फलोअप: महालक्ष्मी नगरपालिकामा थप ४० जनाको कोरोना परीक्षण गरिंदै
![फलोअप: महालक्ष्मी नगरपालिकामा थप ४० जनाको कोरोना परीक्षण गरिंदै](https://www.himalkhabar.com/uploads/posts/1594285161Lalitpur-Mahalaxmi-Corona-T.jpg)
गएको दुई साताभित्र ललितपुरको महालक्ष्मी नगरपालिका-८ का शंकास्पद २३ जनाको कोरोनाभाइरस परीक्षण गर्दा २४ असारमा दुई जना संक्रमित भएको पत्ता लागेको थियो। त्यसअघि वडा नम्बर ७ मा सात जनामा संक्रमण भएको पत्ता लागेको थियो।
संक्रमितहरुलाई ललितपुरको पाटन अस्पताल र भक्तपुर दुवाकोटको मेडिकल कलेज तथा शिक्षण अस्पतालमा राखेर उपचार गरिंदैछ।
सम्बन्धित समाचार- ललितपुरको महालक्ष्मी नगरपालिकामा नौ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ
नगरपालिकाले हालसम्म संक्रमित भेटिएका नौ जनाको सम्पर्कमा पुगेका वडा नम्बर ४, ६ र ८ का ४० जना पहिचान गरी कोरोनाभाइरस परीक्षण गर्ने तयारी गरेको छ।
मेयर रामेश्वर श्रेष्ठ भन्छन्, "स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गर्ने तयारी छ। तत्काल समुदाय स्तरमा भने परीक्षण गर्ने योजना छैन।"
महालक्ष्मी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक तथा कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका टेकराज ओझाका अनुसार, विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीको शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण भेटिएको हो।
कोरोना परीक्षण नबढाएसम्म महालक्ष्मी नगरपालिकामा देखिएको संक्रमणलाई समुदाय स्तरमा फैलिएको भन्न नमिल्ने बताउँछन् । "ती नौ जनामा कसरी कोरोना संक्रमण भयो र त्यसको स्रोत के थियो भन्ने पत्ता लागिसकेको छैन", उनी भन्छन्।