अन्तर्वार्ता/विचार शनिबार, जेठ ३, २०७७

जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे

मुकेश पोखरेल

जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे
तस्वीर: मुकेश पाेखरेल

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य पनि रहेका केशरमणि पोखरेल (८२) ले २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईसँग प्रतिष्पर्धा गरेका महासचिव मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिएका थिए । साेही कारण रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पाेखरेल नेपाली काँग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग पराजित हुन पुगेका थिए ।

त्यसको दुई वर्षपछि उनी कांग्रेसमा नै प्रवेश गरे । त्यस यता गुमनाम छन् । गएको २८ वैशाखमा नवलपरासीको रामग्राम नगरपालिका–१४ स्थित घरमा पुग्दा उनी बाख्रापालनका लागि खोर बनाउन व्यस्त थिए ।

पोखरेलले नेकपा एमाले स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले गठन भएको थियो । उनी नेकपा माक्र्सवादीमा मनमोहन अधिकारी र सहाना प्रधानपछि तेस्रो वरियताका नेता थिए । दुई पार्टी २२ पुस २०४७ मा एकीकरण हुनुअघि माक्र्सवादीले गठन गरेको वार्ता टोली सदस्य थिए ।

पालेका बाख्राका साथ केशरमणि पाेखरेल ।

उक्त टोलीमा पोखरेलसहित सहाना प्रधान र भरतमोहन अधिकारी थिए । मालेको समितिमा माधव नेपाल, जीवराज आश्रित र राधाकृष्ण मैनाली थिए । एकीकरणपछि उनी एमालेको २७ सदस्यीय केन्द्रीय समिति सदस्य भए । उक्त समितिमा अशोक राई, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, मोदनाथ प्रश्रित, विष्णु पौडेल, वामदेव गौतम, सुरेन्द्र पाण्डे लगायत नेता थिए ।

पार्टी एकीकरणको केही समयपछि नै असन्तुष्ट भएर उनी पुनर्गठित माक्‍‍र्सवादीतिर लागे । त्यससँगै खुला राजनीतिबाट पलायन भए । असन्तुष्टिको एउटा कारण १० सदस्यीय पोलिट ब्यूरोमा नपर्नु पनि थियो ।

उनी २०२५ सालमा भारतको गोरखपुरमा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनमा नै केन्द्रीय सदस्य मात्र नभई ‘हाइकमाण्ड’ मा नै थिए । उक्त चार सदस्यीय हाइकमाण्डमा उनीसँगै पुष्पलाल, हिक्मत सिंह र नारायणमान बिजुक्छे ‘रोहित’ थिए । तर, माले र माक्र्सवादी एकीकरण हुँदा आफूभन्दा कनिष्टलाई पोलिट ब्यूरोमा लगेर आफ्नो अपमान गरिएको अहिले पनि पोखरेल गुनासो गर्छन् ।

उनी भन्छन्, “मैले नचाहेको भए पार्टी एकीकरण नै सम्भव थिएन, मदन भण्डारीले व्यक्तिगत रुपमा भेटेर एकीकरणलाई छिटो टुंग्याउने गरी काम गर्नुस्, तपाईं माक्र्सवादीबाट पोलिट ब्यूरोमा आइहाल्नुहुन्छ भनेका थिए, तर मलाई अपमान गरियो ।”

एमालेको १० सदस्यीय तत्कालीन पोलिटब्यूरोमा माक्‍‍र्वादीबाट सिद्धिलाल सिंह, बलाराम उपाध्याय, भरतमोहन अधिकारी, सहानाप्रधान र मनमोहन अधिकारी थिए । मालेबाट मदन भण्डारी, सीपी मैनाली, जीवराज आश्रित, माधव नेपाल र झलनाथ खनाल पोलिट ब्यूरो सदस्य बने ।

पोखरेलको चित्त दुखाइ मनमोहन अधिकारी र सहान प्रधान प्रति छ । उनी भन्छन्, “एउटा सानो समूहको नेतृत्व गरेर बसेका मनमोहनलाई देशका विभिन्न भागमा लगेर स्थापित गर्ने काम गरें तर, मालेतिर लागेर मलाई धोका दिए ।”

घर अगाडिकाे बारीमा पाेखरेल ।

एमाले छोडेर कांग्रेसतिर
एमालेमा उनी एक वर्ष पनि टिक्न सकेनन् । २०४८ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बने । नेपाली कांग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग १०५० मतले पराजित भए ।

पोखरेलको माग गुल्मी–२ थियो । तर, पार्टीले गुल्मीबाहेक अन्यत्र जहाँबाट पनि उम्मेदवार बनाउन सक्ने भन्दै आफूले रोजेको क्षेत्रमा रोक लगायो । उनी भन्छन्, “गुल्मी र अर्घाखाँचीको पार्टी संगठन मैले बनाएको थिएँ, गुल्मी–२ मा जीवराजलाई लगेर मलाई दिइएन । अर्को क्षेत्र पनि दिइएन । मलाई हराउनकै लागि त्यसो गरिएको थियो ।”

चुनाव लड्न रुपन्देही त आए । तर, उनले पार्टी कमिटी सँगको समन्वयलाई आवश्यक ठानेनन् । छुट्टै निर्वाचन कार्यालय स्थापना गरे । गुल्मीबाट टिकट नपाएको रिसमा आफ्नै पार्टीका महासचिव मदन भण्डारीविरुद्ध कांग्रेस निकट एक पत्रिकालाई अन्तर्वार्ता दिए । यो उनमा चुलिएको नैरश्यताको परिणाम थियो ।

निर्वाचनमा पराजित भएपछि उनी पार्टीबाट अलग भए । उनीसँगै पुष्पलाल नेतृत्वको तत्कालीन नेकपामा काम गरेका वेदुराम भुसाल पोखरेल बढी महत्वाकांक्षाले पलायन भएको बताउँछन् । उनी भन्छन्, “रुपन्देहीमा उहाँले चुनाव जित्नुहुन्थ्यो, तर चुनावको मुखमा कांग्रेस निकटको पत्रिकालाई कृष्णप्रसाद भट्राईसँग मदन भण्डारी चुनाव लड्नुहँुदैनथ्यो भनी दिएको अन्तर्वार्ताले हरायो ।”

''कांग्रेस प्रवेश गर्नुअघि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग वार्ता गरेर  केन्द्रीय समितिमा राम्रो स्थान दिने वचन दिएका थिए । तर, त्यसको कार्यान्वयन  कहिल्यै गरेनन्।'' 

एमालेबाट अलग भएको दुई वर्षपछि नेपाली कांग्रेस प्रवेश गरे । त्यसको डेढ वर्षपछि नै कांग्रेस मन नपरे पनि पूर्व पार्टीमा फर्कन सकेनन् । कांग्रेस नै भइरहे । उनी भन्छन्, “कांग्रेसको दोस्रो पुस्ताका नेताले भन्दा कम योगदान गरेको मान्छे त होइन नि । तर, कम्युनिष्ट पृष्ठभूमिको मान्छे भनेर बेवास्ता गरे ।”

कांग्रेस प्रवेश गर्नुअघि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग वार्ता गरेका थिए । उनीहरुले केन्द्रीय समितिमा राम्रो स्थान दिने वचन दिएका थिए । तर, त्यसको कार्र्यान्वयन कहिल्यै नगरेको पोखरेल बताउँछन् ।

कांग्रेसमा उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसम्म भए । केन्द्रीय सदस्यमा चुनाव पनि लडे । तर, ४२२ मत ल्याएर पराजित भए । “सात सय मत पाएको भए केन्द्रीय समितिमा निर्वाचित हुन्थें, पूर्व सहमति अनुसार कसैले सहयोग गरेनन्, एक्लै लड्दा पनि त्यति मत ल्याएँ,” उनी भन्छन् ।

कांग्रेस प्रवेश गरेपछि गिरिजाप्रसाद कोइरालाको आग्रहमा केही महीना सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय उपाध्यक्ष बने । तर, त्यसपछि कम्युनिष्टमा भन्दा बढी जालझेल र अपमान भोगेको अनुभव गरे ।

२०५७ सालमा कृष्णप्रसाद भट्टराईलाई हटाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । परासीमा भएको वेला जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काठमाडौं बोलाए । खबर पाएको अर्को दिन नै काठमाडौं पुगेर कोइरालासँग भेट गरे । कोइरालाले गरीबी निवारण कोषको उपाध्यक्ष बनाउन लागेकाले तत्काल उपत्यका नछोड्न भने । कोइरालको भनाइले पोखरेल पनि मख्ख परे ।

तर, २० दिनसम्म खबर आएन । अनि बालुवाटार गएर कोइरालालाई भेट्न स्वकीय सचिवसँग समय मागे । तर, समय पाएनन् । पोखरेल भन्छन्, “शुरुमा मानबहादुर विश्वकर्माले मलाई बनाउन हुँदैन भनेछन् । पछि शेखर कोइरालाले पनि कम्युनिष्ट पृष्टभूमिको मान्छेलाई बनाउन हुँदैन भनेपछि गिरिजा कन्भिन्स भएछन् ।”

त्यतिवेला उनलाई एमालेभित्रै बसेर संघर्ष नगरी कांग्रेस प्रवेश गरेकोमा पछुतो लागेको थियो । उनी भन्छन्, “मलाई पार्टी छोड्नुअघि बसेर छलफल गर्न बोलाएका पनि हुन् । तर, अटेर गर्ने त्यो मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो ।”

नेकपा स्थायी समिति सदस्य वेदुराम भुसाल पोखरेल भन्दा कनिष्ट नेताले राम्रो स्थान प्राप्त गर्दा उनी पनि नछुट्ने बताउँछन् । “पार्टी नछोडेको भए २०५१ सालको चुनाव जित्नुहुन्थ्यो । त्यसपछि उहाँकै राम्रो स्थान हुन्थ्यो,” भुसाल भन्छन् ।

कांग्रेससँग आबद्धता तोडेको लामो समयपछि उनी २०७० सालको संविधानसभा निर्वाचनअघि पुरानो घर फर्किए । त्यहाँ उनलाई केन्द्रीय सल्लाहकार परिषद्मा राखियो । केपी शर्मा ओली प्रधानमन्त्री बन्नुअघि बारम्बार भेटघाट भइरहन्थ्यो । तर, प्रधानमन्त्री भएपछि भेट नभएको उनी बताउँछन् । माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुसँग अहिले पनि भेट हुन्छ । पार्टी एकीकरणपछि केन्द्रीय सल्लाहकार कमिटी नबनेकाले उनको पार्टीमा कुनै जिम्मेवारी छैन ।

श्रीमती विमलाका साथ पाेखरेल ।

पुष्पलाल र बीपीका ती भेट
२०२५ सालमा गुल्मीको हुँगामा पढाउँदै गर्दा केशरमणि पक्राउ परे । पाल्पा कारागारमा राखेपछि उनलाई भैरहवा सरुवा गरियो । भैरहवामा उनलाई बजार घुम्न छुट थियो । तर, सँगै एकजना प्रहरी हुन्थे । भैरहवा पुगेपछि बनारसमा रहेका पुष्पलालसँग निरन्तर सम्पर्क गरे ।

सम्पर्कको माध्यम भनेको एकजना मान्छे आउने जाने नै थियो । तिनै व्यक्ति मार्फत चिठी आदानप्रदान हुन्थ्यो । भैरहवा बस्दा बाहिरका धेरै मानिसलाई साथी बनाइसकेका थिए । पुष्पलालले भाग्नुपर्ने खबर पठाएपछि एक व्यक्तिको सहयोगमा प्रहरीको आँखा छलेर भागे ।

रातको १० बजे पोखरेललाई भगाउन सहयोग गर्ने थिए, श्याम हरिजन । अहिले पनि श्याम हरिजनसँग पोखरेलको सम्पर्क छ । शौच गर्न जाने बहानामा प्रहरीलाई छक्काएर उनै हरिजनले पोखरेललाई भारतको नौतनवा पुर्‍याएका थिए ।

त्यहाँबाट उनी बनारसमा पुष्पलालको सम्पर्कमा पुगे । पुष्पलाल नेतृत्वको नेकपाको उनी केन्द्रीय सदस्य थिए । २०१९ सालको तेस्रो महाधिवेशनबाट महासचिव निर्वाचित तुलसीलालले हाँक्न नसकेर कम्युनिष्ट पार्टी छिन्नभिन्न भएपछि २०२५ सालमा पुष्पलालले तेस्रो सम्मेलन गरेर आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन गरेका थिए । पुष्पलालको शुरुदेखिको लाइन नै विगठित संसद पुनस्र्थापनका लागि कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने थियो ।

बनारस गएपछि बीपीसँग वार्ताको सन्देश पुर्‍याउने जिम्मा पुष्पलाले उनैलाई दिए । “म पुष्पलालको सन्देश लिएर बीपीको निवासमा पुगें, म पुग्दा बीपी भेस्ट र सेतो आधा जाँगे लगाएर मलाई लिन तलै झर्नुभयो,” पोखरेल सम्झन्छन्, “पुष्पलालले भेट्न खोजेको कुरा बताएर उहाँको चिठी दिएँ । अर्को दिन साँझ पुष्पलालसहित मलाई खाना खानेगरी बोलाउनुभयो ।”

भोलिपल्ट पुष्पलाल र पोखरेल बीपीलाई भेट्न गए । पञ्चायतकालमा यो पुष्पलाल र बीपीको सुरुवाती भेट थियो । पहिलो भेटमा बीपीले आफू प्रधानमन्त्री भएर चीन गएको वेला माओत्सेतुङसँग भएका कुराकानी पुष्पलाललाई सुनाए ।

“पुष्पलालले संयुक्त रुपमा आन्दोलनमा जाने प्रस्ताव गर्नुभयो । तर, बीपीले आफू तयार रहे पनि आफ्नो राजनीतिक कार्यक्रममा पुष्पलालले हस्ताक्षर गर्नुपर्ने शर्त राख्नुभयो।”

उनीहरुबीच प्रजातन्त्र पुनर्थापनाका लागि सँगै मिलेर जाने विषयमा पनि कुराकानी भयो । त्यसपछि पुष्पलाल र बीपीबीच पाँच चरणमा वार्ता भएको थियो । उनी भन्छन्, “पुष्पलालले संयुक्त रुपमा आन्दोलनमा जाने प्रस्ताव गर्नुभयो । तर, बीपीले आफू तयार रहे पनि आफ्नो राजनीतिक कार्यक्रममा पुष्पलालले हस्ताक्षर गर्नुपर्ने शर्त राख्नुभयो ।”

पुष्पलालले आर्थिक कार्यक्रमबारे छलफल गर्न आग्रह गरेका थिए । तर, बीपी कम्युनिष्टले धोका दिन्छन् भन्ने मान्यताबाट सशंकित भएको पोखरेल बताउँछन् ।

“सबै कुरा बसेर छलफल गरौंला, तर तपाईंले पछाडिबाट मलाई छुरा हान्ने काम गर्नुहुन्न भन्ने कुरामा कबोल गर्नुपर्दछ,” बीपीले वार्ताका क्रममा भनेको पोखरेल सम्झन्छन् । मिलेर संघर्ष गर्ने सहमति भएपछि धोकाको कुरै नहुने पुष्पलालले बताएका थिए ।

विभिन्न चरणका वार्तापछि बनारसको लाउराभिरमा भएको अन्तिम बैठकले प्रजातन्त्रको स्थापनाका लागि मिलेर जाने सहमति गरेको पोखरेल बताउँछन् ।

उक्त वार्तामा नेकपाको तर्फबाट पुष्पलाल, हिक्मत सिंह र पोखरेल थिए । कांग्रेसका तर्फबाट बीपी, गणेशमान सिंह, सुशील कोइराला, गिरिजाप्रसाद कोइराल सहभागी थिए । यो बैठकपछि बनारसको टाउन हलमा विद्यार्थीको भेला भएको थियो । यो भेलालाई पुष्पलाल, बीपी र गणेशमानले संयुक्त रुपमा सम्बोधन गरेका थिए ।

भेलाको सकारात्मक र ठूलो सन्देश गएको पोखरेल बताउँछन् । तर, नेपाली कांग्रेसले त्यही वेला सशस्त्र क्रान्ति शुरु गरेपछि संयुक्त आन्दोलनको योजना अघि बढ्न नसकेको उनको भनाइ छ ।

याे पनि पढ्नुहाेस्– केआई सिंहको सिंहदरबार विद्रोहका प्रत्यक्षदर्शी भन्छन्ः 'सँगैको साथी ढल्दा भाग्यले बाँचें'

 

प्रतिकृया दिनुहोस