ऐतिहासिक कालमा नेपालमा स्वतन्त्र राज्य सञ्चालन गरेका मगर जातिको सिक्किम र भूटानमा समेत मगरजोङ अर्थात् मगर राज्यको अस्तित्व रहेको प्रमाणहरू भेटिएका छन्।
सञ्जोग लाफा मगर
इतिहासकार मोहनबहादुर मल्लले काठमाडौं उपत्यकामा ६६६ वर्ष शासन गर्ने गोपाल र महीपालवंशी नै मगर जातिका हुन् भनी लेखेका छन् (सिजा इतिहासको डोरेटो , २०३३, राजकीय प्रज्ञा प्रतिष्ठान)। गोरखा राज्य विस्तारअघि गण्डक र खाम क्षेत्र मगर राज्य अर्थात् मगरात थियो भनेर इतिहासमा लेखिएको छ। बारपाकका घलेहरू गोर्खाली राजालाई ‘मगरका राजा’ भन्थे। (सुजित मैनाली, शिलान्यासः नेपाल निर्माणको नालीबेली, २०७५) पृथ्वीनारायण शाह स्वयंले आफूलाई ‘मै मगरातको राजा हुँ’ भन्थे। अनुसन्धाता डा. हर्षबहादुर बुढाले ‘किरात वंश र मगरहरू एक ऐतिहासिक सर्वेक्षण’ मा शाहवंशलाई मगरसँग जोडेका छन्। डोरबहादुर विष्ट, ऋषिकेश शाह, एमएस थापा मगर, प्रदीप थापा मगर जस्ता अध्येताहरूले पृथ्वीनारायण शाहलाई मगर समुदायको रूपमा चिनाउन खोजेका छन्। (लाफा‚ अंक ४, १९९५)
‘न्याय नपाए गोर्खा जानू’ भन्ने चर्चित उक्तिको श्रेय गोर्खाली राजालाई दिइए पनि निष्पक्ष न्याय सम्पादनमा भूमिका खेल्ने कानून मन्त्री गंगाराम राना मगरका कारण यो आहान फैलिएको थियो भन्ने तथ्य लुकाइन्छ। विसं १६१६ भाद्र वदी‚ ८ रोज ४ मा लिगलिगकोटको राजा भएपछि द्रव्य शाहले गंगाराम राना मगरलाई न्याय विभागका प्रमुख बनाए। (बस्न्यात प्रेमसिंह, नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म, २०७१/७२) इमानदार, निष्पक्षता र कुशल कार्यसम्पादनका कारण पृथ्वीनारायण शाहले मगर जातिलाई न्याय विभागको अभिभारा दिनु भनेका हुन्। दिव्योपदेशमा उनी भन्छन्, ‘उप्रान्त टक्सार पनि चोषो चलाउनू। अदालथ पनि ठकुरी जाँचि डिष्ठा राष्नू, मगर जाचि विचारी थाप्नू। कचहरी पिछे यक्यक् पण्डित राषी निञाशास्त्र बमोजिम अदालथ चलाउनू।’ नेपाली इतिहास लेखन राजाको गौरवगानमा लेखिएको हुनाले यस्ता तथ्य ओझेलमा परेको छ।
मगरलाई न्याय सम्पादनको जिम्मा दिने काम शाहकालभन्दा अगावै शुरू भएको देखिन्छ। इतिहासविद महेशराज पन्त भन्छन्, ‘मल्लकालमा पाटन दरबारमा न्याय सम्पादन गर्ने पञ्चभलादमी जसलाई पाञ्चाली प्रणाली भनिन्छ, यदि चार जना व्यक्ति राखिएको भए दुई जना मगर जातिबाट हुन्थे।’
द्रव्य शाहले गंगारामलाई न्याय सम्पादनको जिम्मा दिए झैं नारायण अर्ज्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाँडेलाई प्रशासन, भगीरथ पन्तलाई सेनापति र केशव बोहरालाई भूमि विभाग प्रमुख बनाए। यी ६ थरको सर-सल्लाहमा गोर्खा राज्य सञ्चालन हुन्थ्यो। पृथ्वीनारायण शाहको दिव्योपदेशमा बारम्बार आउने सुरथसिंह राना मगरलाई गोर्खा राज्यको ढुकुटीको चाबी जिम्मा दिइएको थियो। उनी कपरदार थिए। यी रानाकै काखमा पृथ्वीनारायण शाह हुर्किएकाले उनलाई ‘ददा’ भनिएको छ।
सामरिक दृष्टिले गुरुङ र मगर जाति गोर्खा राज्यको नेतृत्वदायी भूमिकामा देखिन्छ। पृथ्वीनारायण शाहको ‘गुरुङ र मगरलाई गौंडागौंडामा सुरक्षार्थ राख्नू’ भन्ने सैन्य रणनीतिक उपदेश त्यसैमा केन्द्रित छ। उनले भनेका छन्– ‘गुरुं मगर षानज्यादा भैयाद भारदार मिर उमराव पुराना पुराना जाची घुँडा गौंडामा राषनू। पुरुव पछिम्का षस बाहुनलाई दरबारमा पैठ नदिनू। क्यान भनौला बाहिडा मान्छयाले दरबारमा बिथिति गराउँछन्।’ काठमाडौं उपत्यकाका गौंडाहरू जस्तैः कीर्तिपुर, भैंसेपाटी, सामाखुसी वरपर मगर गाउँ नामकरण भएका थुप्रै पुराना बस्ती छन्। ती बस्ती गोर्खा राज्य विस्तारका क्रममा पृथ्वीनारायण र तिनका सन्ततिद्वारा सुरक्षा रणनीतिक अन्तर्गत राखिएको तर्क गरिन्छ। राजदरबारले यो रणनीतिलाई कालान्तरसम्म पछ्याएको छ। राजा महेन्द्रले भारतीय सीमामा गुरुङ र मगर जातिका सेवानिवृत्त गोरखा सेनाका परिवार राख्नुका पछाडि त्यही सैन्य रणनीतिले काम गरेको ठानिन्छ।
इतिहास भन्छ, भूटान नामक देशको सीमा सुरक्षार्थ सन् १६२४ मा गोर्खा राज्यबाट बिसुन थापा मगरको नेतृत्वमा ६० घर-परिवार भूटान पठाइएको थियो। भूटानका तत्कालीन राजा नवांग नामग्येलले गोर्खाका राजा राम शाहसँग भेटी सहयोग मागेपछि ती परिवार भूटान लगिएको थियो (बलराम पौड्याल, पर्दापछाडिको भूटान, २०८२)। यही विशेषताका कारण गोर्खा भर्तीमा इष्ट इण्डिया कम्पनीले सबैभन्दा पहिले आँखा लगाएको जाति हो, मगर। दुई सय वर्षभन्दा बढी भइसकेको गोर्खा भर्तीको रामकहानी नेपाली इतिहासको प्राथमिक जानकारी राख्ने सबैलाई थाहा छ।
देशी-विदेशी अध्येताहरूले मगर समुदायमाथि यथेष्ट अध्ययन नगरेका कारण देशको तेस्रो ठूलो जनसंख्या ओगट्ने मगर जातिबारे गहिरो सूचनाको अभाव छ। तथापि इतिहासका पानामा केही यस्ता तथ्यहरू भेटिन्छन्, जसले मगर समुदायबारे निकै कौतुहलता जगाइदिन्छ। त्यही कौतुहलता पछ्याउँदै म केही वर्षयता निरन्तर भारतका दार्जीलिङ, भाग्सु, देहरादून र सिक्किमको अध्ययन भ्रमणमा गइरहेको छु। त्यहाँ रहेको मगर जातिको ऐतिहासिकता सम्बन्धी अध्ययन-मनन गर्ने प्रयत्न गरिरहेको छु। यो आलेख सिक्किममा रहेका ‘मगरजोङ’हरूमाथि केन्द्रित छ।
मगरजोङ
मगर भाषामा जोङको अर्थ हुन्छ– किल्ला वा गढी। सिक्किममा जहाँजहाँ मगर बसे, त्यहाँत्यहाँ उनीहरूले जोङ निर्माण गर्दै राजकाज गर्न थाले। राज्यको अवधारणा जन्मिएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट बच्नका लागि गढीहरूको निर्माण गर्न थालेको विश्वास गरिन्छ। सिक्किममा मगरजोङ थुप्रै छन्। स्थानीय इतिहासकार सन्तोष आलेले आफ्नो अनुसन्धनात्मक पुस्तक (मगर जातिको इतिहास अनि संस्कृति सिक्किमको सन्दर्भमा, सन् २००३) मा सिक्किमका दश मगर जोङहरू– मङ्सारी, बर्थाङ-बर्फोक, रातेपानी कटेङ, कामराङ, फामताम, सुदुङलाखा, सल्डुङ गढी, किताम गढी, मगर दलाम, मगरथाङ (ठान) का बारेमा उल्लेख गरेका छन्। सन् १६०० तिर मङ्सारी मगर जोङमा मगर राजा सिन्तुपति सेनले राज्य स्थापना गरेर शासन गरेको र उनको शेषपछि अन्य स-साना मगर जोङहरू थपिएको आलेको अध्ययनको निचोड छ। उनी लेख्छन्, ‘पहिला सिक्किम राज्य अन्तर्गत पर्ने दार्जीलिङको सुकिया पोखरीमा पनि मगर जोङ छ। त्योसँगै भूटानमा समेत मगर जोङ र मोङ्ग्यार जिल्ला रहेको छ।’
अर्का अध्येता वासुदेव थापा ‘मगर जोङको मौखिक इतिहास सन्दर्भ सिक्किम र दार्जिलिङ’ विषयक कार्यपत्रमा ‘भारतीय पुरातत्त्व सर्वेक्षण विभागले सन् १९०४, सन् १९४० र सन् १९६१ मा सर्वेक्षण गर्दा पूर्व-सिक्किम र उत्तर-सिक्किमको जोङ र टिस्टा नदीको किनारतिर चार सयभन्दा अधिक छुरी, बञ्चरो, बज्र, खरी, बासिला, पाटा, फाली र छिनो जस्ता ढुंगाका हात-हतियारहरू भेटिएका’ लेखेका छन्। यी पुरातात्त्विक सामग्रीले मगरको ऐतिहासिकता र शासन प्रणालीको प्रमाणको रूपमा काम गरेको छ।
प्राप्त गरिएका यी अस्त्रका आधारमा केही अध्येताहरूले सिक्किममा मगर खानी खन्ने कामका निम्ति आएका हुन् कि भनी अनुमान पनि लगाउने गरेका छन्। खानी खन्न दक्षता हासिल गरेको मगर जातिले नेपालमा यो कामलाई पेशा बनाएको थियो। मगर समुदायमा फलाम/तामाका खानी उत्खनन गर्ने सिपालु व्यक्तिलाई आग्रे/आग्री भनिन्छ। कथन नै छ, ‘प्रायः मगर बस्तीमा खानी पाइन्छन्, खानी भेटिएका स्थानमा मगर बसोबास पाइन्छ।’ त्यसैले मगरका पुराना किंवदन्तीहरूमा आग्रेका कथा-कहानी जोडिएर आउँछन्। सिक्किमको रोङ खानी खन्दा मगरले प्रयोग गरेका सामग्रीहरू च्याखुँग, खानीशिरबुंगमा भेटिएका छन्। यी दुई गाउँमा मगर बसोबासको प्रधानता छ।
सिक्किमको ऐतिहासिकता
सिक्किममा पहिला आगमन गर्ने जाति लेप्चा हुन् भनिन्छ। समकालीन जातिहरू मगर र लिम्बू हुन् भनिएको छ। सन् १८५५ तिर सिक्किमका जातिबारे अध्ययन-अनुसन्धान गरेका वनस्पतिविज्ञ जोसेफ हुकरले (दि हिमालयन जर्नल - १९९१) लेप्चा, लिम्बू र मगर समुदायलाई सिक्किमका आदिवासी हुन् भनी लेखेका छन्। राजा तेनसुङ नामग्यालसँग अरुण तम्बुका लिम्बू राजकुमारी विवाह (सन् १६७०-१७००) गरेर आएपछि उनले ‘सङ-हिम’ भन्न थालिन्, जसको अर्थ लिम्बू भाषामा ‘सुखको ठाउँ’ हो। ‘सङ-हिम’लाई उच्चारणको समस्याले सुक्खिम भन्न थालियो। त्यसअगावै लेप्चाले यो भूमिलाई ‘ने-मायेल-रेन-ज्योङ-ल्याङ’ भनेर मातृभाषामा नामकरण गरेका थिए। अहिले ‘रेन-ज्योङ’ भन्दछन्, जसको अर्थ हो– इज्जतदार मानिस बस्ने ठाउँ। तिब्बतबाट आएका भोटियाहरूले ‘रेन-ज्योङ’ शब्दलाई संशोधन गर्दै ‘डे-जोङ’ भन्न थाले, जसको अर्थ हुन्छ– राम्रो धान फल्ने ठाउँ। पहाडी क्षेत्र भए पनि धान खेतीका साथै फलफूल, जडीबुटी उब्जनी हुने भएकाले यो नाम रहन गएको हुन सक्छ। मगरले आफ्नो भाषामा उच्चारण गर्दा ‘हि-सेच्छे-इम’ अर्थात् कति राम्रो घर भन्यो (मगर जातिको इतिहास अनि संस्कृति सिक्किमको सन्दर्भमा, सन् २००३)।
एडिन भेन्सिटार्टले ‘मगर जातिको मूल बासस्थान वा उत्पत्ति थलो चीनको सिमबाट दुई नेताको अगुवाइमा एक टोली दक्षिणतिर हुँदै सिक्किममा स्थायी रूपले बसोबास गरेको उल्लेख गरेका छन्। ती दुई नेता थिए, सिङ मगर र चितु मगर’ (द गोर्खा , सन् १९१५)। भेन्सिटार्टको कथ्यलाई पछ्याएको हो वा स्वतन्त्र अध्ययनबाट पहिल्याएका हुन्, सन् १९४८ मा इतिहासकार इमानसिंह चेम्जोङले लेखेको पुस्तक हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल (पृ.१३८) मा ‘किरात ऐतिहासिक इतिवृत्तान्त अनुसार मगर जातिको उत्पत्ति भूमि उत्तरस्थित शिरभूमि हो, जहाँबाट सिङ मगर र चितु मगर नामक दुई नेताको नेतृत्वमा दुई मानव समूह दक्षिणतिर आइपुग्दा तानसाङ थापा कहलाइए, जसको अर्थ हुन्छ– उत्तरतिरबाट आएको’ उल्लेख छ। सिक्किमका इतिहासकार सन्तोष आलेले ‘सिक्किममा मगरहरूको उपस्थिति लगभग पाँचौं शताब्दीदेखि भएको उल्लेख गरेका छन्।’ (उही पृ. १४)।
सिक्किममा मगर समुदायबारे धरणीधर दाहालको पुस्तक सिक्किमको राजनीतिक इतिहास मा पनि भेटिन्छ। त्यसमा दाहाल लेख्छन्– ‘सन् १२३०–१३१६ तिर विशाल सिक्किममा लेप्चा राजा तोर्भे पनु (तर्भे पनु, तरमे पनु) को शासनकालमा तीन भारदार सेनापतिमध्ये मगर र लिम्बू थिए।’ महाराजा सर थुटोब र महारानी येशे डोल्माद्वारा संकलित तिब्बती भाषामा लेखिएको ‘सिक्किमः अ कन्साइज क्रोनिकल’ (सन् १९०८) नामक पाण्डुलिपिभित्र सिक्किमेली इतिहासको अभिलेखीकरण गर्ने क्रममा मगरहरूको इतिहास पनि उल्लेख गरिएको छ। यो महत्त्वपूर्ण दस्ताबेजले पनि सिक्किममा मगरहरूको प्राचीनतामाथि जोड दिन्छ।
लो-मेन-चोङ
नामग्याल वंशको शासन शुरू हुनुभन्दा अघि सिक्किमको सिमाना पूर्ण भइसकेको थिएन। सिक्किमको सिमाना पश्चिममा अरुण नदी, पूर्वमा ताइगन पास‚ उत्तरमा तिब्बत र दक्षिणमा बिहारको पूर्णिया किशनगन्जसम्म फैलिएको थियो। अहिलेको सिमाना धेरै खुम्चिएपछिको हो। लेप्चाहरूको हातबाट शासन खोसेपछि सन् १६४२ मा राज्यभिषेक गरेका नामग्याल वंशका संस्थापक फुञ्छोग नामग्याल (धर्मराजा) बने। उनले वर्तमान सिक्किमभित्र पर्ने स-साना राज्यहरू कब्जा गर्न थाले। आफ्नो शासनसत्तामा बस्न जोङका राजा, मुखियाहरूलाई उर्दी गरेपछि लेप्चा, लिम्बूहरूले नामग्यालको अधीनमा बस्ने निर्णय गरे, तर मगरहरूले मानेनन्।
अधीन अस्वीकार गरेका केही मगर राजा/मुखिया बलपूर्वक मारिए, केही खेदिए। पराजित केही मगरले भोटे राजाको अधीन स्वीकारेर बसे पनि भोटे राजा र मगर मुखियाबीच कहिल्यै मेल भएन। युद्ध भइरह्यो। सन् १६६४ मा उनै राजाले सिक्किमका प्रमुख जातिलाई एकता गर्न लो-मेन-चोङ (भोटिया, लेप्चा, लिम्बू, मगर) सन्धि गरे, जसको मुख्य उद्देश्य एकापसमा झगडा नगरी तीनवटै समुदायको प्रतिनिधित्वमा लो-मेन-चोङ परिषद्द्वारा राज्य चलाउनु, एउटै परिवारका सदस्य झैं बस्नु, सिक्किमका क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई बचाएर राख्नु भन्ने थियो। त्यसै गरी राजालाई बाबु, लेप्चालाई आमासरह आदर र ‘चोङ’लाई छोरा सम्झिनुपर्ने सहमति गरियो। परस्परमा झगडा, लडाइँ नगरी एक अर्काप्रति कुभलो चिताएको खण्डमा प्रतिज्ञाले पिरोल्नेछ, दुःख दिनेछ भनिएको थियो।
मगर र लिम्बूलाई पहाडिया चोङ भनियो। सन् १९९७ मा कृपाल सिंहकृत पुस्तक सिक्किम संस्कृति और जनजीवन मा चोङको अर्थ व्यापारी भनिएको छ। भोटियासित मगर मुखियाको सम्बन्ध बिग्रेकोले मगरलाई चोङ भन्न छाडियो। कालान्तरमा ‘चोङ’ लिम्बू जातिलाई मात्र भनियो।
छोग्याल विरुद्ध मगर विद्रोह
सन् १७०० मा छदोर नामग्याल नाबालक राजा बनेकोले तेनसुङ नामग्यालको जेठी भूटानी रानीले विरोध गरिन्। उनले भूटानी सेनाको सहयोगमा सिक्किममा हमला गराएर धेरै भाग कब्जा गरिन्। तर तिब्बत सरकारको मध्यस्थतामा रानीले कब्जा गरेका सबै भू-भाग फिर्ता भयो। त्यसपछि भूटानले फेरि सिक्किममा हमला गऱ्यो। मगर सेनाहरूको बहादुरीले धेरै भू-भागको रक्षा गर्दै भूटानी सेनालाई रिनोक कटाइदिए। मगर प्रतिनिधि सत्रजितले लेप्चा प्रतिनिधि सुथोपसँग मिलेर रिनोक सिक्किम र भूटानको सिमाना कायम गरे। सिक्किमेली अध्येताहरू भन्छन्, ‘सिक्किमको सुरक्षामा मगरको ठूलो योगदान देखिन्छ।’
तिब्बत सरकारले सन् १७३३ मा विवादास्पद राजा शिशु नामग्याल फुञ्चोङको सहायक शासक बनाई राब्देन शेर्पालाई सिक्किम पठायो। त्यस वेलासम्म भोटिया राजालाई सर्वाधिपति मानी मगर मुखियाहरू मगर जोङमा राजकाज गरिरहेका थिए। भोटिया राजासँग मगरको सुमधुर सम्बन्ध थियो। त्यही समयमा एक जना मगर मुखियाको निधन भयो। दिवंगत मुखियाकै छोरोलाई उत्तराधिकारी बनाई राज्यभिषेक गराउन राब्देन शेर्पालाई सिक्किम महाराजाको प्रतिनिधि भई उपस्थित हुन तीनपल्ट निम्तो पठाइयो। दरबारको प्रचलित प्रथा विपरीत उनले अस्वीकार गरिदिए। राजा वा शासकले देखाएको अशिष्टताका कारण क्रोधित भई मगर मुखियाको प्रतिनिधि भूटानको देवराजासित सहयोग माग्न पुग्यो। भूटानले तत्कालै चार जना प्रतिनिधि पठाइदियो। प्रतित्युत्तरमा मगर मुखियाले भूटानलाई सुन‚ चाँदी, एक गैंडा र एक हात्ती उपहार स्वरूप पठाएर भविष्यमा पनि सहयोग जारी राख्न अनुनय गरे।
केही वर्षपछि मगर मुखिया र भूटानका देवराजाले सिक्किममा संयुक्त हमला गरे। पोलिटिकल हिस्ट्री अफ सिक्किम पुस्तकमा एलबी बस्नेतले मगर मुखिया र छोग्याल वंशीय राजाहरूको युद्धमा भूटानले मगरहरूलाई सघाएको कुरा उल्लेख गरेका छन्। तिब्बती सरकारको सहयोगमा सिक्किमेली फौजले जीत हासिल गऱ्यो। र, मगर मुखिया र भूटानको हार भयो। त्यसपछि मगर मुखिया र सिक्किमका राजाबीच सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन। सन् १७१७ मा चौथो राजा ग्युर्मिद नामग्यालको शासनमा भूटानसँग सीमा विवाद चुलिएको वेला लेप्चा मुखिया (प्रमुख) टासी विदुरले एक जना मगर र लेप्चा मुखियाको सहयोगमा राजा विरुद्ध विद्रोह गरेका थिए। त्यतिवेला भोटिया फौजले सिक्किमेली सेनामाथि सहजै जीत हासिल गऱ्यो। यो घटनाले पनि हुन सक्दछ, मगर मुखियाहरू सत्ताको बक्रदृष्टिमा पर्दै गए।
फुञ्चोङ नामग्यालले मगर मुखियासँग गरेको मित्रताका प्रयासहरू सफल भएनन्। मगरसँग मैत्री सम्बन्ध बढाउन राजाले मुख्यमन्त्री छाङजात कार्वाङलाई मगर मुखियाकी छोरी विवाह गराइदिए। तर, राजा र मन्त्रीहरूको व्यवहारका कारण अपमान महसूस गरेका कारण राजासँग सम्बन्ध राख्न छाडेपछि भोटिया राजाले मगरहरूको सम्पूर्ण दस्ताबेज, प्रमाणहरू मासिदिए। त्यसैले सिक्किममा मगरको इतिहास मिथकमै सीमित भयो। सिक्किमको इतिहासमा चार जना मगर राजा सिन्तुसति सेन, सिन्तुपति सेन, दलसिङ मगर र दलकिनारी खपांगी मगरको मात्र नाम उल्लेख गरिएको छ। अन्य मगर राजाको नाम भेटिंदैन। अन्तिम राजा पाल्देन थेण्डुप छोग्यालसँग पनि मगरको सम्बन्ध सुमधुर नभएपछि आधाजति मगर समुदाय भूटान र केही नेपालतर्फ लागे।
सिक्किममा मगर मुखियाहरूले नामग्याल वंश राजाको अवधिभर सत्तासँग विद्रोह गरेका घटनाहरू मात्र भेटिन्छन्। अधीन नस्वीकारेका मगरले युद्ध गरेका छन् कि त सिक्किम छाडेर भूटान, आसाम गएका छन्। अरुण नदी कटेर पूर्वी नेपालमा बसोबास गरेका मगरले सर्वप्रथम आलु खान र खेती गर्न सिकाएको लोककथन त्यस भेगमा प्रचलित छ। छोग्यालको शासन विरुद्ध मात्र नभई कुप्रथा झार्लांगी, कालो भारी, कुरुवा, बेठी, अत्यधिक धुरी खजाना, दास प्रथा, चाकरीचुक्ली, जमिनदार प्रथाले पिरोलिएका जनताको पक्षमा भएका आन्दोलनमा मगरको सक्रिय भूमिका थियो। प्रजातान्त्रिक आन्दोलनमा पनि अग्रसर थिए, मगरहरू।
मगर जोङ पुनर्निर्माण
दरबार क्षेत्र घेर्ने पर्खाल।
नामग्याल शासन अवधिभर विद्रोह गरेका धेरै मगर राजनीतिक अस्थिरताले यताउता भए पनि सिक्किममा मगर जनसंख्या सन् २०११ सम्म सरकारी तथ्यांक अनुसार १६,६०९ रहेको थियो, अहिले २८ हजार रहेको मानिन्छ। सन् १९९६ मार्च २७ मा सिक्किम सरकारले मगर भाषालाई राज्य भाषाको मान्यता दिएपछि अक्खा लिपि सहितको मगर भाषामा सरकारी मुखपत्र सिक्किम हेराल्ड मासिक प्रकाशित भइरहेको छ। मगर भाषा अक्खा लिपिमै कक्षा-८ सम्म पढाइ भइरहेको छ। आगामी वर्षदेखि कक्षा-१२ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयारीको थालनी भइरहेको छ। मगरहरूको सम्पदा, विरासत, गौरवको इतिहासलाई संरक्षण गर्ने कार्य सिक्किम सरकार पर्यटन तथा नागरिक उड्डयन विभागले गरिरहेको छ। विभागले परियोजना नै बनाएर मगर जोङ पुनर्निर्माण, संरक्षणका लागि विभिन्न कार्यक्रम अघि साऱ्यो। यसै कार्यक्रम अन्तर्गत तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङले सन् २०१७ डिसेम्बर ७ मा पश्चिम सिक्किमस्थित मङसारीमा मगरजोङ शिलान्यास गरेका थिए। तर, यो निर्माण योजना अघि बढ्न सकेन।
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी नेतृत्वको सरकार आएपछि यो काम अगाडि बढेको छ। सन् २०२१ मा मुख्यमन्त्री प्रेमसिंह तामाङले भूमि पूजा सहित उद्घाटन गरेपछि मगर जोङले आफ्नो काम सूचारु गरेको छ। यसका निम्ति करीब बिस करोड भारतीय रुपैयाँ विनियोजन गरिरएको छ। मगर संग्रहालय, मगर अध्ययन केन्द्र, मगर राजा सिन्तुपति सेनको २६ फीट अग्लो प्रतिमा स्थापना गरिंदैछ। सिक्किममा सबैभन्दा पहिला आगमन गर्ने सिङ मगर र चितु मगरका पाँच फीट अग्ला सालिक बनिसकेका छन्। दरबार क्षेत्र घेर्ने पर्खाल लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ। मगर जोङ संरक्षण परियोजनाका विशेष अधिकारी विष्णु राना मगरका विवरण अनुसार ‘मगर जोङ योजनाको नक्शा अनुरूप संग्रहालयमा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू– शिकार खेल्दा र युद्धमा प्रयोग गरिएका हतियारहरू राखिने छन्। मगर जातिबारे समाजशास्त्रीय, मानवशास्त्रीय र सांस्कृतिक अध्ययन अनुसन्धान गरेका पुस्तकहरू संकलन सहित अभिलेखीकरण गरिनेछ। मगरका मिथकहरू संकलन गरी प्रकाशन गरिनेछ। पूर्ववत् स्वरूपमा नै जोङ निर्माण गरिनेछ।’ यो परियोजना अखिल सिक्किम मगर संघको पहलमा भइरहेको छ। मगर जोङ पुनर्निर्माण सहित संग्रहालय निर्माणले मगर इतिहास पुनर्लेखनमा सहयोग पुग्नेछ।
(लाफा‚ मगर जातिमाथि अध्ययन-अनुसन्धानमा संलग्न छन्।)