समाचार मंगलबार, जेठ २०, २०७७

गिनीका अवैतनिक दूतसहित आठ व्यापारी बुटिक हाेटलकाे जुवाखालबाट पक्राउ

दीपक खरेल

गिनीका अवैतनिक दूतसहित आठ व्यापारी बुटिक हाेटलकाे जुवाखालबाट पक्राउ

प्रहरीले कमलादीमा एक जना भारतीय नागरिकले संचालन गरेको बुटिक होटलबाट जुवा खेलिरहेका आठ व्यापारी र होटल संचालकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमबार राति रिजेन्सी बुटिक होटल बाई गंगोरबाट व्यापारीहरु नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतानलाई पक्राउ गरेको हो। वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो।

प्रहरीले कोलकाताका होटल संचालक निक्की जोगाईलाई समेत पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले व्यावसायिकरुपमा जुवा खेलाउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा आठ जुवाडे र एक जना होटल संचालक पक्राउ परेको बताए। उनले पक्राउ परेकाहरुका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।


सम्बन्धित सामग्री:अवैतनिक दूतः कूटनीतिक आवरणमा धन्दा ! 


पक्राउ पर्नेहरु नेपालका उच्च व्यापारिक घरानाका सदस्य हुन्। जसमध्ये अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका संचालक समेत हुन्। यस्तै, रामचन्द्र संघाई त्रिवेणी ग्रुपका संचालक र एनआईसी एशिया ब्यांकका निर्देशक हुन्।

“होटलभित्रको एउटा कोठालाई जुवा खेल्नका लागि प्रयोग गर्ने गरी बनाइएको रहेछ,” डीएसपी दाहालले भने । प्रहरी वृत्त दरबारमार्गका अनुसार होटलको एउटा विशेष कोठामा क्यासिनोमा प्रयोग हुने विभिन्न दरका चिप्सको प्रयोग गरेर जुवा खेलिरहेका थिए। रु.५० देखि १ हजारसम्मका १७९ चिप्स र रु.२ लाख ७७ हजार नगद समेत प्रहरीले बरामद गरेको छ। 

डीएसपी दाहालले एक हजार, पाँच सय, सय र पचास दरका ती चिप्सहरूकाे यथार्थ मूल्य बढी हुनसक्ने बताए। उनका अनुसार एक हजारकाे चिप्स एक लाख बराबरकाे समेत हुनसक्छ। बरामद चिप्स क्यासिनाेहरूमा जुवा खेल्न नगदकाे साटाे प्रयाेग गरिने दाहालले बताए। 

प्रतिकृया दिनुहोस