सम्पादकीय मंगलबार, वैशाख ३, २०७६

आत्मविश्वासको उडान

किरण नेपाल

शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक प्रतिनिधित्व हुँदै राजनीतिक रूपमा कायम वंश व्यवस्था विरुद्ध उठेको ‘आमाको नामबाट नागरिकता’ को आवाज समाजलाई विवेकी पहिचान दिलाउने सत्प्रयास पनि हो। 

चुलाचौका, भातभान्सा, घरधन्दा, मेलापात, घाँसदाउरा, लिपपोत, स्याहारसुसार– हाम्रो भाषाभित्र असंख्य यस्ता शब्दावली छन्, जसको उच्चारण मात्रले पनि आम मनोविज्ञानभित्र सदियौंदेखि महिला छवि उत्पन्न गर्दै आएको छ ।

यही मनोविज्ञान हो, जसले महिलाबारे समाजमा कायम पृथक् दृष्टिकोणलाई संस्थागत गरेको छ । अर्थात् यो मनोविज्ञानले समाजका पाइला–पाइलामा महिलाका लागि सीमा तोक्यो, ‘पुरुषको तुलनामा’ भनेर महिलाको स्वतन्त्र अस्तित्वमाथि अनेकन् सीमारेखा कोर्‍यो र एउटै जीवन–यात्रामा दुई भिन्न बाटो बनाइदियो ।

परिणाम; एउटै समाजमा महिला र पुरुषका दुई पृथक् संसार बनाइँदा पुरुषको संसारमा शिक्षा, स्वास्थ्य, अधिकार, अवसर, रोजगारी, पहुँच जस्ता सबै विषय अटाए, महिलाका लागि भने त्यसमा ठूल्ठूला पर्खाल निर्माण भए ।

नेपाली महिलाको आजको पहिचानलाई अगाडि राखेर हेर्ने हो भने पुरुषसँगको ‘तुलना’ मा निर्माण गरिएका यी सोचले महिला अस्तित्वलाई साँच्चै निरीह देखाउँछन् । जबकि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि लेपन मार्फत समाजमा लगाइएका अनेकन् बारबन्देज तोडेर महिलाले गरेको प्रगतिको छलाङ अब समाजका लागि ‘साँच्चिकै भरपर्दो’ बन्न थालेको छ ।

हो, नेपाली महिलाको अग्रसरताको उडान क्रमशः उँचाइ लिने क्रममा छ । राजनीति, प्रशासन, अर्थतन्त्र, सामाजिक सेवा लगायत पुरुषको श्रीवृद्धिका भर्‍याङ बन्दै आएका पारम्परिक क्षेत्रमा मात्र नभई ‘पुरुषत्वसँग गाँसिएका’ सैन्य–सुरक्षा, खेलकुद, एड्भेञ्चर, बन्द–व्यापार जस्ता क्षेत्रमा समेत महिला उपस्थिति अब प्रतिनिधित्वमा मात्र सीमित छैन ।

कतिपय क्षेत्रमा नेतृत्वदायी भूमिका नै निर्माण भएको छ । समाजमा बढिरहेको महिलाको यो उपस्थिति कुनै पाटोमा चुपचाप त कतिपय अवस्थामा मुखर रूपमै भइरहेको छ । ‘लिवरल स्पेस’ निर्माणका लागि पटक–पटक भएका प्रजातान्त्रिक आन्दोलनहरूले सफलता पाए पनि समानताको सवालमा अझै पनि समाज र राज्यसंयन्त्रमा कायम कतिपय अनुदार र पारम्परिक सोच विरुद्ध समेत महिलाहरू मुखर बनिरहेका छन् ।

प्रजातान्त्रिक आन्दोलन मार्फत प्राप्त ‘लिबरल स्पेस’ भित्र सिर्जित थुप्रै अवसरलाई पुरुषकै हाराहारीमा पहिल्याउन सक्षम छन्, आजका महिला । शिक्षा, स्वास्थ्य, रोजगारी, बन्द–व्यापार लगायतका क्षेत्रमा महिलाको बढ्दो उपस्थिति त्यही चुपचाप क्रान्तिको प्रतिफल हो, जो हिजोको ‘पुरुषत्व’ निर्मित परिवार र समाजको पर्खाल नाघेर भइरहेको छ ।

आमाको नामबाट नागरिकता महिला जागरणको त्यो उत्कर्ष हो जसले लैंगिक समानताको मुद्दा मात्र बोकेको छैन, राज्य–सुरक्षाका नाममा कायम ‘पुरुषत्व’ लाई नै चुनौती दिएको छ । हाम्रो बुझाइमा शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक प्रतिनिधित्व हुँदै राजनीतिक रूपमा कायम वंश व्यवस्था विरुद्ध उठेको ‘आमाको नामबाट नागरिकता’ को आवाज समाजलाई विवेकी पहिचान दिलाउने सत्प्रयास पनि हो ।

त्यही कारण हुनसक्छ, प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐनको संशोधन विधेयकले महिलाको स्वतन्त्र अस्तित्व खोसेको भन्दै शुरू भएको विरोधले सिंगो समाजलाई तरंगित गरेको छ । परिणाम– विधेयकका विभेदपूर्ण प्रावधानको विरोधमा शुरू भएको अभियानले मूलभूत समस्या संविधानमै रहेको निचोड सहित सुधार संविधानमै खोजिनुपर्ने विमर्श समेत शुरू गराएको छ ।

खुला सिमानाका कारण समानताका कतिपय कुरा ‘कम्प्रोमाइज’ गर्नुपर्ने बताउँदै आएका राज्य–सञ्चालकहरूले समेत ‘महिलामाथिको यो विभेदलाई सम्बोधन गर्ने उपाय खोज्नैपर्ने’ बताउन थाल्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

खुला सीमा र बिहेवारी जस्ता सांस्कृतिक सम्बन्धका कारण आमाको नामबाट नागरिकता दिंदा दक्षिणतर्फको जनसंख्याको भार नेपालतर्फ सर्ने र कालान्तरमा यसबाट नेपाली राष्ट्रियतामै असर पर्ने तर्क सहित वंशजको नागरिकताका लागि बाबुको पहिचान अनिवार्य गरिएको छ । खुला सिमानालाई नागरिकताको प्रमाणपत्रबाट ‘चेक’ गर्ने यो मनोविज्ञान महिलाको सन्दर्भमा विभेदपूर्ण छ नै, बाबुको पहिचानबाट मात्र राष्ट्रियता जोगिने मूढाग्रहबाट अभिशप्त समेत छ ।

खुला सिमानाबाट लाभ उठाएर एउटै गैरनेपालीले नेपाली नागरिकता नपाओस् भन्नेमा सचेत हुनैपर्छ । तर, नागरिकताको प्रमाणपत्र नै राष्ट्रको रक्षाकवच हो भन्ने मान्यताको विकल्प खोज्न जरूरी भइसकेको छ । जन्मदर्तादेखि नागरिकता वितरणसम्मको प्रक्रियालाई व्यवस्थित डाटाबेस प्रणालीमा लैजाने हो भने कुनै पनि सोचले राष्ट्रियतामाथि आघात नपार्ने सुनिश्चितता हुनसक्छ ।

राष्ट्रियता जोगाउने प्रमाणपत्रले नभई नागरिकको आत्मबलले हो भन्ने तथ्य साढे तीन वर्षअघिको भारतीय नाकाबन्दीसँग भिडेको राजनीतिक नेतृत्व जति अरूले शायदै बुझेको होला । नेतृत्वले बुझ्नुपर्छ– आमाको नामबाट दिइने नागरिकताले नेपाली आमाको आत्मविश्वास बढाउँछ र आमाको आत्मविश्वास बढ्नु भनेको घर (देश) बलियो हुनु हो ।

सन्तानलाई आमाको नामबाट नागरिकता दिने उत्कट चाहना पूरा नहुँदै पनि नेपाली महिलामा स्वसिर्जित आत्मविश्वास कुन हदसम्म छ भन्ने हिमाल को यो अंकमा समेटिएका आजका महिलाका जुझारु पाइलाले देखाउँछन् ।

उमेरले युवा, सोचले नयाँ र समाज हाँक्ने सामथ्र्य राख्ने यी महिलाको हस्तक्षेपपूर्ण उपस्थितिलाई ‘पुरुष सोच’ ले नजरअन्दाज गर्न सक्दैन, मिल्दैन । तर, के आमाको नामको नागरिकता मात्रले समानता सुनिश्चित गर्छ त ? पक्कै पनि गर्दैन ।

यसले विभेदपूर्ण राज्य–व्यवस्थाको सुधार मात्र गर्नेछ । जुन दिन प्रकृतिप्रदत्त सन्तानोत्पादन बाहेकका काममा महिलाको छवि जोडिन छाड्छ, नेपाली समाज यथार्थमा त्यही दिन मात्र समतामूलक समाजमा दरिनेछ । नेपाली महिलाको आशलाग्दो उडानले त्यही दिनको संकेत गर्छ ।

नयाँ वर्ष २०७६ को शुभकामना ।

प्रतिकृया दिनुहोस