टिप्पणी शनिबार, जेठ १०, २०७७

स्वाद तीतो, स्वास्थ्यलाई मीठो

डा. रामदेव पण्डित

स्वाद तीतो, स्वास्थ्यलाई मीठो
तस्वीर: हेल्थलाइफ ।

प्राणीको जीवनरक्षा मूलतः आहारले नै गर्छ । शरीरको बल, वर्ण र ओजको रक्षा वा बुद्धिको पनि आहार नै मुख्य कारण हो । यो आहार षडरसात्मक वा षडरसाश्रयी हुन्छ । रसमा औषधीय गुण हुन्छ (सुुश्रुत संहिता, सूत्रस्थान, अध्याय ०१, श्लोक ३६) ।

डा. रामदेव पण्डित

सामान्यतः मानिसले जिब्रोमा स्वाद बस्ने वा प्रिय लाग्ने वस्तु मात्र खाने गर्छन्, अप्रिय लाग्ने वस्तु देखे पनि नदेखेझैं गर्छन्, बेवास्ता गर्छन् । जस्तै तीतेकरेला । सोच्ने वा देख्ने बित्तिकै धेरैले करेलाको तीतो स्वाद सम्झिएर नखाने निर्णय गर्छन् । स्वादकै कारण यो सब्जी धेरैको नखाने सूचीमा सीमित हुन्छ । के यसरी प्रकृतिमा पाइने तीता तरकारी वा फलफूल नखाएरै पनि व्यक्ति स्वस्थ रहन सक्छ ?

प्रकृतिमा यस्तो तीतो हुने तरकारी, फलफूल र बोटबिरुवा धेरै छन् । करेला, नीम, चिराइतो वा अन्य केही औषधीय जडीबुटी आदि । यिनीहरूमा पाइने मोमोरडिसिन तत्वले गर्दा यो तीतो हुन्छ । यो एउटा जैविक तत्व हो ।

एशिया प्यासेफिक जर्नल अफ ट्रपिकल डिजिज मा प्रकाशित एन्टीडायबिटिक इफेक्ट्स अफ मोमोडिका चरन्सिया एण्ड इट्स मेडिकल पोटेन्सी आलेखले करेलामा २२५ प्रकारका औषधीय तत्वहरू पाइने उल्लेख गरेको छ (अप्रिल २०१३) । जसबाट मानव जातिमा व्याप्त धेरै रोगको उपचार गर्न सकिन्छ । विशेषतः मधुमेह रोगमा करेलाबाट चामत्कारिक चिकित्सकीय लाभ प्राप्त हुन्छ । करेलामा एन्टी अक्सिडेन्टको मात्रा पनि अधिक हुन्छ ।

मानिसको जिब्रोमा हुने चार प्रकारको स्वाद पारखी विशेष कोषहरूको आधारमा आधुनिक चिकित्सा विज्ञानले चार थरी रसलाई मानेको पाइन्छ । गुलियो, अमिलो, नुनिलो र तीतो । आयुर्वेदले भने आहारमा पाइने रसका आधारमा ६ वर्गमा विभाजन गरेको छ । गुलियो, अमिलो, नुनिलो, पीरो, तीतो र टर्रो । यी ६ रसलाई षड् आहार रस भनिएको छ । यी ६ वटै रसको मानव शरीरमा आआफ्नै खालको प्रभाव र कार्य हुन्छ । शरीरमा कुनै एकको सम्पूर्ण रूपले अभाव हुँदा शरीरको सञ्चालन ठीक ढंगबाट हुनसक्दैन ।

शरीरको सन्तुलित विकास र सम्यक् स्वास्थ्यको लागि यी चार वा ६ थरीकै स्वादहरू आवश्यक हुने भएकैले ती सबै स्वाद ग्रहण गर्ने विशेष कोषहरूको व्यवस्था प्रकृतिले मानव जिब्रोमा गरेको हो ।

शरीरमा अम्लीय (एसिडिक) खानालाई जसरी क्षारीय (अल्कलाइन) खानपिनले सन्तुलित बनाउँछ त्यसरी नै रसहरूका बीचमा पनि एउटा रसले अर्को रसको सन्तुलन मिलाउने काम शरीरमा गर्छ । अमिलो रसको गुण नरम (स्निग्ध), तातो (उष्ण) र भारिलो (गुरु) हुन्छ । त्यसको विपरीत तीतो रसको गुण खस्रो (रुक्ष), शीतल (शीत) र हलुको (लघु) गुण हुने हुँदा शरीरमा अमिलो रसयुक्त खानपिनको नकारात्मक प्रभावलाई तीतो रसयुक्त खानपानले नियन्त्रण गर्दछ । त्यसरी नै मधुरसको सन्तुलन त्यसको विपरीत गुण भएको पीरो रस (कटु रस)ले गर्दछ भन्ने आयुर्वेदीय सिद्धान्त हो ।

पाञ्चभौतिक सिद्धान्त अनुसार पनि षड् रसमा फरकफरक महाभूतको प्रधानता हुन्छ । तीतो रसमा अग्निको, टर्रो रसमा पृथ्वी र वायुको, पीरो रसमा आकाश र वायुको, गुलियो रसमा पृथ्वी र जलको, अमिलो रसमा पृथ्वी र अग्निको र नुनिलो रसमा जल र अग्निको प्रधानता रहेको हुन्छ । त्यसरी सबै रसमा फरक फरक भौतिक संगठन भएको हुँदा सबै रसको आआफ्नै विशिष्ट महत्व र कर्म हुन्छ जसको पूर्ति अन्यत्रबाट सम्भव हुन्न । 

याे पनि हेर्नुहाेस्– बहुगुणी गाँजा

याे पनि हेर्नुहाेस्– भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं


प्रायः धेरैले नखाने तीतेकरेला एक अद्भुत तरकारी हो । हेल्थलाइन डटकमका अनुसार ९४ ग्राम (एक कप) करेलामा २० क्यालोरी ऊर्जा प्राप्त हुन्छ । त्यस बाहेक ४ ग्राम कार्बोहाइड्रेट र २ ग्राम फाइबर पाइन्छ । दैनिक रूपमा ग्रहण गरिनुपर्ने कुल भिटामिनहरूमध्ये एक कप करेलाबाट ९३ प्रतिशत भिटामिन सी, ४४ प्रतिशत भिटामिन ए, १७ प्रतिशत फोलेट, ८ प्रतिशत पोटासियम, ५ प्रतिशत जिंक र ४ प्रतिशत आइरन प्राप्त गर्न सकिन्छ । 

मधुमेहको उपचारमा करेला फल भन्दा विशेष रूपले करेलाको बीउको सेवन अधिक लाभकारी मानिन्छ । बीजलाई प्राकृतिक इन्सुलिन नै भन्ने गरिन्छ । त्यसको अलावा बीजमा उड्डयनशील तेल पनि पाइन्छ । त्यसमा ६० प्रतिशतसम्म इल्योस्टेरिक एसिड पाइन्छ । त्यस बीज तेलको प्रयोग उल्टी रोक्न, अल्सर, भाइरल रोगको उपचार गर्न, पेटको हावा निकाल्न, ज्वरो घटाउन आदिका लागि पनि प्रयोग गरिन्छ ।

जर्नल अफ इथ्नोफर्माक्लोजी को जनवरी २०११ को अंकमा प्रकाशित एउटा शोध अनुसार चिनी रोग (मधुमेह प्रकार २) का बिरामीहरूले चार हप्तासम्म २००० मि.ग्रा.करेलाको सेवन गर्दा रगतमा ग्लुकोजको तह व्यापक रूपमा सुधार आएको थियो । 

त्यस्तै जर्नल अफ केमेस्ट्री एण्ड वायोलोजी को २००८ मार्च अंकमा प्रकाशित एक शोधका अनुसार करेलाको सेवनले शरीरका कोषहरूमा ग्लुकोजको आपूर्ति र ग्लुकोजप्रतिको सहिष्णुता बढाएको थियो । 

करेला, अन्य तीता फलफूल वा वनस्पति सेवन गर्दा धेरै खालका फाइदा प्राप्त गर्न सकिन्छ । त्यसले भोक जगाउँछ, खानाप्रतिको रुचि बढ्छ । रस (जुस) ले शीतलता दिन्छ । शरीरको तापक्रम घटाउँछ, हातखुट्टा पोल्न रोकेर शान्त पार्छ । कलेजोको बोसो काट्छ । रगतको विकार हटाएर छाला सम्बन्धी रोग ठीक पार्छ ।

छाला चिलाएको, घाउखटिरा आएको वेला तीतेकरेलाको पात पिसेर लेप लगाउँदा समस्या हट्छ । त्यसैगरी कब्जियत भएको र पिसाब पोलेको वेलामा करेलाको जुस पिउँदा राहत दिन्छ । यसबाहेक करेलाको जुस पिउँदा खराब कोलेस्ट्रोल घट्छ । तौल नियन्त्रण गर्छ र पेटका चुर्ना र जुकाहरू मार्छ ।

करेला खाँदा केही सावधानी पनि अपनाउनु जरूरी छ । अधिक खाए रक्तचाप घटेर बेहोश पार्न पनि सक्छ । त्यसैगरी गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित मानिंदैन । गर्भपतन वा रक्तस्राव हुने सम्भावना रहन्छ । अतः यसको सेवन गर्दा विचार पुर्‍याउनैपर्छ ।

याे पनि हेर्नुहाेस्– स्वास्थ्यका लागि लाभदायक सातु

याे पनि हेर्नुहाेस्– अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

प्रतिकृया दिनुहोस