सम्पादकीय बुधबार, वैशाख ११, २०७६

पुनर्निर्माणको गल्तीबाट पाठ सिक

किरण नेपाल

भूकम्पपछिको पुनर्निर्माणको सबभन्दा खराब पाटो रह्यो– ‘कंक्रिट नै सुरक्षित’ भन्ने मनोविज्ञान। मौलिक र परम्परागत निर्माण शैली र संरचना पनि सुरक्षित हुने सोच पुनर्निर्माणको क्रममा स्थान पाएन।

मुलुकले त्रासदीपूर्ण महाभूकम्प भोगेको १२ वैशाखमा चार वर्ष पुग्दैछ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले करीब ९ हजारको ज्यान लिएको र रु.७०६ अर्ब बराबरको आर्थिक क्षति गराएको थियो ।

३१ जिल्ला प्रभावित विपत्ति लगत्तैको ‘पोस्ट डिजास्टर निड एसेसमेन्ट–पीडीएनए’ मा भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा करीब रु.६७९ अर्ब लाग्ने आकलन गरिए पनि परिमार्जनपछि त्यो आँकडा रु.९०० अर्ब पुग्यो ।

सराहनीय उद्धारका बावजूद राहत वितरणमा देखिएको अव्यवस्थाले गर्दा भूकम्प प्रभावितहरूको पुनस्र्थापना र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण समयमै हुने आम विश्वास थिएन । एक त ठूलो रकम आवश्यक, त्यसमाथि छिटो छिटो भइरहेको सत्ता परिवर्तन बीच भूकम्पपछिको पुनर्निर्माणमा सिंहदरबारप्रतिको आम भाव शून्यप्रायः थियो ।

भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखाको लाप्राक । तस्वीरः रेणु श्रेष्ठ

भूकम्पको केही महीनापछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमाथिको राजनीतीकरण, संविधान निर्माण, लगत्तैको भारतीय नाकाबन्दी, स्थानीय तह, प्रदेश सभा र संघीय विधायिकाको निर्वाचन लगायतले गर्दा पुनर्निर्माण प्राथमिकतामै पर्न छाडेको थियो ।

यही कारण मुलुकको करीब आधा जनसंख्यालाई प्रभावित गरेको भूकम्पपछिको नेपाली समाज सन् २०१० को भूकम्पपछि राहत–पुनर्निर्माणका नाममा भ्रष्टाचार र विदेशी हस्तक्षेपको दलदलमा फँसेको क्यारेबियन मुलुक हैटीको झैं हुने त होइन भन्ने आशंका पनि बढ्दै थियो ।

तर, शुरूमा निराशाजनक रहेको पुनर्निर्माणले ढिलै भए पनि गति समातेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पमा भत्किएका संरचनाहरूको पुनर्निर्माण कार्य करीब ८० प्रतिशत सकिएको छ । ५० प्रतिशत निजी आवास पुनर्निर्माण भइसकेका छन् भने ३० प्रतिशत निर्माणाधीन छन् ।

क्षतिग्रस्त विद्यालय भवनमध्ये ५६ प्रतिशतले नयाँ संरचना पाइसकेका छन्, ३० प्रतिशत जतिमा निर्माणकार्य भइरहेको छ । पुनर्निर्माण गर्नुपर्ने ११९७ वटा स्वास्थ्य संस्थामध्ये झण्डै ५४ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशतमा पुनर्निर्माण जारी छ । सांस्कृतिक सम्पदा पुनर्निर्माणको गति भने अझै सुस्त छ । क्षतिग्रस्त ११७८ वटा सम्पदामध्ये २२४ को मात्र पुनर्निर्माण सकिएको छ, १४५ सम्पदा पुनर्निर्माण भइरहेका छन् ।

पछिल्लो दुई दशकमा भूकम्पबाट ठूलो क्षति व्यहोरेका भारतको गुजरात र क्यारेबियन मुलुक हैटीको तुलनामा पुनर्निर्माणको यो गति सन्तोषजनक मानिन्छ । पुनर्निर्माणमा प्राप्त यो सफलतासँगै उठेको अर्को महत्वपूर्ण प्रश्न हो– पुनर्निर्मित संरचनापछिको समाज कस्तो भयो ? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने यसमा गरिने विमर्श भोलिका विपत्तिपछिको पुनर्निर्माणमा पनि सहयोगी हुनेछ ।

पटक–पटकको सरकार परिवर्तन, चरम राजनीतिक हस्तक्षेप व्यहोरेको पुनर्निर्माण प्राधिकरण, स्थानीय सरकारसँगको तालमेल अभावकै बीच हासिल यो उपलब्धिका पछाडि ‘कसैगरी पनि पुनर्निर्माण’ भन्ने सोचले काम गरेको छ ।

किनभने पुनर्निर्माणका क्रममा उपयुक्त डिजाइन, गुणस्तरीय निर्माण सामग्री, कुशल निर्माणकार्य, मौलिक तथा स्थानीय सीप र शैलीको प्रयोग जस्ता महत्वपूर्ण पाटोलाई बेवास्ता गरिएको छ । परिणाम, पुनर्निर्माण सम्पन्न अधिकांश बस्तीले आफ्नो पारम्परिक र मौलिक पहिचान गुमाएका छन्, निर्मित संरचनाहरू ‘कति सुरक्षित’ भन्ने प्रश्न झुण्डिएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको सबभन्दा खराब पाटो रह्यो– ‘कंक्रिट नै सुरक्षित’ भन्ने मनोविज्ञान । मौलिक र परम्परागत निर्माण शैली र संरचना पनि सुरक्षित हुने सोच पुनर्निर्माणको क्रममा स्थान पाएन । पुरातात्विक महत्वका रानीपोखरी, काष्ठमण्डप लगायतका सम्पदाको पुनर्निर्माणमा पारम्परिक शैली पछ्याउने कि वा आधुनिक भन्ने ढिलो गरी शुरू भएको बहसले सम्पदा संरक्षणमा सघाउ पुर्‍याए पनि त्यसको लाभ परम्परागत बस्तीले पाउन ढिलो भइसकेको थियो ।

‘कंक्रिट नै सुरक्षित’ भन्ने मनोविज्ञानको उत्कर्ष शहरका पुराना बस्तीहरूमा देखिन्छ, जहाँको मौलिकता कायम राख्न सरकारले थप अनुदान दिंदा पनि सर्वसाधारणले परम्परागत निर्माणमा रुचि देखाएनन् ।

परिणाम; काठमाडौं उपत्यकाभित्रकै थुप्रै पुराना बस्तीहरू मौलिक स्वरुप गुमाएर कंक्रिटको जंगल बन्न पुगेका छन् । यस्तो मनोविज्ञान सबैतिर विस्तार हुँदा भूकम्पबाट प्रभावित सबैजसो जिल्लामा परम्परागत घरहरूको ठाउँ कंक्रिटका घरहरूले ओगटेका छन् ।

यसबाट मौलिक र परम्परागत शिल्पका कारण सजीव देखिने पहाडी बस्ती निर्जीव त देखिएकै छन्, पुनर्निर्मित संरचना कति सुरक्षित भन्ने प्रश्न समेत उठेको छ । कारण सिमेन्ट, बालुवा र डण्डीको समिश्रण सही हुँदा मात्र कंक्रिट भवन सुरक्षित हुन्छन् । तिनको गुणस्तर र समिश्रणमा हुने सम्झैताले निर्मित संरचनालाई ढुंगा–काठको भन्दा पनि कमजोर तुल्याउँछ ।

परम्परागत ज्ञान र मौलिक शिल्पले संरचना मात्र नभएर समाज र त्यसको मनोविज्ञानलाई समेत बोकेको हुन्छ । काठका घर, गाई बाँध्ने गोठ, बाख्रा/सुँगुर थुन्ने खोर, परालको कुन्यू, मकैको थाँक्रासँग कंक्रिट संरचनाले संगति राख्दैन । कृषि र पशुपालनमा आश्रित समाजमा छोटो समयमै हुने यस्तो परिवर्तन स्वयं समाज र अर्थतन्त्रका लागि समेत सुखद होइन ।

पुनर्निर्माण टुंगोमा पुग्दै गर्दा उठेको प्रश्न हो– अब के गर्ने ? महाभूकम्प–२०७२ पछि पुनर्निर्माणमा भएको गल्ती सच्चिन नसक्ला, तर भोलिका लागि यो गतिलो पाठ बन्न सक्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसलाई आफ्नो संस्थागत ‘मेमोरी’ मा राखेर मौलिक र परम्परागत शिल्प र सामग्रीबाटै अब बलिया र सुरक्षित संरचना निर्माण गर्ने बाटो तय गर्नुपर्छ, ताकि समाजले फेरि यो गल्तीको मूल्य चुकाउन नपरोस् ।

प्रतिकृया दिनुहोस