मलेशियाको डब्लूआरपी कम्पनीले पञ्जा उत्पादन रोक्यो, करीब पाँच सय नेपालीको भविष्य अनिश्चित
मलेशियाको रबरको पञ्जा उत्पादक कम्पनी डब्लूआरपी एशिया प्यासिफिक एसडीएन बीएचडीले आफ्नो व्यापारलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ ।
अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीबाट उत्पादित पञ्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको तीन महीनापछि कम्पनीले आफ्नो व्यापार सञ्चालनमा अस्थायी निलम्बन गर्ने निर्णय गरेको हो ।
गत १४ असोजमा अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीको पञ्जा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
कम्पनीले कामदारलाई जबर्जस्ती काममा खटाउने गरेको, कम वा तलब नै नदिई काममा लगाएको र शारीरिक तथा यौनशोषण गरेको खुलेपछि अमेरिकाले पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो ।
भन्सार तथा सीमा सुरक्षा कार्यालयको ‘फोस्र्ड लेबर डिभिजन’ ले गरेको अनुसन्धानबाट कामदारमाथि अमानवीय व्यवहार भएको पत्ता लागेको थियो ।
मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीले फेला पारेको नोटिस अनुसार १५ पुसमा डब्लूआरपीले आफ्ना कामदारहरूलाई सर्कुलर जारी गरेर कम्पनीले भोगिरहेको आर्थिक संकटका कारण अर्को सूचना जारी नभएसम्मका लागि व्यापार सञ्चालन निलम्बन गर्नु परेको हो ।
कम्पनीले आफ्नो व्यापार सञ्चालन निलम्बन गर्ने निर्णयपछि डब्लूआरपीमा कार्यरत नेपाली कामदार अन्योलमा परेका छन् ।
करीब एक वर्षअघिसम्म उक्त कम्पनीमा झण्डै दुई हजार नेपाली कामदार कार्यरत थिए । तर, कम्पनीले समयमा तलब सुविधा नदिने समस्या निम्तिएपछि कामदारले कम्पनी छाड्ने क्रम बढ्यो ।
कम्पनीले तीन महीनासम्म तलब नदिएपछि १२ माघ २०७५ मा डब्लूआरपीमा कार्यरत झण्डै दुई हजार नेपाली कामदार आन्दोलनमा उत्रिएका थिए ।
अहिले पनि डब्लूआरपीमा झण्डै पाँच सय नेपाली कामदार कार्यरत छन् ।
डब्लूआरपीमा कार्यरत एक नेपाली कामदारका अनुसार कम्पनीले बिगत १० दिनदेखि पञ्जा उत्पादनको काम पूर्ण रूपमा रोकेको छ ।
हिमालसँग कुरा गर्दै उनी भन्छन्, “पहिले दैनिक १२ घण्टा काम गर्नु परेकामा अहिले आठ घण्टा मात्र काम गरे पुग्छ ।”
उनी पञ्जा उत्पादनको काम पूर्ण रूपमा रोकिएपछि काम गर्ने अवधि पनि घट्दै गएको बताउँछन् ।
डब्लूआरपीको गुणस्तर जाँच गर्ने विभागमा काम गर्दै आएका उनी अहिले कम्पनीको ‘स्टक’मा रहेका पञ्जा प्याकिङ र जाँच गर्ने काम मात्र भइरहेको बताउँछन् ।
कम्पनीमाथि अमेरिकी प्रतिबन्धपछि कारोबार घटेको र त्यसबाट निम्तिएको आर्थिक संकटपछि डब्लूआरपीले व्यापार सञ्चालन निलम्बन गरेको आकलन गरिएको छ ।