रिपोर्ट बुधबार, जेठ २८, २०७७

यौनाङ्गमा जबरजस्ती कोदालोको बिंड हालिएपछि घाइते बालिकालाई थप उपचारका लागि पैसाको अभाव

मुकेश पोखरेल

यौनाङ्गमा जबरजस्ती कोदालोको बिंड हालिएपछि घाइते बालिकालाई थप उपचारका लागि पैसाको अभाव

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० शान्तिनगरकी सीमा मुसहर (९) को दायाँ कोखमा अहिले प्लाष्टिकको थैली राखिएको छ । त्यही थैलीमा उनको दिसा–पिसाब जम्मा हुन्छ।

एक महीनाअघि गाउँकै निर्मल परियार (१४) ले आक्रमणपछि मार्ने धम्की दिदैं सीमाको यौनाङ्गमा जबरजस्ती कोदालोको बिंड घुसारेका थिए, जसबाट उनको योनी र मलद्वारमा गहिरो चोट पर्‍यो।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गराएकी उनको योनीको भित्री भागमा शल्यक्रिया गर्नुपर्‍यो । साविकको ठाउँबाट नमिलेपछि चिकित्सकले पेटको बायाँतर्फबाट दिसा–पिसाब गर्न मिल्ने गरी प्लाष्टिकको थैली राखिदिएका छन्।

५ जेठमा उपचारपछि घर फर्केकी सीमालाई चिकित्सकले अर्को पनि शल्यक्रिया गर्नुपर्ने बताएका छन् । तर, पैसाको अभावमा उनी घरैमा बस्न बाध्य छिन्।

घटनामा आश्चर्यको कुरा चाहिं, २६ वैशाखमै भएको यो घटना १९ जेठमा मात्र प्रहरीमा आइपुग्यो । प्रहरीले अभियुक्त बालकविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाएको छ।

मुलुकी ऐन, जबरजस्ती करणी सम्बन्धी महल ऐनले ‘गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने’ परिभाषा गरेका कारण उनलाई करणीमा मुद्दा दायर गरेको हो।

यसरी भयो घटना

२६ वैशाखमा साँझसम्म बेलाबेला मानसिक सन्तुलन गुमाउने गरेकी आमा घर नफर्केपछि सीमा मूल सडकसम्म निस्किन् । आमा नभेटेपछि फर्कने क्रममा उनलाई निर्मलले जबरजस्ती आफ्नो घरभित्र लगे।

“हात खुट्टा बाँध्यो, कराउन खोज्दा मुखमा टेप लगाइदियो अनि पिसाब गर्ने ठाउँमा, कोदालोको बिंड घुसार्‍यो,” पीडित सीमाले भनिन् “कसैलाई भन्यो भने मार्छु भन्यो।”

डरैडरमा सीमा घर आइन् । अर्को दिन विहानदेखि उनलाई हिंड्न, पिसाब फेर्दा समेत पीडा हुन थाल्यो । दिदीको गाह्रो देखेर भाइले नातेदारसमेत पर्ने छिमेकी महिलालाई यो कुरा सुनाए।

“योनी सुन्निएको थियो । चिथोरेको जस्तो घाउ लागेको थियो, सोध्दा पिङ खेल्दा लडेर कोदालोले लागेको भनी,” ती महिलाले भनिन्, “त्यसपछि तेल, बेसार लगाइदिएँ।”

तर, यौनाङ्ग झन् सुन्निन थाल्यो । अनि, बालिकाकी आफ्नै दिदी र छिमेकी अर्की दिदीले सीमालाई दिउँसो गाउँकै मेडिकल हलमा पुर्‍याए । मेडिकल हलले बुटवल जान सुझायो।

त्यसपछि गाउँका दुई युवाका दुईवटा मोटरसाइकलमा दुई दिदीले बालिकालाई लिएर बुटवलको आम्दा अस्पताल पुर्‍याए । आम्दाले बालिकालाई उपचारका लागि भैरहवा वा काठमाडौं लैजान भन्दै आफूले हेर्न नसक्ने बतायो।

“हामीसँग पैसा थिएन, गाउँका गोपाल घिमिरेसँग १५ सय रुपैयाँ सापट मागेर बुटवल लगेका थियौं,” छिमेकी दिदी भन्छिन् “अनि बालिकालाई फर्काएर उसको बाबुकहाँ पुर्‍यायौं।”

बालिकाका बाबु दोस्रो श्रीमतीसँग तिलोत्तमाकै मन्द्राहनीमा बस्छन् । गाउँलेका अनुसार, श्रीमानले दोस्रो विवाह गरेपछि उनको मानसिक सन्तुलनमा खराबी आएको हो।

बुबाले सीमालाई लिएर २७ वैशाखमा बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुगे । २९ वैशाखमा अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौं लैजान भन्यो । परिवारसँग उपचारका लागि काठमाडौं लैजान सक्ने क्षमता थिएन । बालिकालाई पुनः घरमै ल्याइयो।

यो थाहा पाएपछि स्थानीय नवजागृत आमा समूहले बालिकाका लागि उपचार खर्च जुटाउन चन्दा संकलन गर्‍यो । “३० वैशाखसम्म उठेको ३० हजार ५०० रुपैयाँको बलले उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज भर्ना गरियो”, नवजागृत आमा समूहकी अध्यक्ष माया श्रेष्ठ भन्छिन्।

यसरी खुल्यो सत्य

बालिकाको यौनाङ्गको अवस्था देखेपछि गाउँका महिलाहरुलाई उनले बताएजस्तो ‘पिङबाट लडेर कोदालोले लागेको होइन’ भन्ने शंका पहिल्यै लागेको थियो । तर, बालिकाले केही नबताएपछि महिलाहरुले पनि सोधखोज गर्न आवश्यक ठानेनन्।

“शुरुमा नै मलाई यो कोदालोले लागेको चोट होइन, भन्ने लागेको थियो” आमा समूहकी अध्यक्ष श्रेष्ठ भन्छिन्, “बालिकाले नै होइन भनिन् । बोल्नलाई प्रमाण पनि थिएन।”

उपचारकै क्रममा चिकित्सकले करणीको आशंका गरेपछि भने गाउँमा हल्लीखल्ली शुरु भयो । उपचारपछि ५ जेठमा बालिका घर फर्केपछि आमा समूहका महिलाहरुले बालिकालाई फकाएर सोध्न थाले।

आमा समूहकी सचिव सरगम विकले बालिकालाई अस्पताल ल्याउने लैजाने क्रममा छिमेकी निर्मल गाउँबाट एकाएक हराएको थाहा पाएकी थिइन्।

बालिका उपचारबाट फर्केको एकसातापछि भने निर्मल पुनः गाउँमा देखिए । जब बालिका निर्मललाई देख्थिन् उनी डराउने, काम्ने, चिच्याउने गर्न थालिन् । महिलाहरुले यो कुरा थाहा पाएपछि शंकाको सुई ती बालकतर्फ सोझियाे।

सरगमका अनुसार, एक्लै राखेर सोधपुछ गर्दा बालकले गल्ती स्वीकार गरे । त्यसपछि मात्र प्रहरीलाई खबर गरियो।

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार १९ जेठमा बालिकाको तर्फबाट बलात्कारको किटानी जाहेरी पर्‍यो । २० जेठमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएर पक्राउका लागि जिल्ला अदालत रुपन्देहीमा अनुमति माग गर्‍यो । अदालतले भने बालक भएकै कारण पक्राउ नगरी अनुसन्धान गर्न आदेश दियो।

(बालिका र बालकको नाम परिवर्तन गरिएको छः सं.)

प्रतिकृया दिनुहोस