रिपोर्ट सोमबार, असार १, २०७७

अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ?

नुनुता राई

अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ?

बन्दाबन्दीले नयाँ शैक्षिक सत्रको मिति तय हुन नसक्दा विद्यालयहरु अनलाइन कक्षा चलाइरहेका छन् । यस्तो कक्षामा विद्यार्थींको सिकाइको मूल्याङ्कन भने हुन सकेको छैन। 

सरकारले अनलाइन कक्षा रोक्न निर्देशन दिए पनि झापाको मोडल स्कुलले जुम मिटिङ र गुगल क्लास एप प्रयोग गरेर ७ वैशाखदेखि निरन्तर कक्षा संचालन गरिरहेको छ । एलकेजीदेखि १० कक्षासम्मका ७० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिइरहेको प्रिन्सिपल सागर श्रेष्ठ बताउँछन्।

बिदा भएपछि पहाड र गाउँको घर गएका विद्यार्थी अनलाइन कक्षामा उपस्थित हुन सकेका छैनन् । तर अनलाइन कक्षा नियमित कक्षाभन्दा प्रभावकारी भएको उनको दाबी छ । कक्षा आउन नसक्नेका लागि रेकर्ड, स्लाइड र नोटहरु गुगल क्लासमा राखेको उनी बताउँछन् । श्रेष्ठ भन्छन्, “हामीले अनलाइन राखेका सामग्री पनि उपयोगी भएका छन् । सामान्य अवस्था भएपछि विशेष कक्षा संचालन गरेर छुटेकालाई सिकाउने तयारी छ ।”

कोरोनाभाइरस संक्रमण फैलिएसँगै विभिन्न सफ्टवेयर कम्पनीले वेबिनार, कक्षा, कार्यक्रम संचालन सहज बनाउनका लागि एपहरु बनाएका छन् । तिनै एपका माध्यमबाट अनलाइन कक्षा संचालन हुन्छन् । कतिपय विद्यालयले आफ्नै सफ्टवेयर प्रयोग गरेर समेत कक्षा चलाएका छन्।

अहिलेकै अनलाइन कक्षालाई शैक्षिक सत्र मानेर अगाडि बढ्ने कतिपय विद्यालयको योजनालाई सरकारले अस्वीकार गरिसकेको छ । यस्तो कक्षाले ‘हुने र नहुनेबीच खाडल पार्ने’ भन्दै रोक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । तर, केही विद्यालयलले विद्यार्थीहरुलाई सिक्ने अवसरबाट बन्चित गर्न नहुने भन्दै निरन्तरता दिएका छन्। 

कोरोनाभाइरस संक्रमण फैलिएसँगै विभिन्न सफ्टवेयर कम्पनीले वेबिनार, कक्षा, कार्यक्रम संचालन सहज बनाउनका लागि एपहरु बनाएका छन् । तिनै एपका माध्यमबाट अनलाइन कक्षा संचालन हुन्छन् । कतिपय विद्यालयले आफ्नै सफ्टवेयर प्रयोग गरेर समेत कक्षा चलाएका छन्।
 
‘एप’ बाट सिकाइ कक्षा १, २ र ३ का बिद्यार्थीलाई सिकाइका सामाग्री घरमै उपलब्ध गराउन युएसएआइडीले ‘अर्ली ग्रेड रिडिङ प्रोग्राम’ र नेपाल सरकारले ‘रमाइलो पढाइ’  नामक मोबाइल एप बनाएका छन् । एपमा बालबालिकालाई उपलब्धिमूलक सिकाइ गराउन शिक्षक र अभिभावकको लागि उपयोगी जानकारी पनि समावेश छन् । गुगल प्लेस्टोरबाट यी एप डाउनलोड गरेर बालबालिकालाई पढाउन सकिन्छ।
मिदास एजुकेसन प्रालिले पनि मिदास ईक्लास एप ल्याएको छ । हरेक समय विद्युत, इन्टरनेट र उपकरण उपलब्ध नहुने शिक्षक तथा विद्यार्थीका लागि यो उपयोगी छ । यो एपबाट अफलाइन पनि पढ्न सकिन्छ । मिदासका निर्देशक छत्रहरि कार्की निश्चित समय तोकेर पढाउँदा विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध नहुने र विद्यार्थीहरुले अनलाइन कक्षाको गतिमा सिक्न नसक्ने हुँदा यो एप उपयोगी हुने बताउँछन् । यो एप डाउनलोड गरेपछि अफलाइन पनि हेर्न र पढ्न सकिने उनको भनाइ छ ।

मिदासको एपमा नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाका लागि मोबाइल वा कम्प्युटरबाट प्रयोग गर्न सकिने विभिन्न सामग्री छन् । विद्यालयको पाठ्यक्रममा आधारित २२ हजार एनिमेटेड भिडियो, आठ लाख गेम र अभ्याससहितको ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ प्रयोग गरेर प्रभावकारी अनलाइन कक्षा संचालन गर्न सकिने कार्की बताउँछन् । 

सिरहाको मिर्चैयास्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले १६ वैशाखदेखि २ देखि १० कक्षासम्मको अनलाइन कक्षा शुरु गरेको प्रिन्सिपल प्रदीप तिवारी बताउँछन् । त्यसका लागि स्कूलमा नै इन्टरनेट व्यवस्था गरेर स्थानीय शिक्षकलाई बोलाइएको छ । चितवन र विराटनगर घर भएका शिक्षकले भने घरबाट नै कक्षा लिने गरेका छन् । 

अनलाइन ‘ई आरपी प्रो’ मार्फत शिक्षकले प्रत्यक्ष पढाउने गरेका छन् । पढाएको भिडियो २४ घन्टासम्म हेर्न सकिन्छ । विद्यार्थीको माग अनुसार हरेक शनिबार ‘रिभिजन’ कक्षा संचालन गर्ने तयारी गरिरहेको प्रधानाध्यापक तिवारी बताउँछन् । 

उक्त स्कूलले ११ र १२ कक्षाको पढाइ पनि १६ जेठदेखि सुरु गरिसकेको छ । अहिलेसम्म ८० प्रतिशत विद्यार्थी नियमित रहेको र १० प्रतिशत अनियमित भइरहेको  तिवारी बताउँछन् । अनलाइन कक्षामा सहभागी नभएकामध्ये एक प्रतिशतसँग मात्र प्रविधिको पहुँच नभएको उनको भनाइ छ । “बाँकी अभिभावक तथा विद्यार्थी स्वयंको उदासीनताको कारण सहभागी नभएका हुन्”, उनी भन्छन् ।

कैलालीको टिकापुर स्थित रेडियन्ट इङलिस् स्कुलले अनलाइन कक्षा जेठको दोस्रो हप्तादेखि शुरु गरेको छ । ९० प्रतिशत विद्यार्थी अनलाइनको पहुँचमा रहेको प्रिन्सिफ तेजराज खनाल बताउँछन् ।

बाँकी सात प्रतिशत विद्यार्थी गाउँ गएको र बाँकी तीन प्रतिशतसँग स्मार्ट फोन नै नभएको प्रिन्सिपल खनालको भनाइ छ । विद्यालयले पहुँच भएकालाई अहिले जुम मिटिङ र मेसेन्जरबाट अनलाइन कक्षा दिईरहेको छ । 

विद्यार्थीको ध्यानाकर्षण गराउनै मुस्किल 

अनलाइन कक्षा संचालन गरिरहेका विद्यालयलाई अनेक चुनौती रहेको प्रिन्सिपलहरुको भनाई छ । विद्यार्थी अनलाइन बसेर शिक्षकको कुरा सुनिरहेको छ वा छैन भन्ने जानकारी नै नहुने उनीहरु बताउँछन् । विद्यार्थीको ध्यानाकर्षण गर्न र विषय वस्तुमा बाँध्न पनि समस्या हुन्छ ।

साना कक्षाका बालबालिका भिडियो अफ गरेर अनलाइन बसेर खेलिरहेको हुनसक्ने भएकोले अनिवार्य भिडियो अन गर्नुपर्ने, फर्मल, अर्धऔपचारिक पोशाकमा कपी कलम लिएर कुर्सी टेबलमा बस्नुपर्ने लगायत नियम विद्यालयहरुले बनाएका छन् । झापा मोडल स्कूलका प्रिन्सिपल सागर श्रेष्ठ भन्छन्, “अनलाइन कक्षामा पढ्ने वातावरण बनाउनमा घरको अभिभावकको मुख्य भूमिका हुन्छ । हामीले अभिभावकलाई त्यसरी पढ्ने वातावरण बनाईदिन आग्रह गरेका छौैं ।’ 

अहिले अभिभावक तथा विद्यार्थीमा अनलाइन कक्षाप्रति बुझाइको कमीको कारण विद्यालयलाई चुनौती भएको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल प्रदीप तिवारी बताउँछन् । हरेक विकासका परिवर्तनको पहिलो चरणमा मानिसलाई बुझाउन कठिन हुने उनको भनाइ छ । 

कतिपय शिक्षक र अभिभावककै नकारात्मक मानसिकताका कारण अनलाइन कक्षा चलाउन समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, “अनलाईन कक्षा राम्रो हुँदैन, गर्न सकिँदैन भन्ने अभिभावकलाई सम्झाइबुझाइ गरेपछि सकारात्मक भए । विद्यार्थीहरु पनि अहिले खुशी छन्, तर कतिपयलाई अझै जोड्न सकेका छैनौं ।’ 

मुख्य शहरहरुको तुलनामा साना कक्षाको विद्यार्थीको अनलाइन कक्षामा नियमति उपस्थिति नभएको उनी बताउँछन् । उनी भन्छन्, “हाम्रा अभिभावक कतिपय किसान हुनुहुन्छ भने कतिपय अशिक्षित । त्यसैले बच्चा आफैले जानेर गर्न नसकेसम्म चुनौती नै छ ।’

शिक्षक, विद्यार्थी, अभिभावकसँग पटक पटक छलफल, समन्वय गरेपछि मात्रै अनलाईन कक्षा शुरु गरेको कैलालीको टिकापुर स्थित रेडियन्ट इङ्लिस स्कूलका प्रिन्सिपल खनाल खनाल बताउँछन् । तर, अझै १० प्रतिशत विद्यार्थी तथा अभिभावकको अनलाइन कक्षाप्रतिको बुझाइ स्पष्ट नभएको उनी बताउँछन् । उनी भन्छन्, “शूल्क लिनका लागि अनलाइन कक्षा चलाएको भन्ने कतिपय अभिभावकको भ्रमले केही विद्यार्थी सिकाईबाट बन्चित भईरहेका छन् ।”

शिक्षक नै जिम्मेवार अनलाइन कक्षालाई प्रभावकारी बनाउन शिक्षक सिर्जनात्मक र जिम्मेवार हुनुपर्ने झापा मोडल स्कुलका प्रिन्सिपल श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “आफ्ना विद्यार्थीलाई पढाइमा कसरी लगनशील बनाउने भनेर शिक्षक सजग हुनुपर्छ । उनीहरुको ध्यान तान्न शिक्षक सिर्जनात्मक हुनुपर्छ ।”
सिराहाको मिर्चैयास्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले अनलाइन कक्षाको प्रभावकारिता बढाउन अभिभावक र विद्यार्थीसँग हप्ताको एकदिन जुम मिटिङ मार्फत ‘प्रधानाध्यापक सहजीकरण कक्षा’ आयोजना गर्छ । यसमा समस्या बुझ्ने र समाधानको उपायबारे झलफल हुने प्रिन्सिपल तिवारी बताउँछन् । 

कतिपय शिक्षक आफै प्रविधिमैत्री नभइसकेको कारण समस्या हुने उनको भनाइ छ । त्यसकारण शिक्षक नै सिर्जनात्मक र प्रविधिमैत्री हुनुपर्ने उनी बताउँछन् ।

एन प्याब्सनले प्रेस विज्ञप्ती जारी गर्दै शैक्षिक सामाग्री उपलब्धताबारे विद्यार्थी तथा अभिभावकलाई जानकारी गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्न निकाय र अन्य धेरै संस्थाका स्रोतबाट निर्माण भई निशुल्क उपलब्ध गराईएको वेबसाइट र लिंकबारे जानकारी गराएको हो ।

प्रतिकृया दिनुहोस