाँकी रहेकालाई जोगाइराख्ने सम्भावना प्रशस्त छ।’
विश्वमा पाइने कुल चरा प्रजातिमध्ये आठ प्रतिशत नेपालमा पाइन्छन्। नेपालमा पाइने चरा प्रजातिको सङ्ख्या ८८९ छ। तिनमा मौसमी बसाइँसराइका लागि आउने घुमन्ते चराको सङ्ख्या झण्डै तीन सय छ। गर्मी याममा घुम्न आउने चराको सङ्ख्या भने झण्डै ४५ छ। नयाँ गणनाको नतीजाले नेपालको चराको अवस्था बुझ्न मद्दत गर्दछ भने नीति निर्माण र अनुसन्धानलाई पनि निर्देशित गर्ने अपेक्षा छ।