विभिन्न मुलुकका अवैतनिक दूतहरू नै अवैधानिक गतिविधि र विवादमा फस्न थालेपछि कूटनीतिक क्षेत्र नै बदनाम बनिरहेको छ ।
२५ चैतमा कूटनीतिक हैसियत प्रयोग गरी थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल पक्राउ परे । लगत्तै २६ चैतमा सरकारले अवैतनिक दूतहरुलाई दिंदै आएका केही सुविधा कटौती गर्ने निर्णय गर्यो । पछिल्लो समय अवैतनिक दूतहरूले कूटनीतिक पदलाई नै दुरुपयोग गरी धन्दा गर्न थालेपछि यस्ता पदको औचित्य र मर्यादा माथि नै प्रश्न उठ्न थालेको छ । परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यका अनुसार यी कन्सुलको पहिलेको हैैसियत कूटनीतिक तहको थिएन, सवारीमा पनि पहेंलो नम्बर प्लेटमा सीमित थियो। “तर, सरकारले केही वर्ष अघि मात्र दिएको अनुमतिका कारण उनीहरुले सवारीमा निलो नम्बर प्लेट र आफू दूत रहेको मुलुकको झण्डा प्रयोग गर्न पाउने सुविधा पाए”, आचार्यले भने ।
परराष्ट्र मन्त्रालयका एक पूर्व अधिकारी ‘अधिकांश व्यापारिक घरानाका सदस्यको जमात रहेको विभिन्न मुलुकका अनरेरी कन्सुलको समूहले आफ्नो भूमिका बढाउँदै कूटनीतिक सुविधा पाउनुपर्ने लबिङ गरेर मन्त्रालयका कर्मचारी र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेको’ बताउँछन् । “पैसाको बलमा शक्ति केन्द्रहरूलाई रिझाएर उनीहरूले आफ्नै मुलुकमा कूटनीतिक सुविधा भोग गरिरहेका छन्”, ती पूर्व अधिकारीले भने ।
व्यापारिक घरानाको कब्जामा परराष्ट्र मन्त्रालयका अनुसार विश्वका ४६ वटा मुलुकले नेपालका लागि अवैतनिक दूत तोकेका छन् । तीमध्ये अधिकांश मुलुकका लागि नेपालका ठूला भनिएका व्यापारिक घरानाका सदस्यहरू छन् । कतिपय त एकै परिवारका सदस्य पनि फरकफरक मुलुकका दूतका रुपमा तोकिएका छन् । विभिन्न मुलुकका अवैतनिक दूतका रुपमा चौधरी, बजाज, खेतान अग्रवाल, दुगडलगायत व्यापारिक घरानाका साथै व्यापारी अजेयराज सुमार्गी लगायत छन्।
अजय सुमार्गी । तस्वीर: हिमाल आर्काइभ
अवैतनिक दूतहरू भएपछि कुनै न कुनै शक्ति केन्द्रका नजिक वा शक्ति केन्द्रलाई प्रभावित पार्नसक्ने हुनाले यो हैसियतका लागि व्यापारिक घरानाहरूबीच प्रतिस्पर्धा नै हुने गरेको पूर्वसचिव आचार्यको भनाइ छ । पछिल्लो समय त अवैतनिक दूत व्यापारिक घरानाको ‘स्टेटस सिम्बोल’समेत बन्न थालेको छ । “एउटा घरानाको व्यक्ति कुनै मुलुकको दूत बन्यो भने त्यसलाई चुनौती ठानेर अर्को घरानाको व्यक्ति अर्को मुलुकको दूत बन्ने प्रतिस्पर्धा चलिरहेको छ,” आचार्य भन्छन्, “यसले यो पदलाई विकृृत बनाइरहेको त छैन आशंका स्वतः उब्जन्छ।” अन्तर्राष्ट्रिय नियम अनुसार नै सोही मुलुकको नागरिक र आफूले सेवा सुविधा दिनु नपर्ने हैसियत भएका व्यक्तिहरूलाई मुलुकहरुले अवैतनिक दूतका रुपमा तोक्ने गरेका छन् । तर, सम्बन्धित मुलुकले सिफारिस गर्ने व्यक्तिलाई अवैतनिक दूतका रुपमा स्वीकार गर्ने, नगर्ने काम सरकारको हो । परराष्ट्र मन्त्रालयको सूची अनुसार व्यापारी अजेयराज सुमार्गी बेलारुसका अवैतनिक दूत हुन् । त्यस्तै, शाहिल अग्रवाल बोस्निया एण्ड हर्जगोभिना, अशोककुमार अग्रवाल गुएना, विष्णुकुमार अग्रवाल चेक रिपब्लिक, सुमितकुमार अग्रवाल पेरु, पद्म ज्योति साइप्रस, विक्रम पाण्डे ग्रीसका अवैतनिक दूत हुन् । चौधरी परिवारका सदस्यहरू पनि विभिन्न मुलुकका अवैतनिक दूत छन् । वसन्तकुमार चौधरी मोरक्कोका दूत हुन् भने अरुणकुमार चौधरी हंगेरीका । चौधरी परिवारका ज्वाइँ पारस शाक्य फिजीका दूत हुन् । आईएमई ग्रुपलगायत विभिन्न कम्पनीका सञ्चालक चन्द्रप्रसाद ढकाल इन्डोनेसिया, नरेश दुगड मेक्सिको, लोकमान्य गोल्छा पोल्याण्ड, नारायण बजाज रोमानियाका अवैतनिक दूत हुन् भने राजेन्द्रकुमार खेतान पोर्चुगल, प्रेमप्रकाश खेतान टर्की, सुरज वैद्य फिलिपिन्स, किरण वैद्य युक्रेन र करण वैद्य लात्भियाका नेपालस्थित दूत हुन् ।विवादमा ‘व्यापारी दूत’ सारा विश्व कोरोनाभाइरसको महामारी झेलिरहेका बेला नेपाललाई भने भ्रष्टाचारको अर्को संकट आइलाग्यो । सरकारले बन्दाबन्दी लागू गरेसँगै निजी कम्पनी मार्फत कोरोना रोकथाम र उपचारका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको सार्वजनिक आलोचनापछि सरकार स्वयं यसबाट पछि हटेको मात्र छैन, ओबीसीआई कम्पनीलाई कालो सूचीमा समेत राखेको छ। यो प्रकरणमा निजी कम्पनीसँगै सरकारमै संलग्न उच्च अधिकारीको पनि हात रहेको आशंका कायम छ । परिणामतः अहिलेसम्म आवश्यक स्वास्थ्य परीक्षणको काम शुरु हुन सकेको छैन । तर, यही मानवीय संकट कतिपय व्यापारीका लागि अकुत आम्दानीको सुवर्ण अवसर बनिरहेको पनि देखियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल यसैको पछिल्लो प्रतिनिधि पात्र बनेका छन् । किर्गिस्तानका अवैतनिक दूत अग्रवाल जगदम्बा सिमेन्ट, स्टिल आदिका उद्योगी हुन् । अग्रवाल अवैतनिक दूतको हैसियतमा प्राप्त सवारीसाधनमा तेब्बरभन्दा बढी मूल्यमा कालोबजारी गरिरहेको अवस्थामा भेटिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अग्रवालले आफ्नो कूटनीतिक हैसियत दुरुपयोग गरी चीनबाट २० हजार थान थर्मल गन ल्याएको खुलेको छ । तर, कूटनीतिक पद र सम्पत्तिको दुरुपयोग गरी अवैधानिक धन्दा चलाउनेमा अग्रवाल मात्र एक्ला होइनन् । गएको २५ कात्तिकमा साइप्रसका अवैतनिक दूत तथा ज्योति समूहका अध्यक्ष पद्म ज्योतिलाई जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पक्राउ पुर्जी नै जारी ग¥यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका ज्योतिलाई अदालतले जग्गा लेनदेनको विषयमा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको केही दिनअघि मात्रै उनका भाइ रुप ज्योति र छोरीलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । काठमाडौंको बाँसबारीमा रहेको ल्याण्डमार्क डेभलपर्स प्रालिका सञ्चालकका रुपमा उनीहरूलाई एक करोड ३६ लाख ७५ हजार रुपैयाँ ठगीको अभियोग लागेको थियो । उक्त अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नमिल्ने भन्दै मुल्तबीमा राखिदिएको छ । ज्योति समूहले पैसा र पदको आडमा मुद्दालाई किनारा लगाएको भन्दै त्यसको आलोचना भइरहेको छ । बेलारुसका अवैतनिक दूत रहेका अजेयराज सुमार्गी पनि विवादित व्यक्ति हुन् । स्रोत नखुलेको ३ अर्ब २९ करोड रुपैयाँ उनको ब्यांक खातामा देखिएपछि राष्ट्र ब्यांकले उक्त रकम रोक्का गरिदिएको थियो । रकम निकासा गर्न सुमार्गीले विभिन्न शक्ति केन्द्रलाई प्रभावमा पार्ने गरेका घटनाहरू सार्वजनिक भइरहेकै छन् । सुमार्गी राजस्व छलीमा पनि चर्चित नाम हो । उनले एनसेलको शेयर खरीद–बिक्री प्रकरणमा आफ्नो कम्पनी ‘हेल्लो नेपाल’को जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र नै काटेको थियो । आर्थिक वर्ष ०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व ५ अर्ब ७१ करोडमा टेलियासोनेरा कम्पनीलाई बेच्दा पुँजीगत लाभ ५ अर्ब ६३ करोड ५० लाख भएको र त्यसको २५ प्रतिशत कर तिर्नुपर्ने राजस्व कार्यालयले जनाएको थियो । शुरुमा आन्तरिक राजस्व कार्यालयको पत्र बुझ्नै नमानेका सुमार्गीले पछि पत्र बुझेर सर्वोच्च अदालतमा कर निर्धारण विरुद्ध मुद्दा दायर गरेका थिए । फोब्र्सको विश्वकै धनीको सूचीमा परेका विनोद चौधरीको व्यापारिक घराना चौधरी ग्रुपका सदस्यहरू पनि विभिन्न मुलुकका अवैतनिक दूत छन् । विनोद चौधरी स्वयं ०६४ को संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सदस्य थिए भने ०७४ मा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका छन् । बहुराष्ट्रिय कम्पनीका मालिक भइसकेका अर्बपति चौधरी सीमान्त, पिछडिएको समुदायका लागि छुट्याइएको समानुपातिक पदमा बिना लोकलाज आसिन छन्। राजधानीका ठूला लगानी भएका अस्पतालले जाली उद्धार मार्फत पर्यटकलाई ठगेका विषयबारे स्वास्थ्य मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठित छानविन समितिले राजधानीका ठूला ६ अस्पतालको उपचार सूची माग गरेको थियो । तर, थापाथलीस्थित नर्भिक इन्टरन्याशनल अस्पतालले समितिलाई मूल्य सूची नै दिन अस्वीकार गरेको थियो । शक्तिका आडमा सरकारलाई समेत अटेर गर्ने यो अस्पतालका सञ्चालक वसन्त चौधरी हुन्, जो मोरक्कोका अवैतनिक दूत छन् ।
‘अवैतनिक दूतलाई अनावश्यक अधिकार’ अवैतनिक दूत राजदूतावास नभएका वा गैरआवासीय दूतावास भएका मुलुकको प्रतिनिधिका रुपमा सम्बन्धित मुलुकको सिफारिसमा परराष्ट्र मन्त्रालयले स्वीकृत गर्ने पद हो । परराष्ट्र मन्त्रालयको परिभाषा अनुसार, अवैतनिक दूतले ‘विभिन्न पेशा व्यवसाय गरी बसेका सम्बन्धित देशका नागरिकहरूलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा बीमा रकम कानूनी हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेकाहरूको उद्धार र मृत्यु भएका को शव सम्बन्धित मुलुकसम्म पुर्याउनेलगायत कार्यहरू गर्नसक्छ ।’ पूर्व राजदूत मदन भट्टराई अवैतनिक दूतले यस बाहेक ‘अन्य कूटनीतिक नियोग र सम्बन्धित मुलुकका तर्फबाट हेर्ने देशको राजदूतको मातहतमा रहेर व्यवस्थापकीय काम गर्न सक्ने’ बताउँछन् । “जस्तो कि भारतमा रहेको कुनै देशको दूतावासले नेपाल पनि हेर्छ भने उक्त मुलुकले तोकेको अवैतनिक दूतले यहाँको व्यवस्थापनको कार्य हेर्नसक्छ, कूटनीतिक कार्य होइन”, भट्टराई भन्छन्, “तर, नेपालमा भने उनीहरुले राजदूतसँगै ओहोदाको प्रमाणपत्र बुझाउन, भेला र सेमिनारमा पनि उपस्थित हुने समेतको अधिकार पाएका छन् । जुन विश्वका अरू कुनै पनि मुलुकमा छैन ।” नेपालमा रहेका अवैतनिक दूतः अस्ट्रियाः राजेशबाबु श्रेष्ठ बेलारुसः अजेयराज सुमार्गी पराजुली बेल्जियमः आङछिरिङ शेर्पा बोस्निया एण्ड हर्जगोभिनाः शाहिल अग्रवाल बुल्गेरियाः भोलाविक्रम थापा क्यानडाः बुद्ध बस्नेत चेक रिपब्लिकः विष्णुकुमार अग्रवाल चिलीः वसन्तराज मिश्र कोलम्बियाः विनयमान श्रेष्ठ क्रोएसियाः अमिरप्रताप जबरा साइप्रसः पद्म ज्योति डेनमार्कः हरि धरेल इस्टोनियाः नवराज दाहाल इथियोपियाः राजेन्द्र गिरी फिजीः पारस शाक्य जर्जियाः शिवरत्न शारडा ग्रीसः विक्रम पाण्डे गुएनाः अशोककुमार अग्रवाल हंगेरीः अरुणकुमार चौधरी इन्डोनेसियाः चन्द्रप्रसाद ढकाल इरानः नरेश श्रेष्ठ आयरल्याण्डः मनोजबहादुर श्रेष्ठ इटालीः प्रतिमा राणा पाण्डे किर्गिस्तानः सुलभ अग्रवाल लात्भियाः करण वैद्य लिथएनियाः शोभाकर न्यौपाने लक्जेम्बर्गः श्रीराम लामिछाने माल्टाः दिनेश श्रेष्ठ मेक्सिकोः नरेश दुगड मंगोलियाः क्षेतेन ग्युरम्यान श्रेष्ठ
मोरक्कोः वसन्तकुमार चौधरी नेदरल्याण्ड्सः पिपाइन ट्रापमन पपुवान्युगिनीः पुना भण्डारी पेरुः कुमार अग्रवाल फिलिपिन्सः सुरज वैद्य पोल्याण्डः लोकमान्य गोल्छा पोर्चुगलः राजेन्द्रकुमार खेतान रोमानियाः नारायण बजाज स्लोभाकियाः पासाङ दावा श्रेष्ठ स्लोभेनियाः हरिभक्त श्रेष्ठ दक्षिण अफ्रिकाः प्रदिपकुमार श्रेष्ठ
स्पेनः अम्बिका श्रेष्ठ स्वीडेनः गजेन्द्रबहादुर श्रेष्ठ टर्कीः प्रेमप्रकाश खेतान युक्रेनः किरण वैद्य भियतनामः राजेशकाजी श्रेष्ठ