ब्लग शनिबार, असार २०, २०७७

पाइला–पाइलामा छुवाछूतः अघिल्लो पुस्ताले सिकाएको अपराध

गोपाल गडतौला

पाइला–पाइलामा छुवाछूतः अघिल्लो पुस्ताले सिकाएको अपराध
रुकुम घटनामा मारिएका सञ्जु विककी आमा (बीचमा) ।

चौरजहारीमा भएको नरसंहार जातपातको नाममा गरिने छुवाछूतको सबैभन्दा नृशंस एवं आततायी उदाहरणको रूपमा लामो आगतसम्म रहिरहनेछ ।

रुकुम पश्चिमको चौरजहारीमा गएको १० जेठमा भएको नरसंहारले नेपाली समाजको ‘सभ्यता’ छताछुल्ल बनाइदियो। प्रेमिका लिन गएका नवराज विकसहित उनका पाँच साथीको हत्या भयो । भेरी नदीबाट निकालिएका सबै शवमा नीलडाम थिए।

हत्या गरिएका ६ छोराका रोइरहेका आमाहरू अदालतमा न्यायको भीख मागिरहेका हृदय हल्लाउने तस्वीरहरू सार्वजनिक भए। अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। यहाँ व्यक्ति मात्र नभएर एउटा समाज पीडक र अर्को समाज पीडित बनेको अवस्था हो।

यो पनि पढ्नुहोस्— ‘यति चाँडै एक्लो हुँला भन्ने थिएन’

संवैधानिक रूपमा सबै नेपाली समान भएको ५८ वर्ष भइसक्यो । छुवाछूत गर्नेलाई अपराधीको रूपमा सजाय गरिने व्यवस्था भएको कानून कार्यान्वयन भएको पनि दशकौं भयो । तर छुवाछूतको नाममा मानिसको घाँटी निमोठ्ने र रक्तमुछेल पार्दै हत्या गर्ने अपराध कायम छ । यो सभ्यता विरुद्धको निर्र्लज्ज मजाक हो, जुन चौरजहारीमा देखियो।

हत्या गरिएका ६ जना युवाहरु: नवराज विक, गणेश बुढा, सन्दीप विक, टीकाराम सुनार र गाेविन्द शाही (बायाँबाट क्रमश:)। 

यी पंक्ति लेखिरहुँदा केही दशक पुरानो एउटा घटना सम्झना भयो । झापाको दमकमा कर्णेल सन्तवीर लामाले दिएको जमीनमा पशुपतिनाथको मन्दिर बनाइएको छ । उक्त मन्दिर र सभाहल भएको ठाउँ दमक बजारको मुख्यमध्येको चोक हो । प्रत्येक वर्ष हिउँदमा यो मन्दिरमा पुराण लगाई हिन्दू बटुकहरूको व्रतबन्ध र विवाहका लागि आयोजक समितिले सार्वजनिक सूचना प्रकाशित गर्दथ्यो।

२०५९ सालमा सूचना प्रकाशित भएपछि स्थानीय पाँच जना दलित युवाले पनि निवेदन दिए । आफूहरू पनि हिन्दू भएकोले वैदिक विधि अनुसार व्रतबन्ध गरिदिन उनीहरूले अनुरोध गरेका थिए । पुराण आयोजक समिति असमञ्जसमा पर्‍यो । समितिले हत्तपत्त बैठक डाकेर ‘व्यवस्थापन गर्न कठिनाइ भएकोले सामूहिक व्रतबन्ध स्थगित गर्नुपरेको’ सूचना प्रकाशित गर्‍यो।

संवैधानिक रूपमा सबै नेपाली समान भएको ५८ वर्ष भइसक्यो । छुवाछूत गर्नेलाई अपराधीको रूपमा सजाय गरिने व्यवस्था भएको कानून कार्यान्वयन भएको पनि दशकौं भयो । तर छुवाछूतको नाममा मानिसको घाँटी निमोठ्ने र रक्तमुछेल पार्दै हत्या गर्ने अपराध कायम छ । 

स्वयं आयोजकहरूलाई पनि थाहा थियो कि, त्यो कारण वनावटी हो। केही सञ्चारमाध्यममा यो समाचार सानो आयतनमा आयो । न घटनामाथि बहस भयो, न ठूलो जनमत पनि मुखरित नै भयो । केही दिनका लागि दमक र वरपरका चियापसल र घरहरूमा गफको विषय मात्र बन्यो।

छुवाछूत भोग्न बानी परेका दलितदेखि छुवाछूत गर्नुलाई अधिकार ठान्ने कथित माथिल्लो जातकाले पनि ‘भैगो, हुन्दिउँ’ भने। अलिक दिनमा घटना सेलायो। अर्काे वर्षदेखि पुराण समितिले व्रतबन्ध गरिदिने सूचना नै निकाल्न छोड्यो। जातका आधारमा हुने छुवाछूत र विभेदको पारो कुन हदसम्म रहेछ भन्ने जान्न यो घटना एउटा उदाहरण हो।

हरेक ठाउँमा विभेद

टेलिभिजन कार्यक्रम समकोण निर्माणको लागि २०७५ सालको गर्मीयाममा पश्चिम नेपालको प्यूठान जानु थियो। काठमाडौंबाट भैरहवाका लागि उड्नुअघि जिविस महासंघकी अध्यक्ष सीताकुमारी सुन्दासलाई भेट्न गएँ ।

उनलाई मैले छुवाछूतका भोगाइबारे सोधें । उनले राजनीतिक काममा जाँदा भोगेका विभेदका बिस्कुन नै फिजाइन् । बाहिर समानताका लम्बेतान भाषण गर्ने मित्रहरूका घरमा बलेसी नाघ्न पनि पाइँदैनथ्यो । उनले अरूसँगै खान पाउँदिन थिइन्, अलग्गै दिइन्थ्यो । कतै भने गाल टार्न घरका अरू सदस्य पनि बाहिरै बसेर खान्थे। उनले भनेकी थिइन्, “साथीहरूसँगै म पनि उनीहरूका घरमा जान्थें, तर मलाई भने ठूलो भारीले थिचे जस्तै गह्रौं हुन्थ्यो, पाइला पाइलामा विभेद भोग्दै यहाँसम्म्म आइपुगेकी हुँ।”

प्यूठान पुगेपछिको अर्काे एउटा अप्रिय घटना भयो । सदरमुकाम खलङ्गा नपुग्दै जुम्री भन्ने ठाउँको एक होटलमा बास थियो । समकोणको आगामी अंकमा छुवाछूतको समस्याबारे छलफल गर्नुथियो, विशेषगरी महिलाको कोणबाट।

म जुम्री बजार छेउको एउटा चियापसल पसें । सडक किनारामा चिया—खाजा पसल चलाउने अधबैंसे दम्पती थिए। नयाँमान्छे देखेर मलाई चियासँगै अरू खाजा पनि खाने कि भनेर महिलाले सोधिन् । मैले र्‍याकभित्रको एउटा बिस्कुट देखाएँ।

आजन्म लुगा सिलाएका, हँसिया खुर्पामा धार लगाएका र जुत्ता सिलाएका अन्यत्रका झैं त्यहाँका दलितले पनि छिमेकीको बलेसी टेकेका थिएनन् । उमेर पुगेर गरिएका प्रेम विवाह पनि पछि छुटाइएका र खानेपानी लिन जाँदा धारोमा गाग्री छोएको निहुँमा कुटाइखाएका अनुभवहरू धेरै थिए।

भित्तामा रातो पर्दाले छोपिएको धूलो जमेको प्रमाणपत्रले एक कुनाबाट चिहाइरहेको थियो । पसल सञ्चालनको अनुमति रहेछ, त्यो प्रमाणपत्र । तर, छोपेर राखेको देखेपछि आश्चर्य लागेर सोधें ।

पसलकी साहुनीले भनिन्, “त्यो देख्नुभयो भने तपाईंले पनि हाम्रो होटलमा नखानुहोला ।” म उनको जवाफले अलमलमा परें । होटल विश्वकर्माको रहेछ । त्यहाँ मैले दुई दिनपछि छायांकन हुने टेलिभिजन कार्यक्रमको लागि एउटा केस मात्र भेटेको थिइनँ, पश्चिम नेपालको राजनीतिक रूपमा सचेत मानिने प्यूठान जिल्लामा दलित भएकै कारण परिचय लुकाएर खाजाको व्यापार गरिरहेको दम्पतीको दुःख पनि भेटेकी थिएँ । साँझमा मादक पदार्थ र सितन (मासु) खान आउनेले बिहान चिया पाउरोटी भने ‘अछूतको होटलमा खाइन्न’ भनेको उनको कानमा हरेक दिन ठोक्किने कर्कस आवाज हो ।

आठ वर्षअघि दलित प्रहरीसँग विवाह गरेपछि माइतीसँग देखभेट नभएकी क्षेत्रीकी छोरी जुम्री बजारको एकछेउमा एकपाखे घरमा थिइन्। लामो भलाकुसारीपछि उनले बल्ल मनको बह पोख्न थालिन्। आजन्म लुगा सिलाएका, हँसिया खुर्पामा धार लगाएका र जुत्ता सिलाएका अन्यत्रका झैं त्यहाँका दलितले पनि छिमेकीको बलेसी टेकेका थिएनन् । उमेर पुगेर गरिएका प्रेम विवाह पनि पछि छुटाइएका र खानेपानी लिन जाँदा धारोमा गाग्री छोएको निहुँमा कुटाइखाएका अनुभवहरू धेरै थिए।

तस्वीर: एपी

पूर्वको सीमान्त जिल्ला झापालाई राजनीतिक चेतना राम्रै भएको जिल्लामा गनिन्छ । हाल झापाको समन्वय समितिका अध्यक्ष छन्, सोमनाथ पोर्तेल । एउटा राजनीतिकर्मीको रूपमा हाकाहाकी छुवाछूत नभोगेको भए पनि घरघरमा हुने गरेको विभेदबारे उनी भलिभाँती परिचित छन्।

यो पनि पढ्नुहोस्—“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?”

हरेक वडामा निर्वाचित दलित महिला सदस्यका पनि आ—आफ्नै भोगाइ भेटिन्छन् । दमककी एक महिला वडा सदस्य मीना विकले उनको टोलमा हरेक साता हुने कीर्तन जब दलितको घरमा हुन्थ्यो, तब प्रसादी खाने वेला विभेद हुन्छ । एउटै सुकुलमा बसेर ताली बजाइरहेको व्यक्ति पानी पिउने वेलामा दुई फुट पर सर्छ । दलितको घरमा प्रसादीको रूपमा सिङ्गो फलमा दोष लाग्दैन भन्दै नकाटेको फल मात्र खाने गर्छन् । यही कारण उनले गाउँको कीर्तन टोलीबाट अलग हुनुपरेको छ।

“हरेक दिन कैयौं पटक विभेदको अनुभव गरिरहनुपरेको छ” मीना भन्छिन्, “खासमा हामी नारा, गीत, कथा, कविता, नाटक, गोष्ठी, कार्यपत्र, छलफल, भाषण आदिमा मात्र समान छौं।”

कुनै कोखमा जन्मिनु आजन्म विभेदको शिकार भइरहनु र अर्काे कुनै कोखबाट पैदा हुनुचाहिं ठीक विपरीत माथिल्लो दर्जाको भइरहन पाउनु एउटा दुरुह नियमितता हो । समाजको थाप्लोमा विभेदको यो कलुषित बोझ यसरी बोकाइएको छ, जुन मनैदेखि बिसाउन धेरैले चाहँदैनन् । हरेक घरमा एउटा पुस्ताले अर्काे पुस्तालाई विभेदको फोहोरी बोझ हस्तान्तरण गरिरहेको छ । अर्काे पुस्ता पनि बोक्न तयार भइरहेको छ ।

प्रतिकृया दिनुहोस