किशोरावस्था र लोकप्रियताको लोभ
![किशोरावस्था र लोकप्रियताको लोभ](https://www.himalkhabar.com/uploads/posts/800X600/kishorkishori_1651314093.jpg)
किशोरकिशोरीलाई लोकप्रिय बनाउने लोभ देखाएर कसैले झुक्याइरहेका पो छन् कि? यसबारे सोच्नुपर्ने भएको छ।
सुशीला शर्मामानिसको जीवनकालका विभिन्न अवस्थामध्ये किशोरावस्थालाई सङ्क्रमणकाल मान्न सकिन्छ। यो बाल्यावस्था र युवावस्थाबीचको काल हो। किशोरावस्थामा शारीरिक‚ मानसिक परिवर्तन देखा पर्छन्।
किशोरकिशोरीले धेरै सपना देख्छन्। यही अवस्थामा आफ्ना रुचिका काम पनि शुरू गर्छन्। कतिपय साथीसँगीको लहैलहैमा परी कुलतमा पनि फस्न सक्छन्‚ कतिपय ललाइफकाइमा परेर विभिन्न खाले हिंसाको शिकार बन्न पुग्छन्।
पछिल्लो समय सूचना प्रविधिले संसारलाई एकै ठाउँमा जोडिदिएको छ। सूचना प्रविधिका कारण नै कुनै व्यक्ति रातारात ‘हिट’ हुन्छन्, कुनै रातारात धनी। बदलिंदो विश्व परिवेश, विज्ञान तथा सूचना प्रविधिको विकास, बजारवादी व्यवस्थाका कारण यस्तो अवस्था सिर्जना भएको हो।
उदाहरणका लागि, कोरोना महामारीसँगै केही किशोरीहरू नेपाली साङ्गीतिक क्षेत्रमा उदाएका छन्। रातारात सेलेब्रिटी भएका छन्। उनीहरूको सुमधुर स्वर नेपाली साङ्गीतिक बजारमा छाएको छ। दुई-तीन वर्षको अन्तरालमा नै उनीहरूको जीवनशैली परिवर्तन भएको छ। आर्थिक र सामाजिक रूपमा कायापलट भएको छ।
तर‚ कसैको जीवनमा आएको अप्रत्याशित परिवर्तन कति दीर्घकालीन हुन्छ? किशोरकिशोरीलाई लोकप्रिय बनाउने लोभ देखाएर कसैले फसाइरहेका पो छन् कि? यसबारे सोच्नुपर्ने भएको छ। किनकि‚ प्रतिभावान् किशोरकिशोरीहरू फसिरहेका उदाहरण छन्।
कानूनी लडाइँमा गइसकेपछि पीडक पक्षबाट शक्ति र धनको तुजुक देखाइन्छ। प्रलोभन, धम्कीबारे आउँछ। तर‚ न्याय पाउन यस्ता प्रलोभनबाट टाढा रहनुपर्छ। पीडकमाथि दयाभाव देखाउन छोड्नुपर्छ।
बढ्दो उमेरसँगै उनीहरूमाथि हुने विभिन्न प्रकारका हिंसाबारे किशोरकिशोरीलाई जानकारी दिनु, खबरदारी गर्नु, समस्यामा परे कानूनी उपचारको खोजी गर्नु अभिभावक, शिक्षक तथा राज्यको कर्तव्य हो। तर‚ यसको अभावमा उनीहरू विभिन्न प्रकारका हिंसाबाट पीडित भइरहेका छन्। पीडितमध्ये एकाधले कानूनी उपचारको बाटो खोजे पनि ‘होस्टाइल’ बनाई बयान फेर्न बाध्य बनाइएका घटना पनि छन्।
यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन किशोरकिशोरीले आफ्ना जीवनमा भएका घटनालाई डायरीमा टिप्ने बानी विकास गर्नुपर्छ। कसैले आफूलाई ललाइफकाइ गरे, यौनजन्य दृष्टिकोणले हेरे, आफूलाई अमान्य हुने कुरा गरे त्यसलाई डायरीमा लेख्नुपर्छ।
यसरी लेखिएका कुराले किशोरकिशोरीमाथि कसले‚ कसरी‚ कहाँ हिंसा गर्दा रहेछन् भन्ने जानकारी दिन्छ। जसबाट हिंसालाई न्यूनीकरण गर्ने कार्यक्रम ल्याउन मद्दत पुग्छ। साथै‚ त्यो समय समाज कस्तो थियो भन्ने पनि जानकारी गराउँछ। यसलाई एन फ्र्यांकको डायरीले पनि पुष्टि गरेको छ।
आफ्ना किशोरावस्था, त्यस वेलाको परिवेश र आफ्ना मनोभावबारे फ्र्यांकले डायरी लेखेकी थिइन्। सन् १९२९ मा जिविस परिवारमा जन्मिएकी उनी चार वर्षको हुँदा परिवारसँगै नेदरल्यान्डको एम्सटर्डम बसाइँ सरिन्। दोस्रो विश्वयुद्ध र जर्मनीमा हिटलरको शासनका कारण उनको परिवार भूमिगत हुनुपरेको थियो।
भूमिगत अवस्थामा फ्रयांकले आफ्ना दैनिकी डायरीमा उतारिन्। डायरीमा प्रत्येक दिनका घटनाहरू र मनमा उठेका कुरा लिपिबद्ध थिए। तर, १६ वर्ष नपुग्दै उनको मृत्यु भयो। उनका बाबुले सन् १९४५ मा फ्र्यांकको डायरीलाई दी डायरी अफ अ यङ गर्ल नाममा प्रकाशन गरे। पुस्तक चर्चित भयो। विश्वका करीब ७० भाषामा अनुवाद भएको थियो। पुस्तकले विश्वयुद्ध, त्यस वेलाको समाज र किशोरकिशोरीको मनस्थितिबारे बुझ्न सहयोग गर्छ।
किशोरकिशोरीमाथि विभिन्न प्रकारका हिंसा गरे दोषीलाई कारबाही गर्ने कानून छन्। तर, महत्त्वपूर्ण कुरा कानूनी लडाइँमा गइसकेपछि पीडक पक्षबाट शक्ति र धनको तुजुक देखाइन्छ। प्रलोभन, धम्की आउँछ। यसबारे सुसूचित भने हुनै पर्छ।
न्याय पाउन यस्ता प्रलोभनबाट टाढा रहनुपर्छ। पीडकमाथि दयाभाव देखाउन छोड्नुपर्छ। किनकि‚ पीडकलाई दयाभाव राख्ने प्रवृत्ति हाम्रो समाजमा छ। यस्तै‚ पीडित महिलालाई नै समाजले पनि दोषी देखाउने गर्छ। यी सबका कारण पितृसत्तात्मक सामाजिक व्यवस्था हो। यसमा फेरबदल ल्याउन जरुरी छ।