रिपोर्ट बुधबार, असार ३, २०७७

बेलायती लाहुरेका सन्तान, जो तराईमा स्याउ फलाउँदैछन्

मुकेश पोखरेल

बेलायती लाहुरेका सन्तान, जो तराईमा स्याउ फलाउँदैछन्
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भुजौलीमा आफैले सञ्चालन गरेको लुम्बिनी अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरमा आशा गुरुङ । तस्वीरहरु: सागर पाण्डे

बेलायती सेनामा छनोट भएको भए आशा गुरुङ विदेशको कुनै मैदानमा राइफल ताक्न व्यस्त हुने थिए, तर कृषि कर्ममा मन रमाएपछि उनी नेपाली माटोमा खेल्दै व्यावसायिक रुपमा फलफूल र तरकारी फलाइरहेका छन्।

सामान्यतया हिमाली चिसो हावापानीमा फल्ने स्याउका लागि तराईको हावापानी उपयुक्त मानिंदैन। तर, पछिल्लो समय उष्णप्रदेशीय (गर्मी) हावापानी भएको तराईमा पनि स्याउ फल्न थालेको छ।

यो सम्भावनालाई भैरहवाका आशा गुरुङ (५१) ले व्यावसायिक रूपमा उपयोग गर्न थालेका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भुजौलीमा उनले सञ्चालन गरेको लुम्बिनी अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरमा अन्य फलफूलसँगै स्याउ पनि रोपेका छन्।

 अष्ट्रेलियाबाट ल्याइएकाे ‘नानो एप्पल’ काे बोट,लगाएकाे तीन महीनापछि (दायाँ) र एक वर्षमा ।

गुरुङले लगाएको ‘नानो एप्पल’ जातको स्याउमा डेढ वर्षमै फल लागेको छ। उनले यो जातको स्याउको ५०० विरुवा अष्ट्रेलियाबाट ल्याएका थिए। उनी उत्साहित हुँदै भन्छन्, “रोपेको तीन वर्षमा फल दिने हो, तर डेढ वर्षमै यसपाली केही बोटमा फल लाग्यो। अर्को वर्षदेखि व्यावसायिक रुपमै उत्पादन गर्ने लक्ष्य छ।” 

गुरुङले अर्गानिक फार्ममा डेढ वर्षदेखि विभिन्न फलफूल र तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। तीन बिघा क्षेत्रफलमा २८ प्रजातिका फलफूलका ५ हजार विरुवा लगाएका छन्। जसमध्ये ड्रागन फूड, एप्पल बयर, नानो एप्पल, सलिफा, स्ट्रबेरी, अम्बा, नासपाती, मुन्तला लगायत छन्।

यस्तै, डेढ बिघामा तरकारी र फूल खेती छ। गुरुङले लौका, करेला, बोडी, सिमी, काँक्रा लगायत ५० जातका तरकारी खेती गरेका छन्। अधिकांश तरकारी नयाँ जातका रोपेका छन्। बन्दाबन्दी अघि हरेक महीना रु.३/४ लाखको तरकारी बिक्री गरेको उनी बताउँछन्।

बाँकी तीन बिघामा बाख्रा, हाँस र कुखुरा पाल्ने योजना बनाएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित लुम्बिनी अर्गानिक फार्म एण्ड रिसर्च सेन्टर ।

जर्मनीले सिकायो

गर्मी हावापानीमा स्याउ लगायत नयाँ प्रजातिका फलफूलको खेती गर्न सकिन्छ भन्ने गुरुङले जर्मनीमा सिकेका हुन्। २०४९ सालमा जर्मनी गएर तीन वर्ष बसेका उनले त्यहाँ स्याउ फार्म र नर्सरीमा काम गरे। त्यसै क्रममा बागवानीसँग उनको विशेष लगाव बस्यो।

स्याउ फार्ममा काम गर्दा गर्मी हावापानी भएका अष्ट्रेलिया, इण्डोनेसिया लगायत मुलुकमा स्याउको व्यावसायिक खेती हुने गरेको आफूले बुझेको गुरुङ बताउँछन्। त्यसवेला नै नेपाल फर्केपछि फलफूल खेती गर्ने सोच उनले बनाएका थिए। तर लगानी अभावले धेरै ढिलो मात्र शुरू गर्न सकेको उनको भनाइ छ।

“विरुवा विदेशबाट आयात गर्नुपर्ने भएकाले लगानी महँगो पथ्र्यो, तर मसँग पैसा थिएन”, गुरुङ भन्छन्, “पछिल्लो समय जग्गा कारोबार गरेर केही पैसा कमाएपछि जर्मनीमा बस्दा देखेको सपना पूरा गर्न अघि बढेको हुँ।”

जर्मनीबाट फर्केपछि गुरुङले केही समय रेष्टुरेन्ट र ८ वर्ष नर्सरीमा काम गरेका थिए।

फलफूलका विरुवा लगाउनुअघि उनले माटो जाँच, प्राविधिक परीक्षण लगायत आवश्यक सम्पूर्ण काम गरेका थिए। स्याउ रोप्ने वेला भने कृषि प्राविधिकलाई काठमाडौंदेखि भैरहवा बोलाएर आफ्नो योजना सुनाए।

तर, कृषि प्राविधिकले गर्मी हावापानीमा स्याउ नहुने भन्दै उनलाई जोखिम नलिन सुझाव दिए। १२ वर्ष मुस्ताङमा बसेर स्याउमै अनुसन्धान गरेका कृषि प्राविधिकले भैरहवामा स्याउ नफल्ने बताए पनि उनको हुटहुटी सेलाएन। गुरुङले प्राविधिकलाई किन सम्भव छैन भनेर सोधे।

फार्ममा तरकारी खेती ।

प्राविधिकले फूल खेलेर फल लाग्नुभन्दा अघि ४८ घण्टासम्म शून्य डिग्रीभन्दा कम तापक्रम भए मात्र फल लाग्ने भएकाले सम्भव नभएको जवाफ दिए। अन्त्यमा प्राविधिकले विरुवा कसरी रोप्ने र मल कहिले हाल्नेबारे सल्लाह दिने तर फल्ने/नफल्ने कुरामा ग्यारेन्टी दिन नसक्ने बताए।

कृषि प्राविधिकको कुराबाट गुरुङ निराश भएनन्। “उहाँहरूले हिमाली भेगको उदाहरणबाट मात्र कुरा गर्नुभयो, तर मैले त धेरै ठाउँमा बुझेको थिएँ र त्यसै अनुसार आफ्नो बाटोमा अघि बढें”, उनी भन्छन्।

भारतको कोलकातामा सप्लायर्ससँग फलफूलका विरुवा लिन गए। सप्लायर्सले पनि स्याउका विरुवा एकै पटक धेरै लगेर जोखिम नलिन, ५० वटा मात्र लगेर परीक्षण गर्न भनेको उनी बताउँछन्। तर उनले ५०० वटा उठाए। “व्यवसायमा जोखिम त मोल्नैपर्छ भन्ने लागेर कम्मर कसें”, गुरुङ सुनाउँछन्।

काठमाडौं कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्रकी वरिष्ठ बागबानी विकास अधिकृत यामकुमारी श्रेष्ठ गर्मी हावापानीमा फल्ने स्याउका प्रजाति पनि हुने र ती तराईमा राम्ररी फल्ने बताउँछिन्।

आफ्नो फार्ममा आशा गुरुङ ।

जब ‘लाहुरे’ बन्ने बाटो मोडियो

आशा गुरुङको पारिवारिक पृष्ठभूमि बेलायती सेनासँग गाँसिएको छ। स्याङ्जाबाट उनको परिवार भैरहवा आएर बसोबास गरेको ९० वर्ष भयो।

उनका हजुरबुवा १६ वर्षको उमेरमा भैरहवा आएर बेलायती सेनामा भर्ना भएका थिए। त्यसपछि उनका बाबु पनि बेलायतकै फौजमा जोडिए। उनी पनि बेलायती सेनामा भर्ना हुन गएका थिए, तर छनोट हुन नसकेपछि पुस्तौनी बाटो बदलियो। स्वास्थ्य जाँचमा दाँत कीराले खाएको भेटिएपछि उनी फालिएका थिए।

आशाको आमा र भाइको परिवार बेलायतमै बसोबास गर्छन्। उनीसँग पनि बेलायत बसोबासको कार्ड छ। तर, गुरुङ दम्पती र दुई छोरा नेपाली माटोमै रमाएका छन्, जीविकोपार्जनको लागि कृषि कर्ममा लागेर माटो नै खोस्रिरहेका छन्।

गुरुङ भन्छन्, “चाहें भने जतिवेला पनि बेलायत जान सक्छु। तर, यहीं नै रमाइलो लाग्छ।” ३० देश घुमिसकेर विदेशको अनुभव लिइसकेकाले मोह बाँकी नरहेको उनी सुनाउँछन्।

“५१ वर्ष पुगिसकें, अब के को लागि मरिहत्ते गर्नु”, भन्छन्, “यहींको माटोमा काम गरेर २/४ जनालाई रोजगारी दिने हो।” उनको व्यवसायमा दुई छोराले पनि सघाइरहेका छन्।

याे पनि हेर्नुहाेस्– किसान ‘मर्ने’ देश

प्रतिकृया दिनुहोस