बिरामीको उपचार र हेरचारमा एक-एक मिनेटको महत्त्व हुने क्रिटिकल केयरमा खटिने नर्सले तालीम पनि पाएका हुँदैनन् भने यस सम्बन्धी मापदण्ड समेत बनाइएको छैन।
क्रिटिकल केयर नर्सिङ स्वास्थ्य क्षेत्रको अभिन्न विधा हो। कोभिड-१९ को महामारीले यसको महत्त्व झन् बढाएको छ।
क्रिटिकल केयर नर्सिङ शिक्षा नेपालमा छैन। त्यसैले क्रिटिकल केयरमा काम गर्ने नर्स तयार गर्न क्रिटिकल केयर नर्सेस एसोसिएशन अफ नेपालले क्रिटिकल केयर नर्स तालीम दिंदै आएको छ। अहिलेसम्म १० वटा समूहलाई प्रशिक्षण दिइसकेका छौं। जसमा २३८ क्रिटिकल केयरमा काम गर्ने नर्स ग्राजुएट भए।
हामीले क्रिटिकल केयरको तालीम दिएका २३८ जना नर्स नेपालमै छन् कि छैनन् भन्ने यकिन छैन। किनकि, त्यसको एउटै कारण हो- पारिश्रमिक। अत्यन्तै कम पारिश्रमिक भएपछि उत्प्रेरणा हुन्न। अझ ग्रेड बढाउने, तलब बढाउने र तालीम दिने जस्ता अत्यावश्यक काम नहुँदा नर्सिङ पेशामा वितृष्णा बढ्दो छ।
खासमा क्रिटिकल केयर नर्सको आवश्यकता र महत्त्व बुझेर क्षमता बढाउने काम गर्नुपर्ने हो, तर यसबारे सरकारले वास्ता गरेकै छैन। अन्य देशमा क्रिटिकल केयरमा काम गर्न दुई वर्ष फ्लोरमा काम गरेर क्रिटिकल केयरको तालीम लिनुपर्छ।
नेपालमा कुनै मापदण्ड बनाइएको छैन। एसएलसी पास गरेर पीसीएल नर्सिङ पढेको फ्रेस जनशक्तिले आईसीयूमा सीधै काम गर्छ। त्यो नर्ससँग आईसीयूमा काम गर्ने सीप र शिक्षा छ/छैन भनेर हेरिन्न।
यसरी एउटा फ्रेस नर्सले भेन्टिलेटरमा गएर सिकिस्त बिरामी हेर्नुपर्ने अवस्था अत्यन्त डरलाग्दो हो। नेपालमा क्रिटिकल केयर नर्सिङको मापदण्ड बनाउने, मापदण्ड अनुसार काम भयो कि भएन भनेर हेर्ने र विधागत नर्सिङ जनशक्तिलाई प्रमाणीकरण गर्ने आधिकारिक निकाय पनि छैन।
वर्षौं अर्थो या सुत्केरी वार्डमा काम गरिरहेका नर्सलाई आईसीयूको बिरामी हेर्न सारिन्छ। उनीहरूले आईसीयूमा रहेका सिकिस्त बिरामीको हेरचाह कसरी गर्न सक्छन्? हाम्रोमा नर्सिङ विषयको विशेषज्ञता नहुँदा पनि भर्खरै भर्ना भएका फ्रेस नर्सदेखि कहिल्यै आईसीयूको ट्रेनिङ नै नलिएका नर्सलाई आईसीयूमा पठाउने गरिएको छ।
आईसीयूमा बिरामी सिकिस्त हुन्छन्, जहाँ कुरुवा पनि हुँदैनन्। एक मिनेटमा पनि बिरामीको ज्यान तल-माथि हुन सक्छ। ‘लेभल थ्री’ आईसीयूमा भएका बिरामीलाई डायलासिस गर्ने तथा कृत्रिम श्वासप्रश्वास दिनुपर्छ। त्यो ठाउँमा केयर गर्न एक बिरामीलाई एक जना नर्स चाहिन्छ। तर, यो मापदण्ड पनि अस्पतालले पुर्याएका छैनन्। एक बिरामी बराबर एक जना नर्स हुनुपर्नेमा एक नर्सले दुईदेखि तीन जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ। जसले गुणस्तरीय सेवा दिन सकिंदैन।
क्रिटिकल केयर नर्स हुन के कस्तो क्षमता चाहिन्छ? के कस्तो सीप सिक्नुपर्छ? के पढ्नुपर्छ? यसमा सरकारले मापदण्ड बनाएको छैन। क्रिटिकल केयरको गुणस्तरमा सुधार ल्याउन मापदण्ड बनाउन जरुरी छ। कति बिरामी हेर्न कति नर्स चाहिन्छ भनेर नीति बनाउनु पनि आवश्यक छ।
नेपालमा क्रिटिकल केयर नर्सको अवधारणा नै छैन। त्यसैले दरबन्दी पनि छैन। अझ नर्सिङ जनशक्तिको अभाव छ। जसले गर्दा बिरामी र नर्सिङ जनशक्तिको अनुपात मिलेको छैन। सामान्यतया वार्डमा एक जना नर्सले ६ जनासम्म बिरामी हेर्ने मापदण्ड छ, तर अधिकांश अस्पतालमा एक जना नर्सले २० जनासम्म बिरामी हेर्नुपर्छ। नर्सिङ जनशक्तिको आश्यकता अनुसार दरबन्दी गरिएको भए यो समस्या आउने नै थिएन। क्रिटिकल केयर नर्सको पनि मापदण्ड बनाउनुपर्छ।
यो पेशा नयाँ-नयाँ अनुसन्धानको आधारमा चल्ने हो। समय अनुसार नयाँ नयाँ प्रविधि र उपचार पद्धति विकास हुँदै गएका छन्। त्यसैले दैनिक काम गर्दै आए पनि नर्सलाई हरेक पाँच-पाँच वर्षमा तालीम दिनुपर्छ। तालीम नहुँदा पुरानो उपचार पद्धति अपनाइन्छ, जसले बिरामीलाई तुलनात्मक रूपमा राम्रो नगर्न पनि सक्छ।
पछिल्लो समयमा आएका नयाँ प्रविधि र उपचार पद्धति लगायत विषयमा ‘अपडेट’ र अभ्यस्त हुन तालीम नै आवश्यक हुन्छ। तर, नेपालमा भने तालीम नै हुन्न। यससँगै नर्सिङ पेशामा मापदण्ड बनाउने तथा लागू गर्ने र त्यसलाई नियमन गर्ने निकाय नहुँदा विकृति बढ्दो छ।
कोभिड-१९ महामारीका वेला बिरामीको चाप बढेपछि आईसीयूमा एक जना नर्सले तीन जनासम्म बिरामी हेर्नुपर्यो। यससँगै नयाँ थपिएको जनशक्तिलाई क्रिटिकल केयरको विषयमा जानकारी नहुँदा बिरामीले गुणस्तरीय सेवा पाउन सकेनन्।
सबै मापदण्ड पूरा नहुँदा या दक्ष नर्स नहुँदा बिरामीले गुणस्तरीय सेवा पाउन सक्दैनन्। जसले बिरामीको उपचारमा पनि नकरात्मक असर पर्छ।
त्यस्तै, सिकारु नर्स या आईसीयूमा मापदण्डमा तोकिएको भन्दा थोरै नर्स हुँदा चिकित्सकले दिएका निर्देशन पनि पालना गर्न गाह्रो हुन्छ। बिरामीको हेरविचार तथा उपचारमा समय दिन सकिंदैन।
थोरै जनशक्तिले धेरै काम गर्नुपर्दा शारीरिक तथा मानसिक थकान बढ्न जान्छ। आईसीयूमा रहेका जटिल बिरामीलाई एक मिनेट पनि छाड्न मिल्दैन। त्यस्ता बिरामीलाई पर्याप्त समय दिन नसक्दा उपचारमा पनि समस्या आउँछ।
यसले नर्समा पनि ‘फ्रस्टेशन’ बढ्न जान्छ। जसको कारण नर्सलाई बिस्तारै आफ्नो पेशाप्रति नै वितृष्णा बढ्न थाल्छ। किनकि, आफूले गरेको कामको राम्रो नतीजा नआउँदा कोही पनि सन्तुष्ट हुन सक्दैन। यसको दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीमा नै असर गर्छ।
अन्य देशमा विधागत नर्सको अभ्यास भएकाले पनि स्वास्थ्य सेवाको गुणस्तर राम्रो छ। हामीले पनि नर्सिङ क्षेत्रमा विशेषज्ञता निर्धारण गर्नुपर्छ। डायलासिस, अर्थो, जनरल, क्रिटिकल केयर, सुत्केरी जस्ता विधामा नर्सलाई छुट्याएर शिक्षा र तालीम दिनुपर्छ। यसले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउँछ।
(क्रिटिकल केयर नर्सेस एसोसिएशन अफ नेपालकी महासचिव सिटौला त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयरमा काम गर्छिन्।)