रिपोर्ट शुक्रबार, साउन १६, २०७७

के हुन्छ यो वर्षको शैक्षिक सत्र ?

नुनुता राई

के हुन्छ यो वर्षको शैक्षिक सत्र ?
फाइल तस्वीर

सरकारले १ भदौबाट विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न विद्यालयहरूलाई अनुमति दिएको छ। तर, कक्षा सञ्चालनको भने टुङ्गो छैन। त्यही कारण शिक्षक र विद्यार्थीलाई कहिलेदेखि शैक्षिक सत्र शुरू होला भन्ने अन्योल छ।

गएको ११ चैतमा बन्दाबन्दी घोषणा नभएको भए नयाँ शैक्षिक सत्र शुरू भएको साढे तीन महीना भइसक्थ्यो। अहिले शिक्षण संस्थाहरूले विभिन्न पद्धतिबाट विद्यार्थीलाई सिकाइसँग जोडिरहे पनि त्यसलाई शैक्षिक सत्र कायम नगर्न सरकारले निर्देशन दिएको छ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ। सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ। सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुन्छन्। त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ।

शिक्षकहरूले अहिले भइरहेको सिकाइलाई खेर जान नदिन शैक्षिक सत्रमा राख्न माग गरेका छन्। अन्यथा सार्वजनिक र साप्ताहिक बिदाका कारण शैक्षिक सत्रका लागि एक हजार घन्टा पूरा हुँदैन। सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले भर्ना शुरू हुनुअघि नै मन्त्रिपरिषद्को बैठक बसी नयाँ शैक्षिक सत्रबारे निर्णय गर्ने बताएका छन्।

भदौदेखि शैक्षिक सत्र शुरू भए सार्वजनिक बिदा र साप्ताहिक बिदा कटौती गरी अध्यापन गराउँदा हजार घन्टा पठनपाठन अवधि पुग्ने सम्भावना हुने संस्थागत विद्यालयहरूको संस्था, एन प्याप्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउँछन्। तर, कोरोनाभाइरस संक्रमितहरूको संख्या बढिरहेकाले १ भदौबाट शैक्षिक सत्र शुरू गर्ने सम्भावना कम छ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ। सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ। सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुन्छन्। त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ।

सापकोटा भन्छन्, “विद्यालयमा भौतिक दूरी राखेर अध्यापन गर्न सकिने अवस्था कम हुँदै जाँदा यो वर्षको शैक्षिक सत्र साविकको समयमा पूरा हुने सम्भावना छैन। शैक्षिक सत्रबारे सरकारले स्पष्ट जानकारी नदिंदा अन्योल बढेको छ।”


यो पनि पढ्नुहोस्– अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ? 


शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि भदौबाट शैक्षिक सत्र शुरू गरेर सार्वजनिक बिदाहरू कटौती गर्दै अतिरिक्त कक्षा संचालन गर्न सकिने सम्भावना रहेको बताउँछन्। वैकल्पिक कक्षाहरूलाई शैक्षिक सत्रमा जोड्ने विकल्प पनि रहेको उनको भनाइ छ। तर, त्यसका लागि मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने उनी बताउँछन्।

ललितपुर जावलाखेलस्थित डीएभी स्कूलका को–अर्डिनेटर एम ट्याङका अनुसार भारतमा सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) ले शैक्षिक सत्र पूर्ण रूपमा संचालन गर्न नसकेपछि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम ३० प्रतिशत घटाएको छ। यो नेपालका लागि पनि उदाहरण हुनसक्ने उनी बताउँछन्।

नेपालमा पनि सरकारले स्पष्ट योजना दिएर सबैलाई सहज बनाउनुपर्ने सापकोटा बताउँछन्। अहिले सरकारले भर्ना प्रक्रिया मात्रै अघि बढाउन दिएको अनुमतिले विद्यार्थी तथा अभिभावक झनै अलमलमा परेको उनको भनाइ छ। सापकोटा भन्छन्, “सरकारले १ भदौदेखि भर्ना प्रक्रिया मात्रै अघि बढाउन भनेको छ। संक्रमितको संख्या बढिरहेको छ। पढाइ शुरू नहुने भए अभिभावक भर्ना गर्न मात्रै जोखिम मोलेर नआउने भनिरहेका छन्।”

१ भदौबाट कक्षा सञ्चालन मुश्किल

भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला अहिलेको अवस्थामा भौतिक दूरी कायम राखेर विद्यालय संचालन गर्न नसकिने बताउँछन्। उनी भन्छन्, “सम्भवतः भक्तपुरको मात्रै नभएर उपत्यकाका अधिकांश विद्यालयमा भौतिक दूरी कायम राखेर पढाउन सकिने अवस्था छैन।” साँघुरो कक्षा कोठा, विद्यार्थी संख्या धेरै, सानो विद्यालय प्राङ्गण लगायत कारण पर्याप्त भौतिक दूरी कायम राख्न सकिने अवस्था नभएको उनको भनाइ छ।


यो पनि पढ्नुहोस्— के बजाउँदैछन् कलेजका रेडियो !


भक्तपुर नगरपालिकाका विद्यालयमा अध्ययन गर्ने ६० प्रतिशत विद्यार्थी सम्पर्क बाहिर रहेको निरौला बताउँछन्। काठमाडौं उपत्यका बाहिरका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आएका छैनन्। इँटाभट्टा लगायत अन्यत्र काम गर्ने मजदूरका बालबालिका सम्पर्कमा नआएको उनी बताउँछन्।

अहिलेसम्म ३० प्रतिशत पुस्तक मात्रै विद्यार्थीले लगेको उनको भनाइ छ। यो वर्षको शैक्षिक सत्र पूरा गर्नको लागि समय अवधि खुम्च्याउनु वा अर्को शैक्षिक सत्रमा धकेल्नुको विकल्प नरहेको उनी बताउँछन्।

काठमाडौंको बृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापा उपत्यकाका केही विद्यालयले मात्र भौतिक दूरी कायम राखेर पढाउन सक्ने बताउँछन्। बृहस्पति विद्या सदनमा ९० प्रतिशत विद्यार्थी विद्यालयले संचालन गरेको वैकल्पिक कक्षामा सहभागी छन्। बाँकी विद्यार्थी सम्पर्कमा छैनन्। शैक्षिक सत्र शुरू भए वैकल्पिक सिकाइमा जोडिएकहरूको सवालमा समस्या नहुने तर, सम्पर्कमा नै नआएकाहरूको हकमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट नभएको उनी बताउँछन्।


यो पनि पढ्नुहोस्— प्रविधिमा असमान पहुँचस् विद्यार्थीको ठूलो संख्या पढाइबाट वञ्चित


नेपाल अभिभावक महासंघ केन्द्रीय संयोजक धर्मदत्त देवकोटाका अनुसार गाउँ गएका कतिपय विद्यार्थी र अभिभावक नफर्किएकाले १ भदौमा भर्ना प्रक्रिया अगाडि बढाउन समेत समस्या छ। कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै अभिभावकमा त्रास फैलिंदा कक्षा सञ्चालन गर्न मुश्किल हुने उनी बताउँछन्। उनी भन्छन्, “१ भदौबाट शैक्षिक सत्र शुरू गरे पनि विद्यार्थी सम्बन्धित विद्यालयमा आएर पठनपाठन गर्न सक्ने सम्भावना कम छ।”

स्थानीय तहहरूले आफ्नो क्षेत्रका बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालय भएको सम्बन्धित स्थानमा पुर्‍याउन सहयोग गरे मात्र कक्षा सञ्चालनको सम्भावना रहेको उनको भनाइ छ। “जसरी स्थानीय तहले बन्दाबन्दी शुरू भएपछि समस्यामा परेका आफ्ना नागरिकको उद्घार गरी लगेका थिए त्यसैगरी फर्काउनुपर्छ। त्यसमा विद्यार्थी र अभिभावकलाई प्राथमिकता दिनुपर्छ”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस