टिप्पणी आइतबार, जेठ ४, २०७७

स्वास्थ्यका लागि लाभदायक सातु

डा. रामदेव पण्डित

स्वास्थ्यका लागि लाभदायक सातु
सातुकाे जुस र मिठाई ।

सातु सामान्यजनको मात्र होइन, मध्यम र उच्चवर्गको प्रिय खाजा बन्दै गएको छ । यसैले सातुलाई लघु भोजन पनि भनिन्छ ।

डा. रामदेव पण्डित

खाजा के खाने ? घरमा होस् वा कार्यालयमा धेरैले एक अर्कालाई हरेकदिन जसो सोधिरहने एउटा सहज प्रश्न हो । यो चाख लाग्दो प्रश्नको उत्तर थोरैले मात्र दिन्छन्, धेरै चाहिँ मुखामुख गर्छन् । बजारमा स्वास्थकर एवं पौष्टिक खाजा पाउन मुस्किल छ।

खाजाकै रुपमा गाउँदेखि शहरसम्म मोःमोः, समोसा, पकौडा, डुनट, पाउरोटी, चाउचाउ, थुक्पा, चाउमिन आदिको विकल्प पाउन कठिन हुन्छ । पसलमा अण्डा, माछा र मासु पनि पाइन्छ तर सरसफाइको कमी, अनुपयुक्त ढंगले गरिने राखनधरन र स्वास्थ्यको पर्याप्त ख्याल नगरी बनाइएका कारण बाध्यतावश अधिकांशले खाइरहेकै छन् । यसले धेरैलाई न सन्तुष्टि दिएको न त खर्च घटाउन मदत गरेको छ।

नेपाल र भारतमा पारम्परिक, सांस्कृतिक एवं मौलिक खाजाको रुपमा पनि सातु खाने चलन थियो । उत्तरी भारत र नेपालको तराई क्षेत्रमा विशेषतः गर्मी महिनाहरुमा विहान र दिउँसो ठेलागाडामा सातु घोलेर बेच्ने गरेको पाइन्छ।

नेपालको पहाडी क्षेत्रमा आंशिक रुपमा विशेषत ब्राह्मण समुदायमा सातुको प्रयोग गरिएको पाइन्छ । पूजापाठ गर्दा प्रयोग हुने अपुङ्गो पनि सातुकै एक स्वरुप हो । तराई क्षेत्रमा बैशाखको पहिलो दिन मनाइने जुड–शीतलमा नयाँ अन्नको सातु बनाएर प्रसादका रुपमा ग्रहण गरिन्छ । त्यस्तै प्रायः बैशाख महिनामा पर्ने अक्षय तृतियामा देशभरी नै रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) बर्धक मानेर सातु ग्रहण गरिन्छ।

सातु खानु मानव स्वास्थ्यको लागि सर्वथा हितकारी मानिन्छ । सातु बनाउन चाहिने सामग्री सबैतिर हरेक मौसममा सहजै र सस्तै मूल्यमा उपलब्ध हुन्छ । सातुलाई एउटा पौष्टिक एवं स्वस्थकर खाजाको रुपमा ग्रहण गर्न सकिन्छ।

कुनै बेला सातु गरीबहरुको खाना मानिन्थ्यो तर अहिले यसमा व्यापारीकरण भएकाले यो महँगो भएको छ । हर्लिक्स, बर्नभिटा, बुस्ट, सेरेल्याक, ओट्स, आदि सातुकै व्यापारिक संस्करणहरु हुन् । अहिले पनि घरैमा सातु तयार गर्ने हो भने सस्तै पर्छ । विहारमा सातुलाई देशी हर्लिक्स पनि भन्ने गरिन्छ।

जाँताेमा अन्न पिस्दै महिला । तस्वीर: भक्तपुर मासिक ।

सातुलाई विश्वकै प्रचीनतम् (वैदिककालदेखि प्रयोगमा रहेको) तयारी खाजा मानिन्छ । हिमालदेखि तराईसम्मका मानिसको लागि उपयुक्त सातुमा विशेष गरी चना (देशी) प्रयोग गरिन्छ । खेलाडी, सिपाही आदिले पनि दैनिक चना खाने गर्छन् । अहिले क्लब र जीम घरहरुमा समेत चनाको तरकारी वा सातु राख्न थालिएको छ।

त्यसैगरी स्टार होटेलहरुमा सातु, सर्वत र हलुवा विभिन्न फ्लेवर र स्वादमा पाइन्छ । बरफ, कागती, पुदिना, तुलसी, मह, सख्खर, दूध, फलफूल, चिनी, नुन, खोर्सानी, प्याज, फुराएको जीरा आदिसँग मिसाएर पनि सातु खाइन्छ । भारतको पञ्जाबमा सातुमा चनाको सट्टा जौको प्रयोग बढी गरिन्छ । सातुको पिठोबाट रोटी, पराठा, लिट्टी, लड्डु आदि बनाएर पनि खाइन्छ।

एक पटक सातु तयार गरेर राखेपछि पानीमा घोलेर तत्काल पिउन वा खान सकिन्छ। पटक पटक भाडाँकुडा, सब्जी, तेल, मसला र इन्धन केही आवश्यक पर्दैन । सातुमा कति पानी मिसाउने भन्ने निश्चित मात्रा नतोकिएको भए पनि एक गुणा सातुमा चार गुणा पानी मिसाएर सेवन गर्ने चलन छ।

सातुको प्रकारहरुमा पनि विविधता र आधुनिकता आएको छ । सातु भन्ने वित्तिकै चनाकै बुझिन्छ तर अन्य अनाजबाट पनि सातु तयार गर्न सकिन्छ । अचेल धेरैले चनासँग मकै, भटमास, जौ, गहुँ र चामल पनि मिसाउने गरेका छन् । यसले सातुलाई सन्तुलित र पौष्टिक बनाउन मदत नै गरेको छ।

कुनै पनि स्वस्थ व्यक्तिलाई प्रतिदिन १८,०० देखि २२,०० क्यालोरी उर्जा (कार्वोहाईड्रेट, प्रोटिन, फ्याट आदि सबैबाट) आवश्यक हुन्छ । हेल्थलाईन डटकमका अनुसार एक जना निस्क्रिय पुरुषका लागि ५६ ग्राम प्रोटिन र महिलाका लागि ४६ ग्राम प्रोटिन आवश्यक पर्दछ । एक आउन्स चना (२८ ग्राम चना)बाट  ८ ग्राम कार्बोहाईड्रेट, २ ग्राम बोसो र ३ ग्राम प्रोटिन प्राप्त हुन्छ । साथै २८ ग्राम चनाबाट ४६ क्योरी उर्जा प्राप्त हुन्छ । चनाको पिठोमा कोलेस्ट्रल भने हुँदैन।

सातुमा आईरन, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फाईबर आदि पाइन्छन् । फाईबर अधिक हुने सातु प्रोटिनले भरिपूर्ण र बोसोमुक्त खाना भएकाले चिकित्सकहरुले मधुमेहका रोगीहरुलाई पनि खान सल्लाह दिन्छन् । सातुले मांशबृद्धि गराउँछ र शरीरलाई बलियो बनाउँछ।

सातुमा भएको फाइबरले कब्जियत खुलाउँछ । सजिलै पच्ने र अवशोषण हुने हुँदा यसले तत्कालै उर्जा दिन्छ । यसमा भएको पोटासियम र म्याग्नेसियमले भोक जगाउँछ । शरीरको कुनै अंगमा पानी वा हावा जमेर सुन्निएको ठाँउमा राहत दिन्छ । शरीरको मेटाबोलिजम प्रकृयालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्दछ । रगतको रातो रक्त कोषिकाहरुको अक्सिजन बोक्ने क्षमता बढाउँछ । रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय तुल्याउँछ जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यसमा भएको आइरनले रक्तअल्पता हुनबाट पनि बचाउँछ।

सातु र त्यसबाट बनेकाे लड्डु ।

सातुले पाचन प्रणालीलाई तन्दुरुस्त राख्छ । कब्जियत हटाउँछ, मोटोपन नियन्त्रण गर्दछ । रक्तचाप सन्तुलित राख्न सहयोग गर्छ, पेटमा सञ्चित बिष (टक्सिन) निकाल्छ । विहान खाली पेटमा र दिउँसो भोक लागेको बेला खाइएको सातुले शरीरलाई उर्जा र मनलाई पनि सन्तुष्टि प्रदान गर्दछ । जौको सातु मस्तिष्क क्षमता बृद्धिका लागि पनि उपयोगी मानिन्छ।

सातुमा भएको फाइबरले कब्जियत खुलाउँछ । सजिलै पच्ने र अवशोषण हुने हुँदा यसले तत्कालै उर्जा दिन्छ । यसमा भएको पोटासियम र म्याग्नेसियमले भोक जगाउँछ । शरीरको कुनै अंगमा पानी वा हावा जमेर सुन्निएको ठाँउमा राहत दिन्छ । शरीरको मेटाबोलिजम प्रकृयालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्दछ । रगतको रातो रक्त कोषिकाहरुको अक्सिजन बोक्ने क्षमता बढाउँछ । रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय तुल्याउँछ जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यसमा भएको आइरनले रक्तअल्पता हुनबाट पनि बचाउँछ । कमजोर पाचन प्रणली भएको बच्चा र वृद्धहरुले पनि सातु सजिलै पचाउँछन्।

आयुर्वेद (अष्टाङ्ग संग्रह सुत्रस्थान, अध्याय ७) ले सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी, बन्द घाउ आदि नासक भनेर उल्लेख गरेको छ । यसले दैनिक सातु सेवन गर्नेलाई प्रमेह (मधुमेह), कुष्ठरोग, राजयक्ष्मा (क्षयरोग) नहुने बताएको छ।

यस अतिरिक्त सातु खानेहरुलाई सावधानी अपनाउन पनि आयुर्वेदले सुझाएको छ । सातु खाइरहेका वेला बीचबीचमा पानी खान र एकै दिन दुई पटक सातु खान भने बर्जित गरिएको छ । त्यसैगरी सातु राती नखान, दाँतले चबाई चबाई नखान र अत्यधिक मात्रामा नखान पनि निर्देश गरिएको छ।

प्रतिकृया दिनुहोस