समाचार सोमबार, पुस १४, २०७६

स्वार्थको द्वन्द्व देखिने प्रमाण लुकाएर नमस्ते ग्लोबललाई एमडीएमएसको ठेक्का

रामु सापकोटा

स्वार्थको द्वन्द्व देखिने प्रमाण लुकाएर नमस्ते ग्लोबललाई एमडीएमएसको ठेक्का

नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ठेक्का पाउने सिंगापुरको नमस्ते ग्लोबल कम्पनीको स्वार्थको द्वन्द्व देखिएको छ ।

भन्सार छलेर अवैध बाटोबाट नेपाल आयात गरिएका र चोरीका मोबाइल सेटहरू नियन्त्रण गर्ने भन्दै प्राधिकरणले सञ्चालन गर्न लागेको एमडीएमएसको ठेक्का पाएको नमस्ते ग्लोबल प्रालि कम्पनीको स्वार्थको द्वन्द्व देखिएको हो ।

नमस्तेले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिसँग भ्वाइस ओभर प्रोटोकल (भीओआईपी) को काम गर्न विभिन्न मितिमा रकम कारोबार गरेका विववरणहरू फेला परेका छन् ।

भीओआईपीको काम अन्तर्गत नमस्तेले स्मार्टलाई अन्तर्राष्ट्रिय कल ट्रान्सफर गर्ने र त्यसबापत स्मार्टबाट रकम लिने गरेको विवरण भेटिएको हो ।

हिमाल लाई प्राप्त दुई कम्पनीबीच भएको आर्थिक वर्ष २०७४\७५ को कारोबार सम्बन्धी अडिट रिपोर्ट अनुसार स्मार्ट टेलिकमले नमस्ते ग्लोबलसँग १६ जुलाई २०१७ मा रु. एक करोड ३४ लाख २७ हजार ४८३ लिन बाँकी रहेको देखिन्छ ।

२५ जुलाई २०१७ देखि १ जुलाई २०१८ सम्ममा विभिन्न पटक नेपाल इन्भेष्टमेन्ट ब्यांकमार्फत कारोबार भएको र त्यसपछि १६ जुलाई २०१८ सम्ममा स्मार्टले नमस्तेसँग रु. १३ लाख ५३ हजार ८३४ लिन बाँकी रहेको देखिएको छ ।

यसरी दुई कम्पनीबीच भएको कारोबारले स्वार्थको द्वन्द्व भएको प्रष्ट देखाउँछ । यस्तो अवस्थामा पनि दूरसञ्चार प्राधिकरणले १९ असार २०७६ मा नमस्ते ग्लोबलसहितका थप दुई जेभी कम्पनीसँग रु. ७६ करोड ८० लाख २९ हजार ३८७ बराबरको ठेक्का सम्झौता गर्‍यो ।

प्राधिकरणले नमस्ते र स्मार्ट टेलिकमबीच भएको अन्तर्राष्ट्रिय कल ट्रान्सफर गर्नेसम्बन्धी सम्झौता पत्रलाई लुकाएर उक्त ठेक्का दिएको खुलेको छ ।

उजुरी र अन्तर्राष्ट्रिय विज्ञको रायको आधारमा भन्दै प्राधिकरणले मोबिलियन ट्रेड इन्टरनेशनल प्रालि, ग्रिन आईटी सोलुसन्स् प्रालि र इन्फ्रा डाटा एनभीको जेभीलाई अयोग्य बनाएर एमडीएमएसको ठेक्का अर्को परामर्शदाता मलेशियाको न्यूमेरा एसडीएन बीएचडी, भारतको ओएसआई कन्सल्टिङ प्रालि र सिंगापुरको नमस्ते ग्लोबलको जेभीलाई दिने निर्णय गरेको थियो ।

कम्पनी छनोट गर्ने क्रममा मोबिलियनले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज कार्ड बिक्री गर्ने गरेको र त्यसैकारण स्वार्थको द्वन्द्व देखिएको भन्दै प्राधिकरणले उक्त कम्पनी छनोटका लागि अयोग्य ठहर गरेको थियो ।

हिमालले यसअघि नै नमस्ते ग्लोबमा अवैध कल बाइपासको आरोपमा पक्राउ परेका नेपाली नागरिक कविन्द्रराज मल्लको गैरकानूनी लगानी रहेको खुलासा गरिसकेको छ।

मल्लसहित थप तीनजनाको अवैध कल बाइपाससम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । तर, यही ऐन विपरीत हुने नेपाल अवैध कल बाइपासको मुद्दा खेपिरहेका मल्लले नमस्ते ग्लोबलमा ५०० अमेरिकी डलर लगानी गरेका छन् ।

स्मार्टले नमस्तेसँग भएका कारोबारबारे लेखा परीक्षणसम्बन्धी रिपोर्ट अर्थ मन्त्रालयको ठूला करदाता कार्यालय ललितपुरमा बुझाएको थियो ।

दूरसञ्चार प्राधिकरणबाट ठेक्का पाएको कम्पनीमा अवैध लगानी

एमडीएमएस ठेक्का पाउने मलेशियाको कम्पनी निलम्बित

व्यक्तिगत गोपनीयता धरापमा पार्ने दूरसञ्चार प्राधिकरणकाे रु.१ अर्बको ठेक्का

 

 

प्रतिकृया दिनुहोस