दश लाख

फ्रान्सका साहित्यकार
मोपासाँ (सन् १८५०–१८९३) उन्नाइसौं शताब्दीका विख्यात कथाकार हुन्। लेखनमा उनी प्रकृतिवादी र यथार्थवादी धारको प्रतिनिधित्व गर्छन्। 'मास्टर अफ सर्ट स्टोरी' मानिने उनले
मानव जीवन, नियति र सामाजिक विषयलाई अक्सर निराशावादी कोणबाट चित्रण गरेका छन्। उनको यो कथा कलाकार/साहित्यकार लैनसिंह बाङ्देलले अनुवाद गरेका हुन्। रत्न पुस्तक भण्डारले प्रकाशन गरेको बाङ्देलद्वारा अनूदित १२ वटा विदेशी कथाको नेपाली अनुवाद 'विश्वकथा सङ्ग्रह' बाट प्रस्तुत कथा साभार गरिएको हो।
त्यो परिवारमा दुई प्राणी थिए– लोग्ने र स्वास्नी। लोग्ने सरकारी अफिसमा क्लर्क थियो। ऊ खुबै कर्तव्यपरायण औ शुद्ध हृदयको मानिस थियो। उसको नाउँ थियो बोनिन।
ऊ पुड्के औ साधारण विचार भएको युवक थियो। दुनियाँका अरू मानिसहरूभन्दा उसमा केही विशेषता थिएन, केही भिन्नता थिएन। बालककालमा उसलाई धार्मिक शिक्षा दिइएको थियो औ उसलाई आफ्नो इमानदारीमाथि गर्व थियो। ऊ छाती ठोकेर भन्थ्यो– 'धर्मको म पक्का अनुयायी छु, एकदम पक्का! म ईश्वरमाथि विश्वास गर्छु, तर पादरीहरूमाथि गर्दिनँ।'
वास्तवमा ऊ बडो इमानदार र भलो मान्छे थियो। ऊ ठीक समयमा अफिस पुग्थ्यो औ ठीक समयमा फर्कन्थ्यो। कामको समयमा ऊ कहिल्यै खाली बस्दैनथ्यो औ रुपियाँ-पैसाको हिसाबमा कहिल्यै अलिकति पनि तलमाथि पार्दैनथ्यो।
उसले एउटा गरीब क्लर्ककी छोरीसित प्रेममा परेर बिहे गर्यो। त्यो क्लर्ककी बहिनीसित १० लाख रुपियाँ थियो।
ती धनाढ्य स्वास्नीमान्छेको आफ्नो सन्तान कोही थिएन, त्यसैले तिनलाई बडो दुःख लाग्यो। तिनका सम्पत्तिको मालिक अन्त्यमा तिनकी भदै (बोनिनकी स्वास्नी) बाहेक अरू कोही हुने थिएन। यो कुरा ती दुवै लोग्ने–स्वास्नीको मनमा चौबीसै घण्टा घुमिरहन्थ्यो। बोनिन परिवारले कुनै न कुनै दिन निश्चित १० लाख रुपयाँ पाउनेछ भनेर उनीहरूका छिमेकी तथा अफिसका मानिसहरू पनि जान्दथे।
ती दुई लोग्ने-स्वास्नीको पनि सन्तान थिएन, न सन्तान होस् भन्ने उनीहरूलाई इच्छा नै थियो। उनीहरू आफ्नो जीवन एकान्तमा शान्तिसित बिताउन चाहन्थे।
उनीहरूको घर सफासुग्घर, व्यवस्थित र शान्तिपूर्ण थियो, किनभने लोग्ने–स्वास्नी नियमसित साधारण रूपले बस्थे। नानीहरू जन्मेपछि यस्तो जीवनमा तलमाथि पर्छ भन्ने उनीहरूलाई डर थियो। नि:सन्तान हुनलाई उनीहरूले केही उपाय नगरेको भए पनि ईश्वरको कृपाले सन्तान भएन, त्यसैमा उनीहरू सन्तुष्ट थिए।
आफ्नी भदैको सन्तान नभएको देखेर ती धनाढ्य स्वास्नीमान्छेलाई चिन्ता भइरहन्थ्यो औ तिनी उनीहरूलाई अनेक थरीका उपाय पनि बताउँथिन्, किनभने तिनी आफैंले धेरै समयसम्म सन्तान हुने उपाय गरेकी थिइन्। तिनका छिमेकी तथा ज्योतिषीहरू कहिल्यै निष्फल नहुने हजारौं उपाय बताउँथे। तर, अब तिनको अवस्था सन्तान हुने अवस्थादेखि पार भइसकेको थियो। तसर्थ ती उपाय आफ्नै भदैले गरोस् भनी उनी भन्थिन्।
केही दिनपछि तिनी मरिन्। तिनको मृत्युले बोनिन र उसकी स्वास्नीलाई बडो हर्ष लाग्यो, तर बाहिरबाट भने उनीहरूले ठूलो शोक प्रकट गरे।
चित्र : इलिना डिरोजा ।
तिनले एउटा वकीलकहाँ आफ्नो इच्छापत्र लेखेर छोडेकी रहिछन्। अन्तिम संस्कार भएपछि बोनिन वकिलकहाँ दगुर्यो औ इच्छापत्र खोलेर पढ्यो। फुपूले जीवनभरि सन्तान पाउने आशा राखेकी थिइन् औ इच्छापत्रमा त्यही कुरा लेखिएको थियो। तिनले आफ्नो १० लाखको सम्पत्ति आफ्नी भदैको पहिलो सन्तानको नाउँमा लेखेर गएकी रहिछन्। रुपियाँको ब्याजमा जति आम्दानी हुन्छ त्यो मात्र भदै र त्यसका लोग्ने बोनिनका नाउँमा थियो औ तीन वर्षसम्म पनि कुनै सन्तान भएन भने सबै रुपियाँ दान–पुण्यमा खर्च गरियोस् भनेर इच्छापत्रमा लेखिएको थियो।
यो सबै पढेर बोनिन छक्कै पर्यो औ दुःखी पनि भयो। बिचरा बोनिन बिरामी पर्यो, सात दिनसम्म अफिस जान पनि सकेन। निको भएपछि उसले अब सन्तानको इच्छा गर्न थाल्यो। ऊ रातदिन यही चिन्तामा डुबिरहन्थ्यो, नाना किसिमका उपाय गर्थ्यो। फुपूले बताएको उपाय पनि गर्यो, तर केही भएन। ऊ पिता हुन सकेन।
बिस्तारै बिस्तारै ऊ सुक्दै गयो, उसको शरीर पहेँलो औ रक्तहीन भयो औ अपचको रोगको लक्षण जस्तो देखियो। अन्त्यमा डाक्टरले उसको शक्ति बढाउन चिन्ताहीन र शान्त जीवन बिताउने सल्लाह दियो।
जुन अफिसमा बोनिन काम गर्थ्यो, त्यहाँ उसको असफलताको विषयमा अनेक हल्ला चल्न थाले। उसका साथीहरूले ऊसित नराम्रो ठट्टा गर्थे, नाना किसिमका झुटा काल्पनिक उपाय बताउँथे। कसै-कसैले त इच्छापत्रमा लेखिएको नासो पूरा गर्न बोनिनलाई अपमानजनक सङ्केत गरेर सहायता दिने कुरा पनि गरे। एक दिन कुरैकुरामा एउटा अग्लो बलियो युवकले ठट्टा गरेर निश्चित रूपले औ छिटै बोनिनको नासो सफल सफल गराउन सक्छु भनेर कुरा चलायो। यो कुरा बोनिनले सहन सकेन र त्यस युवकसित उसको झगडा भयो। ती दुवै पेस्तोल लिएर द्वन्द्वयुद्ध गर्न तयार भए, तर अरू मानिसले उनीहरूलाई छुट्याइदिए। दुवैले परस्पर माफी मागे अनि हात मिलाए।
पहिले त ती दुईमा साधारण रूपले परिचय थियो, तर अब भने बिस्तार-बिस्तार ती दुवैको मित्रता बढ्दै गयो। केही दिनपछि ती दुवैमा घनिष्ठ सम्बन्ध भयो औ ती सधैं सँगै रहन थाले।
आफ्नो घरमा पुगेपछि बोनिनको जीवन दुःखमय हुन्थ्यो। उसकी स्वास्नी ऊदेखि अप्रसन्न हुन्थी, ऊदेखि रिसाउँथी औ उसलाई दिक्क पार्थी। त्यही रीतिले दिन बित्न लाग्यो औ तीन वर्षको अवधिमा एक वर्ष त त्यसै बितिहाल्यो। उसको १० लाख रुपियाँ पाउने आशा घट्दै गयो। खाने वेलामा स्वास्नी चाहिँ बोनिनलाई प्रायः सधैं भन्थी- 'हाम्रो भोजन कति साधारण छ! हामी धनी भएदेखि कुरा अर्कै थियो।'
अफिस जाने बखतमा बोनिनलाई उसको लट्ठी दिँदै उसकी स्वास्नी भन्थी- 'हामीले त्यो १० लाख रुपियाँको ब्याज महीनैपिच्छे दुई हजार पाएको भए तिमीले यति कष्ट गर्नैपर्ने थिएन।'
यही प्रकारले प्रत्येक अवसरमा औ प्रत्येक घडीमा त्यो बोनिनलाई लज्जित गराउने कुरा गर्थी, अपमान गर्थी औ १० लाख रुपियाँको खतीका लागि उसलाई अपराधी ठान्थी।
स्केच स्रोत: गेट्टी इमेजेज ।
अन्त्यमा दिक्क भएर बोनिनले आफ्नी स्वास्नीलाई एउटा सिपालु डाक्टरकहाँ पुर्यायो। धेरै बेरसम्म सोधपुछ तथा विचारपछि डाक्टरले त्यसमा विशेष केही छैन औ त्यस्ता अनेक केस हुन्छन् भनेर बतायो। मन र शरीरको एउटै सम्बन्ध रहन्छ। कति लोग्ने-स्वास्नीहरूमा मन नमिल्ने हुनाले छुट्टिन्छन्। यसरी नै कति लोग्ने–स्वास्नीमा परस्पर शारीरिक अवस्था ठीक नहुनाले नै पृथक् हुन्छन्। डाक्टरले यी सब कुरा बताएको फिस दुई गिन्नी लियो।
त्यसपछि बोनिनको घरमा दिनहुँ झगडा हुन्थ्यो। ती दुवै एकअर्कालाई घृणा गर्थे। लोग्नेकै दोषले १० लाख रुपियाँ पाउन नसकिएको हो भनेर बोनिनकी स्वास्नीले पनि भन्न छोडिन। कहिलेकाहीँ ऊ भन्थी- 'मैले अरू कुनै मानिससित बिहे गरेकी भए आज दुई हजार रुपियाँ प्रतिमास पाउने थिएँ अथवा कोही यस्ता अभागी पनि हुन्छन् जसले चाहिँ अर्काको काम पनि बिगारिदिन्छन्।'
खाँदाखेरि बेलुका, राति सधैं त्यही कुरा सुन्दा-सुन्दा बोनिनको हृदय व्याकुल भयो।
अन्त्यमा केही उपाय नदेखेर एक दिन त्यो झगडादेखि बच्नलाई बोनिनले आफ्नो त्यो क्लर्क साथीलाई बोलाएर घरमा ल्यायो जससित केही दिनअघि उसको झगडा भएको थियो। उसको नाउँ थियो मोरेल। थोरै दिनमा बोनिन परिवारसित मोरेलको बडो गहिरो सम्बन्ध भयो। ती दुई सधैं मोरेलको सल्लाह मान्थे।
चित्र: हंगेरीका चित्रकार मिहाली मुनकासी (सन् १८४४ - १९००) ।
तीन वर्ष पुग्न केवल ६ महीना बाँकी थियो। त्यसपछि त त्यो १० लाख रुपियाँ दान दिइनेछ। बिस्तार-बिस्तार बोनिनको व्यवहार आफ्नी स्वास्नीप्रति परिवर्तन हुँदै गयो। उसले अब आफ्नी स्वास्नीलाई नाना प्रकारका अपटी लाएर अथवा उसको दोष देखाएर उसलाई दिक्क पार्न थाल्यो। बोनिनले बारम्बार भन्न थाल्यो– 'फलानो क्लर्क बडो गरीब थियो, तर उसैकी स्वास्नीको चातुर्यले उसको अवस्था सप्रियो। रेबिन्स्ट पाँच वर्षसम्म काम पाउने आशामा बसेको थियो, तर अब ऊ आफ्नो अफिसमा प्रधान छ।'
उसकी स्वास्नीले भन्थी- 'के उनीहरू सबै तिमी जस्तै बेकम्मा–बेकार छन् र? तिमीले त केही पनि गरेनौ!'
बोनिन कुम हल्लाएर भन्थ्यो– 'के रेबिन्स्ट सबैभन्दा चतुर छ भनेर तिमी सम्झिन्छ्यौ? अहँ, चतुर त उसकी स्वास्नी पो छे। उसैले ठूलो चिफलाई खुसी बनाई र उसलाई जे मन पर्छ उसैसित गराउँछे। मानिस जुन अवस्थामा होस्, बुद्धि छ भने सबै काम बन्छ।'
उसको यो कुराको के अर्थ थियो? उसकी स्वास्नीले के बुझी? अनि त्यसपछि के भयो?
तीन वर्षको अवधि एक-एक गरी बित्न लाग्यो औ जति-जति दिन बित्न लाग्यो उति-उति बोनिन व्याकुल हुन लाग्यो। निराशा र दु:खले बाैलाहा जस्तो भयो। यो बखतमा कुनै उपायले पनि १० लाख रुपियाँ पाउन कसैको ज्यान मार्नसम्म ऊ तयार थियो।
एक दिन एक्कासि बिहानै बोनिनकी स्वास्नी उज्यालो मुखले हाँस्दै आफ्नो लोग्नेकहाँ आई र उसको काँधमा आफ्नो हात राखेर आत्माभित्रैसम्म हेरे जस्तो सुस्तरी भनी- 'तिमीलाई यो कुरा थाहा छ? म त नयाँ अवस्थामा छु!'
हठात् यो कुरा सुनेर बोनिनको हृदय आवेगले ढुकढुक गर्न थाल्यो औ ऊ लड्यो। उसले आफ्नी स्वास्नीलाई छातीमा जोरेर बारम्बार म्वाइँ खायो औ बालकलाई जस्तो प्यारो गर्न थाल्यो।
दुई महीना बितेपछि उनीहरूलाई अरू केही कुराको सन्देह रहेन। त्यसपछि उनीहरू डाक्टरकहाँ गएर सर्टिफिकेट लिएर त्यो वकीलको घरमा पुगे, जुन वकीलकहाँ इच्छापत्र राखिएको थियो।
वकीलले पनि स्वीकार गर्यो- ‘सन्तान जन्मेको होस् वा नहोस्, तर तीन वर्ष नजाँदै सन्तान हुने अवस्थामा छ भने इच्छापत्रको नासो पूरा हुनेछ। त्यसैले त्यो अवधि बिते पनि सन्तान भएपछि रुपियाँ पाउने भयो।
केही दिनपछि उसको एउटा छोरो जन्म्यो।
***
अन्त्यमा उनीहरू धनी भए।
एक दिन बेलुकी घर फर्किंदाखेरि बोनिनले आफ्नो साथी मोरेलसित रातिको भोजन गरुँला भनी विचार गरेको थियो, तर उसकी स्वास्नीले साधारण ढङ्गले उसलाई यसो भनी- 'मैले मोरेललाई यहाँ नआउनू भनेँ, किनभने ऊ मलाई नराम्रो नजरले हेर्छ।'
बोनिनले आफ्नी स्वास्नीलाई केही बेरसम्म कृतज्ञताको दृष्टिले हेरिरह्यो, त्यसपछि उसले आफ्नो हृदयमा स्वास्नीलाई टाँस्यो। धेरै बेरसम्म ती दुईले कुनै तरुण, इमानदार र मिल्ने दम्पती जस्तो प्रेमका कुरा गरिरहे।
अब बोनिनकी स्वास्नी प्रेमले मातेर बिग्रने अरू स्वास्नीमानिसहरूको प्रायः निन्दा गर्छे।