अस्पतालमै रगत पुर्याउने यस्तो छ लायन्स प्रयास

हाम्रो रक्तसञ्चार केन्द्रमा दैनिक कुन रक्त समूहको कति युनिट रगत छ भन्ने तथ्याङ्क हरेक अस्पतालमा पुग्छ, रगत खोज्न विभिन्न रक्तसञ्चार केन्द्र धाउनुपर्ने बाध्यता हट्छ।
अजय खनाललायन्स क्लबले स्थापनाकालदेखि आँखाको क्षेत्रमा काम गर्दै आएको थियो। देशमा रगतको अभाव देखिन थालेपछि २०५९ सालदेखि हामी रक्तदान कार्यक्रममा सहभागी भयौं। रक्तदान गर्दै गएपछि हामीले बुझ्दै गयौं, रगत सङ्कलन नभएर होइन, रक्तसञ्चार केन्द्रहरूको व्यवस्थापकीय कमजोरीका कारण अभाव भएको रहेछ।
त्यो देखेपछि हामीले रक्तसञ्चार केन्द्र खोल्ने निधो गर्यौं। लायन्स क्लब यो क्षेत्रमा आउनुको उद्देश्य व्यापारिक स्वार्थ या नेपाल रेडक्रस सोसाइटीसँग प्रतिस्पर्धा गर्नु कदापि होइन। देशमा रगत सर्वसुलभ नपाउने अवस्थाको अन्त्य गर्न हामी लागेका हौं।
देशभर लायन्सका ४७ हजार सदस्य छन्। यति ठूलो संस्थाले रक्तदान मात्रै गर्नुभन्दा रगत सङ्कलन र वितरण गर्दा स्वास्थ्य क्षेत्रमा केही योगदान हुन्छ भन्ने लाग्यो। त्यसै बमोजिम त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र बनाउने सम्झौता भयो, र वैशाख २०७३ मा संस्था दर्ता गर्यौं।
लायन्सले रक्तसञ्चार केन्द्र स्थापनाका लागि २०६९ सालदेखि माग गर्दै आए पनि नीतिगत व्यवस्था नभएकाले पहिले सम्भव भएन। रक्तसञ्चार नीति संशोधन भएर सामाजिक संघसंस्थाले पनि रक्तसञ्चार सेवा सञ्चालन गर्न पाउने व्यवस्था भए अनुसार गत साउनमा हामीले सैद्धान्तिक स्वीकृति पाइसकेका छौं। त्रिविले उपलब्ध गराएको तीन रोपनी जग्गामा भवन निर्माणको काम सकिइसकेको छ।
राष्ट्रिय रक्तसञ्चार ब्यूरोले इजाजतपत्र प्रयोजनका लागि रक्तसञ्चारको प्रविधि र जनशक्ति तयार गर्न १८ महीनाको समय दिएको छ। रक्तसञ्चार क्षेत्रमा भइरहेको अस्तव्यस्तता सुधार्न ट्रान्सफ्युजन मेडिसिन विज्ञको टीम सहित ‘ए’ वर्गको ब्लड ब्याङ्क बनाउने तयारी गरेकाले जनशक्ति, प्रविधि र व्यवस्थापनमा अहिलेका रक्तसञ्चार केन्द्रहरूभन्दा हामी अब्बल हुनेछौं।
अहिले कुनै पनि अस्पतालमा रगत आवश्यक पर्दा बिरामीको आफन्त नै रगत खोज्न दौडिनुपर्ने अवस्था छ। कुन रक्तसञ्चार केन्द्रमा रगत छ भन्ने जस्ता सामान्य तथ्याङ्कको व्यवस्थापन नहुँदा धेरैले सास्ती भोगेका छन्।
त्यस्तै, बिरामीका आफन्तले रगत लैजाँदा सुरक्षित रूपमा नपुग्ने सम्भावना उत्तिकै हुन्छ। भण्डारणको तापक्रम र अस्पताल पुर्याउने समयावधि नमिल्दा रगतले प्रभावकारी काम नगर्ने समस्या चिकित्सकहरूले भोगिरहेका छन्।
हामी अस्पतालसँग सम्झौता गरेर चाहिएको समयमा रगत उपलब्ध गराउँछौं। रगत पुर्याउन हाम्रै कर्मचारी व्यवस्था गर्ने भएकाले सुरक्षित रूपमा पुग्छ।
त्यस्तै, अस्पतालसँग सीधै सम्पर्क गरेर रगत व्यवस्थापन गर्ने भएकाले रगत खेर जाने समस्या पनि समाधान हुन्छ। हाम्रो रक्तसञ्चार केन्द्रमा दैनिक कुन रक्त समूहको कति युनिट रगत छ भन्ने तथ्याङ्क हरेक अस्पतालमा पुग्छ, रगत खोज्न विभिन्न रक्तसञ्चार केन्द्र धाउनुपर्ने बाध्यता हट्छ।
रक्तसञ्चार क्षेत्रको विकास नहुनुको अर्को कारण जनशक्ति अभाव हो। राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ जनशक्ति उत्पादन र तालीममा ध्यान नदिंदा देशको रक्तसञ्चार क्षेत्र ३० वर्ष पछाडि छ।
त्रिवि लायन्स रक्तसञ्चार अनुसन्धान केन्द्रको उद्देश्य यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु पनि हो। यहाँबाट उत्पादित जनशक्तिले केही वर्षमा देशका अन्य रक्तसञ्चार केन्द्रको नेतृत्व गरेर त्यहाँका समस्या समाधान गर्छन् भन्ने अपेक्षा सहित योजना बनाइरहेका छौं।
(खनाल त्रिवि लायन्स रक्तसञ्चार अनुसन्धान केन्द्रका महासचिव हुन्।)