व्यक्तित्व विहीबार, वैशाख १२, २०७६

न व्यवसाय गर्न पूँजी छ, न कामको अवसर

रमेश कुमार

९ वैशाख, २०७२ मा वैदेशिक रोजगारीका लागि दुबई उड्न काठमाडौं ओर्लिएका थिए, अर्घाखाँचीका ऋषि खनाल । १२ वैशाख २०७२ मा उनी गोंगबुस्थित सयपत्री होटलमा बसिरहेका थिए । भूकम्पले होटल भत्काएपछि भग्नावशेषमा पुरिएका ऋषिको ८२ घण्टापछि बल्लतल्ल उद्धार गरियो, तर च्यापिएको देब्रे खुट्टा भने काट्नुपर्‍यो । 

ऋषि खनाल ।

त्यसपछि, उनका असाध्यै कठिन दिन शुरू भए । धन कमाउन सात समुद्रपारि उड्न ठिक्क ऋषि बैसाखीको भरमा हिंड्नुपर्ने भयो । परिवारका लागि आर्थिक उपार्जन गर्नुपर्ने मान्छे शारीरिक श्रम गर्नै नसक्ने भए ।

महीनौं अस्पताल बसेर भूकम्पको त्रासदीबाट त उनी उम्किए, तर जीवनसँगको कठिन संघर्षले भने सधैं अत्याउँछ । हिमाल सँग कुरा गर्दै उनी भन्छन्, “कालबाट उम्किन सके पनि आफूसँगै परिवारको भविष्य पनि अन्धकार भयो भनेर चिन्ता लागिरहन्छ ।”

ऋषिका अनुसार, वितेका तीन वर्षमा उनले गरेको संघर्ष निकै कठिन छ । काम गर्न त टाढाको कुरा, बैसाखीको भरमा उकालो–ओरालो हिंड्न समेत उनलाई हम्मे पर्छ । देश–विदेश पुगेर काम गर्ने इच्छाशक्ति भएका उनलाई शारीरिक व्यवधानले घरमै खुम्च्याइदिएको छ ।

त्यसैले ‘केही गर्ने’ विश्वास पनि धर्मराइरहेको छ । “न व्यवसाय गर्न पूँजी छ, न शहरकाे जस्ताे कामको अवसर” ऋषि भन्छन्, “कालबाट उम्किएको जिन्दगी भोग्न गाह्रो छ ।”

उद्धारपछि ऋषिले सरकारी अस्पतालमा निःशुल्क उपचार पाए, तर अन्य आर्थिक सहायता भेटेका छैनन् । गाउँमा ‘के गर्ने’ भनेर उनलाई थाहा छैन । त्यसैले, आफू र आफू जस्तै भूकम्प प्रभावितका लागि सरकार वा अन्य संघसंस्थाले सीपमूलक तालिम मार्फत आय आर्जनको मेसो गरिदिए जीवन सहज हुने उनको धारणा छ । “भूकम्पमा परी अशक्त भएकाहरूले सीप सिक्न पाए त्यसबाटै व्यवसाय गरेर गुजारा चलाउन सजिलो हुन्थ्यो”, ऋषि भन्छन् ।

भूकम्पबाट २२ हजार जनाभन्दा धेरै घाइते भए पनि शारीरिक रूपमा अशक्त हुनेको संख्या यकिन छैन । सरकार र अन्य संस्थाको ध्यान पुनर्निर्माण र अन्य गतिविधिमा मात्र केन्द्रित हुँदा तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास पनि भएको छैन ।

पढ्नुहाेस्:

भूकम्पले दिएको उत्प्रेरणा

डोब भुलेको पुनर्निर्माण

भय भुल्दै, लय भुल्दै

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

 

प्रतिकृया दिनुहोस