अन्तर्वार्ता/विचार शनिबार, वैशाख २०, २०७७

केआई सिंहको सिंहदरबार विद्रोहका प्रत्यक्षदर्शी भन्छन्ः 'सँगैको साथी ढल्दा भाग्यले बाँचें'

मुकेश पोखरेल

केआई सिंहको सिंहदरबार विद्रोहका प्रत्यक्षदर्शी भन्छन्ः 'सँगैको साथी ढल्दा भाग्यले बाँचें'
तस्वीर: मुकेश पाेखरेल

५ मंसीर, २००८ । मेरो डेरा अहिलेको सुन्धारा नजिक थियो । म मस्त निद्रामा थिएँ । रातको १२ बजे मेरो ढोका ढक्ढक्याएको आवाज आयो । ढोका खोल्दा त एकजना मानिस गोलीगठ्ठासहित पैसा लिएर आएको थियो । ऊ निकै हतारिएको थियो ।

उसले भन्यो “मर्ने र बाँच्ने ठेगान छैन, यो पैसा मेरो घरसम्म पुर्‍याइदिनु होला ।” पैसाको थैली थमाउँदै उसले मलाई ठेगाना लेखिएको कागज दियो । म त अक्क न बक्क भएँ । कति पैसा थियो, हेर्दा पनि हेरिनँ ।

थैली छाडेर ऊ फेरि टुँडिखेलमा लड्न गयो । पछि थाहा भयो, ऊ डा. केआई सिंहले सिंहदरबार कब्जा गर्दा टुँडिखेलबाट लडेको नेपाली सेनाको सिपाही रहेछ । म पनि त्यही सिपाहीको पछिपछि टुँडिखेलतिर लागें ।

७ फागुन, २००७ मा प्रजातन्त्र आएपछि, देशमा फरक किसिमको माहोल बनेको थियो । मसँग २० वर्षको युवा जोश थियो । राजनीतिको नसा त कति हो कति । २००६ सालमै निर्मल लामाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएर जिल्ला समिति स्याङ्गजाको सदस्य भएको थिएँ । २००८ कात्तिक अन्त्यमा म आठ दिन हिँडेर काठमाडौं गएँ । त्यतिवेला मुक्ति सेनाले डा. सिंहलाई साथ दिएको थियो । मुक्ति सेना २००७ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रजातन्त्रको लागि लडेको सेना हो ।

सिंहदरबारमा डा. सिंहको नेतृत्वको मुक्ति सेनाको एउटा समूह लडिरहेको थियो । टुँडिखेलबाट नेपाली सेना, भुईंमा सुतेर लडेका थिए । टुँडिखेल अहिलेजस्तो थिएन । बारी जस्तो थियो । सुन्धारामा धरहरा थियो । अरु ढुंगैढुंगा थिए ।

सिंहदरबारबाट मुक्ति सेनाले चलाएको गोली झन्डै लाग्यो । म सँग एक जना हवल्दार पनि थियो । उसले मलाई यसरी लड्ने भनेर सिकाउँदै थियो । विचरा उसैलाई गोली लागेर ढल्यो ।

म भागें । भाग्दै गर्दा मलाई पुलिसले समात्यो । मैले “रक्षा दल” भनें । त्यसो भन्दा छुटकारा पाइन्छ भन्ने बुझेको थिएँ ।

“रक्षा दलको हिँडाइ यस्तो हुँदैन”, पुलिसले भन्यो । तर, मलाई जान छाडिदियो ।

डिल्लीरमण शर्मा

डा. केआई सिंह कांग्रेसद्वारा गठित मुक्ति सेनाको पश्चिमाञ्चल कमाण्डर भएर प्रजातन्त्र प्राप्तिका लागि लडेका थिए । मुक्ति सेनाले नै साथ दिएपछि डा. सिंहले सिंहदरबारमा विद्रोह गरेका थिए । उनले सिंहदरबार कब्जा गर्न सफल भए पनि टिकाइराख्न सकेनन् ।

सिंहदरबार कब्जा असफल भएपछि उनी भागेर चीन गए । २००७ सालमा प्रजातन्त्रका लागि लडेका म जस्ता धेरै कांग्रेसी कार्यकर्तालाई दिल्लीमा गरिएको सम्झौताप्रति असन्तुष्टि थियो । डा. केआई सिंहले कांग्रेसभित्रको यही असन्तुष्टिलाई प्रयोग गर्दै सत्ता पल्टाउने प्रयास गरेका थिए ।

शुरुमा त सिंहको विद्रोहका पछाडि म जस्ता धेरै युवाको आकर्षण थियो । उनको कुरामा हामी पनि प्रभावित थियौं । तर, बुझ्दै जाँदा उनको विद्रोह त राजाको योजना अनुसार भएको पायौँ । राजा आफैले घोषणा गरेको संविधानसभाको निर्वाचन टार्न केआई सिंहलाई माध्यम बनाएर विद्रोह गराएका रहेछन् । यो थाहा पाएपछि उनीप्रति सहानुभूति रहेन।

सिंहदरबार कब्जाको असफल प्रयासपछि चीन पुगेका सिंहलाई माफी दिएर नेपाल फर्काइयो । क्रान्तिको चर्का कुरा गर्ने सिंह विस्तारै राजाको पक्षमा बोल्न थाले । “राजा भएको मुलुकमा संविधानसभा आवश्यक छैन, संविधानसभाले संविधान बनाउने होइन, राजाले दिने हो”, भन्दै खुला रुपमा राजाको वकालत गर्न थाले । पछि राजाले उनैलाई प्रधानमन्त्री बनाए । अनि सिंहलाई नेता मान्नेहरु भ्रमबाट मुक्त भयौं।

सिंहदरबार कब्जा गर्नुअघि उनले भैरहवामा विद्रोह गरेका थिए । राणा शासनविरुद्ध लड्दा उनले भैरहवा कब्जा गरेका हुन् । तर, प्रजातन्त्र प्राप्तिपछि पनि भैरहवा छाड्न मानेनन् । काठमाडौंबाट सेना गएपछि भागेर मर्चवार पुगे । त्यति वेला नेपालका सुरक्षाकर्मीले उनलाई पक्राउ गर्न नसकेपछि भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरी काठमाडौं लगिएको थियो ।

प्रतिकृया दिनुहोस