ग्रामीण क्षेत्रमा सडक भए पनि यातायातका साधन छैनन्, बजार भए पनि पहुँच छैन, उत्पादन भए पनि मूल्य छैन। यस्तो अवस्थामा विकास भन्ने शब्द केवल शहरकेन्द्रित दृष्टिकोणमा सीमित हुन्छ, जहाँ गाउँ केवल आपूर्ति गर्ने ठाउँ बन्छ; निर्णय गर्ने ठाउँ कहिल्यै बन्न सक्दैन।
नाम: शिवप्रसाद खनाल
उमेर: ५४ वर्ष
ठेगाना: आरुघाट–८, गोरखा
शिक्षा: लेखपढ गर्न सक्ने
पेशा: खेतीकिसानी
रुचि: समाचार हेर्ने तथा सुन्ने
मेरो बुवाको परिचय यति छोटा शब्दमा लेख्न सकिन्छ। तर, यी शब्दभित्र एउटा पूरा जीवनको कथा लुकेको छ। यही कारण यो ‘ब्लग’ लेख्दै गर्दा मेरो दिमागमा बारम्बार एउटा वाक्य आइरहेको छ— “मेरो बुवालाई चिन।”
यो ‘ब्लग’ लेख्नुको उद्देश्य व्यक्तिगत मात्र होइन। म चाहन्छु, नयाँ सरकारले मेरो बुवाजस्तालाई चिनोस्। किनकि देशको अर्थतन्त्र, गाउँको जीवन र हाम्रो भविष्य यस्तै साधारण मानिसको काँधमा टिकेको छ।
बुवाको जीवनको आधा उमेर वैदेशिक रोजगारीमा बित्यो। धेरै नेपालीका लागि विदेशमा बिताएको समय उपलब्धिको कथा हुन्छ। तर, बुवाले कहिल्यै त्यसलाई उपलब्धि मान्नुहुन्न। उहाँका लागि त्यो परिस्थितिले बाध्य बनाएको यात्रा मात्र थियो।
पहिलो पटक बुवा मलेसिया गएर फर्किएपछि गाउँमै केराखेती सुरु गर्नुभएको थियो। तर, सोचेजस्तो परिणाम नआएपछि बुवा फेरि मलेसिया जानुभयो। त्यसबेला न हाम्रो गाउँ सडकसँग जोडिएको थियो, न त बिजुलीलगायत आधारभूत आवश्यकता उपलब्ध थिए। न उत्पादित वस्तु बेच्ने बजार थियो, न त मूल्य।
सायद स्कूल पढ्दै गरेका हामी दुई छोरी र काखमा हुर्किरहेकी सानी बहिनीको भविष्य सोचेर बुवा फेरि मलेसिया फर्किनुभयो होला। बाल्यकाल हामीले बुवाको भौतिक उपस्थितिबिना नै बितायौँ। मलाई याद छ— म सात कक्षा पढ्ने बेला मलेसियाबाट बुवा छुट्टी लिएर आउँदा मलाई दुई दिनसम्म ‘घरमा को मान्छे आयो’ भन्ने महसुस भएको थियो। त्यो बेला न अहिलेको जस्तो भिडियो कल हुन्थ्यो, न त नियमित फोनमा कुरा नै हुन्थ्यो।
अहिले बुवा गाउँमै हुनुहुन्छ। घरबारीमै उहाँको सानो नर्सरी छ। त्यहाँ डालेघाँसका साथै अन्य प्रजातिका घाँसका बिरुवा र फलफूलका बिरुवा उत्पादन गरिन्छ। बिहानदेखि बेलुकासम्म कम्तीमा १२ घण्टा बुवा बारीमै भेटिनुहुन्छ।
यो नर्सरी सुरु गर्नुअघि पनि बुवाले कृषिमा धेरै प्रयास गर्नुभएको थियो। गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास उहाँले कहिल्यै छोड्नुभएन। त्यो विश्वास अझै पनि बुवामा छ। हजुरआमाले बताएअनुसार बुवालाई घरमा फलफूलका बिरुवा लगाउन सानै उमेरदेखि मन पर्थ्यो। बुवाले आफ्नो किशोरवयमा लगाएको रुखकटहर हामी अहिले पनि खाँदै छौँ। सन् २०१६ तिर म बिरामी परेँ। त्यो बेला बुवा विदेशमै हुनुहुन्थ्यो। भिसा सकिन नपाउँदै उहाँ नेपाल आउनुभयो। हामीले फेरि विदेश फर्किन दिएनौँ। सायद त्यो नै उहाँको जीवनको अर्को मोड थियो।
त्यसपछि बुवाले गाउँमै कुखुरापालन सुरु गर्नुभयो। सुरुआत राम्रो थियो। बिस्तारै व्यवसाय बढ्दै गयो। तर, गाउँमा खेती वा पशुपालन गर्नु जति सजिलो देखिन्छ, वास्तविकता त्यति सरल छैन। त्यति बेलासम्म हाम्रो गाउँमा सडक थियो र बत्ती पुगिसकेको थियो। यद्यपि, बजारको अनिश्चितता, दानाको बढ्दो मूल्य, रोगको जोखिम र जंगली जीवजन्तुको आक्रमण— यी सबैसँग संघर्ष गर्दै बुवाले कुखुरापालन व्यवसाय अगाडि बढाउनुपऱ्यो। धेरै पटक नाफाभन्दा घाटा बढी भयो। तर, पनि बुवाको मिहिनेत गर्ने बानीमा कहिल्यै कमी आएन।
कोभिडकालका बारेमा सबैलाई थाहै छ। त्यसपछि बुवाले कुखुरापालनबाट हात झिकेर केरा र कफीसँगै नर्सरी सुरु गर्नुभयो। सार्वजनिक यातायातबिनाको सडक के काम? डोकोमा आफैँ केरा बोकेर बुवा र ममी बजार पुग्नुहुन्थ्यो। तर, मूल्य? एक दर्जन केराको धेरैमा ३० देखि ४० रुपैयाँ। एक घण्टाको ओरालो–उकालो गरेर घर फर्कँदा लगभग रित्तो हात। त्यही केरा हामीले बजारमा किन्दा दर्जनको १२० रुपैयाँ पर्छ। जसले वर्षभरि मिहिनेत गर्छ, उसको हात खालीजस्तै।
तर, पनि बुवा र बुवाजस्ता किसानहरूले हिम्मत हारेका छैनन्। अहिले पनि बुवा वर्षमा एक पटक आफ्नो नर्सरीमा उत्पादन भएका घाँसका बिरुवा बेच्न फरक–फरक गाउँपालिका जानुहुन्छ। अचेल भने हाम्रो गाउँपालिकाले पनि यसमा सहजीकरण गरिदिएको छ।
अर्को कुरा, गाउँमा मान्छेभन्दा धेरै बाँदर छन्, तिनका लागि जंगलमा खानेकुरा छैन। हरदिन बारीमा केरा र कफी कुरेर नबसे बाँदरको बथान छिरेर भुसुक्कै पारिदिन्छ। आधा घण्टामा बारी रित्याइदिन्छ।
यस पटक चुनावमा जति नेपालीमा उत्सुकता थियो, त्यति नै छिमेकी देशका साथीहरूमा पनि थियो। पढाइका लागि अहिले म भारतमा छु। कलेजमा हाम्रो चुनावबारे धेरै चर्चा भएपछि पत्रकारिताका विद्यार्थीले चासो राख्नु स्वाभाविकै हो। बालेन्द्र शाह प्रधानमन्त्री हुने भएपछि साथीहरूले भने— “यत्तिको युवा प्रधानमन्त्रीमा आउने भएपछि अब तिमीहरूको देशमा विकास हुन्छ।”
तर, म त्यो पल काठमाडौँका फरक–फरक ठाउँबाट उठाइएका ससाना व्यापारीका अनुहारलाई सम्झिरहेकी थिएँ— आँसुले भिजेका उनीहरूका आँखा, सडकभरि छरिएका तरकारी, कहिल्यै फिर्ता नआएका ठेलागाडाहरू। सांसदमा उठेका अन्य केही उम्मेदवारहरूले बोलेका कुरा याद गरिरहेकी थिएँ— “पैसा नहुने मान्छे राजनीतिमा आउने होइन।” यस्तो वाक्यले मलाई हल्लायो। किनकि, मेरो बुवाजस्तै किसानहरू सत्तामा पुग्न खोजिरहेका छैनन्। तर, देशलाई जोगाइराख्ने काम भने उनीहरूले नै गरिरहेका छन्।
हामीले अर्थतन्त्रलाई प्रायः ठूला उद्योग, विदेशी लगानी वा शहरका चम्किला भवनहरूमा मात्र देख्छौँ। तर, वास्तविक अर्थतन्त्र त खेतबारी, डोका र सडक किनारामा चलिरहेको हुन्छ। मेरो बुवाजस्तै किसानहरूले देशलाई खाना दिन्छन्, गाउँलाई जोगाइराख्छन् र परनिर्भरता घटाउँछन्। तर, आफ्नो श्रमको मूल्य निर्धारण गर्ने अधिकार भने उनीहरूसँग छैन।
त्यसैगरी, सडक किनारमा तरकारी बेच्ने ती व्यापारीहरू जसलाई ‘अव्यवस्थित’ भनेर हटाइन्छ, उनीहरूले शहरलाई सस्तो खाना उपलब्ध गराइरहेका हुन्छन्। उनीहरू नहुँदा शहरमा बस्ने सामान्य मानिसको दैनिक जीवन महँगो र कठिन बन्छ। तर, हाम्रो नीति र व्यवहारमा उत्पादन र वितरण गर्ने— सबैभन्दा महत्त्वपूर्ण यी मानिस सधैं सबैभन्दा कमजोर बनाइएका छन्।
यो संरचनागत अन्याय हो, जहाँ मूल्य सिर्जना गर्ने र मूल्य पाउनेबीच दूरी छ। किसानले उत्पादन गर्छ, तर मूल्य बिचौलियाले तोक्छ। सडक व्यापारीले वितरण गर्छ, तर उनीहरूको वैधता राज्यले अस्वीकार गर्छ। उत्पादन गर्ने मान्छे सधैं जोखिम बोक्छ। मौसम बिग्रियो, घाटा। बजार खस्कियो, घाटा। नीति बदलियो, घाटा। तर, फाइदा हुने संरचना सधैं माथिल्लो तहमा केन्द्रित हुन्छ।
ग्रामीण क्षेत्रमा सडक भए पनि यातायातका साधन छैनन्, बजार भए पनि पहुँच छैन, उत्पादन भए पनि मूल्य छैन। यस्तो अवस्थामा विकास भन्ने शब्द केवल शहरकेन्द्रित दृष्टिकोणमा सीमित हुन्छ, जहाँ गाउँ केवल आपूर्ति गर्ने ठाउँ बन्छ; निर्णय गर्ने ठाउँ कहिल्यै बन्न सक्दैन।
अझ गम्भीर कुरा के छ भने, जब साना व्यवसायी र किसानलाई व्यवस्थापनका नाममा हटाइन्छ वा नियमनको बहानामा थिचिन्छ, तब साँचो अर्थमा राज्यले आफ्नै अर्थतन्त्रको मेरुदण्डलाई कमजोर बनाइरहेको हुन्छ। त्यसैले प्रश्न अब केवल किसानलाई सहयोग गर्ने कि नगर्ने होइन, प्रश्न— ‘के हामी अर्थतन्त्रलाई वास्तवमै बुझिरहेका छौँ वा केवल माथिबाट देखिएको चमकलाई नै विकास ठानिरहेका छौँ?’
म फेरि त्यही वाक्यमा फर्किन्छु, जुन यो लेखभरि मेरो मनमा घुमिरह्यो— “मेरो बुवालाई चिन।” मेरो बुवा कुनै अपवाद हुँदै हुनुहुन्न। उहाँजस्ता हजारौँ किसान, मजदूर र साना व्यवसायी छन्, जसले चुपचाप यो देश धानेका छन्। उनीहरू नीतिका भाषणमा कम देखिन्छन्, तर वास्तविक अर्थतन्त्र उनीहरूको पसीनामा बगिरहेको हुन्छ। उनीहरूविना शहर चल्दैन, बजार चल्दैन र देश पनि चल्दैन। तर, विडम्बना के छ भने उनीहरू नै सधैं प्राथमिकताको अन्तिममा पर्छन्।
नयाँ सरकारले विकासको अर्थ बुझ्न चाहन्छ भने ठूला योजनाको घोषणा गरेर मात्रै पुग्दैन, किसान र साना व्यवसायीहरूको जीवनको यथार्थ बुझ्नुपर्छ। त्यो यथार्थ— जहाँ उत्पादन हुन्छ तर मूल्य पाइँदैन, जहाँ श्रम हुन्छ तर सुरक्षा हुँदैन, जहाँ योगदान हुन्छ तर पहिचान हुँदैन। विकास केवल जीडीपीको अंक होइन, न त केवल शहरको विस्तार हो। विकास त्यो हो, जहाँ किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ, जहाँ सडक व्यापारीले आफ्नो ठेला जोगाइराख्न डराउनुपर्दैन, जहाँ श्रम गर्ने मान्छेले सम्मान पाउँछ।
म बारम्बार यही प्रश्न गर्छु— ‘के राज्यले आफ्नो मेरुदण्डलाई चिन्छ?’ चिन्छ भने उसले किसानलाई केवल सहायता लिनुपर्ने वर्ग होइन, अर्थतन्त्रको मुख्य निर्माता भनेर स्वीकार गर्नेछ। उसले नीति बनाउँदा उनीहरूको आवाज समावेश गर्नेछ, उनीहरूको जोखिम घटाउनेछ र उनीहरूको श्रमको मूल्य सुनिश्चित गर्नेछ।
त्यसैले म चाहन्छु, नयाँ सरकारले मेरो बुवाजस्ता सामान्य मानिसलाई देखोस्/चिनोस्।