आदरणीय सभापति,
नेपाली कांग्रेस‚ केन्द्रीय कार्यालय‚ सानेपा‚ ललितपुर
मुलुक र समाजको अत्यन्त विषम परिस्थितिमा म तपाईंलाई यो पत्र लेख्दैछु। २०८२ भदौ २३ र २४ गतेको हत्या, हिंसा, तोडफोड, आगजनीबाट मार खानेमध्ये तपाईं स्वयं सबैभन्दा बढी पीडित हुनुहुन्छ। यो पीडाको घाउमा भर्खर मल्हमपट्टि हुँदैछ। यो पत्र लेख्दासम्म तपाईं र तपाईंकी धर्मपत्नी अस्पतालको शैय्यामै हुनुहुन्छ। यस्तो बेला तपाईंलाई यो पत्र लेख्नु हुन्थ्यो कि हुन्थेन, त्यो पनि बहसको विषय बनाइएला। तर मेरो अन्तरात्माले यो दुःखको घडीमा तपाईंलाई सम्झनु उचित ठहरिएकोले यो पत्र लेख्ने धृष्टता गरेको हुँ। यसमा अन्यथा नसोचिदिनु होला।
एक प्रत्यक्षदर्शीका रूपमा भदौ २४ को भयावह स्थितिको विध्वंसको सामाजिक सञ्जालमा प्रचारित/प्रसारित फुटेज देख्दा म अहिले पनि झस्किन्छु। तपाईं निको हुँदै हुनुहुन्छ। यो आन्दोलनमा ७२ जना दाजुभाइ तथा दिदीबहिनीहरूको अमूल्य जीवन गयो। खर्बौंको राष्ट्रिय सम्पदा र सम्पत्ति खरानी बन्यो। जे नहुनु थियो त्यो भई नै सक्यो। अब त्यो घाउको पीडाबाट बाहिर आउनुको विकल्प पनि हामी बाँच्नेहरूसँग छैन, हुँदैन।
किन यस्तो भयो? यसमा अब चिन्ता गरेर, विषाद गरेर इतिहासको पानामा जमिसकेको त्यो ४८ घण्टालाई सग्लो फर्काउन सक्ने सामर्थ्य पनि हामीसँग छैन। जुन कहिल्यै हुनुहुँदैन थियो, त्यस्तो कहालीलाग्दो विध्वंस भई नै सक्यो। अब लोकतन्त्रवादीले त्यसको निदान खोज्नुको विकल्प देख्दिन।
तपाईं पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो। दुईचोटि नेपाली कांग्रेसजस्तो लोकतन्त्रको निम्ति कहिल्यै आफ्नो शीर नझुकाउने गर्विलो इतिहास बोकेको दलको सभापति चुनिनु भयो। र, यत्रो विपद्का बाबजुद पनि सभापति नै हुनुहुन्छ। गत निर्वाचनमा तपाईंकै नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न सफल भयो। तैपनि तपाईंलाई माओवादी र एमालेले कार्यकारी बन्न दिएनन्। पाँचचोटि प्रधानमन्त्री भइसकेको व्यक्तिलाई थप एकचोटि हुन नपाएर के नै बिग्रियो र?
लोकतन्त्रका लागि निर्दलीय पञ्चायती राजमा अ.त. (अराष्ट्रिय तत्व) घोषित तपाईंले त्यतिबेला झेल्नु भएको शारीरिक र मानसिक यातनाको बयान गरीसाध्य छैन। त्यो सबै तपाईंले सुदूरपश्चिम‚ डडेलधुरास्थित रुवाखोला, असीग्राम गाउँको झुप्रोबाट प्राप्त गर्नुभएको नैतिक सामर्थ्य थियो।
त्यतिमात्र होइन, २०२८ सालमा चितवनमा सम्पन्न नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुहुँदा आजका जेन–जीकै उमेर समूहमा पर्नुहुन्थ्यो, तपाईं। तपाईंले त्यसबेला लोकतन्त्र पुनर्स्थापनाको लागि गर्नुभएको संघर्ष इतिहासको स्वर्ण पानामा अंकित छ। त्यो इतिहास पढ्दा पनि गर्व लाग्छ। अब म त्यतिबेला निरंकुश पञ्चायतीराजको सातो उडाउने जेन–जी देउवा र अहिले आफ्नै निवासमा जेन–जीको नाममा मार खाने ‘अक्टो जेनेरियन’ देउवासँग कसरी तुलना गरूँ?
तपाईंलाई लाग्ला, मलाई यस्तो चोटपरेको बेला यो केटोले नून–चूक छर्कने काम गऱ्यो। माफ गर्नुहोला। तपाईं र तपाईंकी धर्मपत्नीमाथि आक्रमण भएकोमा म मात्र होइन सम्पूर्ण लोकतन्त्रवादी मर्माहत भएका छन्। मानवलाई मानवीय पीडाले नछुने कुरो हुँदैन। यदि कसैले यस्तो विध्वंस, विनाश र विपत्को घडीमा खुच्चिङ भन्छ भने त्यो हृदयशून्य मानव हो। यो पनि मलाई थाहा छ। मलाई त्यो अपजसको भारी बोक्नुछैन।
त्यस दिन तपाईंको निवास जल्यो, तपाईंहरूमाथि सांघातिक हमला भयो। सौभाग्यले कांग्रेस सभापतिको परिवार सकुशल रह्यो। तपाईं भन्नुहोला ‘तँलाई त के भएको छ र? मेरो त झण्डै ज्यानै गएन।’ त्यसमा म दुःखी छु। त्योभन्दा पनि तपाईंमाथिको आक्रमण समस्त लोकतन्त्रवादीहरू माथिको आक्रमण हो। तपाईं माथिको आक्रमण लोकतन्त्रको मर्ममा गरिएको प्रहार हो। यो मेरो ठहर हो।
म यो किन लेख्दैछु भने तपाईंको घरमा आगो लगाउनु भनेको लोकतान्त्रिक पार्टीको गजूरमा आगो लगाउनु हो। तपाईंको घर जलाउनु भनेको कांग्रेसको घर जलाउनु हो। लोकतन्त्रको धरोहर खरानी पार्नु हो। तर कुनै परायाले जलाएन; ती भिन्न ग्रह, उपग्रहबाट आएर जलाएका पनि होइनन्; हिजो तपाईंलाई राज्यसत्ताको शीर्षासनमा पुऱ्याउने नेपाली हातले नै जलाइदिए। यस्तो कसरी हुन गयो? तपाईंको घरसित नेपालीको आत्मीयता टुटेर हो कि? आम नागरिकसित कांग्रेसको सम्बन्ध पूरै भताभुंग भएर हो कि? यो यथार्थतिर सभापतिज्यूले पक्कै ध्यान दिनुहुनेछ भन्ने आश छ।
यस पटकको विध्वंसमा राणा र निर्दलीय पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूको कठोर प्रहारहरू समेत झेलेको विराटनगरस्थित कोइराला निवासलाई पनि जलाएर खाग तुल्याइयो। यो विध्वंसमा बाडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि छाडिएन। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय भवन पनि जलाइदिए। २०४६ सालको आन्दोलनको घोषणा भएको गणेशमान निवास पनि बाँकी रहेन। हेर्नुस् त सभापतिज्यू, तपाईं पार्टी सभापति भएकै समयमा यी सबै भए। लोकतन्त्रका आधार स्तम्भहरू ध्वस्त गरिए। तपाईंको घर जलाइयो; तपाईं र तपाईंकी धर्मपत्नीमाथि दिनदहाडै सांघातिक आक्रमण गरियो। तपाईंलाई करीब ३ लाख सुरक्षासंयन्त्रले समेत सुरक्षा दिन सकेन। तपाईं त गृहमन्त्री मात्र होइन, पाँच-पाँच पटक प्रधानमन्त्री भएको राजनेता पो हो। किन यस्तो भयो होला? अन्तरमनमा छिरेर आत्मालोचना गर्नुभएको छ‚ छैन होला? मेरो मनमा खाली यही कुरा खेलिरहेको छ।
मेरो दिमागमा खेलेका केही कुरा भन्छु, कृपया मन्थन गर्नुहोला। विगतमा सरल जीवनयापन गर्दा तपाईंको रक्षाकवच तिनै आम सर्वसाधारण थिए। त्यसकारण सत्ता, शक्ति र सम्पत्तिभन्दा पनि आमनागरिकका माया, ममता र आड–भरोसा नै ठूलो हुँदोरहेछ भन्ने कटु सत्य नभुल्नु होला। तपाईंप्रति अझै लोकतन्त्रवादीहरूको आस्था र सम्मान छ; प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका निम्ति विगतमा तपाईंले निर्वाह गर्नुभएको संघर्षप्रति सलाम छ। त्यो लोकतान्त्रिक इतिहासलाई संरक्षण गर्ने बेला पनि युगले फेरि एकचोटि तपाईंकै काँधमा सुम्पेको छ। तपाईंसँग त्यागको अपेक्षा गरेको छ।
तसर्थ, तपाईंले अब लोकतन्त्रलाई सुरक्षित राख्न तन्नेरी पुस्ताको चाहनालाई बुझ्नुपर्ने हुन्छ। यदि अहिले जेन–जी पुस्ताले गरेको विद्रोहलाई तपाईंले आफूमाथि भएको आक्रमण मात्र ठान्नु भयो भने ठूलो भूल हुनेछ। तपाईंले त यसलाई लोकतन्त्रमाथिकै आक्रमण ठानेर विलम्ब नगरी जनतातिर फर्कनु जरुरी छ। तपाईंले आफ्नो पार्टीभित्र एक से एक युवाहरू नेतृत्व लिनसक्ने गरी तयार गरिसक्नुभएको छ। यसअर्थमा तपाईं सफल हुनुभएको छ। चाहे २०२८ सालको युवा विद्यार्थीहरूको नेतृत्व होस् या २०३६ सालको आन्दोलनको अगुवाइ; २०४६ को होस् कि २०६२/६३ सालको आन्दोलनमा तपाईं जनताकै बलमा उभिंदै आउनुभएको नेता हो। यति मात्र होइन तपाईं नेपाली कांग्रेसजस्तो ‘मास बेस्ड’ पार्टीको सभापति पनि हो। त्यसैले मलाई तपाईंप्रति पूर्णआशा एवं विश्वास छ– गणेशमान सिंहले कांग्रेस–वामको संयुक्त आन्दोलनको नेतृत्व गर्नुभयो भने गिरिजाप्रसाद कोइरालाले गणतान्त्रिक नेपाल घोषणा गरेर कांग्रेसलाई प्रजापरिषद् हुनबाट जोगाउनु भयो। यो यथार्थ मलाईभन्दा बढी तपाईंलाई थाहा छ। त्यसकारण यतिबेला तपाईंले पार्टी र देशकै निम्ति पनि यस्तै एउटा ‘मेजर डिपार्चर’ को निर्णय लिनुहुनेछ भन्ने मलाई विश्वास छ। किनकि‚ मैले बुझेको देउवाले यस्ता आँट बारम्बार गरेको छ।
लोकतन्त्रवादी नेताले सेना, प्रहरीको सुरक्षा घेराभन्दा आम जनताको आड–भरोसाको चाहना राख्नु बढी सुरक्षित हुँदोरहेछ भन्ने यथार्थ त हालैको घटनाले प्रमाणित गरिसकेको छ। यतिबेला तपाईंसँग उत्तम विकल्प–विलम्ब नगरी सम्भव भएसम्म आफ्नै हस्तलिखतमा युवापुस्तामा नेतृत्व हस्तान्तरण भएको घोषणा गर्नुहुनेछ भन्ने विश्वास छ। त्यसो गर्नसक्नु भयो भने हिजो तपाईंतिर फर्केका कठोर हातहरू सीमलको भुवाजस्तै बनेर तपाईंलाई सुम्सुम्याउन आइपुग्नेछन्। तपाईंलाई थाहै छ, कांग्रेसकै नेता, कार्यकर्ता, शुभेच्छुक, आम सर्वसाधारणमाथि हिंसात्मक गतिविधि गरिरहेका माओवादीहरूलाई तपाईंकै सभापति गिरिजाप्रसाद कोइरालाले कसरी आफ्नो कोखमा राखेर मुलुकलाई शान्तियुगको राजमार्गमा फर्काउनुभएको थियो। यसपालि तपाईंले कांग्रेसको यो विरासतलाई अवश्य कायम राख्नुहुनेछ।
पत्रको अन्त्यमा, पार्टीमा भएका सबै तपाईंकै साथीहरू हुन्। तीमध्ये पनि युगको पदचाप थेग्न सक्ने; पार्टी, जनता र देशलाई नेतृत्व दिनसक्ने युवालाई आगामी कात्तिक २४ गते सभापतिको अभिभारा सुम्पेर क्रान्ति दिवसलाई सार्थक बनाउनु होला।
उही तपाईंको शुभचिन्तक
ध्रुव सिम्खडा