टिप्पणी विहीबार, फागुन १६, २०७५

पृथक् जंगल– जलथल

कमल मादेन

भौगोलिक अवस्था र वनस्पतिहरूको चरित्रका आधारमा देशका अन्य वनक्षेत्र भन्दा विशिष्ट रहेको जलथल जंगललाई संरक्षण क्षेत्र बनाउने पहलको खाँचो छ।

जलथल जंगल ।

गएको पुस महीनामा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनसँग काठमाडौंमा कफी भेटघाट भयो । पर्यावरणविद् मिलन दाहाल, वन्यजन्तुविद्‌द्वय सागर दाहाल र कौस्तुभराज न्यौपाने पनि सहभागी रहेको छलफलमा वनक्षेत्र र संरक्षणबारे चर्चा गर्ने क्रममा झापाको जलथल जंगलबारे कुरा भयो ।

सांसद लिङ्देनले जलथलमा थाइल्याण्ड र मलेशिया बोर्नियोका जंगलमा पाइने लटहर जस्ता रुखहरू पाइएकाले त्यो जंगल भूमध्यरेखीय क्षेत्रबाट फैलिएर आएको ट्रपिकल रेनफरेष्ट (उष्ण वर्षावन) को अवशेष भएको आफूले सुनेको बताए । 

सामान्यतया भूमध्य रेखाको २० डिग्री अक्षांश उत्तर र दक्षिणको जंगललाई ट्रपिकल रेनफरेष्ट भनिन्छ । तर, पानी बढी पर्ने र जैविक विविधतायुक्त वन क्षेत्रलाई पनि यो नाम दिइन्छ । भूमध्य रेखाको उत्तरतर्फ २६ डिग्री २७ मिनेटदेखि २६ डिग्री ३२ मिनेट अक्षांशभित्र पर्ने जलथलमा प्रशस्त पानी नपर्ने भएकाले यसलाई ट्रपिकल रेनफरेष्ट भन्न मिल्दैन । उक्त जंगलबारे अहिलेसम्म प्रकाशित सामग्रीहरू अध्ययन गर्दा हाम्रा अन्यत्रका वन क्षेत्रभन्दा पृथक् रहेको भने थाहा भयो ।

‘फरेष्ट कभर म्याप्स अफ लोकल लेभल’ भोलम १ (सन् २०१८) पुस्तकमा लेखिए अनुसार जलथल जंगल झापाको हल्दीबारी, बाह्रदशी र केचनाकवाई गाउँपालिका र थोरै भाग भद्रपुर नगरपालिकामा पर्छ । आयताकार आकृतिमा ६ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको जंगलको पूर्वपश्चिम तथा उत्तरदक्षिण लम्बाइ क्रमशः करीब १०.५ र ५.६ किलोमिटर छ ।

बेलायतका जेडिए स्टेन्टनले गरेको वर्गीकरण अनुसार नेपालमा ३५ किसिमका वनजंगल छन् । जलथलको चरित्र स्टेन्टनले परिभाषित गरेको ३५ किसिमकै जंगलसँग मेल खाँदैन । नरेश थापा, गंगादत्त भट्ट र सुवास खत्रीले ‘जल–थल फरेष्टः अ प्रिलिमिनरी सर्भे’ शीर्षक लेख (सन् २००३) मा जलथल जंगल अर्धसदाबहार भएको उल्लेख छ ।

वर्षभरि पूरै हरियाली हुने जंगललाई सदाबहार जंगल भनिन्छ भने पालुवा फेर्ने याममा आंशिक हरियाली रहनेलाई अर्धसदाबहार । जलथल जंगलमा चैत/वैशाखताका पात नझर्ने केही रुख–बुट्यान पनि रहेको जानकारी लेखमा प्रकाशित छ ।

लटहरको पात ।

कृष्णप्रसाद भट्टराई लिखित ‘इनुमेरेसन अफ फ्लावरिङ प्लान्ट्स इन तराई साल फरेष्ट अफ जलथल, इस्टर्न नेपाल’ शीर्षकको अर्को लेख (सन् २०१७) पनि प्रकाशन भएको छ । लेखमा जलथल क्षेत्रमा रुख, पोथ्रा, झार र लहरा क्रमशः ५७, १६, ६७ र १० प्रजाति पाइएको उल्लेख छ ।

यस्तै, जंगलको भूसतह ६२ देखि १२९ मिटरसम्म रहेको लेखमा उल्लेख छ । गुगल अर्थ–एक्सप्लोररको अध्ययनमा जलथल जंगलको भूसतह दक्षिण–पश्चिमतर्फ होचो देखिन्छ । यसको उँचाइ गुगल अर्थ एक्सप्लोररबाट १७० मिटरसम्म देखिन्छ । यस्तो भूसतहमा अक्सर हात्ती बस्न रुचाउँछ । 

माथि उल्लिखित थापा, भट्ट र खत्रीको लेखमा जलथल जंगललाई ‘मोइष्ट ब्रोड–लिभ्ड फरेष्ट’ (शीतोष्ण चौडापाते वन) प्रकृतिको भनिएको छ । जेडिए स्टेन्टनले वर्गीकरण गरेको नेपालमा पाइने ३५ प्रकारका वनजंगलमा ‘मोइष्ट ब्रोड–लिभ्ड फरेष्ट’ समावेश नभएकाले लेख मार्फत अघि सारिएको उक्त प्रकृतिको जंगल नेपालको निम्ति नयाँ हो । तर, यो जानकारी त्यही जर्नलमा सीमित रह्यो, थप अनुसन्धान भएन ।

स्टेन्टन नेपालको वनजंगलमा वनस्पतिका नमूना संकलन गर्न सन् १९५४–१९६९ ताका जम्मा १० पटक आएका थिए । ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् अफ नेपाल’ भाग ३ (सन् २०१२) मा उल्लेख भएको विवरणमा स्टेन्टनले पूर्वी नेपालको माइखोला, शनिश्चरे, कन्काई, चुलाचुली र हाँसपोखरीसम्म पुगेर वनस्पतिका नमूना संकलन गरेको देखिन्छ । स्टेन्टन जलथल जंगल नपुगेको कारण ‘फरेष्टस् अफ नेपाल’ पुस्तकमा नेपालमा पाइने वनजंगलको किसिममा एउटा संख्या कम लेखिएको हुनसक्छ ।

जलथल जंगलमा साल, करम, कुम्भी, कुसुम, सिमल, भलायो, पाडडी (स्टेरेओस्पर्मम् चेलोनोइड्स), भैसे पाडडी (स्टेरेओस्पर्मम् परसोनाटम्), हर्रो, बर्रो, साज जस्ता पात चौडा हुने रुख छन् । पतझर प्रकृतिका यी रुखका सबै पात चैत÷वैशाखमा झर्छन् । यस्तै, ओसिलो जमीनमा हुने लटहर, कदम, लामपाते, चिलाउने, छतिवन, शिरीष, खन्यु आदि पनि यहाँ पाइन्छन् । भूसतह एकनाशको नरहेको उक्त जंगलमा होचो भूभाग चिस्यानयुक्त छ । जंगलको भौगोलिक अवस्था र वनस्पतिहरूको चरित्रका आधारमा जलथललाई ‘मोइष्ट ब्रोड–लिभ्ड फरेष्ट’ भन्नु सान्दर्भिक नै छ ।

संरक्षित क्षेत्र बनाऔं
जलथलमा दक्षिण–पूर्वी एशियाली मुलुकहरूमा पाइने वनस्पतिहरू पनि छन् । माथि उल्लिखित नरेश थापा र अरुहरू (सन् २००३) र भट्टराई (सन् २०१७) का दुवै लेखमा ‘आर्टोकार्पस चाप्लाशा’ वनस्पतीय नाम भएको रुख जलथल जंगलमा पाइएको जानकारी छ । कटहरजस्तो तर हत्केला भन्दा केही ठूलो फल्ने यसलाई सामान्य प्रचलनमा लटहर भनिन्छ । फ्लोरा अफ चाइना, भोलम ५ (सन् २००४) को पृष्ठ ३१ मा ‘आर्टोकार्पस चाप्लाशा’ को नयाँ नाम ‘आर्टोकार्पस चामा’ लेखिएको छ ।

कृष्णकुमार श्रेष्ठ, सन्देश भट्टराई र प्रविन भण्डारी लिखित नेपालमा पाइने वनस्पति सम्बन्धी ‘ह्याण्डबूक अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भोलम १ (सन् २०१८) र आर्टोकार्पस जाति समावेश ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भाग ३ (सन् २०१२) दुवै पुस्तकमा ‘आर्टोकार्पस चामा’ बारे उल्लेख छैन ।

जबकि यो वनस्पतिको नमूना जलथल जंगलबाट २६ जनवरी २००३ मै संकलन भएको थियो । यसको नमूना ललितपुर गोदावरीस्थित राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशालामा छ । चिस्यान भएको जमीन विशेषतः पोखरी तथा खोलाको डिलमा लटहरको रुख धेरै ठूलो हुन्छ । जेठ महीनामा पाक्ने यसको फल कटहरकै जस्तो तर मसिनो, स्वाद गुलियो–अमिलो हुन्छ ।

कृष्ण भट्टराईले जलथल जंगलमा ढाल्ने कटुस (क्यास्टानोप्सिस् इन्डिका) पाइने लेखेका छन् । समुद्री सतहबाट १,००० देखि ३,००० मिटर उँचाइमा पाइने उक्त वनस्पति त्यो जंगलमा कसरी रह्यो होला ? यसैगरी, नरेश थापा र अरुहरूले कटुसको अर्को प्रजाति क्याटानोप्सिस् पाइएकोबारे लेखेका छन् । यो वनस्पति पनि जलथलको भूसतह भन्दा निकै उँचाइमा मात्र पाइन्छ ।

यस्तै, त्यहाँ पाडडी, भैसे पाडडी पाइन्छ । यी दुवैको पात टोटला भनिने रुखको पातसँग मिल्दोजुल्दो तर बोट त्योभन्दा ठूलो हुन्छ । लटहर, पाडडी, भैसे पाडडी दक्षिण पूर्वी एशिया अर्थात् भारत, श्रीलंका, बर्मा, थाइल्याण्ड, इन्डोचाइना, मलेशिया, लाओस आदिमा पाइने वनस्पति हुन् ।

जलथल जंगलले ‘मोइष्ट ब्रोड–लिभ्ड फरेष्ट’ को विशेषता बोकेको कारण स्टेन्टनले पहिचान गरेको संख्यामा एक थपेर अब नेपालमा ३६ किसिमका वन छन् भनेर बुझ्नुपर्छ । यस्तो दुर्लभ जंगललाई संरक्षण क्षेत्र बनाउन ढिलाइ गर्नुहुँदैन ।

यसका निम्ति स्थानीय सरकारले त्यो जंगल समुदाय र पारिस्थितिक प्रणालीमा आधारित संरक्षण क्षेत्रमा परिणत गर्न वन मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग समन्वय गर्नु उपयुक्त हुन्छ ।

प्रतिकृया दिनुहोस