कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग
![कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग](https://www.himalkhabar.com/uploads/posts/800X600/Kunjok_Lama_1597662269.jpg)
वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको अभियोगमा पुर्पक्षका लागि रसुवा कारागारमा थुनामा रहेका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङको सम्बन्ध उस्तै अपराधमा इन्टपोलको खोजी सूचीमा रहेका अन्य व्यक्तिसँग पनि रहेको खुलेको छ।
भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले ‘एरेष्ट वारेन्ट’ जारी गरेपछि इन्टरपोलका खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग उनको सम्बन्ध देखिएको हो। यस्तै, नेपालको सर्वोच्च अदालतबाट बाघका अंगको अवैध व्यापारमा संलग्नता पुष्टि भई सात वर्ष कैद सजाय काटेका टासी छिरिङ भनिने छेवाङ उटुक लामासँग पनि उनको सम्बन्ध रहेको कागजात प्रहरीले अदालतमा बुझाएको छ।
भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले ‘एरेष्ट वारेन्ट’ जारी गरेपछि इन्टरपोलका खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिएको हो।
१६ भदौ २०६२ मा रसुवाको स्याफ्रु गाविसमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। टासी छिरिङ त्यही मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् भने कुन्जोक उक्त घटनाका मुख्य अभियुक्त।
भारतका ठूल्ठूला ‘सिजर्स’ मा मुछिएका टासी विरुद्ध अहिले भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
कुन्जोकको सम्बन्ध अर्का भारतीय कुख्यात अभियुक्त जय तामाङसँग पनि देखिएको छ। चार वर्षदेखि इन्टरपोलको खोजी सूचीमा रहेका जयलाई भारतीय प्रहरीले नेपालमा लुकिबसेको अनुमान गरेको छ। १२ कात्तिक २०७२ मा मध्यप्रदेशबाट पक्राउ परेका उनले प्रहरी समक्ष आफ्नो कसूर स्वीकारेका पनि थिए। तर, सोहागपुर जिल्ला अदालतले २१ कात्तिक २०७२ मा उनलाई धरौटीमा छाडेपछि फरार छन्।
यो पनि:
कुन्जोक विरुद्ध रसुवा जिल्ला अदालतमा मुद्दाको सुनुवाइ शुरु भएपछि इन्टरपोलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पठाएको कागजातमा तिनै भारतीय जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिन्छ। सीआईबीले लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत अदालत पेश गरेका ती कागजात केलाउँदा नेपाल र भारतमा कुन्जोकले प्रयोग गर्ने मोबाइल नम्बरबाट जयको मोबाइलमा कैैयौं पटक कुराकानी भएको देखिन्छ।
कुन्जोक विरुद्ध रसुवा जिल्ला अदालतमा मुद्दाको सुनुवाइ शुरु भएपछि इन्टरपोलले नेपाल प्रहरीको सीआईबीलाई पठाएको कागजातमा भारतका अर्का कुख्यात अभियुक्त भारतीय जय तामाङसँग पनि कुन्जोकको सम्बन्ध देखिन्छ। १२ कात्तिक २०७२ मा मध्यप्रदेशबाट पक्राउ परेका उनी सोहागपुर जिल्ला अदालतले २१ कात्तिक २०७२ मा धरौटीमा छाडेपछि फरार छन्।
मध्य प्रदेशको भोपालका ‘चिफ वाइल्डलाइफ वार्डेन’ ले सीआईबीलाई पत्र लेखेरै आफूहरुको ‘सर्वाधिक खोजी सूची’ मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन्।
गत ११ असारमा सीआईबीले काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएका कुन्जोकलाई रसुवा जिल्ला अदालतले १४ असारमा पुर्पक्षका लागि थुनामा पठाएको छ। त्यस विरुद्ध कुन्जोकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। ३० असारमा उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईले कुन्जोकलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका थिए। त्यसपछि २२ र २९ साउनमा पेशी तोकिए पनि कुन्जोककै कानून व्यवसायीले सुनुवाइ स्थगित गरे।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश विरुद्ध कुन्जोकले उच्च अदालतमा निवेदन पेश गरेपछि सीआईबीले उनी विरुद्धका प्रमाण जुटाउने क्रममा इन्टरपोल र भारतीय प्रहरीबाट थप कागजात प्राप्त गरेको हो। उच्च सरकारी वकीलको कार्यालय पाटन स्रोतबाट हिमालखबरलाई प्राप्त ती कागजातमा कुन्जोकको सम्बन्ध टासी छिरिङ, सितार तामाङ र धार्के लामासँग पनि रहेको देखिन्छ। मध्यप्रदेश ‘स्पेसल टास्क फोर्स’ ले इन्टरपोललाई सितार, धार्के र टासीसँग कुन्जोकको सम्बन्ध रहेको र ती तीन जना विरुद्ध भारतको अदालतले जारी गरेको पक्राउ पूर्जी २५ जुन २०२० (११ असार) मा नेपाल प्रहरीसँग ‘सेयर’ गरिसकेको जानकारी गराएको छ। उनीहरु विरुद्ध सोहागपुर जिल्ला अदाललते २९ जुलाई २०१९ (१३ साउन २०७६) मा पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्यो।
हुम्लाको नाम्खा गाउँपालिका–६ स्थायी घर भई काठमाडौं–६ बस्ने कुन्जोक पनि इन्टरपोल र भारतीय प्रहरीको खोजी सूचीमा थिए।