कोरोना महामारीः मलेशियामा नेपाली कामदार संक्रमणको जोखिममा, तलब नपाएकाहरु अलपत्र
नयाँ कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरू असुरक्षित बनेका छन्। उनीहरूले भाइरसको संक्रमणबाट जोगिने सुरक्षाको मापदण्ड बेगर जोखिमपूर्ण रूपमा काम गर्नुपरेको छ। खासगरी मलेशियासहित खाडी मुलुकका कामदारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तय गरेको ‘गाइडलाइन’ विपरीत असुरक्षित रुपमा काम गरिरहेका छन्।
मलेशिया कोरोना भाइरसको प्रकोप देखिएको मुलुक हो। करीब चार लाख नेपाली कामदार कार्यरत मलेशियामा २९ चैतसम्ममा कोरोना भाइरसबाट चार हजार ५ सय ३० जना संक्रमित भएका छन् भने ७३ जनाको मृत्यु भएको छ। यस्तै, एक हजार ९ सय ९५ जना उपचारपछि निको भइसकेका छन्।
यसकारण असुरक्षित
मलेशियामा कोभिड–१९ को संक्रमण बढिरहेको छ। हिमालखबरको सम्पर्कमा आएका धनकुटा महालक्ष्मी नगरपालिकाका ४० वर्षीय एक कामदारले असुरक्षित रुपमा काम गर्नुपरेको बताएका छन् । मलेशियाको सेपाङस्थित डब्लूआरपी एशिया प्यासिफिक एसडीएन बीएचडी कम्पनीका गुणस्तर शाखामा कार्यरत उनी सामान्य मास्क र स्यानिटाइजर बाहेक काम गर्दा सुरक्षाका अन्य सामग्री नभएको बताउँछन्। उनी कार्यरत कम्पनीले दैनिक एक करोड थान सर्जिकल पन्जा उत्पादन गर्छ।
रोजगारदाताले स्थानीय मलेशियाली कामदारहरुसँगको सम्पर्क कम गराउनेतर्फ ध्यान नपुर्याउँदा नेपाली कामदारले असुरक्षित महसुस गरेका हुन्। “काम गर्ने क्रममा उद्योगभित्र भएका साथीहरु भन्दा दैनिक बाहिरबाट आउने मलेशियाली कामदारका कारण हामीलाई बढी डर छ”, ती कामदार भन्छन्। “सँगै हुँदा झुक्किएर छोइएर भाइरस सर्ला कि भन्ने डरैडरमा काम गर्नुपरेको उनले सुनाए।
प्रवासी कामदारबारे जानकार अधिकारकर्मी एन्डी हल कामदारले बढ्दो तापक्रमका बीच काम गर्नुपर्ने भएकाले उनीहरू मास्कले मात्र सुरक्षित हुन नसक्ने बताउँछन्। उनका अनुसार, कम्पनीले कामदार खटाउँदा व्यक्तिगत दूरी कायम गरेको छैन। कामदारलाई काममा लगाउँदा सरकारले तोकेका सुरक्षासम्बन्धी नियम कम्पनीले कार्यान्वयन नगरेको हल बताउँछन् ।
डब्लूआरपी कम्पनीका कामदारहरूले एउटै कुर्सीमा बसेर काम गर्नुपर्ने र सँगै बसेर खाना खानुपर्ने हुन्छ। यस्तै, नेपाली कामदार बस्ने होस्टलको एउटा हलमा एक सयभन्दा बढी व्यक्ति बस्नुपर्ने बाध्यता छ।
उक्त कम्पनीका कामदार कोभिड–१९ बाट असुरक्षित हुनुको अर्को कारण हो, कम्पनीले दैनिक दुई पटक विद्युतीय हाजिरी प्रणाली अनिवार्य गराउनु। प्रत्येक कामदार कम्पनीमा प्रवेश गर्नुअघि र काम गरेर फर्किने वेला औंलाले थिचेर अनिवार्य हाजिरी गर्नुपर्ने व्यवस्था छ। यो स्थितिमा हरेक पाटोमा असुरक्षा र त्रासका बीच काम गर्नुपरेको ती नेपाली कामदारले बताए। मलेशियास्थित दूतावासका कर्मचारीले आफूहरूको अवस्था बुझ्न ध्यान नदिएको उनको गुनासो छ।
मलेशियाको मानव संसाधन मन्त्रालयले अत्यावश्यक सामग्रीको उत्पादनका लागि सञ्चालन गर्नुपर्ने उद्योगले प्रकोपको यो वेला कुल कामदारमध्ये ५० प्रतिशतलाई मात्र सुरक्षित रुपमा काममा खटाउन भनेको छ। तर, कम्पनीहरुले मन्त्रालयको निर्देशन विपरीत ५० प्रतिशत भन्दा बढी कामदार खटाइरहेका छन्।
डब्लूआरपी कम्पनीमा नेपाली कामदारको संख्या करीब चार सय छ। यहाँ सबैभन्दा बढी नेपाली र बाङ्लादेशी कामदार छन्। गएको १५ पुसयता बन्द भएको यो कम्पनी कोभिड–१९ का कारण विश्वव्यापी रुपमा सर्जिकल पन्जाको माग बढेपछि उत्पादन थालेको हो। उद्योग दैनिक आठ घण्टा सञ्चालन हुन्छ।
अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीबाट उत्पादित पञ्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको तीन महीनापछि कम्पनीले १५ पुसदेखि आफ्नो व्यापार अस्थायी रूपमा निलम्बन गरेको थियो। कम्पनीले कामदारलाई कम वा तलब नै नदिई काममा लगाएको तथा शारीरिक र यौन शोषण गरेको खुलेपछि अमेरिकाले १४ असोजमा पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो।
हे.लिंक (मलेशियाली कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, नेपालीको रोजगारी गुम्ने जोखिम)
अहिले कम्पनीको उत्पादन साविकको तुलनामा थोरै छ। ७० वटा प्रडक्सन लाइन भएको कम्पनीमा अहिले १६ वटा मात्र सञ्चालनमा छन्। कम्पनीको उत्पादनको ठूलो परिमाण अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा निर्यात हुँदै आएको छ। प्रतिबन्धपछि बन्द भएको डब्लूआरपीलाई कोभिड–१९ को संक्रमणपछि विश्व बजारमा सर्जिकल पन्जाको माग बढेपछि मलेशियाको सरकारले तत्कालका लागि उत्पादन गर्न अनुमति दिएको हो।
अधिकारकर्मी एन्डी हल बन्दाबन्दी र प्रतिबन्धका कारण मलेशियाली उद्योगहरु बन्द भएपछि युरोपेली मुलुकहरुले पन्जा, मास्क लगायतका स्वास्थ्य सामग्रीको माग बढेको भन्दै उत्पादन शुरु गर्न दबाब दिएको बताउँछन् (हे.पत्र) । “युरोपेली मुलुकहरुका राजदूतहरुले मलेशियाको सरकारसँग उत्पादन बढाउन लबिङ गरे। तर, कम्पनीहरुले कामदारको सुरक्षाबारे चासो नदिंदा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था निम्तिएको छ”, उनी भन्छन्।
समाजशास्त्री एवम् वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङका अनुसार, आफ्नो देशमा पन्जा लगायत सामग्रीको उत्पादन लागत बढी पर्ने भएकाले युरोपेली मुलुकहरूले प्रवासी कामदारलाई सस्तोमा काममा लगाएर उत्पादन हुने मलेशियाबाट सामग्री आपूर्ति गर्दै आएका छन्।
सुरक्षागार्ड पनि जोखिममा
नेपाली मजदुर एकता समाज, मलेशियाका संस्थापक महासचिव समर्पण भट्टराई कोभिड–१९ को संक्रमणपछि मलेशियामा धेरैजसो कम्पनी बन्द भएको र खुलेका कम्पनीहरुमा कामदारले असुरक्षित रुपमा काम गर्नुपरेको बताउँछन्। उनका अनुसार, पन्जा र अन्य स्वास्थ्य सामग्रीहरु उत्पादन गर्ने कम्पनी १२ घण्टासम्म सञ्चालन भइरहेका छन्।
सुरक्षागार्डका रूपमा काम गरिरहेका नेपाली कामदारहरु बढी असुरक्षित रहेको भट्टराई बताउँछन्। “सुरक्षागार्डलाई पन्जा, स्यानिटाइजर, ज्वरो नाप्ने उपकरण लगायतका सुरक्षा सामग्री नदिई काममा खटाइएको गुनासो आइरहेको छ”, उनी भन्छन्।
मलेशियाको सबैभन्दा ठूलो पन्जा उत्पादक कम्पनी टप ग्लोभमा सुरक्षागार्डका रूपमा कार्यरत एक नेपाली कामदारले सुरक्षाको व्यवस्था नगरिंदा त्रासमा काम गर्नुपरेको बताए। मलेशियाको मेरुकेलाङस्थित कम्पनीमा सुरक्षागार्डको काम गर्दै आएका उनीसँगै कार्यरत विभिन्न मुलुकका १३ जना कामदारलाई कोभिड–१९ को संक्रमण देखिएकाले आफूहरुमा असुरक्षा बढेको उनी बताउँछन्।
सुरक्षागार्डले बाहिरी वातावरण र धेरै मानिसको सम्पर्कमा रहेर काम गर्नुपर्ने भए पनि कम्पनीले सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नदिंदा जोखिम भएको ती कामदार बताउँछन्। “कम्पनीको प्रवेशद्वारबाट दैनिक पाँच सय जना ओहोरदोहोर गर्छन्, डरैडरमा बस्नुपरेको छ”, उनी भन्छन्।
संक्रमणबाट कामदारलाई सुरक्षित राख्न कम्पनीले निश्चित व्यक्तिगत दूरी कायम राख्न नभएको उनको भनाइ छ। यो अवस्थामा एक जना नेपाली कामदारलाई संक्रमण भए अरु पनि नजोगिने उनी देख्छन्। उनका अनुसार, कम्पनीको होस्टलको एउटा कोठामा २७ जना कामदार सँगै बस्छन्। खाजा खाँदा एउटै टेबलमा चार जना सँगै बस्नुपर्छ । “हाम्रो सुरक्षाको लागि कम्पनीले त सोचेन, हाम्रो दूतावासले समेत समस्या बुझ्न कुनै तत्परता देखाएको छैन”, उनी भन्छन्।
टप ग्लोभ कम्पनीले कामदारलाई कोभिड–१९ संक्रमणबाट जोगाउन सुरक्षामा ध्यान नदिएको मात्र होइन, नेपाली कामदारको श्रम शोषण पनि गर्दै आएको छ। त्यहाँ कार्यरत कामदारहरुका अनुसार, कम्पनीले दैनिक डेढ घण्टा आराम गरेको भन्दै मासिक रु.७ हजार तलबबाट कटाउँछ। जबकि, आरामविना काममा खटाउने गरेको छ। १८ हजार कामदार कार्यरत टप ग्लोभमा झण्डै चार हजार नेपाली कामदार छन्।
हे.लिंक (मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण)
वार्षिक करीब ६३ अर्ब थान सर्जिकल पन्जा उत्पादन गर्दै आएको टप ग्लोभको बजार १९५ मुलुकमा विस्तारित छ। भारतीय बाटो हुँदै टप ग्लोेभका पन्जा नेपाल पनि आउँछन्। पछिल्लो समय मास्कको माग बढेपछि कम्पनीले यसको पनि उत्पादन थालेको छ। विश्वमा खपत हुने ६० प्रतिशत सर्जिकल पन्जा मलेशियाका कम्पनीहरुले उत्पादन गर्दै आएका छन् ।
महामारीमा स्वास्थ्य सामग्रीको माग बढिरहेका वेला सर्जिकल पन्जासहितका सामग्री उत्पादन गर्ने कम्पनीहरुले कामदारको श्रम शोषण गर्न सक्ने भन्दै मलेशियाका मानव अधिकारवादी संस्थाले त्यसप्रति सचेत रहन त्यहाँको सरकारलाई आग्रह गरेको छ।
न तलब, न स्वदेश फर्किने उपाय !
मलेशियाली ट्रेड यूनियन कङ्ग्रेसले २६ चैतमा विज्ञप्ति जारी गर्दै मलेशियाका कम्पनीहरूमा कार्यरत कामदारहरूमाथि अभद्र व्यवहार हुन थालेको भन्दै चिन्ता प्रकट गरेको छ। कोभिड–१९ को संक्रमणपछि कामदारलाई नाजायज रूपमा कामबाट निकालिएको, तलबविना काममा लगाइएको जस्ता व्यवहारहरू भएको विज्ञप्तिमा उल्लेख छ।
ट्रेड यूनियन कङ्ग्रेसका महासचिव जे सुलेमोनका अनुसार, मलेशियाका साना र मध्यम स्तरका कम्पनीमा काम गर्ने कामदार अप्ठ्यारोमा परेका छन्। कामदारहरूले केही महीनादेखि तलब नपाएको र बन्दाबन्दीका कारण यातायात नचल्दा घर फर्किन नपाएर बिजोग अवस्थामा बस्नुपरेको सुलेमोनले बताए।
ट्रेड यूनियन कङ्ग्रेसले अनुगमन गर्दा मलेशियाको ताइवान व्यापार केन्द्रस्थित एक पसलमा नेपाल, बाङ्लादेश र म्यानमारका कामदारहरु दयनीय अवस्थामा भेटिएका थिए (हे.तस्वीर)। उनीहरुले १८ मार्चदेखि कम्पनीबाट तलब नपाएको जनाइएको छ। ट्रेड यूनियन कङ्ग्रेसले श्रम सम्झौताका कागजातसहित कामदारको गुनासो मलेशियाको श्रम विभागमा दर्ता गरेको छ।
२१ चैतमा एम्नेष्टी इन्टरनेशनल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा कोभिड–१९ को संक्रमणपछि भएको बन्दाबन्दीका कारण प्रवासी मजदूरको आधारभूत अधिकार प्रभावित भएको भन्दै उनीहरुको जीवनरक्षा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। एम्नेष्टीले आप्रवासी कामदारहरु कार्यरत मुलुकमै फसेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई भनेको छ।
मुलुकको अर्थतन्त्रको प्रमुख स्रोत रेमिटेन्स भित्र्याउन प्रवासी कामदारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको सुरक्षामा पनि सरकारले ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ क्वालालम्पुरस्थित नेपाली दूतावासले कामदारको हकहित र सुरक्षाबारे अनुगमन गर्न नसक्दा समस्या निम्तिएको बताउँछन्। उनी भन्छन्, “यस्तो असुरक्षाका बीच काम गर्दा एक नेपालीलाई भाइरसको संक्रमण भयो भने अन्य धेरै कामदार संक्रमित हुन्छन्। सुरक्षाका लागि तत्कालै पहल गर्नुपर्छ।”