पुनर्निर्माणमा स्थानीय तागत
२०७२ सालको भूकम्पले क्षति पुर्याएका ङातापोंल र भैरवनाथ मन्दिरको सबल र सफल पुनर्निर्माणले सबैको सहकार्य भए आफ्नो सम्पदा आफैं बनाउन सकिने सन्देश दिएको छ।
रबिना शिल्पकार
धार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यकामा प्रशस्त मठमन्दिर छन्। यीमध्ये भक्तपुरको टौमढी टोलमा अवस्थित पाँचतले मन्दिर र भैरवनाथ मन्दिर महत्त्वपूर्ण सम्पदा हुन्। पाँचतले मन्दिरलाई ङातापोंल (नेपालभाषामा ङाता भनेको पाँच र पोंल भनेको छाना भएको) नामले पनि चिनिन्छ। पाँच वटा पेटीमा उभिएको यो ऐतिहासिक मन्दिर १०६.४६ फिट अग्लो छ।
ङातापोंल (बोलीचालीमा न्यातापोल) मन्दिर १७०२ साल (नेपाल संवत् ८२२)मा राजा भूपतीन्द्र मल्लले ६ महीनाको छोटो अवधिमा बनाउन लगाएको ङातापोंलको सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा पुस्तकमा उल्लेख छ। यसै मन्दिरको छेउमा दक्षिण-पूर्वतिर भैरवनाथ मन्दिर छ। १७४४ सालमा भूपतीन्द्र मल्लले पहिलेको आकाश भैरवको एकतले मन्दिरमा दुई छाना थपेर अहिलेको स्वरूपमा बनाउन लगाएको अभिलेखमा पाइएको छ।
दक्षिण मोहडाको पहिलो छानामा अहिले पनि रहेका तीन गजुरले यो तथ्य पुष्टि गर्छन्। पाँचतले मन्दिरलाई भूपतीन्द्र मल्लको इष्टदेवताका रूपमा पुजिन्छ भने भैरवनाथ मन्दिर दैनिक पूजाआजाका साथै विभिन्न जात्रासँग सम्बन्धित छ।
आर्किटेक्चर अफ द नेवार्स र मोनुमेन्ट कन्जर्भेशन इन नेपाल पुस्तक अनुसार, १९९० सालको महाभूकम्पले पाँचतले मन्दिरको सबैभन्दा माथिल्लो तला मात्र भत्काएको र सँगै रहेको भैरवनाथ मन्दिरलाई भने पूर्ण रूपले क्षति पुर्याएको थियो। यही सन्दर्भलाई दर्शाउँदै भक्तपुरमा ‘ङातापोंल छता मरु भैल द्य पत्ता मरु’ (ङातापोंलको एक तला छैन, भैरवनाथ पूरै छैन) कथन लोकप्रिय छ।
विश्व सम्पदामा सूचीकृत पाँचतले र भैरवनाथ मन्दिर विश्वकै चासोका विषय भएकाले यिनको भूकम्पपछिको मर्मतका लागि नगरपालिकाले फरक शैली अपनाएको थियो।
२०७२ सालको भूकम्पले पनि ङातापोंल मन्दिरमा आंशिक मात्रै क्षति गरेको थियो। भूकम्पबाट सबैभन्दा माथिल्लो तला पहिलो छानाको तुलनामा ३.२५ डिग्री, दोस्रो छाना ०.१५ डिग्री, तेस्रो ०.२९ डिग्री र चौथो ०.८५ डिग्रीले घडीको सुई घुम्ने दिशामा बटारिएको अनुसन्धानहरूले देखाएका थिए। यस्तै, भुइँतला र पेटीमा केही चर्केको र बीचका तलाहरूमा खासै असर नपुर्याएको पाइयो। ७.८ म्याग्निच्यूडको भूकम्पले पनि यति अग्लो मन्दिरलाई आंशिक क्षति मात्र गर्नुले यसको वास्तुकला र हाम्रो परम्परागत शैली कति बलियो रहेछ भनेर पुष्टि गर्छ।
भैरवनाथ मन्दिरमा २०७२ सालको भूकम्पले आंशिक क्षति पुर्यायो। तीन छाना सात तला भएको उक्त मन्दिरमा विभिन्न तलामा गाराहरू चर्केको पाइएको थियो। सबैभन्दा माथिल्लो तलाका गारा भत्किएका थिए। साथै, काठका थाम, निदाल जोड्ने जोर्नीहरू निस्केका थिए र चारैतिर झ्यालहरू झरेका थिए। यसमा भूकम्प मात्र कारण थिएन, ओसका कारण भुइँतलाका काठहरू यसै पनि मक्किएका थिए।
छिँडीमा नासः प्वाल र सानाटिकी झ्यालहरू मात्र भएका कारण पर्याप्त हावा खेल्न नपाएर काठ तथा गारो ओस्सिएको पाइयो। साथै, पहिलो तलामा रहेका भैरवलाई नित्य पूजा र अन्य पूजामा चढाइने जल तथा बलि दिंदा बग्ने रगतलाई निकास नहुँदा त्यसको ओसले पनि समस्या पारेको देखियो।
भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा लिएर भक्तपुरका विभिन्न मठमन्दिरको पुनर्निर्माण, मर्मतसम्भार तथा जीर्णोद्धार गर्दै आएको छ। विश्व सम्पदामा सूचीकृत पाँचतले र भैरवनाथ मन्दिर विश्वकै चासोका विषय भएकाले यिनको भूकम्पपछिको मर्मतका लागि नगरपालिकाले फरक शैली अपनाएको थियो।
पुनर्निर्माणको क्रममा ङातापोल मन्दिर।
मन्दिरमा भएको क्षतिको विवरण प्रस्तुत गरी मर्मतसम्भार तथा जीर्णोद्धार कसरी गर्ने भनेर इतिहासविद्, सम्पदाविद्, पुरातत्त्वविद्, वास्तुविद्, स्ट्रक्चरल इन्जिनियर, अरू विज्ञहरू, प्राध्यापक तथा प्रशासन सहितको गोष्ठी आयोजना गरी छलफल गरिएको थियो। गोष्ठीबाट दुवै मन्दिरको विस्तृत अध्ययन गरेर जीर्णोद्धारबारे सुझाव प्रतिवेदन समेत दिने गरी एक प्राविधिक टोली बनाउने निर्णय गरिएको थियोे।
प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले दुवै मन्दिरमा आंशिक क्षति मात्रै भएकाले मर्मत तथा जीर्णोेद्धार गरे पुग्ने र दुवैमा माथिल्लो तला भने भत्काएर पुनर्निर्माण गर्नुपर्ने देखायो। प्रतिवेदन अनुरूप भक्तपुर नगरपालिकाले भैरवनाथ मन्दिरको उपभोक्ता समिति मार्फत २ असोज २०७६ मा जीर्णोेद्धार कार्य शुरू गरेको थियो। सबैभन्दा माथिल्लो तला भत्काई मन्दिरलाई बलियो बनाउन थप चुकुल, जोर्नी राखी परम्परागत शैलीमा पुनर्निर्माण गरिएको थियो।
अन्य भागमा चर्केका ठाउँ मर्मत गरी मक्किएका सामान फेरेर पुनर्निर्माणको काम २०७६ असार मसान्तमा सम्पन्न गरिएको थियो। २८३ व्यक्तिबाट प्राप्त रु.पाँच लाख १६ हजार ९५८ सहित नगरपालिकाले एक करोड ४६ लाख ३६ हजार ७४५ रुपैयाँ १३ पैसा लागतमा काम शुरू गरे पनि ५६ लाख ३९ हजार २७५ रुपैयाँ २५ पैसामै काम पूरा भएको थियो।
स्थानीय सम्पदाको माया अरूलाई भन्दा स्थानीयलाई नै बढी लाग्छ। उपभोक्ता समिति मार्फत काम गराउँदा अपनत्व हुने भएकाले कम लागतमा गुणस्तरीय काम गर्न सकिने उदाहरण यी दुई मन्दिरको पुनर्निर्माणले देखाउँछ।
यस्तै, पाँचतले मन्दिरको मर्मत कात्तिक २०६७ मा उपभोक्ता समिति मार्फत नै शुरू गरिएको थियो। यो मन्दिरमा पनि सबैभन्दा माथिल्लो तला भत्काई परम्परागत शैलीमा पुनर्निर्माण गरिएको थियो। सबै छानाहरू छाउनुका साथै भुइँतलाको चर्केको भाग मर्मत गरी पुनर्निर्माण सम्पन्न भएको थियो। पुनर्निर्माणमा महिला र पुरुष गरी चार हजार १८७ जनाले श्रमदान गरेका थिए।
२४ साउन २०७७ को स्थानीय मजदूर दैनिकमा प्रकाशित भक्तपुर नगरपालिकाको धन्यवाद ज्ञापन लेख अनुसार, यो काममा २८३ जनाबाट प्राप्त रु.१५ लाख ४७ हजार ५६९ आर्थिक सहयोग र पाँच लाख ६९ हजार ७०० बराबरको सामग्री र नगरपालिकाले रु.६५ लाख १३ हजार ३५८ रुपैयाँ २७ पैसा विनियोजन गरेकोमा रु.३८ लाख ७७ हजार ६२८ रुपैयाँ ४१ पैसामा पुनर्निर्माण सकिएको थियो।
स्थानीय सम्पदाको माया अरूलाई भन्दा स्थानीयलाई नै बढी लाग्छ। उपभोक्ता समिति मार्फत काम गराउँदा अपनत्व हुने भएकाले कम लागतमा गुणस्तरीय काम गर्न सकिने उदाहरण यी दुई मन्दिरको पुनर्निर्माणले देखाउँछ। तीन सय वर्षअघि पनि राजा र जनता मिलेर पाँचतले मन्दिर ६ महीनामै बनाएको इतिहास र पछिल्लो पुनर्निर्माण हेर्दा जनसहभागिता र सहकार्य भए आफ्नो सम्पदा मौलिक स्वरूपमा आफैं बनाउन सकिने सन्देश दिएको छ।
(ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ अन्तर्गतको प्राविधिक शाखामा कार्यरत आर्किटेक्ट शिल्पकार भैरवनाथ जीर्णोद्धार समिति र ङातापोंल जीर्णोद्धार समितिकी सदस्य थिइन्। हिमालको माघ अङ्कबाट।)