अन्तर्वार्ता/विचार बुधबार, फागुन १४, २०७६

‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’

रामु सापकोटा

‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’
तस्वीरहरुः मोनिका देउपाला

नेपालमा नयाँ उद्यम (स्टार्टअप) को अवस्था कस्तो छ ? 

शिक्षित भट्ट, सह–संस्थापक, टुटल

चूलामा दाउरा बाल्ने अवस्थाबाट ग्याँस र विद्युत्को युगमा पुगे जस्तै नयाँ उद्यमले परम्परागत व्यवसायलाई परिवर्तन गरिरहेको छ । तर, सरकारी सोच पुरातन हुँदा अपेक्षित फड्को मार्न सकेका छैनौं । अझै पनि औद्योगिक युगकै जस्तो स्टील, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनलाई मात्र उद्यम–व्यवसाय मान्ने चेतना छ । नवीनतम उद्यममा नयाँ सिर्जनात्मक काम पर्छन्, जसको उच्च वृद्धि र विस्तारको सम्भावना हुनुपर्छ ।

सनम चित्रकार, पार्टनर, बिरुवा एड्भाइजर्स

नयाँ उद्यम गर्ने संस्कृति प्रेरणादायी छ । तर नयाँ पुस्ताको सीमा कस्तो छ भने, उनीहरूले प्रविधि सम्बन्धी विषयलाई मात्र नवीनतम काम मानेको देखिन्छ । नयाँ सिर्जनात्मक आइडिया भएकासँग समूहमा काम गर्ने क्षमता कमजोर छ । भविष्यमा निम्तिन सक्ने जोखिम लगायतका विषयमा छलफल नगरी काम शुरू गर्दा द्वन्द्व निम्तिएर साझेदारीका परियोजना असफल भएका छन् ।

यसले नयाँ उद्यम गर्ने विषय ‘ग्ल्यामर’ भएको छ । विश्वमा नयाँ उद्यमहरूमा भइरहेको विस्तारले नेपाली युवाहरूलाई पनि प्रभाव पारेको छ । तर, नेपालमा कुनै क्षेत्रमा नयाँ प्रणालीको थालनी गरेपछि अरुले पनि उस्तै उद्यमको सिको गरिहाल्ने प्रवृत्ति देखिन्छ । अर्कातिर, विश्वव्यापी समस्या रहेको नयाँ उद्यमहरूको टिकाउ दर यहाँ पनि थोरै छ ।

असगर अली, सह–संस्थापक, ई–सेवा

डेढ दशकअघि ई–सेवा शुरु गर्दा नेपालमा स्टार्टअपको संस्कृति शुरु भएको थिएन । अहिले ई–सेवामा १२०० भन्दा बढी नयाँ उद्यमका कम्पनी जोडिनुले फैलिंदो गति देखाउँछ । तर, यसरी आएका नयाँ उद्यममध्ये पाँच प्रतिशत मात्र टिक्नुले मौलिकता र सिर्जनशीलताको अभाव देखाउँछ । नेपाली समाजको चरित्र नै जोखिम लिएर काम गर्ने खालको नभएका कारण नयाँ उद्यमशीलताका काम धेरै हुनसकेको छैन ।

अर्कोतिर, साझेदारीमा काम गर्ने संस्कार पनि छैन । नयाँ उद्यममा एकै खालको शैक्षिक पृष्ठभूमिभन्दा व्यवसाय र इन्जिनियरिङ पढेकाको साझेदारी भए वैकल्पिक विचारका कारण नवीनतम सोचले मूर्तरुप पाउँछ । एप बनाउँदैमा उद्यमको सबै काम सकियो भन्ठान्नु नै गलत बुझाइ हो ।

कुनै नयाँ उद्यम वा व्यवसायमा प्रविधिको भूमिका त पाँच प्रतिशतभन्दा कम हुन्छ । त्यस्तै, नयाँ उद्यम गर्न चाहनेलाई ब्याङ्कले ऋण नदिने र सरकारले ऋण नदिने भएकाले सिर्जनात्मक सोचहरू यत्तिकै मरिरहेका छन् ।

डरलाग्दो कुरा चाहिं, नेपालका ठूला व्यापारिक घरानाले नयाँ उद्यम गर्ने कम्पनी आऊन् भन्ने चाहँदैनन् । यस्ता कम्पनी आइहाले पनि आफू मातहत हुनुपर्छ भन्ने, ५० प्रतिशत शेयर खोज्ने प्रवृत्ति छ । यस्ता संकुचित सोच नहटेसम्म मुलुकमा नयाँ उद्यम संस्कृतिको विकास हुँदैन ।

समिता कपाली, सह–संस्थापक, ग्रीन ग्रोथ

देशका विभिन्न गाउँ घुम्ने क्रममा स्थानीयस्तरमै उत्पादन हुनुपर्ने मादल, नाङ्लो जस्ता सामग्री पनि आयातित भएको भेटेपछि सन् २०१६ मा हामीले नयाँ उद्यम शुरु गरी स्थानीय उत्पादनलाई प्रविधिसँग जोडेर प्रचारप्रसार र बिक्री गर्न थालेका हौं । काम शुरु र विस्तार गर्न कठिन नभए पनि अझ फैलाउन भने गाह्रो हुने रहेछ ।

कम्पनीले विस्तार गर्दै गएसँगै मानिसहरूको अपेक्षा पनि बढ्छ, र त्यस अनुसार गुणस्तरीय सामान दिन नसक्दा विश्वास गुम्छ । सरकारले नयाँ आइरहेका र आउने तयारीमा रहेका नवीनतम उद्यमहरूलाई अनुकूल वातावरण बनाइदिए विस्तार हुँदै जान्छ ।

सुसम राजभण्डारी, लगानी प्रबन्धक, अन्तरप्रेरणा

नेपालमा स्टार्टअपले अपेक्षा गरे अनुसारको गति नपाउनुमा केही खास कारण छन् । उद्यमशीलताको कुरामा पनि सानोतिनो काम गर्नुहुँदैन भन्ने मानसिकता छ । नयाँ उद्यम गर्न चाहने धेरै युवासँग व्यवसायको परिपक्व र विस्तृत सोच नै हुँदैन । एकै पटक ठूलो रकम कमाइहाल्ने सपना मात्र हुन्छ । साँच्चिकै सिर्जनशील काम गर्ने भन्दा पनि जे चलेको छ, त्यसैको नक्कल गर्ने प्रवृत्ति छ ।

समूहमा मिलेर काम गर्न नसक्ने समस्या पनि ठूलै छ । अडिटर लगाएर कम्पनी नोक्सानीमा देखाउने खराब प्रवृत्ति पनि छ । यस्तो अवस्थामा घाटा हुने व्यापारमा कुनै लगानीकर्ताले पनि लगानी गर्न चाहँदैन । अर्कोतिर, उद्यमशीलताका लागि हरेक कम्पनीमा बजार व्यवस्थापन, लेखा, बिक्री प्रबन्ध हेर्ने व्यक्ति चाहिन्छ भन्ने पक्ष बेवास्ता गरिएको छ ।

सुमना श्रेष्ठ, स्ट्राटेजी एण्ड ग्रोथ एड्भाइजर

कुनै उद्यम ठूलो क्षेत्रलाई समेट्ने गरी शुरु गरिन्छ, कुनै सानो स्तरमा शुरु गर्ने पनि छन् । इन्जिनियरिङको काम गरिरहेकाको उत्पादनलाई बिक्री गर्न बजार व्यवस्थापन पनि आवश्यक पर्छ, तर त्यस्तो पूरक सीप भएका व्यक्ति पाउन गाह्रो छ । विदेशबाट लगानी भित्याउन पूरा गर्नुपर्ने कागजी प्रक्रिया एकदमै लामो र झन्झटिलो हुँदा पनि उद्यमशीलताले सोचेजति गति लिनसकेको छैन ।

नयाँ उद्यमलाई सहयोग र प्रवर्द्धन गर्ने ‘इको सिस्टम’ कत्तिको छ ?

शिक्षित भट्टः उद्यमको कुरा गर्दा नवीनतम सोच, उद्यमशीलता र अर्बौंको कम्पनी गरी तीन फरक अवस्थालाई हेर्नुपर्छ । कुनै वस्तुको उत्पादन गर्नु र त्यसको व्यावसायिक उत्पादन गर्ने गतिलो कम्पनी बनाउनुमा धेरै फरक छ ।

तर, हाम्रो बुझाइको अभावका कारण यस्तो अन्तर छुट्याउन सकेका छैनौं । यस्तै, राजनीतिक वातावरण नबन्दा विदेशबाट लगानी भित्रिन नसक्दा उद्यमहरू विस्तार हुनसकेका छैनन् । नेपालको बजारलाई सानो देख्ने लगानीकर्ताको साँघुरो चिन्तन पनि छ, जबकि यहाँको बजार आफैंमा सानो होइन ।

नयाँ उद्यम शुरु भएपछि राज्यले त्यस सम्बन्धी नीति र कानून बनाउँदै जानुपर्ने हुन्छ । हामीकहाँ भने कानूनको अभाव देखाएर उद्यम खुम्च्याउन खोजिन्छ । नेपालको ई–सेवा भन्दा पछि शुरु भएको भारतको पे–टीएम बिलियन डलरको कम्पनी भइसक्यो, ई–सेवा भारत जान सकेन ।

हाम्रो उद्यमशीलता भारत र चीनसम्म पुग्न सक्छ भन्ने क्षमता सरकारले नचिन्दा नीतिगत सहजता भएन । जबसम्म उद्यमीहरूले सहजै लगानी गर्न थाल्ने अवस्था सिर्जना हुँदैन, तबसम्म नवीनतम उद्यमशीलताले गति लिंदैन ।

शिक्षित भट्ट, सह–संस्थापक, टुटल

सनम चित्रकारः उद्यमको सफलताका लागि सबै क्षेत्रबाट उद्यमीलाई सहयोग चाहिन्छ । एक दशकयता उद्यमशीलताबारे छलफल गर्ने मञ्च बढेका छन् र सहयोगी संयन्त्रहरूको विकास भएको छ । यति हुँदाहुँदै धेरै आधारभूत विषयमा काम हुनसकेको छैन ।

अहिले पनि उद्यमशीलताका लागि परामर्श दिने कम्पनीहरू धेरै छैनन् । यही अवस्था देखेर सन् २०१४ मा बिरुवा भेन्चरबाट नवउद्यमीहरूलाई परामर्श शुरु गरेका थियौं । पछिल्ला वर्षहरूमा ठूला व्यापारिक घरानाका व्यवसायीले आफ्ना छोराछोरीलाई परामर्श लिन परामर्शदाता कम्पनीहरूमा पठाउने अभ्यास बढ्नु महत्वपूर्ण परिवर्तन हो ।

उद्यमशीलता फस्टाउन सरकारले राम्रो वातावरण बनाउन सकेको छैन । जसरी पनि कर दोहन गर्ने प्रवृत्तिका कारण नयाँ उद्यमशीलता सिर्जना गर्न कठिन छ ।

असगर अलीः उद्यमशीलता फस्टाउने वातावरण बन्न नसक्नुमा सरकारमा मात्र नभएर सबैतिर समस्या छ । व्यावसायिक अभ्यास बलियो नभएकाले उद्यमीहरू पनि ‘बिचौलिया’ जस्ता बन्ने जोखिम छ । त्यसैले उद्यमशीलतालाई सहजीकरण गर्न निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय बोर्ड बनाउनुपर्छ ।

धेरैजसो यस्ता बोर्ड सरकारका सचिव वा सहसचिवको नेतृत्वमा गठन गर्छौं, तर उद्यमशीलता प्रवर्द्धनको काम उनीहरूको प्राथमिकतामा नपर्ने भएकाले निजी क्षेत्रको नेतृत्व चाहिन्छ । बोर्डले सबै नयाँ उद्यमहरूलाई क्षमता र कामको प्रकृति अनुसार वर्गीकरण गरेर लगानी बोर्ड र सरकारका अन्य निकायसँग समन्वय गर्न सघाउनुपर्छ ।

बोर्डको सिफारिशका आधारमा उद्यम गर्न ब्याङ्क मार्फत ऋण पाउने जस्ता व्यवस्था गरिनुपर्छ । सरकारले ठूलो परिमाणमा आयात भइरहेका वस्तुहरूको पहिचान गरेर तिनको उत्पादन देशभित्रै गर्न नयाँ उद्यमीहरूलाई सघाउनुपर्छ । यसले नयाँ उद्यम गर्न उत्प्रेरणा दिन्छ ।

सुमना श्रेष्ठः मैले परामर्शको काम र सहयोग गरेका कम्पनीहरूमा उद्यमीहरूले एउटा संस्थागत प्रणाली बनाउन ध्यान नदिएको पाएँ । प्रतिस्पर्धाका बीच कम्पनीले ५ वा १० वर्षसम्म कसरी टिकेर काम गर्न सक्छ भनेर प्रश्न सोधिंदैन, जबकि उद्यमशीलताको विकासमा प्रश्न सोध्ने संस्कार आवश्यक हुन्छ ।

त्यस्तै, ब्याङ्कको ब्याजदर कम भए उद्यमीहरू जोखिम लिएर काम गर्न प्रोत्साहित हुनसक्छन् । उद्यमशीलताबाट ‘रोल मोडल’ बनेका कम्पनीले पनि लगानी गर्ने वातावरण बनाउन सहयोग गर्नसक्छन् । यसले लगानीकर्तालाई लगानी गर्न प्रोत्साहित मात्र गर्दैन, इको सिस्टम पनि राम्रो बनाउँछ ।

स्वदेशी नवउद्यमीलाई संरक्षण गर्न कतिपयले विदेशी लगानीमा निरुत्साहन गर्नुपर्ने तर्क पनि गर्छन्, त्यस्तो नीतिगत व्यवस्था आवश्यक छ ?

शिक्षित भट्टः हामीले बजारको प्रतिस्पर्धालाई खुला छोड्नैपर्छ । यसबाट विदेशी लगानी भित्याउने मात्र नभई उद्यम र वस्तु उत्पादनको तरिका सिक्ने अवसर पनि प्राप्त हुन्छ । स्वदेशी उद्यमलाई संरक्षणका नाममा बजारमा नियन्त्रणको अभ्यास दीर्घकालका लागि ठीक हुँदैन ।

पक्कै पनि नेपाली स्टार्टअप कम्पनीहरू आर्थिक रूपमा बलिया छैनन् र हाम्रा उत्पादन वा कामको ब्रान्डिङ हुन नसक्नु झनै ठूलो समस्या हो । तैपनि हामीसँग भारत, चीन वा बाङ्लादेशसँग प्रतिस्पर्धा गर्ने क्षमता भने छ ।

सुमना श्रेष्ठः विदेशी कम्पनीलाई नेपालमा लगानी गर्न खुला छाड्ने वा नछाड्ने निर्णय लिनुअघि सरकारले कुन क्षेत्रमा लगानी चाहिने वा नचाहिने भन्ने निर्धारण गर्नुपर्छ । विदेशबाट ब्रान्डेड कम्पनी आएर लगानी गर्दा सीमित स्रोतसाधन र सानोस्तरमा काम गरिरहेका नेपाली कम्पनीहरूले प्रतिस्पर्धा नगर्न सक्छन् ।

आवश्यक परे विदेशबाट आयात हुने वस्तुमा बढी कर लगाएर निरुत्साहित गर्दै स्वदेशी उद्यमलाई प्रोत्साहन दिन सकिन्छ ।

असगर अलीः नेपाली कम्पनीले विदेशमा ब्रान्डिङ गर्ने अवसर नै पाएका छैनन् । हामी सबै कुरामा उपभोक्ता मात्र बन्यौं र कुन देशबाट सस्तोमा सामान आउँछ भन्नेमा मात्र ध्यान दियौं । विदेशी सामान ल्याउन सहज बनाए हामी सधैं उपभोक्ता मात्र बनेर बस्नुपर्ने भएकाले स्वदेशी उद्यमलाई केही नीतिगत संरक्षण पनि चाहिन्छ ।

आयातलाई निरुत्साहित गर्न सकिन्छ । नेपालमा कृषि सम्भावना भएकाले पहिलो काम किसानका उत्पादन बिक्री गर्ने बजार निर्माण गरिदिनुपर्छ । त्यसपछि मात्रै उत्पादन भइरहेका वस्तुलाई कसरी बिक्री र ब्रान्डिङ गर्ने भनेर काम गर्न सकिन्छ ।

नेपालमा नयाँ उद्यम गर्नेहरूको सामाजिक प्रतिष्ठा कस्तो छ ?

सनम चित्रकारः नयाँ उद्यम शुरु गरे लगत्तै समाज र परिवारले तत्काल त्यसको प्रतिफल खोज्ने चलनले दबाब बढी पर्छ । अर्कातिर, सबै नयाँ उद्यम सफल नभए पनि प्रतिष्ठाको दबाबका कारण उद्यमीहरूले काम छोडेर अन्य व्यवसायमा जान सकिरहेका छैनन् । उद्यमको सामाजिक प्रतिष्ठा राम्रै भएकाले अहिले उद्यम गर्छु भन्नेहरू बढेका छन् ।

तर, समस्या के छ भने, अधिकांश नयाँ उद्यमीहरूले लगानी नै नपाएको गुनासो गर्छन् । लगानी पाइहाले पनि बजार व्यवस्थापन र अनुसन्धान दोस्रो समस्याका रुपमा देखिने गरेको छ । साथै, कम्पनी सञ्चालन गर्न चाहिने आधारभूत प्रक्रिया, व्यवस्थापन लगायतका समस्या पनि छन् ।

समिता कपालीः उद्यम गर्नासाथ प्रशस्त आम्दानी हुने, सेवासुविधा राम्रो हुने सोच समाजमा व्याप्त छ । तर, उद्यमको शुरुको अवस्थामा सबै हिसाबले कठिन हुन्छ । धेरै ठाउँमा अन्तरक्रियाका सहभागीहरूले उद्यमी बन्न चाहनुको कारण राम्रो आम्दानी हुन्छ भन्ठानेको भेटेको छु । तर, अपेक्षा र यथार्थ एकदमै फरक हुन्छ ।

उद्यममा आइरहेका नयाँ–नयाँ सिर्जनशील सोचहरूको व्यावसायिक विस्तार कस्तो छ ?

शिक्षित भट्टः अहिले भइरहेका कामहरूलाई आधार मान्दा आउँदो पाँच वर्षभित्र हामी उद्यमशीलताको विश्व बजारमा पुग्छौं । ‘सिलिकन भ्याली’ मार्फत अहिले भइरहेको विकास कुनै न कुनै रुपमा हामीसँग जोडिन्छ । अहिलेको चिन्ता कस्तो नयाँ उद्यमलाई प्रोत्साहित गर्ने भन्ने हो । स्थानीय कम्पनीलाई सिलिकन भ्यालीका ठूला कम्पनीको स्तरमा पुर्‍याउने वातावरण बनाउनुपर्छ ।

नेपालमा कृषि, इन्जिनियरिङ, ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स आदि क्षेत्रमा भइरहेका कामले उद्यमशीलतामा नयाँ आधारहरू खडा गरेका छन् । तर, अमेरिका लगायतका देशमा जुन मोडलमा उद्यम सञ्चालन भइरहेको छ, नेपालमा पनि त्यही मोडल अपनाउन खोज्दा लामो समय टिक्दैन ।

नेपालमा उद्यमी मात्र बनेर बस्न सकिने अवस्था छैन, नीतिनिर्माणको तहमा सरकारले राम्ररी काम नगरेका कारण उद्यमीहरू सामाजिक अभियन्ता पनि हुनुपर्ने बाध्यता छ ।

सुमना श्रेष्ठः कतिपय नयाँ उद्यमहरूले कृषि प्रविधिको क्षेत्रमा काम गरिरहेका छन् । तर, हाम्रो घरेलु बजार बाहेक तेस्रो मुलुकका मानिसलाई लक्षित गरेर बृहत् रुपमा काम गर्न सकेका छैनौं । विदेशबाट नयाँ काम सिकेर फर्किएकाहरूको सीप र क्षमता पहिचान गरेर उद्यमशीलताको विकास गर्न सकिएको छैन । नवीनतम सोचमा मात्र विविधता भएर हुँदैन, लगानी र ती सोच कार्यान्वयन आदिमा पनि विविधता चाहिन्छ ।

नवीनतम उद्यमलाई प्रोत्साहन गर्न कस्तो सरकारी नीति चाहिन्छ ?

असगर अलीः स्वदेशी कम्पनी र उद्यमशीलतालाई सरकारले प्राथमिकता दिनुपर्छ । सरकार आफैं ठूलो उपभोक्ता भए पनि त्यसतर्फ लक्षित गरी नेपाली उद्यमीहरूले सेवा दिन सकिरहेका छैनन् । जस्तै, सूचनाप्रविधिको क्षेत्रमा सरकारले वार्षिक रु.२० अर्बसम्मको सेवा खरीद गर्छ, जसमा नेपाली कम्पनीहरूले सफ्टवेयरमा सेवा दिनसक्छन् ।

यसका लागि सरकारले नेपाली कम्पनीलाई नै प्राथमिकता दिनुपर्छ । नेपाली कम्पनीलाई विश्वबजारमा धक फुकाएर जान पनि पहिले देशभित्रै कामको अवसर सिर्जना गर्नुपर्छ । यसमा सरकारले ठोस कामको तयारी गरेको छ ।

गएको वर्ष सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्न रु.२ अर्ब ६० करोड छुट्याएको थियो । तर, खर्च नै हुन नसकेपछि यो वर्ष रकमै छुट्याइएको छैन । त्यसैले, उद्यमशीलताको काम गर्न सरकारले बोर्ड गठन गर्नुपर्छ भनेको हुँ ।

सुसम राजभण्डारीः नेपाली उद्यमीलाई एकै पटक विश्वबजारमा प्रतिस्पर्धा गर्न सजिलो छैन । त्यसैले स्थानीयस्तरमा उद्यमशीलताको विकास र विस्तारमा हस्तक्षेपकारी काम गर्नुपर्ने हुन्छ । त्यसका लागि स्थानीयस्तरका जनशक्तिहरूको परिचालन गर्नुपर्छ ।

स्नातक तहमा पुग्नेबित्तिकै विद्यार्थीलाई उद्यमशीलतातिर प्रवर्द्धन गर्न सकियो भने राम्रो वातावरण बन्न सक्छ । तर, कलेजहरूले कर्पोरेट, ब्याङ्क वा बीमा कम्पनीमा जानुपर्छ भनेर शिक्षा दिइरहेका छन्, उद्यमशील बन्ने चेत दिइरहेका छैनन् ।

सुमना श्रेष्ठ: कलेजले शुरुदेखि नै उद्यमी बन्नुपर्छ भनेर त सिकाइरहेको हुन्छ तर शिक्षा दिने वेलामै सीप सिकाउनुपर्ने पाटोलाई बिर्सिएको छ । सफल उद्यमी बन्नुअघि कुनै निश्चित सीप सिक्नुपर्ने हुन्छ । यद्यपि कम उमेरमा नै उद्यमी बन्न खोज्ने चाहनाले असफल बनाउन सक्छ ।

अनुसन्धानहरूले उद्यम–व्यवसायमा २४ वर्षका युवाहरूभन्दा ४० वर्ष पुगेकाहरू बढी सफल भएको देखाएको छ । ४० वर्ष पुगेका व्यक्तिले केही सीप सिकिसकेका हुन्छन् र व्यवसायबारे गहिरोसँग बुझेर समस्या समाधान गर्न सक्ने खूबी पनि हासिल गरेका हुन्छन् ।

विद्यार्थीलाई उद्यमी नै बन्नुपर्छ भनेर दबाब दिनुहुँदैन । शैक्षिक संस्थाले सिकाइ शैली नै परिवर्तन गर्नुपर्ने देखिन्छ । शुरुमा राम्रो म्यानेजर कसरी बन्ने भन्दा पनि राम्रो काम गर्ने कर्मचारी कसरी बन्ने भनेर सिकाउनुपर्छ ।

समिता कपालीः हाम्रो शिक्षा प्रणालीमा समस्या भएकाले त्यसलाई सुधार गर्नुपर्छ । कक्षा १२ को अध्ययन पूरा गरेका युवामा पनि शारीरिक श्रम गर्न नखोज्ने र सुविधाजनक काम खोज्ने प्रवृत्ति छ । सिकाउने वेलामा शारीरिक श्रमलाई महत्व दिइएन । सामान डेलिभरी गर्ने जस्ता काम उनीहरूको प्राथमिकतामा पर्दैन, जबकि अवसर भने मिहिनेत गर्नुपर्ने क्षेत्रमै छ ।

लगानीको अभाव, कानूनी अप्ठ्यारा तथा काम गर्ने संस्कार लगायतका कारण उद्यमशीलताको विस्तार हुन नसकेको भनिरहँदा यसबीचमा नयाँ उद्यम पनि आइरहेका छन् । उनीहरूलाई के कुराले प्रेरित गरिरहेको छ ?

शिक्षित भट्टः नेपालमा नयाँ उद्यम थाल्दा शुरुमै सरकारी अवरोध भोग्नुपर्छ । कानूनी तगारो हेरेर काम नै नथाल्ने कि जे पर्ला गरेर हेरौं भनेर जोखिम मोल्ने दुई विकल्पमध्ये एक रोज्नुपर्ने अवस्था छ । मैले दोस्रो विकल्प रोजेको हुँ ।

टुटल शुरु गरेपछि मानिसहरूले रोजगारी पाए र सर्वसाधारणले यसलाई सहज यातायातको अंगका रूपमा स्वीकारे । नेपालका नीतिहरू माथिदेखि तल (टप डाउन) अवधारणामा बनेका कारण तिनमा खोट छ । आफैंलाई काम गर्न प्रेरित गर्नेहरूले नयाँ उद्यम सिर्जना गरिरहेका छन् ।

सनम चित्रकारः युवाहरूमा जसरी हुन्छ, नयाँ काम गर्ने भन्ने मानसिकताको दबाब छ । नवीनतम उद्यमको मुख्य उद्देश्यमध्ये समस्याहरूको समाधान पनि एक हो । त्यस्ता परियोजनामा युवाहरूको धेरै आकर्षण छ ।

सुसम राजभण्डारीः सबै जना उद्यमशीलता बुझेरै यस क्षेत्रमा लागेका छन् भन्ने छैन । अर्कातिर, कुनै समस्या समाधान गर्नुपर्छ भनेर उद्यमी बन्न खोज्नेहरू पनि छन् ।

शिक्षित भट्टः ‘स्टार्टअप’ ले सधैं समस्याको समाधान गर्नैपर्छ भन्ने छैन । यसले मानिसको व्यवहार परिवर्तन गर्न सके पनि राम्रो कुरा हो । नेपालमा पुस्तैनी व्यवसायमा संलग्नहरू धेरै सफल छन् । नयाँ र पूँजी नभएका उद्यमीलाई संघर्ष गरेर सफल हुन सजिलो छैन ।

‘स्टार्टअप’ अबको पाँच वा १० वर्षपछि मुलुकको अर्थतन्त्र उकास्ने इन्जिन बन्ला ?

शिक्षित भट्टः केही समयअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजन, फेसबूक र गुगलको आकार ट्रिलियन डलरको हुने आकलन गरेका थिए । सूचनाप्रविधिसँग सम्बन्धित कम्पनीले संसारभरिको अर्थतन्त्रमा मुख्य योगदान गरिरहेका छन् ।

टुटलको उदाहरण दिएर भन्दा विगत तीन वर्षयता ३० हजारले रोजगारी पाइसकेका छन् । प्रविधिमा नयाँ उद्यम आइरहँदा नेपालमा डिजिटल कारोबारको सम्भावना थप बढेको छ । यही रूपमा डिजिटल फड्को मार्ने क्रम जारी रहने हो भने यसले अर्थतन्त्रमा ल्याउने परिवर्तन अभूतपूर्व हुनेछ ।

असगर अलीः सरकारले नवीन सोच र प्रविधि सम्बन्धी काम गर्ने उद्यमशीलताको संरक्षण र सहजीकरण गरे स्टार्टअप मुलुकको अर्थतन्त्र उकास्ने इञ्जिन बन्न सक्छन् । नेपाली बजारको आकारले पनि नयाँ उद्यम अर्थतन्त्रको मुख्य हिस्सा बन्ने अवसर छ । डर चाहिं विदेशी कम्पनीले स्वदेशी उद्यमशीलतामा असर गर्छ कि भन्नेमा छ । 

सुमना श्रेष्ठः अबको प्रतिस्पर्धा प्रविधिका प्रतिभाको हुनेछ । प्रविधि सम्बन्धी काम गर्न कुनै ठूलो पूर्वाधार नै चाहिंदैन । काम गर्ने राम्रो वातावरण भयो भने कम लगानीमा पनि विश्वबजारमा पुग्न सकिन्छ ।

सनम चित्रकारः उद्यमशीलताबाट नतिजा निकाल्ने गरी काम गर्न सकिने सम्भावना धेरै छ । सरकारले उद्यमशीलता विस्तार गर्न नीतिगत सहजीकरण गरिदिनुपर्छ । कृषि क्षेत्रका लागि आधारभूत पूर्वाधार निर्माण गरिदियो भने किसान र उद्यम गर्नेहरूलाई धेरै राहत मिल्थ्यो ।

समिता कपालीः कृषि क्षेत्रको प्रवर्द्धन गर्न सरकारले सघायो भने राम्रो नतिजा निकाल्न सकिन्छ । कृषि उत्पादन वृद्धिमा सरकारले केही सहयोग गरे पनि बजारीकरण गर्ने काम भएको छैन ।

उदाउँदा ‘स्टार्टअप’ उद्यम, बन्ला त अर्थतन्त्रको अंश ?

 

 

प्रतिकृया दिनुहोस