रिपोर्ट मंगलबार, फागुन १३, २०७६

उदाउँदा ‘स्टार्टअप’ उद्यम, बन्ला त अर्थतन्त्रको अंश ?

रामु सापकोटा

उदाउँदा ‘स्टार्टअप’ उद्यम, बन्ला त अर्थतन्त्रको अंश ?

फागुनमा एक निजी ब्याङ्कको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर चिरञ्जीवी नेपालले मुलुकभित्र उद्यमशीलताका उदाहरणीय काम भइरहेको बताउँदै ब्याङ्कहरूलाई त्यस्ता नयाँ उद्यममा लगानी गर्न सुझाए ।

नेपालले भने, “टुटल, पठाओ र धोबी जस्ता कम्पनीले देशभित्रै राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।” आन्तरिक उत्पादन बढाएर आयात निरुत्साहित गर्न देशभित्र उद्यमशीलताको लहर नै चाहिएकोमा उनले जोड दिएका थिए।

‘स्टार्टअप’ अर्थात् सानो लगानीका नवीनतम उद्यम । पछिल्ला वर्ष मुलुकमा यस्ता सिर्जनशील सोचका व्यवसायले गति समात्न थालेका छन् । यी उद्यमहरूले छोटो समयमा लोकप्रियता मात्रै कमाएका छैनन्, समाजका अनेकौं समस्या समाधानको बाटो पनि खोलिदिएका छन् । र, घरानियाँ र परम्परागत व्यवसायको दबदबा तोड्ने प्रयासमा छन् ।

उद्यमीहरू यस्ता व्यवसायले समाजमा रहेको उद्यम, व्यवसाय र रोजगारी बारेको पुरातन बुझाइ नै परिवर्तन गरेको बताउँछन् । सरकारी सहयोगको अभाव र चुनौतीका बीच पनि उदीयमान नयाँ उद्यमले अर्थतन्त्रलाई चलायमान बनाइरहेका छन् ।

रोजगारीमा नयाँ विकल्प

पोखरा विश्वविद्यालयबाट सन् २००९ का एमबीएमा स्वर्णपदकधारी डोटी सिलगढीका शिक्षित भट्टले टेलिकमदेखि ब्याङ्कसम्म जागिर खाए । तर, नयाँ उद्यम गर्ने हुटहुटीपछि उनले जागिर छोडी साथीहरूसँग मिलेर सन् २०१६ मा स्टार्टअप कम्पनी टुटल खोले, जसले काठमाडौं उपत्यकाको यातायात प्रणालीमै नयाँ आयाम थप्यो ।

सार्वजनिक यातायातको दुरवस्था र ट्याक्सीको चर्को भाडाबाट दिक्क यात्रुलाई सेयर राइडबाट सहज यात्रा गर्ने वातावरण बनाउन टुटल ले सघाउ पुर्‍याइरहेको छ । कर्मचारी संख्या २५ रहेको कम्पनीले हाल २५ हजारलाई रोजगारी दिएको छ ।

सरकारले यातायात र उद्योगका क्षेत्रमा नयाँ नीति ल्याएर उद्यम गर्न सहजीकरण गरे अर्को वर्षदेखि रोजगारी पाउनेको संख्या ५० हजार नाघ्ने टुटल का सह–संस्थापक भट्ट बताउँछन् । कम्पनी स्थापनाको पहिलो वर्षमा टुटल बाट २० हजारले मात्र सेवा लिएकोमा चार वर्षभित्र त्यो संख्या २५ लाख नाघेको छ । कम्पनीको सेवालाई आम मानिसले स्वीकार गरिसकेकाले टुटल निजीबाट ‘पब्लिक कम्पनी’ बनिसकेको भट्ट बताउँछन् ।

यातायातमा मात्र होइन, समाजले महत्व नदिएका र सामान्य झैं लाग्ने कामहरूमा नपत्याउने गरी नयाँ उद्यमहरूको प्रवेश भइरहेको छ । यही अभियानमा जोडिएको छ, खाली सिसी  । काठमाडौं विशालनगरकी आयुषी केसी (२९) ले सन् २०१२ मा व्यवस्थापन विषयमा स्नातक सकेपछि विभिन्न निजी कम्पनीमा काम गरिन् ।

सार्वजनिक यातायातको दुरवस्था र ट्याक्सीको चर्को भाडाबाट दिक्क यात्रुलाई सेयर राइडबाट सहज यात्रा गर्ने वातावरण बनाउन टुटल ले सघाउ पुर्‍याइरहेको छ । कर्मचारी संख्या २५ रहेको कम्पनीले हाल २५ हजारलाई रोजगारी दिएको छ ।

दैनिक घर र कार्यालयबाट निस्किने फोहोरमा मोहोर देखेपछि सन् २०१७ को जूनदेखि खाली सिसी नामक कम्पनी खोलेर उनले फोहोर व्यवस्थापनको नयाँ उद्यम शुरू गरिन् । कम्पनीले पुनः प्रयोग हुनसक्ने फोहोरलाई ल्याण्डफिल्ड साइटमा लैजाने प्रचलनलाई नै सोच्न बाध्य बनायो । खाली सिसी ले घर वा कार्यालयबाट निस्किने पुनःप्रयोग गर्न सकिने फोहोर सङ्कलन गरी प्रशोधन गरेर विभिन्न सामान बनाउँदै आएको छ ।

फोहोर सङ्कलन गर्न आयुषीको कम्पनीले ३०० जनालाई रोजगारी दिएको छ । खाली सिसी ले फोहोर व्यवस्थापनका लागि नयाँ उद्यम शुरू गरेसँगै कबाड सङ्कलनको काम गरिरहेकाहरूलाई आबद्ध गरेर उनीहरूको जीविकोपार्जन व्यवस्थित बनाउने प्रयास पनि गरिरहेको छ ।

पहिले व्यक्तिगत रूपमा फोहोर सङ्कलन गर्दा मासिक रु.१५ हजार हाराहारीमा आम्दानी गर्नेहरूले उनको कम्पनीमा मासिक रु.३० हजारसम्म आम्दानी गरिरहेका छन् । “काठमाडौं उपत्यकामा १३ हजारभन्दा बढी तराई मूलका मानिसहरूले कबाड सङ्कलनको काम गरिरहनुभएको छ, पाँच वर्षभित्र तीमध्ये १० प्रतिशतलाई कम्पनीमा आबद्ध गराएर काम गर्ने लक्ष्य छ”, आयुषी भन्छिन् ।

खाली सिसी ले साढे दुई वर्षको अवधिमा उपत्यकाबाट पुनःप्रयोग गर्न सकिने १५०० टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ । आयुषीले कम उमेरमा फरक काम गरेको भन्दै सन् २०१८ मा विश्वविख्यात पत्रिका फोर्ब्स ले उनलाई ३० वर्ष मुनिको चर्चित सामाजिक उद्यमीको सूचीमा राखेको थियो ।

सन् २००९ मा विश्वास ढकाल, असगर अली र सुवास शर्माको समूह मिलेर शुरू गरेको नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवा ले विद्युतीय भुक्तानी प्रणालीमा उदाहरणीय फड्को मारेको छ । १४ जना कर्मचारीबाट शुरू भएको कम्पनी देशभर विस्तार हुँदा अहिले काम गर्नेको संख्या ४०० नाघेको छ ।

ई–सेवा लाई आधार बनाएर व्यापार व्यवसाय गर्नेहरूको संख्या ८० हजारभन्दा बढी छ । सञ्चालनमा आएको पहिलो वर्षमा १७ हजार ग्राहक रहेको कम्पनीमा अहिले यो संख्या २५ लाख नाघेको छ ।

सह–संस्थापक अली कम्पनीको सेवाले सर्वसाधारणको दैनिक जीवन सहज बनाएको र काम गर्ने परम्परागत सोच बदलेको दाबी गर्छन् ।

रोबोटिक्स र एआईको युग 

सन् २०१८ अगष्टबाट दरबारमार्गमा शुरू रोबोट मार्फत सेवा दिने ‘नौलो रेस्टुरेन्ट’ ले ग्राहक मात्र तानेन, सार्वजनिक चर्चा पनि कमायो । रेस्टुरेन्टको भान्साबाट खानाको ‘अर्डर’ लिने र उपभोक्ताको टेबुलसम्म पुर्‍याउने यस्तो रोबोट पाइला टेक्नोलोजीले बनाएको हो ।

त्यसअघि नै कम्पनीले बनाएको परि–वान रोबोटले एसबीआई ब्याङ्कका ग्राहकलाई खाता खोल्ने, ऋण लिने प्रक्रिया लगायतको ब्याङ्किङ कारोबारका विषयमा जानकारी दिन थालिसकेको थियो । ६ जना युवा इन्जिनियरले सन् २०१६ मा खोलेको पाइला अहिले रोबोटिक्स सेवा दिने कम्पनीका रूपमा स्थापित भएको छ ।

७० जनाले रोजगारी पाएको कम्पनीले रोबोट बनाउन चाहिने मेकानिकल डिजाइन, सफ्टवेयर निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को काम गर्छ । रोबोटिक्स र एआईको क्षेत्रमा सेवा दिने पाइला टेक्नोलोजीले बनाएका रोबोट देशभित्रसँगै विदेश निर्यात हुन थालेका छन् ।

विदेशबाट माग आउने क्रम बढ्न थालेपछि सर्भिस रोबोटिक्स उद्योग स्थापना गर्ने तयारी थालेको कम्पनीका सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय राउत बताउँछन् । विभिन्न अध्ययनले रोबोटिक्स बजार प्रत्येक वर्ष १५.१८ प्रतिशतले बढिरहेको देखाएका छन् । “अबको भविष्य रोबोट र एआईमा नै छ, यही सम्भावना देखेर नयाँ उद्यममा हात हालेका हौं”, राउत भन्छन् ।

 

कृषि र सेवामूलक उद्यममा सम्भावना

यातायातदेखि फोहोर व्यवस्थापन र अनलाइन भुक्तानीदेखि रोबोट निर्माण अभियानसम्मका अधिकांश उद्यमहरूले काठमाडौं उपत्यकालाई केन्द्रित गरेर सेवा विस्तार गरे । कतिपय यस्ता नयाँ उद्यमहरू गाउँलाई जोड्ने खालका पनि छन् ।

गाउँहरूमा उत्पादित तरकारी र फलफूलले बजार नपाएर खेर फाल्नुपर्ने अवस्था छ । कृषि उपजले बजार नपाउँदा एकातिर किसानको लागत र श्रमले मूल्य नपाउने, अर्कातिर उपत्यकावासीले विषाक्त तरकारी तथा फलफूल खानुपर्ने बाध्यताका बीच अर्गानिक उत्पादनलाई गाउँबाट शहर पुर्‍याउन पुल बनिरहेको छ, ग्रीन ग्रोथ ।

सन् २०१६ देखि समिता कपालीले तीन जना साथीहरूसँग मिलेर खोलेको यो संस्थाले गाउँगाउँबाट कृषिजन्य सामग्री शहर ल्याई वेबसाइट र सामाजिक सञ्जाल मार्फत अर्डर लिएर घरघरमा पुर्‍याउने गरेको छ ।

ग्रीन ग्रोथले ग्राहककहाँ पुर्‍याउनुअघि तयारी अवस्थामा राखेको अर्गानिक तरकारी । तस्वीर: ग्रीन ग्राेथ

समिताले स्नातक तहको अध्ययन पूरा गरेपछि तनहुँ, गोरखा लगायतका ठाउँहरू घुम्ने क्रममा गाउँमै उत्पादन हुनसक्ने नाङ्लोदेखि मादलसम्म चीन र भारतबाट आयात हुने गरेको थाहा पाइन् । यही तीतो यथार्थले उनलाई ग्रामीण किसानलाई भरथेग गर्न ग्रीन ग्रोथ मार्फत काम गर्ने प्रेरणा दियो ।

छोटो समयमै उँचाइमा पुगेको अर्को कम्पनी हो, रेस्टुरेन्ट तथा होटलबाट घरघरमा खाना पुर्‍याउने फूडमाण्डू । १०० हाराहारी रेस्टुरेन्टका परिकार घरदैलोमा पुर्‍याउने देशकै पहिलो यो कम्पनीको सफलता र विस्तारपछि यस्तै अन्य उद्यम गर्ने क्रम बढिरहेका छन् । 

७० जनाले रोजगारी पाएको कम्पनीले रोबोट बनाउन चाहिने मेकानिकल डिजाइन, सफ्टवेयर निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को काम गर्छ । रोबोटिक्स र एआईको क्षेत्रमा सेवा दिने पाइला टेक्नोलोजीले बनाएका रोबोट देशभित्रसँगै विदेश निर्यात हुन थालेका छन् ।

सिर्जनशीलताका नयाँ उद्यमले रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको ‘ग्रोथ इञ्जिन’ का रूपमा काम गर्छन् । छिमेकी देश भारतको विगत एक दशकको आर्थिक वृद्धिको प्रमुख कारणमा स्टार्टअपहरूको विस्तार पनि एक मानिन्छ । नेपालमा प्रतिवर्ष श्रम बजारमा आउने पाँच लाखभन्दा बढी युवालाई रोजगारीको अवसर दिन मात्र होइन, अर्थतन्त्रलाई नयाँ गति दिन पनि नौला उद्यमको भूमिका महत्वपूर्ण हुन्छ ।

लगानीको वातावरण

लगानी रकमको अभावले सधैं नवीन उद्यमीलाई बाँध्न खोज्छ । समाजले नपत्याएको नयाँ उद्यमका लागि परिवारका सदस्यले जोखिम मोलेर लगानी गर्न हिच्किचाउँछन् । ब्याङ्क तथा वित्तीय संस्थाले पनि धितो विना उद्यमशीलताका परियोजनाहरूमा लगानी गर्दैनन् । कम्पनी चलाउन चाहिने महत्वपूर्ण कुरा पूँजीकै अभावमा कसरी नयाँ उद्यमहरू आइरहेका छन् त ?

पछिल्ला वर्षहरूमा सिर्जनशील उद्यममा लगानी जुटाइदिन सहयोग गर्ने केही संस्थाहरूको उदयले उद्यमीहरूलाई सजिलो बनाएको छ । डोल्मा इम्प्याक्ट फण्ड, सफल पार्टनर्स, बिजनेस अक्सिजन, अन्तरप्रेरणा लगायतका संस्थाले नयाँ उद्यममा लगानी गरिरहेका छन् । यी संस्थाहरूले नयाँ उद्यममा गरेको लगानीबाट छिटो नाफा कमाउन सक्ने सम्भावना देखेर रकम खन्याउने गरेका हुन् ।

विश्वव्यापी रूपमा हेर्दा स्टार्टअपमा गरेको लगानीबाट उच्च दरमा फाइदा हुने गरेको छ । नयाँ उद्यमबाट शुरू भएका फेसबूक र गुगल जस्ता संस्थामा लगानी गर्नेहरू अहिले अर्बपति बन्नु यसैको दृष्टान्त हो । लगानी गरिदिने संस्थाको उदय हुनुअघि नयाँ उद्यममा व्यक्तिगत रूपमा लगानी गर्ने चलन थियो ।

यसको उदाहरण हो, सन् २०१२ मा बिरुवा भेन्चर संस्थाका पार्टनरले विभिन्न नयाँ उद्यमशीलताका कम्पनीमा गरेको लगानी । बिरुवा एड्भाइजर्स का साझेदार सनम चित्रकार सरकारी नीतिको अभावका बीच जोखिम मोलेर व्यक्तिगत रूपमा लगानी गरेको बताउँछन् । उद्यमीहरूलाई लगानी गर्ने वातावरण मिलाउन र आवश्यक सुझाव दिन बिरुवा भेन्चर कम्पनीबाट सन् २०१४ मा एड्भाइजर्स कम्पनीका रूपमा काम गर्न थालेको थियो ।

उद्यमशीलतामा लगानी गर्न स्वदेशी मात्र होइन, विदेशी कम्पनीहरूको पनि आगमन हुन थालेको छ । उद्यमशीलताको काम गर्ने कम्पनीहरूको समस्याबारे समूहमा बसेर छलफल गर्ने संस्कार विकास हुन थालेको छ ।

उदीयमान उद्यमलाई सूचनाप्रविधिले उँचाइमा पुर्‍याउन सहयोग गरेको छ । आज जति पनि उदीयमान उद्यमहरू सफल भएका छन्, ती कतै न कतै सूचनाप्रविधिसँग जोडिएका छन् वा सूचनाप्रविधिको जगमा फैलिएका छन् । सूचनाप्रविधिका क्षेत्रमा उद्यमशीलताका विषयलाई केन्द्रमा राखेर आयोजना गरिने कार्यक्रमहरू ह्वात्तै बढेका छन् ।

तस्वीर: बिक्रम राई

गएको ७ फागुनमा सम्पन्न सूचनाप्रविधि सम्बन्धी मेला (क्यान इन्फोटेक) मा नवीनतम उद्यम–व्यवसाय गर्नेहरूका लागि २६ वटा स्टल निःशुल्क राख्ने व्यवस्था मिलाइएको थियो । प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई–टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ ब्याङ्क, डिजिटल नेपाल जस्ता स्टार्टअपलाई स्थान दिइएको थियो ।

यसअघि १९ माघमा सम्पन्न ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको संस्था लोकस इन्जिनियरिङले गरेको १७औं राष्ट्रिय प्राविधिक प्रदर्शनीमा प्रविधिलाई कृषि, व्यापार, पर्यटन, ऊर्जासँग जोडेर गर्न सकिने नयाँ उद्यमशीलतालाई जोड दिइएको थियो ।

“पछिल्ला वर्षहरूमा प्रदर्शनीमा सहभागी हुनेहरूको संख्या बढ्दो छ र उनीहरूले नयाँ–नयाँ प्रविधिको विकास पनि गरिरहेका छन्”, लोकस–२०२० का सञ्चार संयोजक परिधि पराजुली भन्छिन् । 

चाल नपाएको सरकार

नयाँ उद्यम गर्ने कम्पनीहरूको संख्या ठूलो छ र यो क्रमिक मात्रामा बढ्दो छ । मुलुकमा थाहा नपाउने गरी भित्रभित्रै उद्यमशीलताका कामहरू भइरहेका छन्, जुन सरकारले चाल पाएको छैन ।

नयाँ उद्यमशीलताको वातावरण पनि नबनाउने र गर्न लागेका काममा अवरोध सिर्जना गर्ने सरकारी निकायको प्रवृत्ति देखिन्छ । जस्तो, टुटल ले राइड सेयरिङको सेवा दिन थालेपछि सरकारले नीति नै नभएको अवस्थामा काम गर्न नपाइने तर्क अघि सारेको थियो । खासगरी यातायात माफियाको चङ्गुलमा परेको सरकारलाई टुटल जस्ता नवउद्यमशीलताका कामलाई सहजीकरण गर्न सकस पर्‍यो ।

उद्यमशीलतामा सहजीकरण गर्ने र वातावरण बनाउने काममा सरकार कतिसम्म पछि परेको छ भन्ने देखाउन यस क्षेत्रमा छुट्याइएको बजेट खर्च हुन नसकेको उदाहरण काफी छ । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को बजेट मार्फत रु.५० करोडको ‘स्टार्टअप फण्ड’ को कार्यक्रम ल्याएका थिए ।

तर, नवउद्यमलाई सहयोग गर्ने भनेर ल्याएको यो कोष कार्यान्वयनका लागि कुनै कार्यक्रम नबनेपछि उक्त रकम खर्च नै हुन पाएन । सरकारले गएको आर्थिक वर्षमा उद्यमशीलताको काम गर्न भनेर रु.२ अर्ब ६० करोड छुट्याएको थियो ।

बजेट छुट्याउने तर कार्यक्रमको खाका नबनाउने सरकारी प्रवृत्तिका कारण यो रकम पनि खर्च भएन । यसैबीच सरकारले ९ फागुनमा नयाँ उद्यमको काम गर्न चाहने व्यक्ति वा व्यवसायीका लागि अधिकतम रु.५० लाख अनुदान दिने व्यवस्थासहितको कार्यविधि तयार पारेको छ । तर, सरकारका विगतका अभ्यासले कार्यविधि कार्यान्वयनमा आशङ्का उब्जाएको छ ।

सरकारले स्टार्टअप नीति बनाउन तीन वर्षअघि समिति गठन गरे पनि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । नरोत्तम अर्याल नेतृत्वको समितिले तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई बुझाएको नीतिको मस्यौदा अघि बढेको छैन । यसले मुलुकमा नवउद्यम प्रवर्द्धन गर्ने काममा सरकारको सुस्तता कति छ भनेर प्रष्ट्याउँछ ।

सरकारले ९ फागुनमा नयाँ उद्यमको काम गर्न चाहने व्यक्ति वा व्यवसायीका लागि अधिकतम रु.५० लाख अनुदान दिने व्यवस्थासहितको कार्यविधि तयार पारेको छ । तर, सरकारका विगतका अभ्यासले कार्यविधि कार्यान्वयनमा आशङ्का उब्जाएको छ ।

उद्यमशीलताको वातावरण बनाउन र सहजीकरण गर्ने काममा सबैभन्दा अवरोध सरकारभन्दा कर्मचारीतन्त्रबाट सिर्जना भएको ई–सेवा का सह–संस्थापक असगर अली बताउँछन् ।

उद्यमशीलतालाई तीव्रता दिन सरकारले बोर्ड गठन गरी त्यसमा ८० प्रतिशतसम्म निजी क्षेत्रका व्यक्ति राखेर काम गरे मात्र राम्रो प्रतिफल आउने उनको भनाइ छ । “कर्मचारीतन्त्रमा काम गर्ने प्रवृत्ति नै देखिंदैन, हरेक काममा आफ्नालाई फाइदा खोज्ने प्रवृत्तिले समस्या निम्तिएको छ”, उनी भन्छन् ।

पाइला टेक्नोलोजी का सह–संस्थापक दीपकमल भुसाल पनि नयाँ उद्यम गर्ने काममा देखा परेका चुनौती झेल्दै स्टार्टअपका क्षेत्रमा काम भइरहेको बताउँछन् ।

चुनौती उत्तिकै

नवउद्यमको कामबारे कुरा गर्न जति सहज छ, गर्न त्यति नै गाह्रो । उद्यमीहरू सरकारी नीतिनियमको अभाव र असहयोगका बीच उद्यमशीलताको काम गर्न कठिन भइरहेको बताउँछन् । विविध चुनौतीसँग जुध्नुपर्ने भएकाले उद्यमीहरूले उद्यमशीलताको काम मात्र गरेर नहुने, सामाजिक अभियन्ता पनि बन्नुपर्ने बाध्यता रहेको उद्यमीहरू बताउँछन् ।

उद्यमशीलताको काम गर्न चाहनेहरूमा आन्तरिक चुनौती पनि पेचिला छन् । त्यस अन्तर्गत पर्याप्त तयारी नगर्नु, कम्पनीका लागि चाहिने संरचना बनाउन नसक्नु, लगानीको अभाव प्रमुख हुन् । अन्तरप्रेरणा का लगानी प्रबन्धक सुसम राजभण्डारी धेरै व्यक्तिहरू उद्यमशीलता बारे नबुझी यो क्षेत्रमा होमिने गरेको बताउँछन् ।

उनी भन्छन्, “एकै पटक ठूलो काममा हात हाल्नुपर्छ र ठूलो रकम कमाउनुपर्छ भन्ने मानसिकता छ ।” उनी लगानीकर्ता लगानी गर्न तयार भए पनि नेपाली उद्यमीहरूले समूहमा मिलेर काम गर्न नसक्दा पाएको अवसर पनि गुमाउनुपर्ने अवस्था रहेको बताउँछन् ।

विभिन्न स्टार्टअप कम्पनीलाई सल्लाह दिंदै आएकी स्ट्राटेजी एण्ड ग्रोथ एड्भाइजर सुमना श्रेष्ठ उद्यमशीलताको काम गर्ने भनेर सञ्चालन भएका अधिकांश संस्थामा व्यवस्थापकीय क्षमता र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमताको अभाव देखिएको बताउँछिन् । “व्यवस्थापकीय र प्रशासकीय क्षमताको अभावमा कुनै समस्या समाधान गर्न सक्दैनन् र केही समयमै कम्पनी बन्द गर्नुपर्ने अवस्था निम्तिन्छ”, उनी भन्छिन् ।

‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’

 

प्रतिकृया दिनुहोस