रिपोर्ट विहीबार, जेठ ८, २०७७

अवैज्ञानिक आरडीटीमै जोड, चीनबाट खरीद गरिंदै थप एक लाख थान किट

रामु सापकोटा

अवैज्ञानिक आरडीटीमै जोड, चीनबाट खरीद गरिंदै थप एक लाख थान किट

कोरोनाभाइरस परीक्षणमा आरडीटी विधि अविश्वसनीय रहेको उदाहरण देखिंदा देखिंदै सरकारले फेरि पनि चीनबाट गुणस्तर मापदण्डमा ध्यान नदिई थप एक लाख थान किट खरीद गर्ने तयारी गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) क्लिनिकल प्रयोजनमा प्रयोग नगर्न सुझाव दिंदै आएको छ। कोभिड–१९ को परीक्षणमा आरडीटी अव्यावहारिक र अवैज्ञानिक रहेको विभिन्न गलत नतिजाले देखाइसकेका छन्। यो विधिले कोभिड–१९ भएको पुष्टि गर्दैन, शरीरमा भाइरस विरुद्ध लड्नसक्ने एन्टीबडीको मापन मात्र गर्न सक्छ।

नेपालमा भने कोभिड–१९ को परीक्षणका लागि यही आरडीटी किटको प्रयोगमा जोडबल गरिएको छ।

स्वास्थ्य सेवा विभागले विध म्यानेजमेन्टसँग गरेको खरिद सम्झौता । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक आपूर्तिकर्ता कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) प्रालि मार्फत ७५ हजार थान किट खरीद गरेको थियो।

ती किट चीनको विवादास्पद कम्पनी वन्ड्फो मार्फत खरीद गरिएको थियो, जसबाट उत्पादित किटलाई डब्लूएचओले प्रयोग नगर्न भनेको छ। डब्लूएचओले कोरोनाभाइरस संक्रमण पुष्टि गर्न रियल टाइम पीसीआर विधि नै भरपर्दो हुने भन्दै यसै मार्फत परीक्षण गर्न जोड दिएको छ।

हे.लिंक (कोभिड–१९ परीक्षण गर्न विवादास्पद कम्पनीका आरडीटी किट भित्र्याउने तयारी)

चीनबाट ल्याइएका किटको गुणस्तर यकिन गरेर मात्र प्रयोग गरिने स्वास्थ्य मन्त्रालयले बताएको थियो। गुणस्तर प्रमाणित गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिइएको पनि थियो। तर, परिषदबाट अध्ययन प्रतिवेदन आइनसक्दै ७५ हजार थान किट प्रयोग गरेर सकिनै लागेको छ। यसैबीच, मन्त्रालयले थप एक लाख थान आरडीटी किट खरीद गर्ने तयारी गरिरहेको छ।

अवास्तविक नतिजा दिने विधिमै जोड

मन्त्रालयले ओेबीसीआई मार्फत खरीद गरेका आरडीटी किटले कोरोनाभाइरस नलागेका व्यक्तिलाई संक्रमित र संक्रमण भएका व्यक्तिको रिपोर्ट नेगेटिभ देखाउने गरेको थियो।

स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाले १ जेठमा कालिमाटी तरकारी बजारमा ३१ जनाको आरडीटी विधिबाट परीक्षण गरिंदा सबैमा कोरोनाभाइरस पोजेटिभ देखियो। तर, उनीहरूको स्वाबको नमुना लिएर रियल टाइम पीसीआर परीक्षण गर्दा भाइरस संक्रमित नभएको पुष्टि भयो।

त्यसअघि २५ चैतमा कैलालीकी एक महिलालाई आरडीटी र पीसीआर दुवै विधिबाट कोरोना परीक्षण गर्न रगत र स्वाब संकलन गरियो। आरडीटीबाट नेगेटिभ नतिजा आएपछि क्वारेन्टिन स्थलबाट घर पठाइएको तेस्रो दिनमै रियल टाइम पीसीआर परीक्षणले उनी संक्रमित भएको पुष्टि भएको थियो।

हे.लिंक (अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो)

आरडीटी परीक्षणका नतिजामा प्रश्न उठेपछि विज्ञहरूले समेत संक्रमण पत्ता लगाउन रियल टाइम पीसीआर मात्र प्रयोग गर्नुपर्ने बताउँदै आएका छन्। ठूलो रकम खर्चेर खरीद गरिने आरडीटी किटकोे कुनै औचित्य नहुने पनि उनीहरूको भनाइ छ। तर, स्वास्थ्य मन्त्रालयले आरडीटी किटबाट परीक्षणलाई निरन्तरता दिंदै अझ यसलाई व्यापकता दिन लागिरहेको छ।

स्वास्थ्य मन्त्रालयले अबदेखि निजी तथा सामुदायिक संस्थालाई पनि आरडीटी किट मार्फत कोरोनाभाइरस परीक्षण गर्न अनुमति दिने निर्णय गरेको छ। योसँगै थप एक लाख थान किट खरीद गर्ने तयारी गरिएको छ।

स्वास्थ्य सेवा विभागले चीनको बेइजिङ लिपु मेडिकल टेक्नोलोजी कम्पनी मार्फत एक लाख थान आरडीटी किट खरीदका लागि काठमाडौं नयाँ वानेश्वरको आपूर्तिकर्ता कम्पनी विध म्यानेजमेन्ट प्रालिलाई ठेक्का दिइसकेको छ। ठेक्का अनुसार कम्पनीले रु.५ करोड ६५ लाख २५ हजारका एक लाख थान किट एक साताभित्र भित्र्याउँदैछ। यो मूल्य अनुसार एक थान किटलाई करीब रु.५६४ पर्ने देखिन्छ।

नेपालमा भित्रिन लागेको आरडीटी किट उत्पादक कम्पनी बेइजिङ लिपु मेडिकल टेक्नोलोजी ।

गुणस्तरमा फेरि पनि बेवास्ता

विभागको व्यवस्थापन महाशाखाले आरडीटी किट खरीदका लागि ठेक्काको बोलपत्र आह्वान गर्दा २४ सप्लायर्स कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये १० कम्पनी योग्य भएको भन्दै छनोट गरिएको थियो। जसमध्ये विध म्यानेजमेन्टले कम मूल्यमा किट ल्याउने प्रस्ताव राखेकाले उसैसँग खरीद सम्झौता गरेको महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेल बताउँछन्।

तर, किटको खरीद प्रक्रियामा गुणस्तरीय किट ल्याउन कुनै पहल गरेको देखिंदैन। मन्त्रायले किट खरीदका लागि बनाएको टेक्निकल स्पेसिफिकेसनमा गुणस्तर मापनका इकाईहरू जस्तैः सीई, आईभीडी र अमेरिकाको फूड एण्ड ड्रग (एफडीए) मान्यता प्राप्त हुनुपर्ने जस्ता विषय उल्लेख गरिएको छैन।

आरडीटी किटले सीई मान्यता पाएको छ भने मध्यम कोटिको गुणस्तर भएको मानिन्छ भने सीई, आईभीडी अमेरिकाको एफडिए मान्यता पाएको भए स्वास्थ्य, सुरक्षा र वातावरणीय संरक्षणका लागि युरोपेली यूनियन (ईयू) ले तोकेको मापदण्ड पूरा गरेको मानिन्छ। र, तीन वटै मान्यता पाएको छ भने उच्च गुणस्तरीय मानिन्छ।

विश्वभर नै यी तीन वटा मान्यता पाएको किटलाई मात्र उच्च गुणस्तरीय मानेर प्रयोग गर्ने चलन छ। तर, स्वास्थ्य मन्त्रालयले आरडीटी किट खरीदका लागि बनाएको टेक्निकल स्पेसिफिकेसनमा यसबारे कुनै व्यवस्था उल्लेख गरिएको छैन। यसले निजी आपूर्तिकर्ता कम्पनीलाई पोस्ने नियतले मात्र खरीद प्रक्रिया अगाडि बढाएको संशय बढेको छ।

हे.लिंक (सरकारले गरिरहेको कोरोनाको र्‍यापिड टेष्ट अवैज्ञानिक, किन हुनसक्छ घातक ?)

मन्त्रालयले दोस्रो पटक पनि गुणस्तर जाँच नगरी किन आरडीटी किट खरीद गर्दैछ भन्ने प्रश्न उब्जिएको छ। विभागको व्यवस्थापन महाशाखाका निर्देशक डोटल चीनबाट ल्याइने किटबाट क्वारेन्टिनमा रहेका शंकास्पद व्यक्तिहरूमा कोभिड–१९ परीक्षण गरिने बताउँछन्।

“क्वारेन्टिनमा राखिएका व्यक्तिको आरडीटी किटबाट पोजेटिभ रिपोर्ट आयो भने रियल टाइम पीसीआर मेशिनबाट थप परीक्षण गर्न पठाइनेछ, नेगेटेभ रिपोर्ट आयो भने घर पठाइन्छ”, डोटेलले हिमालखबरसँग कुरा गर्दै भने।

तर, आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएर घर पठाइएकी कैलालीकी महिलामा कोरोना संक्रमण पुष्टि भएको दृष्टान्तले यो अभ्यास घातक हुनसक्ने देखिइसकेको छ।

आरडीटी किट यस्तो अविश्वसनीय हुँदाहुँदै किन थप किट खरीद गर्नुपर्ने बाध्यता भयो त ?

महाशाखाका निर्देशक डोटेल मुलुकमा कोभिड–१९ परीक्षणका लागि पीसीआर किट पर्याप्त नभएको र प्रयोगशालाले पनि नभ्याउने भएकाले आरडीटी किट नै प्रयोग गर्नुपर्ने भएकाले थप खरीद गर्न लागेको बतााउँछन्।

उनी भन्छन्, “कोभिड–१९ परीक्षण गर्ने सबै खालका विधिले शतप्रतिशत नतिजा दिन्छन् भन्ने हुँदैन, नतिजामा कही न कहीं समस्या हुनसक्छ।”

हे.लिंक (कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ?

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित स्वास्थ्य सेवा विभागले कोभिड–१९ पहिचान गर्ने प्रयोजनका लागि थप आरडीटी खरीद गर्नु गलत काम भएको बताउँछन्। आरडीटी परीक्षणबाट नेगेटिभ देखिएकै आधारमा घर पठाउँदा थप अन्य व्यक्तिमा संक्रमण फैलिने सम्भावना हुने भएकाले यस्तो किट प्रयोगमा जोड दिन नहुने उनको भनाइ छ।

“कोरोना संक्रमित व्यक्तिको शरीरमा भाइरस विरुद्ध एन्टीबडी बन्न ७ देखि १० दिनसम्म लाग्छ र त्यसअघि परीक्षण गरे नेगेटिभ रिपोर्ट देखाउँछ”, डा. दीक्षित भन्छन्, “यसैले आरडीटीबाट परीक्षण गर्ने काम जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड हो, रियल टाइम पीसीआर विधिलाई नै प्राथमिकता दिनुपर्छ।”

प्रतिकृया दिनुहोस