टिप्पणी मंगलबार, असार ३०, २०७७

चपाई–चपाई खाऔं, मोटोपन घटाऔं

डा. रामदेव पण्डित

चपाई–चपाई खाऔं, मोटोपन घटाऔं
स्केच: भानु भट्टराई

खानाको स्वादमा रमाउने हो भने सकेसम्म बढी समय खानालाई दाँत र जिब्रोका बीचमा राखिनुपर्छ । किनभने जिब्रो मुनिबाट निस्कने ‘लाइपेज’ इन्जाइमले नै बोसोलाई पचाउन भौतिक रसायनिक प्रतिक्रिया शुरू गर्ने हो ।

डा. रामदेव पंडित

मीठो खाना खाउँला भन्ने सोचले कडा परिश्रम धेरैले गरिरहेका हुन्छन्। खाने वेलामा भने अनेकथरी काम गर्दै खाना खान्छन्। अधिकांश मानिस त खाना खाने वेलामा जहिले हतार गर्छन्। धेरैजसो त खाँदाखाँदै टेलिफोनमा बात मारिरहेका हुन्छन्। कोलाहल र चञ्चल मन लिएर खाना खाइरहेका हुन्छन्। यसरी खाँदा पेटमा खाना मात्र धेरै पुग्छ, अझ भनौं टनाटन भरिन्छ तर न जिब्रोले स्वाद लिन पाउँछ न मनमा सन्तुष्टि प्राप्त हुन्छ।

पेट अघाएको खबर लेप्टिन र घार्लिन हार्मोनले मस्तिष्कलाई दिने हो। अर्थात् मस्तिष्कमा यी दुवै हार्मोन उच्च तहमा पुग्नुपर्ने हुन्छ। त्यसका लागि २० देखि ४० मिनेट जति लाग्ने अनुसन्धानहरूले देखाएका छन्। नचपाई हतार गरेर खाँदा लगभग १५ मिनेटमा खाने काम सकिन्छ। आवश्यकता भन्दा बढी खाना पेटमा पुर्‍याइन्छ। फलतः मोटोपनको समस्या आउँछ।

स्वस्थ बन्न भोजन पौष्टिक वा सन्तुलित हुनु जति जरूरी हुन्छ, त्यसभन्दा बढी महत्वपूर्ण भोजन पकाउने र खाने तरिका अनि खाने समय हुन्छ।

सन्तुलित भोजनको रूपमा कार्बोहाइड्रेट, प्रोटिनसँगै फाइबर, भिटामिन, मिनरल आदि सबै पोषकतत्वहरू मिलाएर खाए पनि ती सबै शरीरले प्राप्त गर्छ नै भन्ने हुँदैन। शरीरले ती पोषकतत्वहरूबाट के कति ग्रहण गर्दछ भन्ने कुरा अन्य धेरै विषयमा निर्भर रहन्छ। त्यही भएर आयुर्वेदीय पोषण विज्ञानले ‘यु आर ह्वाट यु डाइजेष्ट एण्ड एसिमिलेट’ भन्छ।

घाँस मात्र खाने जनावरहरूमा सबैभन्दा बढी मांसपेशी (प्रोटिन भएको अंश) भएको जनावर साँढेलाई मानिन्छ। जबकि घाँसमा प्रोटिनको मात्रा धेरै नै कम हुन्छ। अतः शरीरले कुनै पनि खानाबाट के पोषकतत्व अवशोषण गर्ने भन्ने कुरा उसको मानसिकता (माइन्डको कन्डिसनिङ) ले पनि निर्धारण गर्छ।

यो पनि पढ्नुहोस्— भाँती पुर्‍याएर पानी पिए धेरै रोगबाट बच्न सकिन्छ

खाइएको सन्तुलित खानाबाट शरीरका लागि आवश्यक पोषकतत्वहरू सम्यक् रूपमा प्राप्त गर्न चरक संहिताको विमान स्थान अध्याय १ मा ८ वटा विशेष आयतनहरूको उल्लेख गरिएको छ। खाद्य पदार्थको प्रकार, पकाउने विधि, खाद्य पदार्थहरूको मिश्रण, खानाको मात्रा, खाना खाने समय, स्थान, खाँदाको नियम (उयोगसंस्था) र खाद्य पदार्थ खाने व्यक्तिको बानी त्यस अन्तर्गत पर्छन्।

खाना खाँदा अपनाउनुपर्ने मध्येको एक ‘३२ पटक चपाएर खाना खानुपर्ने’ नियम मात्र बोध गरेर जीवनमा अवलम्बन गर्न सक्ने हो भने विश्वव्यापी समस्याका रूपमा रहेको मोटोपनबाट निःशुल्क र सहज रूपले मुक्ति पाउन सकिन्छ।

चपाउनु भनेको अर्ध स्वचालित क्रिया हो। जसलाई व्यक्तिको बोध र बुद्धिले नियन्त्रणमा राख्न सकिन्छ। चपाउने काममा दाँत र जिब्रोको प्रत्यक्ष संलग्नता रहेको हुन्छ। खाना टुक्र्याउन दाँतसँग प्रति इन्च १२० एल्बीएस् (चापको एकाइ) सम्मको दबाब दिनसक्ने शक्ति हुन्छ। अर्थात् १ इञ्चमा ५५ किलोग्रामले दिनसक्ने दबाब दिन सक्छ।

यो पनि पढ्नुहोस्— खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र

खानाको स्वाद लिन सक्ने क्षमता जिब्रो बाहेक पाचन नलीको अन्य कुनै अंगमा हुँदैन। जिब्रोमा ६ प्रकारका (गुलियो, अमिलो, नुनिलो, पीरो, तितो र टर्रो) स्वाद परख गर्ने विशेष कोषहरू हुन्छन्। यी स्वाद पारखी कोषहरू भोक र सन्तुष्टिका कारक हुन्।

जुलाई २० सन् २०११ मा ‘अमेरिकन जर्नल अफ न्युट्रिसन’ मा जीअ लिअ र उनका ६ जना अनुसन्धानकर्ता साथीहरूले एक अध्ययन गरी प्रतिवेदन प्रकाशन गरेका छन्। खाना चपाएर खाँदा त्यसबाट शरीरमा हुने ऊर्जा आपूर्ति र पाचन नलीमा उत्पन्न हुने हार्मोनको घनत्वको अध्ययन गरिएको थियो।

अध्ययनमा १६ जना दुब्ला र १४ जना मोटा मान्छेलाई समावेश गरिएको थियो। मोटा र दुब्ला दुवै समूहलाई २२०० किलो क्यालोरी (६८ प्रतिशत क्यालोरी कार्बोहाइड्रेट, २१ प्रतिशत क्यलोरी बोसो र ११ प्रतिशत क्यालोरी प्रोटिन युक्त) भएको ‘टेस्टिङ मिल’ (परीक्षण गर्न तयार गरिएको खाना) खान दिइएको थियो।

याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो

दुवै समूहलाई एकपटक प्रति १० ग्राम खाना, १५ चोटि चपाएर र फेरि अर्को १० ग्राम खाना, ४० पटक चपाएर खान लगाइएको थियो। परिणामतः दुब्ला भन्दा मोटा मान्छेहरूले तुलनात्मक रूपमा प्रतिग्राम खानालाई छिटोछिटो र कम चपाएर खाएका थिए। मोटाहरूले दुब्लाहरू भन्दा ११.९ प्रतिशत बढी खाना खाएको पाइएको थियो। ४० पटक चपाउनेहरूले १५ पटक चपाउनेहरू भन्दा कम क्यालोरी ऊर्जा ग्रहण गरेको पाइएको थियो भने उनीहरूको रगतमा ‘पोष्ट प्रान्डियल घार्लिन’ हार्मोनको मात्रा कम देखिएको थियो।

भान्सामा टिभी वा टिभी भएको कोठामा भोजन गर्ने चलन अहिले बढ्दो छ। टिभी हेर्दै, मोबाइल चलाउँदै, गफ गर्दै खाने संस्कृति विकास भएको छ। बच्चाहरूलाई छिटो छिटो खाना खुवाएर स्कूल बस चढाउन आमाबुवालाई जहिले पनि हतार हुन्छ। बच्चाहरू टिभीको रिमोट नलिई खाना खान मान्दैनन्। मोटोपन हुनुका मुख्य कारणहरू यिनै हुन्। जसलाई बोध गरिएको छैन।

हतारमा खाना खाँदा, के खाइएको हो, कति खाइएको हो, त्यो पनि थाहा हुँदैन। पेट भरेर घाँटीसम्म आएपछि बल्ल पेट भरिएको थाहा हुन्छ। यसरी पाचन रसहरू पनि सही रूपमा सक्रिय हुन पाउँदैन। मन अशान्त हुँदा खाइएको खानाले पेटमा पुगेर पाचन प्रक्रियामा असहजता ल्याउने र मन्द विष उत्पादन गर्ने गर्छ।

यो पनि पढ्नुहोस्—आखिर इम्युनिटी हो के ?

हतारहतारमा नचपाई खाना पेटमा पुर्‍याउँदा पेटमा ब्याक्टेरियाको संख्या बढ्छ, अपच हुन्छ, डकार आउँछ, वायु निस्किन्छ। पेट फुल्छ, पेट दुख्छ, कराउँछ, पखाला लाग्छ, कब्जियत, कोलाइटिस्, इरिटेबल बौवेल सिन्ड्रम् आदि समस्या देखिन्छन्। खानालाई टुक्र्याएर पचाउन पेटको एसिडले कडा रूपमा प्रस्तुत हुनुपर्दछ। यसरी खाना पचाउन समय लाग्छ। पेटले बढी बल लगाउनुपर्छ।

‘फिजियोलोजी एण्ड बिहेभियर’ नामक जर्नलमा १५ जुलाई सन् २०१५ मा सोफी मिकायल र समूहले तयार गरेको एक शोधप्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनमा चपाएर खाँदा त्यसले भोक, खानाको मात्रा र पाचन नलीमा रसाउने हार्मोनहरू माथि पार्ने प्रभाव सम्बन्धी १० वटा पूर्व अध्ययनलाई विश्लेषण गरिएको छ। यस शोध प्रतिवेदनका अनुसार चपाएर खाना खाँदा त्यसले पाचन नलीका हार्मोनहरूको सक्रियतालाई घटबढ गरिदिन्छ। फलतः स्वघोषित भोक घट्दछ र खाइने खानाको मात्रा पनि घट्छ।

चपाएर खाँदा र्‍यालको उत्पादन १० गुणाले बढ्दछ, खाना ससाना होउन्जेल टुक्रन पायो भने इन्जाइमहरूले त्यसमाथि रसायनिक प्रतिक्रिया गर्न अधिक क्षेत्र पाउँछन्। हरेक खानालाई बोधपूर्वक ३२ पटकसम्म चपाएर खान सके त्यसले खानाको मात्रामा नियन्त्रण हुन्छ। यसैले मोटोपन नियन्त्रण गर्न सक्छ।

सबै काम छोडेर, शान्त मन र एकान्त स्थानमा भोजन गर्नुपर्छ। यसो गर्दा खाना र इन्द्रियहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ। भोजनप्रति आकर्षण, श्रद्धा, प्रेम र उत्साह जाग्छ। खानाप्रतिको आकर्षण र वासनाले एच्.सी.एल्., कोलेसिस्टोकाइनिन्, सोम्याटोस्टाटिन र न्यूरोटेन्सिन आदि रसहरू ५० प्रतिशतले बढ्छन्। मन खाने प्रक्रियामा केन्द्रित हुन्छ। यसरी थोरै खाए पनि पेट भरिन्छ, मन सन्तुष्ट बन्छ।  शरीरमा पोषकतत्वहरूको अनावश्यक रूपमा संग्रह हुन पाउँदैन।

खाना कति पटक चपाउने भनेर कुनै निश्चित संख्या तोकिएको कतै पाइन्न तर प्रत्येक गाँसले मानिससँग हुने ३२ वटै दाँत हुँदै यात्रा गर्नुपर्छ। यही अर्थमा ३२ पटक चपाउनुपर्छ भन्ने मान्यता स्थापित भएको हो। यो औसत संख्या मात्र हो। पचन क्रिया मुखबाट शुरू हुन्छ। भनिन्छ लगभग ५० प्रतिशत पाचन मुखमै हुन्छ। ‘स्यालेभरी अल्फा एमाइलेज’ निकाल्ने ग्रन्थी मुखमै हुन्छ जसले सुगर र स्टार्चलाई टुक्र्याउँछ।

अमेरिकी ‘युनिभर्सिटी अफ इन्डियनपोलिस्’ का डा. क्येसडीले १३ जनालाई ५५ ग्राम बदाम खान दिई १० पटक, २५ पटक र ४० पटक चपाएर खान लगाएका थिए। खाएको ३ घण्टापछिसम्म उनीहरूको भोकको परीक्षण गरिएको थियो। जसले ४० पटकसम्म चपाएका थिए उनीहरूमा अरूभन्दा कम भोक लागेको पाइएको थियो।

नेदरल्याण्डको ‘युनिभर्सिटी अफ वागेनिगन’ का २१ वर्ष उमेर समूहका २६ जनामा गरिएको यस्तै अनुसन्धानमा माथिको जस्तै परिणाम प्राप्त भएको थियो। चपाएर खाँदा र्‍यालको उत्पादन १० गुणाले बढ्दछ, खाना ससाना होउन्जेल टुक्रन पायो भने इन्जाइमहरूले त्यसमाथि रसायनिक प्रतिक्रिया गर्न अधिक क्षेत्र पाउँछन्। हरेक खानालाई बोधपूर्वक ३२ पटकसम्म चपाएर खान सके त्यसले खानाको मात्रामा नियन्त्रण हुन्छ। यसैले मोटोपन नियन्त्रण गर्न सक्छ। चपाएर खाँदा जिब्रोलाई स्वाद, मनलाई शान्ति र सन्तुष्टि पनि प्राप्त हुन्छ। त्यसैले खाना चपाईचपाई खाऔं, स्वस्थ रहौं।

प्रतिकृया दिनुहोस