रिपोर्ट विहीबार, वैशाख ५, २०७६

पर्वतारोहणकी सरदार

किरण नेपाल

बालविवाहबाट विद्रोह गरेकी मायासँग घर थिएन, समाज थिएन– केवल सपना थिए, जसलाई पछ्याउँदै उनी शिखर चढिरहिन्।

तस्वीरः शैली बस्नेत

सानो छँदा माया गुरुङ (३९) पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित घरबाट पर देखिने अग्ला–अग्ला हिमाल हाँसिरहेका देख्थिन् । र; भन्थिन्, “हाम्रो गाउँबाट सगरमाथा देखिन्छ, एकदिन म त्यो हिमाल चढ्छु ।” तर, हिमाल चढ्ने उनको सपना एकाएक बिथोलियो, त्यो पनि परिवारबाटै ।

कक्षा ७ पढ्दै गर्दा १४ वर्षकै उमेरमा मायाको विवाह तय गरियो । विवाहको एक दिन अघि मात्र उनले निश्चय गरिन्, ‘म अहिल्यै विवाह हुन जन्मेको होइन । म त ठूलो मान्छे बन्न जन्मिएकी हुँ ।’

यति सोचेर माया घरबाट भागिन् । दुई दिनपछि प्रहरीले फर्काउँदा उनलाई बुवाले घरभित्र पस्न दिएनन् । परिवारको ‘नाक काट्ने’ भनेर गाउँघरमा उनको कुरा काट्न थालियो ।

त्यसपछि शुरू भयो उनको संघर्ष । उनी कहिले मावली त कहिले आफन्तकहाँ बस्न थालिन् । तर, सपना देख्न भने छाडिनन् ।

विभेद सहँदै गर्दा मायाले आफ्नो वरपरका महिलाको अवस्था नियाल्न थालिन् । थाहा पाइन्, सिन्धुपाल्चोक जिल्लालाई त ‘चेलीबेटी बेचबिखनको जिल्ला’ पो भनिंदो रहेछ ।

त्यसपछि हिमाल चढ्नेसँगै मायाको अर्को सपना बन्यो– “जिल्लालाई चेलीबेटी बेचबिखन होइन साहसी महिलाको जिल्ला भनेर चिनाउने ।”

सपनाहरूलाई साँच्दै मायाले अनेक काम गरिन् । त्यसमध्ये एउटा थियो, महाराजगञ्ज काठमाडौंको क्याफे । क्याफेमा हिमाल आरोहणमा संलग्न शेर्पाहरू आइरहन्थे । तीमध्ये एक थिए, क्लाइम्बर्स क्लबका सञ्चालक दा गोम्बु शेर्पा । शेर्पाले एक दिन मायालाई उनको रुचिबारे सोधे । “सगरमाथा चढछु”, प्रश्न नसकिंदै उनले जवाफ दिइन् ।

तर, मायाले हिमाल देखेकी मात्र थिइन् । उनीसँग कुनै अनुभव थिएन । शेर्पाले मायालाई नेपाल पर्वतारोहण संघको पर्वतारोहण तालीम गर्न सुझए, जसका प्रशिक्षक उनी आफैं थिए ।

२०६५ सालमा दश नेपाली महिला सम्मिलित ‘प्रथम समावेशी महिला सगरमाथा आरोहण दल’ बन्यो । संयोगले उनै शेर्पा दलका लिडरमध्येका एक थिए । माया त्यसै दलको सदस्यको रूपमा सगरमाथा चढ्ने भइन् । तर, यतिबेला पनि उनले सहयोगको आशंका र तिरस्कार नै पाइन् ।

९ जेठ २०६५ को बिहान माया सगरमाथा शिखरमा पुगिन् । यो सँगै उनी सिन्धुपाल्चोक तथा गुरुङ समुदायबाट सगरमाथा चढ्ने पहिलो महिला बन्न पुगिन् । गाउँघरको ‘कलंक’ एकाएक शान बन्न पुगिन् ।

गाउँमा सम्मान कार्यक्रम आयोजना गरियो । बुवालाई पनि बोलाइयो । “बुवाले आँखाभरि आँसु पार्दै छोरीले पनि यस्तो गर्न सक्छन् भनेर आफूलाई थाहा नभएको बताउनुभयो, मेरो रिस पनि मर्‍यो”, माया भन्छिन् ।

सगरमाथा चुमे पनि मायाको पाइला रोकिएन । महिला टोलीमा रहेर माया सातै महादेशका अग्ला हिमाल आरोहणको अभियानमा लागिन् ।

आरोहणको एउटा सपना त पूरा भयो, तर चेलीबेटी बेचबिखन नियन्त्रण गर्ने अर्को सपना मायालाई पर्खेर बसिरहेको थियो । उनी अहिले बेचबिखनमा परेर फर्किएकाहरूलाई ट्रेकिङ गाइड बनाउने कार्यमा सक्रिय छिन् । यसबीचमा उनले भुईंचालोमा सबैभन्दा प्रभावित गृह जिल्लाका गाउँहरूमा थुप्रै राहत पुर्‍याइन् । दुई विद्यालयको पुनर्निर्माणका साथै विभिन्न पाँच विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अहिले पनि खटिएकी छन् ।

आफ्नो संघर्ष र साहसका लागि मायाले सरकारबाट प्रबल जनसेवाश्री पदक पाएकी छिन् भने अमेरिकी सरकारबाट ‘अडियन्स इन द ह्वाइटहाउस’ र ‘काउन्सिल अफ द सिटी अफ न्यूयोर्क’ सम्मान पाएकी छिन् ।

यी सबै काम गर्दा मायालाई बाल्यकालको झझल्काेले भने छाडेको थिएन । आफूले सानो छँदा सगरमाथा भन्ठानेको हिमाल त जुगल हिमाल शृंखला रहेछ भन्ने उनले थाहा पाइसकेकी थिइन् । यो शृंखलामा २६ वटा सुन्दर शिखरहरू रहेछन् । तर, पूर्वाधार र प्रवद्र्धनको कमीले गर्दा पर्यटनको प्रभाव विल्कुल थिएन ।

आफ्नो घरबाट देखिएको र सानैमा चढ्छु भनेको हिमाल नचढी मन कसरी मान्नु ! यही २६ चैतमा मायाकै नेतृत्वको टोलीले हालसम्म मानव पाइला नपुगेको जुगल शृंखलाको ६,१५१ मिटर अग्लो ग्याल्जेन शिखरमा पाइला राख्यो । नेपाली महिलाको नेतृत्वमा कुमारी हिमाल आरोहण गरिएको पनि यो पहिलो थियो ।

“बाल्यकालदेखि अहिलेसम्मको यात्रा आफैंमा सपना जस्तो लाग्छ, तर आफ्नो गाउँघरको सेवा गर्ने सपना झाङ्गिदै गएको छ”, माया भन्छिन् ।

पढ्नुहाेस्:

‘फ्रन्टलाइन’मा महिला

चुपचाप ‘रोलमोडल’

आत्मविश्वासको उडान

प्रतिकृया दिनुहोस