टिप्पणी शनिबार, साउन १७, २०७७

यो शैक्षिक सत्रलाई खेर जान नदिने प्रयासमा छौं

नुनुता राई

यो शैक्षिक सत्रलाई खेर जान नदिने प्रयासमा छौं

कोरोनाभाइरस महामारीका कारण साढे चार महीनादेखि विद्यालय र विश्वविद्यालयहरू बन्द छन्। अहिलेसम्म यो वर्षको शैक्षिक सत्र शुरू गर्न सकिएको छैन। शैक्षिक सत्र कसरी शुरू गर्न सकिन्छ भनेर बृहत् छलफल गरिरहेका छौं।

यो असामान्य अवस्थामा असामान्य ढंगबाटै अगाडि बढेर सहज बनाउँदै जाने हाम्रो प्रयास हो। शैक्षिक सत्र शुरू नभएको अवस्थामा पनि विद्यार्थीको सिकाइ रोकिनुहुँदैन भनेर हामीले वैकल्पिक तथा दूर शिक्षाको अवधारणा अनुसार पढाइरहेका छौं। तर, यसमा सबै विद्यार्थीको पहुँच नभएका कारण सबैले लाभ लिनसकेका छैनन्।

वैकल्पिक तथा दूर शिक्षामा सहभागी विद्यार्थीको सिकाइको मूल्यांकन गरी पाठ्यक्रम अगाडि बढाइनेछ। ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार असारबाट भएको वैकल्पिक तथा दूर शिक्षाको सिकाइको मूल्यांकन गरेर त्यसलाई पनि शैक्षिक सत्रसँग जोडेर अगाडि बढ्न सकिन्छ कि भनेर हामीले छलफल गरिरहेका छौं।

१ भदौबाट भर्ना प्रक्रिया खुल्ने र लामो दूरीको यातायात संचालन गर्न अनुमति दिइसकेका कारण सम्बन्धित स्थानमा गएर भर्ना हुन सकिन्छ। अहिलेको अवस्थामा विद्यालयमा पठनपाठन गर्ने वा नगर्ने भन्ने विषयमा परिस्थितिको आकलन गरेर मन्त्रिपरिषद्को बैठकले मात्रै निर्णय लिन सक्छ।

विद्यार्थीलाई विद्यालयमा राखेर पढाउन सकिने अवस्था नआएसम्म अहिलेकै सिकाइ प्रणालीलाई निरन्तरता दिनुपर्छ। यो प्रणालीमा आफ्ना बालबालिकालाई जोड्न सबै अभिभावकले प्रोत्साहन गर्नुपर्छ।

१ भदौदेखि नै शैक्षिक सत्र शुरू गर्न सकियो भने सार्वजनिक विदाहरू कटौती गर्दै अतिरिक्त कक्षा संचालन गरेर भए पनि शैक्षिक सत्र अनुसारको पूरै पठनपाठन गर्न सकिन्छ। विद्यमान अवस्था हेर्दा भने त्यसको सम्भावना कम छ। यद्यपि अहिले नै शैक्षिक सत्र खुम्च्याउने वा पछाडि धकेल्ने पक्षमा छैनौं। जसरी हुन्छ, यो शैक्षिक सत्रलाई खेर जान नदिने हो।

अनलाइन, रेडियो/टेलिभिजन, विभिन्न वेबसाइटमा राखिएको पाठ्यसामग्रीमा पहुँच नहुनेका लागि टोल शिक्षा कार्यक्रम संचालित छ। यी सिकाइलाई निरन्तरता दिन स्थानीय सरकारलाई केन्द्रले आर्थिक सहयोग पनि गरिसकेको छ।

यो महामारीले हामीलाई भौतिक उपस्थिति मार्फत प्रत्यक्ष रूपमा हुने परम्परागत सिकाइबाट माथि उठेर प्रविधिका माध्यम इन्टरनेट, मोबाइल, कम्प्युटरबाट मात्र नभएर रेडियो, टेलिभिजन मार्फत पनि सिकाइसँग जोडिन सकिन्छ भनेर सिकाएको छ। सूचना तथा मनोरञ्जन लिनका लागि मात्रै यी माध्यमको प्रयोग भइरहेको वेला अहिले विद्यार्थीका लागि पाठ्यसामग्री प्रसारण भइरहेको छ।

स्थानीय तह आफैंमा सरकार भएकाले महत्वपूर्ण बाहेकका काममा केन्द्रको निर्णय वा निर्देशन पर्खिरहन जरूरी छैन। आफ्नो क्षेत्रको अवस्था अनुसार आफैं निर्णय गरेर समयानुकूल पठनपाठन अगाडि बढाउनुपर्छ। अहिले शिक्षक अझ बढी जिम्मेवार हुनुपर्ने समय आएको छ। आफ्ना विद्यार्थीलाई कसरी प्रभावकारी शिक्षा दिने भन्ने कुरामा ध्यान दिएर सिर्जनात्मक उपाय अपनाउनुपर्छ।

अहिले कतिपय स्थानीय तह तथा विद्यालयहरूले कोरोना संक्रमणको जोखिम कम भएको र भौतिक दूरी कायम राखी पढाउन सम्भव भएको ठाउँमा विशेष सावधानी र सुरक्षाको मापदण्ड अपनाउँदै पढाउने, इन्टरनेट सुविधा दिने जस्ता कार्य गरिरहेका छन्। स्थानीय तह तथा विद्यालयहरूको यो प्रयासले पनि शैक्षिक सत्र पूरा गर्न सघाउ पुग्नेछ। सबैमा एउटै सूत्र भने लागू हुँदैन। त्यसैले स्थानीय तह तथा विद्यालयहरू स्थानीय अवस्था र अनुकूलता अनुसार सिकाइलाई अगाडि बढाउन अग्रसर हुनुपर्छ।

नुनुता राईसँगको कुराकानीमा आधारित


यो पनि पढ्नुहोस्—

• प्रविधिमा असमान पहुँचस् विद्यार्थीको ठूलो संख्या पढाइबाट वञ्चित

 के बजाउँदैछन् कलेजका रेडियो !

 अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ? 

• के हुन्छ यो वर्षको शैक्षिक सत्र ?

प्रतिकृया दिनुहोस