सीसीएमसीको निर्णयले भक्तपुरमा उपचाररत संक्रमितको ज्यान जोखिममा
सीसीएमसीले जथाभावी गरेको निर्णयको असर भक्तपुरमा उपचाररत कोरोनाभाइरस संक्रमितमा परेको छ। अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ।
अक्सिजन नभएकै कारण भक्तपुरका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुश्किल परेको छ। जिल्लावासीको एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ।
अक्सिजनका लागि २४ घण्टाअघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन्। मेसु डा. गौतमले अक्सिजन कम्पनीदेखि सीसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन्।
सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरू गरेको थियो। तर, जनकपुरमा पनि अक्सिजन सहज रूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीमा दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ।
सीसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो। भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सीसीएमसीले अक्सिजन वितरणको सिफारिशमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ।
भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, ६ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर कोभिडका ७० जना बिरामीको उपचार गरिरहेको मेसु डा. गौतमले जानकारी दिइन्।
सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ। विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन।
त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिन्डर अक्सिजन सकिएको र अरू अक्सिजन नआएपछि मंगलबार साँझदेखि नै अक्सिजनको अभाव भएको हो। “उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौँ, अब त्यहाँबाट पनि सहज नपाइने भयो, सरकार ७० शय्याको हाइकेयर युनिट चलाऊ भन्छ, तर अक्सिजन छैन, भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने?” उनले भनिन्।
सीसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरूलाई हम्मे परेको छ। “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ, अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन,” उनले भनिन्।
बिरामीको सङ्ख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उनले आग्रह गरेकी छन्। सीसीएमसीको सिफारिशबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ। सीसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्नेभन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिश गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकहरूको भनाइ छ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मङ्गलबार दिनभर दौडधुप गरेर १८ सिलिन्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाएका थिए। यस अस्पतालमा ६ भेन्टिलेटर, पाँच आइसीयू, १४ हाइकेयर युनिट र १८ आकस्मिक कक्षमा गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ।
यस अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सीसीएमसीले अन्यत्रै सिफारिश गरिदिएपछि अक्सिजन अभाव भएको हो। अस्पताललाई दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि सीसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिन्डर मात्रै सिफारिश गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ।
अस्पतालले अक्सिजन अभाव भएको र १८ बिरामीको ज्यान जोखिममा परेको जानकारी गराए लगत्तै मङ्गलबार दिनभरि नै नगरप्रमुख श्रेष्ठको अक्सिजन जोहो गर्न निकै दौडधुप चल्यो। सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र विभिन्न अक्सिजन कम्पनीमा दौडधुप गर्दा पनि नपाएपछि काभ्रेको कम्पनीमा आफैँ गएर १८ सिलिन्डर अक्सिजन जोहो गरेपछि अस्पतालका बिरामीको ज्यान बचाउन सफल भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।
“नगरपालिकाले कोभिडका बिरामीका लागि अस्पतालमा १५ शय्या थप गरे पनि अक्सिजन अभाव भएपछि सञ्चालन गर्न सकेको छैन। नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था छैन,” उनले भने। नगरपालिकाले करीब ६५ लाखको लागतमा एक साताभित्र आफैँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर आकस्मिक कक्षमा पाइप मार्फत अक्सिजन दिने व्यवस्था गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए।
त्यसपछि पनि दैनिक ३० सिलिन्डर अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले अक्सिजन नहुँदा भक्तपुर अस्पतालमा निकै समस्या परेको बताउँदै अन्य निजी अस्पताल भने अक्सिजन नभएकै कारण बन्द हुन थालेको बताए।
काठमाडौंको शिक्षण अस्पतालमा अक्सिजन अभावमा भर्ना भएका कोभिड सङ्क्रमितको ज्यान अत्यन्त जोखिममा परेको भन्दै यहाँका चिकित्सक नै रोएको बिरामीका आफन्त मनोहर श्रेष्ठले बताए। “अस्पतालमा अक्सिजन छैन, नयाँ बिरामी भर्ना लिन सक्दैनौं, भर्ना भएका बिरामी बचाउन पनि मुश्किल पर्न थाल्यो भन्दै चिकित्सक रोएको देख्नुपर्यो, बिरामीका आफन्तले कसरी मन सम्हाल्ने?” उनले भने।
अक्सिजन कम्पनीका अनुसार, उपत्यकामा अहिले दैनिक १५ हजार लिटर अक्सिजनको माग भए पनि मुश्किलले सात हजार लिटर मात्रै उत्पादन एवं वितरण गर्न सकिएको छ। अक्सिजन नभएकै कारण केही दिनअघि भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिड सङ्क्रमित दुई बिरामीको ज्यान गएको थियो।
अहिले यस अस्पतालसँगै जिल्लाका मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल, डा. इवामुरा अस्पताल तथा सिद्धिस्मृति अस्पतालले कोरोना सङ्क्रमितलाई भर्ना नलिने भएका छन्। (रासस)