अनुसन्धानदाताहरूका अनुसार अहिले नेपालमा मुसे मृग (इन्डियन सेभ्रोटिन) पाइने कुरामा ठूलो सन्देह छ। तर, जलथल जंगलमा खेले हुर्केका स्थानीयहरू केही वर्षअघिसम्म यो मृग आँखैअघि देखेको वर्णन गर्छन्।
झापा, हल्दिवारी गाउँपालिका-४ का श्यामलाल मेचेको बाल्यकाल जलथल जंगलमा घाँस, दाउरा गरेरै बित्यो। त्यही भएरै पनि मेचेलाई जंगलमा कुन–कुन वन्यजन्तु पाइन्छन्, के कस्ता रुख बिरुवा पाइन्छन् भन्ने बारे राम्रो जानकारी छ। मेचेका अनुसार, जलथल जंगलमा चार, पाँच केजीसम्मका मृग ६/७ वर्ष अघिसम्म देखिन्थ्यो।
कमल मादेन
थुतुना, आँखा आदि मुसाजस्तै देखिने भएका कारण यसलाई मुसे मृग (माउस डियर) भनिन्छ। मेचे भाषामा भने मछैलाइछट भनिंदो रहेछ। अंग्रेजीमा इन्डियन सेभ्रोटिन भनिने यो मृगको वैज्ञानिक नाम भने मोस्किएला इन्डिका हो।
मुसे मृग अर्थात् इन्डियन सेभ्रोटिनबारे नेपालमा अत्यन्त थोरै मात्र जानकारी छ। ब्रायन हज्शन्ले सन् १८४० ताका यो जीवलाई नेपालमा फेला परेको प्रमाण प्रस्तुत गरेका थिए। तर, त्यसपछिका विदेशी अनुसन्धानकर्ताले ‘नेपालमा फेला नपरेको’ बताउँदै आएका थिए।
तस्वीर स्रोत: इन्टरनेट।
सन् २००९ मा भर्टिब्रेट जूलोजी जर्नलमा हेमसागर बराल, करणबहादुर शाह र जे.डब्लु. डक्वोथलिखित लेख छापियो, जसमा यो मृग राप्ती नदी र बारामा सन् १९६८, १९६९ मा देखिएको उल्लेख थियो। इन्डियन सेभ्रोटिन एकताका ललितपुरस्थित सदर चिडियाखानामा पनि राखिएको थियो। त्रिभुवन विश्वविद्यालयको स्वयम्भुस्थित् न्याचुरल हिस्ट्री म्यूजियम स्वयम्भूमा यसको छाला संरक्षण गरेर राखिएको छ।
लजालु मृग
रातमा पानी नजिक भएको जंगलमा विचरण गर्ने मुसे मृग अत्यन्त लजालु स्वभावको हुन्छ। दिनमा भने घारीभित्र लुक्छ। मृगजस्तो भए पनि यसको निधार भन्दामाथि आन्टलर अर्थात् सिङ पलाउने हाड हुँदैन।
उचाई २५–३० सेन्टिमीटर र लम्बाई ५०–५५ सेन्टिमीटरसम्म हुने यो जनावरको भालेको माथिल्ला केनाइन टिथ (कुकुर दाँत) तुलनात्मक रूपमा लामो हुन्छ। पोथी भने प्राकृतिक बासस्थानमा १३–२४ वर्ग हेक्टर क्षेत्रमा विचरण गर्छ।
संसर्ग गर्ने समयमा भाले थुप्रै पोथी विचरण गरेको क्षेत्रमा जान्छ। गर्भाधान भएको करीब १६० दिनमा सन्तान जन्माउँछ। पुच्छर तीन सेन्टिमीटरसम्म लामो हुन्छ। शरीरमा हल्का खैरो रंगको पृष्ठभूमिमा सेतो थोप्ला तथा धर्साहरू हुन्छ।
दुर्लभ वन्यजन्तु तथा वनस्पति बारेको ‘दि आइयुसीएन रेडलिष्ट अफ थ्रेटेन्ड स्पेसिस् (सन् २०१५)’ ले नेपालमा इन्डियन सेभ्रोटिन रहे/नरहेबारे सन्देह व्यक्त गरेको छ। भारतमा भने यो जीव दक्षिण भारतको रामेश्वरम्देखि पटना, गोरखपुर, बरेली आसपासका वन जंगलमा पाइँदो रहेछ। उल्लिखित सूचीमा दिइएको नक्शा अनुसार नेपालमा चितवनदेखि बारा जिल्लाका दक्षिणी भेगमा यो जनावर पाउन सकिने औंल्याइएको छ।
आयुसीएनको यो जानकारी सन् १९६८–६९ को आधारमा तयार पारिएको हो। तर, श्यामलाल मेचे भने केही वर्षअघिसम्म जलथल जंगलमा मुसे मृग देखेको बताउँछन्। यसले सशंय उत्पन्न गराएको छ।
उत्पतिको कथा
इन्डियन सेभ्रोटिन ट्रागुलिडी परिवारमा पर्दछ। जीवाश्म अध्ययनअनुसार यो परिवार अन्तर्गतका जनावर एशिया, अफ्रिका र युरोपमा पाइन्थ्यो। तर, अचेल युरोपमा भने पाइँदैन। एशियामा पाइएका फोसिल्स अनुसार, यी जनावर तीन करोड ४० लाख वर्षअघि उत्पति भएका हुन्।
दक्षिण भारतमा देखिएको मुसे मृग (इन्डियन सेभ्रोटिन)। तस्वीर स्रोतः राउण्डडटग्लास।
जोनाथन गुज्मन सान्डोवलको शोध ‘पेलियोवायोलोजी अफ ट्रागुलिड्स’ (सन् २०१८) अनुसार यो परिवारका सात जाति लोप भइसकेका छन्। तीन जाति भने अस्तित्वमा छन्। तीन जाति अन्तर्गतका १० प्रजाति भने दुर्लभ अवस्थामा छन्। ट्रागुलिडीका नौ प्रजाति दक्षिण तथा दक्षिणपूर्व एशिया र एक प्रजाति अफ्रिकामा पाइन्छन्।
तीन जातिमध्ये दक्षिण एशियामा मोस्किएला जाति पाइन्छ। यसका पनि तीन प्रजाति छन्। श्रीलंकामा दुई र भारत तथा नेपालमा एक। यी तीन प्रजाति हेर्दा भने उस्ताउस्तै देखिन्छन्। यी प्रजाति पछिल्लो केही लाख वर्षअघि एकै पूर्वजबाट छुट्टिएको अनुमान गर्न सकिन्छ।
जीव उत्पतिको मान्यता अनुसार कुनै एक प्रजाति एकभन्दा बढी फरकफरक भूगोलमा लाखौं वर्षसम्म रहेमा तिनीहरू कालान्तरमा भिन्नै प्रजातिका रूपमा विकास हुनपुग्छन्। मोस्किएला जातिका भिन्न तीन प्रजातिको उत्पतिबारे पनि यही मान्यता लागू भएको अनुमान सहजै गर्न सकिन्छ। यो थाहा पाउन श्रीलंका र भारतको स्थल मार्गको इतिहास बुझ्नु आवश्यक हुन्छ।
दक्षिण भारतको तमिलनाडुस्थित् रामेश्वरमबाट श्रीलंकाको मन्नार आइल्याण्डबिचको सामुद्रिक दूरी करीब २५ किलोमिटर छ। यी दुई ठाउँबीच कतिपय स्थानमा समुद्री सतहको २-३ फिट गहिरो मात्र छ। त्यहाँ स–साना आठ वटा ढिस्का अर्थात् टापु छन्। यसबाट लाखौं वर्ष पहिले यी दुई भूगाग आपसमा जोडिएको आकलन गर्न सकिन्छ। यो मार्गको कुरा रामायणमा पनि पाइन्छ। रामले लंकाका राजा रावणसँग युद्धका लागि यही मार्ग प्रयोग गरेको बताइन्छ। युद्धका लागि रामले बानर सेना जम्मा गरेको ठाउँलाई नै रामेश्वरम् भनिएको बताइन्छ।
विभिन्न शास्त्रहरूलाई उदुधृत गर्दै भनिन्छ कि ‘राम राम लेखिएको ढुंगा समुद्रमा फाल्दा पानी माथि तैरियो। त्यस्ता ढुँगाबाट पूल बनाइयो। रामेश्वरम्पछि केही पर धनुषकोटी छ। विजयपछि फर्किँदा रामले ढुंगाको पुललाई धनुबाणले ध्वस्त गरे। उप्रान्त उक्त ठाउँलाई धनुषकोटी भनियो।
शास्त्रमा जेसुकै लेखिए पनि उबेला भारतको रामेश्वरम्बाट श्रीलंकाको मन्नार आइल्याण्डसम्म स्थलमार्ग हुँदै वन्यजन्तु आवतजावत गर्थे। जब जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धि भयो, स्थलमार्ग बन्द भयो। त्यसपछि वन्यजन्तुहरूको यो बाटोबाट ओहोरदोहोर पनि बन्द भयो।
सम्भवतः त्यसैका कारण मोस्किएला जातिको एकै प्रजाति श्रीलंकामै रहन थाले। त्यहाँ पनि सुख्खा र ओसिलो भूभागमा छुट्टिएर बसे। मध्य तथा उत्तरी श्रीलंकाको सुख्खा भागमा ह्वाइट–स्पटेड सेभ्रोटिन विकास भयो, जसको वैज्ञानिक नाम मोस्किएला मेमिन्ना हो। दक्षिण श्रीलंकाको चिसो भूभागमा एल्लो–स्ट्राइप्ड सेभ्रोटिनको उद्विकास, जसको वैज्ञानिक नाम मोस्किएला क्याथिग्रे हो।
जलथल अध्ययन
नेपालमा हज्शन्कै अध्ययनमा इन्डियन सेभ्रोटिन पाइएको र त्यसपछि पनि यसको उपस्थिती देखिएकै हो। तर, त्यसयता यो जीवनको उपस्थितिमा अन्योल हुनुको कारण हो, आवश्यक अध्ययनको कमी।
जलथल जंगल। तस्वीर स्रोत: ओएसनेपालडटटीभी।
जलथल जंगल– बाह्रदशी, हल्दिवारी, केचनाकवल गाउँपालिका र भद्रपुर नगरपालिका क्षेत्रमा फैलिएको छ। ‘फरेष्ट कभर म्याप्स् अफ लोकल लेभल्स (७५३) अफ नेपाल’ पुस्तकको भोल्युम १, प्रोभिन्स १) का अनुसार, माथिका स्थानीय तहहरूमा यो जंगल क्रमशः ०.२, ४७.२७, ४.८७ र ३.४७ वर्ग किलोमिटर क्षेत्रमा अवस्थित छ। भद्रपुर नगरपालिकाको करीब एक चौथाई जंगल मात्र जलथल जंगलमा पर्दछ। यसआधारमा जलथल जंगलको क्षेत्रफल ५३.२१ वर्ग किलोमिटर छ।
सरकारको १५औं योजना (२०७६/७७–२०८०/८१) मा ‘वन्यजन्तु र तिनको वासस्थान संरक्षण र व्यवस्थापनको लागि विद्यमान संरक्षित क्षेत्रलाई कायम राख्दै संवेदनशील जैविक विविधता क्षेत्रको पहिचान र विस्तार गर्ने गरी परस्थानीय एवम् स्थानीयस्तरमा सम्भाव्यता र आवश्यकताको आधारमा जैविक स्रोत संरक्षणलाई निरन्तरता दिइनेछ’ भनिएको छ। नेपालको सन्दर्भमा इन्डियन सेभ्रोटिन सबैभन्दा दुर्लभ वन्यजन्तु हुनसक्छ, जसबारे सम्बन्धित सरकारी निकायलगायत संरक्षण क्षेत्रमा कार्यरत् संघसंस्थाको ध्यान जानुपर्छ।
यसका लागि जलथल जंगल सबैभन्दा सम्भावित ठाउँ हुन सक्छ। र, अहिलेका लागि श्यामलाल मेचे र उनको समुदाय शोधीखोजीका प्रथम पात्र हुन सक्छन्।