रिपोर्ट शुक्रबार, जेठ ३०, २०७७

बन्दाबन्दीपछि बढ्न सक्छ आत्महत्या

नुनुता राई

बन्दाबन्दीपछि बढ्न सक्छ आत्महत्या

आर्थिक वर्ष २०७६/७७ मा दैनिक औसत १५ जनाले आत्महत्या गरे । अघिल्ला वर्षको तुलनामा हरेक साल आत्महत्या गर्नेको संख्या बढिरहेको छ । बन्दाबन्दीपछि भने यो संख्या ह्वात्तै बढ्न सक्ने मनोविद्हरू बताउँछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार १३१ जनाले आत्महत्या गरे । आ.व. २०७५/७६ मा ५ हजार ३४६ र २०७६/७७ मा ५ हजार ७८५ जनाले आत्महत्या गरे ।

प्रहरी प्रवक्ता नीरजबहादुर शाही अन्य अपराध घटे पनि आत्महत्याको दर कायम रहेको बताउँछन् । केही जिल्लामा आत्महत्याको दर घटे पनि अन्यमा उस्तै भएको वा केही बढेको बताउँछन् ।

बन्दाबन्दी शुरू भएको दिन ११ चैतदेखि १० जेठसम्म दुई महीनामा ९८२ जनाले आत्महत्या गरे । यो अवधिमा दैनिक औसत १६ जनाले आत्महत्या गरेका छन् । बन्दाबन्दीमा सबै परिवारसँगै रहँदा पनि आत्महत्या बढ्नु चिन्ताजनक रहेको मनोविद्हरू बताउँछन् ।

“अहिले घरपरिवारको सदस्य सबै घरैमा हुँदा अरू वेला झैं अवस्था देखिएको छ, तर बन्दाबन्दी खुलेपछि आत्महत्याको संख्या अत्यधिक बढ्न सक्छ ।”

आत्महत्याको प्रमुख कारण निराशा हो । बन्दाबन्दीले मानिसहरूमा झनै निराशा बढाएको छ । तर घरका सबै सदस्य सँगै रहने र माया र हेरचाह हुँदा ठूलो संख्यामा आत्महत्या नभएको मनोविद् डा.नरेन्द्र ठगुन्ना बताउँछन् । उनी भन्छन्, “अहिले घरपरिवारको सदस्य सबै घरैमा हुँदा अरू वेला झैं अवस्था देखिएको छ, तर बन्दाबन्दी खुलेपछि आत्महत्याको संख्या अत्यधिक बढ्न सक्छ ।”

बन्दाबन्दीपछि महामारीबाट सिर्जित आर्थिक मन्दी र बेरोजगारीको प्रभाव झनै बढ्छ । सरकारको ध्यान शारीरिक स्वास्थ्य र कोरोना संक्रमण फैलन नदिनमा मात्रै गइरहेको छ । बेरोजगारी समस्या न्यूनीकरण तथा शारीरिक र मानसिक स्वास्थ्यलाई पनि महत्व नदिए आत्महत्याको दर बढ्न सक्ने डा. ठगुन्ना बताउँछन् । उनी भन्छन्, “सरकारले आवश्यक परेको अवस्थामा मनोपरामर्शकर्ता राख्ने र मानसिक स्वास्थ्यको सामान्य सुविधा दिने गरेको छ, यो पर्याप्त छैन ।”

अहिले अष्ट्रेलियाले चलाए जस्तै अभियान नेपालमा पनि चलाउन सकिने मनोविद्हरू बताउँछन् । अष्ट्रेलियामा ‘आर यू ओके ?’ भनेर सोध्ने अभियान चलाइएको छ । त्यसरी नै नेपाल सरकारले पनि मनोवैज्ञानिक क्षेत्रमा काम गरिरहेकाहरूसँग समन्वय गरेर बृहत् रूपमा काम गर्नुपर्ने मनोविद् पदमराज जोशी बताउँछन् । उनी भन्छन्, “काम गर्न ढिला भइसक्यो । तर राज्यले अहिले यो क्षेत्रमा काम गरिरहेकाहरूसँग समन्वय गरेको छैन ।”

बजेटमा पनि बेवास्ता

मनोविद् डा. करुणा कुँवर सरकारले बजेटमा मानसिक स्वास्थ्यलाई नसमेटेको बताउँछिन् । महामारीले ल्याएको त्रासलाई कम गर्न मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम बजेटमै राखेर प्राथमिकता दिने मौका सरकारले गुमाएको उनको भनाइ छ । महामारीले ल्याएको बेरोजगारी, आर्थिक संकटका कारण लाखौं मान्छेमा मानसिक स्वास्थ्य समस्या आउने देखिंदा पनि त्यसमा काम शुरू नहुनु दुःखद् भएको उनी बताउँछिन् ।

“अहिले मानसिक स्वास्थ्य सम्बन्धी सामग्रीको नाममा फेसबूक, भाइबर र यूट्यूबबाट अनावश्यक र गुणस्तरहीन सामग्री प्रसारण भइरहेका छन् । त्यसले समस्या झनै बढाउँछ ।”

– डा. करुणा कुँवर, मनोविद्

सरकारले उचित समन्वय र मानसिक स्वास्थ्यको क्षेत्रमा व्यक्तिगत तथा संस्थागत कामहरूको अनुगमन नगर्दा थप समस्या हुनसक्छ । उनी भन्छिन्, “अहिले मानसिक स्वास्थ्य सम्बन्धी सामग्रीको नाममा फेसबूक, भाइबर र यूट्यूबबाट अनावश्यक र गुणस्तरहीन सामग्री प्रसारण भइरहेका छन् । त्यसले समस्या झनै बढाउँछ ।”

गुणस्तरीय कार्यक्रम मात्रै प्रकाशन तथा प्रसारण गर्न अनुगमन प्रणाली चुस्त हुनुपर्छ । हरेक हप्ता विभिन्न रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरू र टोल फ्री, हटलाइन, भाइबर लगायत माध्यमबाट गुणस्तरीय कार्यक्रमहरू पनि प्रसारण तथा प्रकाशन भइरहेका छन् । ती सामग्रीबारे व्यापक प्रचार हुनुपर्ने उनी बताउँछिन् ।

यो पनि पढ्नुस्– हिम्मतले जितिन्छ कोरोना संक्रमण, तर प्राथमिकतामै छैन मानसिक स्वास्थ्य परामर्श

वीरेन्द्र आर्मी छाउनी अस्पतालमा कार्यरत मनोचिकित्सक डा.प्रदीप मानन्धर अहिलेसम्म बन्दाबन्दीकै कारण मानसिक स्वास्थ्य समस्याका नयाँ बिरामी नदेखिएको बताउँछन् । तर, बन्दाबन्दीको कारण साथीभाइ तथा आफन्तहरूसँग लामो समय सम्पर्कविच्छेद हुँदा मनोसामाजिक समस्या भने हुनसक्ने उनको भनाइ छ । त्यसले घरेलु हिंसा, दुव्र्यसनी, काम गर्ने क्षमता घट्ने, सामाजिक जिम्मेवारीमा रुचि नहुने जस्ता समस्या भने हुनसक्ने उनी बताउँछन् ।

सक्रिय छन् मनोपरामर्शदाता

डा. ठगुन्नाले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था द स्कूल अफ साइकोलोजी नेपाल, क्लिनिकल साइकोलोजी एशोसिएसनको सहकार्यमा काम गरिरहेको बताए । उनी भन्छन्, “अहिले हाम्रो करीब ६५ जनाको नेटवर्क छ । यो नेटवर्कले विभिन्न माध्यमको प्रयोग गर्दै टेली मेन्टल हेल्थ, जनहितकारी सन्देश, आत्महत्या रोकथाम र स्व–हेरचाह सम्बन्धी सचेतना कार्यक्रमहरू गरिरहेका छौं ।” उनीहरूले युवाहरू सहित शिक्षक र अभिभावकलाई टेलिफोन, फेसबूक लाइभ, जुम मीटिङ, गुगल मीटिङ मार्फत परामर्श, तनाव व्यवस्थापन लगायत सचेतना तथा जानकारीमूलक सामग्री दिइरहेका छन् ।

यो पनि पढ्नुस्– क्वारेन्टिनमा बसेका गर्भवतीहरु भन्छन्, ‘कोरोना जाँच नहुँदा गर्भको बच्चाको चिन्ता छ’

कोभिड–१९ संक्रमणले ल्याएको विश्वव्यापी आर्थिक संकटले सामाजिक अपराध बढ्ने र त्यसको असर प्रत्यक्ष रूपमा मानसिक स्वास्थ्यमा पर्ने मनोविद्हरूको भनाइ छ । मनोविद् पदमराज जोशी पनि आफूहरूले नेटवर्क बनाएर काम गरिरहेको बताउँछन् । तर ‘सेन्ट्रल फोकल पोइन्ट’ नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ ।

अहिले उनको समूहले दैनिक पाँचदेखि सात जनालाई भाइबर, स्काइप, फोन मार्फत परामर्श दिइरहेका छन् । सामान्य चिन्ता, डिप्रेसन र अनिद्राको समस्या भएकाले परामर्श लिने गरेका छन् । उनीहरूलाई आरामदायी अनुभव गर्ने तरिका र आत्मबल बढाउन परामर्श दिइरहेको जोशी बताउँछन् ।

यो पनि पढ्नुस् – बन्दाबन्दीमा ६२४ महिला तथा बालिकामाथि हिंसा, अधिकांश घरभित्रै पीडित

कोभिड–१९ को प्रभावले हुने मानसिक समस्या बालबालिकामा पनि देखिने मनोविद् ज्योत्स्ना डाँगी बताउँछिन् । उनी भन्छिन्, “अहिले अभिभावकसँग भएका बालबालिकाहरू बन्दाबन्दी खुल्नासाथ एक्लिने सम्भावना छ । त्यसले मानसिक स्वास्थ्यका विभिन्न समस्या ल्याउने खतरा हुन्छ ।”

बन्दाबन्दी खुलेलगत्तै विद्यालय पनि खुल्ने संभावना ज्यादै न्यून छ । घरमा एक्लै हुँदा किशोरावस्थाका बालबालिका दुव्र्यसनमा लाग्ने, नकारात्मक भिडियोहरू हेर्दा त्यसले मानसिक समस्या ल्याउने संभावना हुन्छ । लामो समयपछि विद्यालय जाँदा असहज महसूस हुनसक्छ । त्यसले पनि समस्यामा पार्न सक्छ ।

यो पनि पढ्नुस्– यौनाङ्गमा जबरजस्ती कोदालोको बिंड हालिएपछि घाइते बालिकालाई थप उपचारका लागि पैसाको अभाव

बालबालिकालाई अहिलेदेखि शिक्षक तथा अभिभावकहरूले सिर्जनात्मक क्रियाकलापमा लगाउनुपर्ने डाँगी बताउँछन् । उनीहरूको रुचि अनुसार खेलकुद, नृत्य, चित्रकारिता लगायतमा व्यस्त राख्नुपर्छ । त्यसले उनीहरूमा नकारात्मक सोच नआउने डाँगीको भनाइ छ ।

सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ (सीएमसी) मा कार्यरत मनोविद् डा. कुँवर आफूहरूले टोल फ्रि नम्बर, हटलाइन, भाइबर लगायत माध्यमबाट मनोपरामर्श सेवा दिइरहेको बताउँछिन् । केही दिन यता भने विभिन्न उमेर समूहका व्यक्तिमा आउने आत्महत्याको सोच विरुद्ध काम गरिरहेको उनले जानकारी दिइन् ।

केही साता यता आत्महत्या सम्बन्धी सोच आउने समस्या बढिरहेको उनी बताउँछिन् । डा. कुँवर भन्छिन्, “पहिला म महीनाको तीनदेखि चार वटा यस्ता घटना हेर्थें । अहिले हप्तामा पाँच वटासम्म यस्ता घटना हेरिरहेकी छु ।”

प्रतिकृया दिनुहोस