‘नाचघरमा करारको जागीर भएकाले सबै कुरा जान्यो भने त राख्छन् भन्ने मनमा परेको थियो। त्यसैले नाच, गान, गीत, संगीत, अभिनय, बजाउने सबै सिक्न अग्रसर भइरहें।’
मदन पुरस्कार गुठी ले २०८१ सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेसँगै लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरी चर्चामा आएका छन्। चुपचाप आफ्नो कर्ममा तल्लिन सुर्खेतका ७२ वर्षीय गिरी जगदम्बा-श्री सम्मान पाउने खबरले खुशी भएको सुनाउँछन्।
सिङ्गो जीवन नै लोकसंस्कृति र सङ्गीतका लागि समर्पण गरेका गिरी विशेष गरी मादलवादन, लोकगीत सङ्कलन एवं नाट्यकर्मीका रुपमा परिचित छन्। झ्याउरे, सिंगारु र ख्याली नृत्यलाई राष्ट्रिय स्तरमा परिचित बनाएका गिरी लोकसंस्कृति जगेर्नामै लागिरहेका छन्। लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएका उनै गिरीसँग हिमालखबर का लागि लक्ष्मी भण्डारी ले गरेको कुराकानी:
तपाईले कला संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मदन पुरस्कार गुठीले जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ। जगदम्बा-श्री सम्मान पाउछु भन्ने लागेको थियो?
जगदम्बा-श्री पुरस्कार पाउँछु भन्ने मेरो मनमा कल्पना पनि थिएन। एक्कासी पुरस्कार पाउने थाहा पाएँ, खुशी लाग्यो। जगदम्बा-श्री पुरस्कार कर्णालीले पाउँदै छ, म कर्णालीको एउटा प्रतिनिधि पात्र मात्र हुँ।
मदन पुरस्कार गुठीले निकालेको प्रेस विज्ञप्तिमा हेरें। त्यो हेर्दा एउटा खुशी के लाग्यो भने २०१२ सालमा संस्थाको स्थापना भएको रहेछ। त्यो वेलामा जगदम्बा-श्री पुरस्कार थिएन, मदन पुरस्कार मात्रै थियो। पहिलो मदन पुरस्कार सत्यमोहन जोशीको कृतिले पायो। त्यो सत्यमोहनले कर्णाली भ्रमण गरेपछि लेखेको कृति हो।
२०१३ सालमा पहिलो मदन पुरस्कार तीन वटा कृतिलाई दिइएको थियो। त्यसमध्ये एक हो, कर्णालीको लोक संस्कृति। त्यतिवेला कर्णालीलाई भेट्न सत्यमोहन काठमाडौंबाट आउनुभयो। अहिले कर्णालीको पाइला अघि बढेको छ। यो पुरस्कार पाउँने खबर सुन्दा कस्तो लागेको छ भने हिजो कर्णालीलाई भेट्न उताबाट आउनुभयो, आज कर्णालीले एउटा पाइला अघि सारेको हो।
यो पुरस्कारसँग स्थापनाकालदेखि कर्णाली जोडिएको छ। मदन पुरस्कार त पाएकै थियो, अब जगदम्बा-श्री पुरस्कार पाउँदा कर्णालीले पूर्णता पाएको छ, संगीतको लागि, सिर्जनाको लागि। यो मेरो मात्रै होइन, कर्णालीको सम्मान हो।
लामो समय कला संस्कृतिको क्षेत्रमा क्रियाशील भएकाले स्वाभाविक रुपमा यो सम्मानको कहदार हुनुहुन्छ नै। कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
कला क्षेत्रमा लाग्ने प्रेरणा समाजबाटै मिलेको हो। गाउँघरमा हुने जात्रा, मेला पर्वहरूमा जान्थें। बाल मनस्थितिलाई कलाले आकर्षित बनायो। विद्यालयमा हुने कार्यक्रम विशेष गरेर नाचगानमा भाग लिन्थें। शिक्षकहरूले पनि ‘तिमीहरूको आज नाचगान हुनुपर्छ’ भन्नुहुन्थ्यो।
हाम्रो सुर्खेतको रंगमञ्चको इतिहास १९९० सालको दशकबाट शुरू भएको हो। वर्षमा एक पटक दशैंको वेलामा सांस्कृतिक कार्यक्रम गर्ने परम्परा थियो। त्यतिवेला मन्दिरको प्राङ्गणमा कार्यक्रम गरिन्थ्यो।
त्यसपछि रंगमञ्चको रुपमा गोठीकाँडाको मञ्चमा कार्यक्रम हुन थाले। प्रत्येक वर्ष नियमित कार्यक्रम हुन्थे। २०२५ सालतिर आउँदा मैले पनि नाटकमा सहभागी हुने अवसर पाए। त्यहीबाट मेरो रंगमञ्चको यात्रा शुरू भयो।
कला क्षेत्रमै जीवन बिताउनुभयो। कहिल्यै अन्य क्षेत्रतिर मन लागेन?
मान्छेको कर्मले जता डोहोर्याउँछ, त्यतै गइँदो रहेछ। भाग्यले, भावीले भन्छन् नि, म त्यो भन्दिनँ। कर्मले डोहोर्याउँछ।
स्कूल पढ्दादेखि नै सबै साथीहरूसँगै नाचगानमा भाग लिन थालें। स्कूले जीवनदेखि नै कला क्षेत्रमा लागें। पढ्दै जाँदा यतैतिर मन लाग्यो। यही कर्म रोज्या पनि होइन, यही हुन्छु भन्ने पनि थिएन। जब हाइस्कूल सकियो, तब बाटो फाट्यो, यतैतिर लागियो।
किशोरावस्थामा प्रेमदेव गिरी।
२०२९ सालमा सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं गएँ। प्रतियोगितामा नेपाल प्रथम भइयो। त्यसपछि फर्किएर घर आएको भए, फरक हुन्थ्यो होला। त्यसै वेला कस्तो संजोग भयो भने राष्ट्रिय नाचघरबाट ‘तिमीहरू यहाँ काम गर्न सक्छौ’ त भनेर प्रस्ताव आयो। अब फर्किएर घर आएर पढ्ने कि पाएको जागिर गर्ने भन्ने दोधार भयो। त्यतिवेला पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो, व्यावहारिक सीप सिक्न नाचघरमा काम गर्न ठीक हुन्छ भन्ने भएपछि जागिरे भइयो।
देशकै प्रतिष्ठत राष्ट्रिय नाचघरमा काम गर्न पाउनु राम्रो अवसर थियो। नाचघरमा काम गर्ने हरेक रंगकर्मीको सपना हुन्थ्यो। नाचघरमा काम गर्ने आफ्नो धोको पनि पूरा भयो। २०२९ सालमा काम गर्न शुरू गरें। त्यसैमा रमाए। २०४१ सालसम्म राष्ट्रिय नाचघरमै काम गरें।
त्यसपछि २०४३ सालमा रेडियो नेपालमा गए। २०४५ सालसम्म रेडियो नेपालमा काम गरें।
नाचघरमा नारायण गोपालसँग पनि काम गर्नुभयो। नारायण गोपालसँगको संगतलाई कसरी सम्झिनुहुन्छ?
नारायण गोपाल मभन्दा सिनियर हुन्, दाजु। २०३५ देखि २०४१ सालसम्म हामी एउटै परिवारमा रहेजस्तै गरि बस्यौं। २०४० सालमा नारायण दाजुले नाचघर छोड्नुभयो।
उहाँ सँगसँगै विदेशका यात्रा पनि भए। हाम्रो अभिभावक हुनुहुन्थ्यो। हामीलाई सम्झाउनुहुन्थ्यो।
नारायण बेग्लै स्वाभावको हुनुहुन्थ्यो, आफैमा रमाउने। धेरै कुरा खुलाउन चाहनुहुन्थेन, अन्तरमुखी स्वाभावको हुनुहुन्थ्यो। केही सोध्ने कुरा पनि भएन।
पछि थाहा भयो, उहाँको अवस्था त साँच्चिकै ‘मुटुमाथि ढुंगा राखी हास्नुपर्या छ’ जस्तो रहेछ। जब बित्नुभयो, त्यसपछि उहाँका रहस्यहरू खोलिँदै गएपछि मात्र थाह भयो। जति वेला नारायणसँग भेटघाट भइरहन्थ्यो, त्यतिवेला त पारिवारिक अवस्थाले घर न घाटको हुनुहुदोरहेछ। त्यस्तो पीडा बोकेको मान्छे बाहिर मुस्कुराउनु भएको रहेछ।
त्यतिवेला काठमाडौंमा राम्रैसँग काम चलिरहेको थियो। छँदाखाँदाको जागीर छोडेर किन सुर्खेत फर्किनुभयो?
नाचघरमा मेरो करारको जागीर थियो। त्यही जागीरले मात्र न परिवार पाल्न सकिने भयो न त जन्मभूमिमा बस्न पाइने। त्यसैले म जहाँ जन्मिएको छु, त्यहाँ कर्म गर्छु भन्ने भयो। करारको जागीरमा बसिरहे भने केही पनि नहुने देखियो। सुर्खेतमा रेडियो नेपाल, थियो। त्यसैले जन्मभूमिमै केही गर्ने अठोट लिएर फर्किएको हुँ।
सुर्खेत फर्केपछि धेरै लोकभाका तथा लोकगीत संकलन गर्नु भएको छ। लोकभाका र लोकगीत संकलनतिर कसरी लाग्नुभयो?
मलाई पहिलादेखि नै लोकभाका मन पर्ने। यो क्षेत्रमा बजाउनेले बजायो, गाउनेले गायो, नाच्नेले नाच्यो, सकियो। मेरा एउटा बानी छ, गीतका भाकाहरू कापीमा टिपेर राख्ने, अद्यावधिक गर्ने। यसरी संकलन गरेका गीत २०३१ सालदेखि वर्षमा एक-दुई वटा भए पनि रेकर्ड गर्न थालें। यस क्षेत्रमा प्रचलित झ्याउरे ख्याली, सोरठी, सिंगारु भाका रेकर्ड गरें।
त्यतिवेला सुर्खेतमा रेकर्डिङको सुविधा थिएन, अहिले पनि छैन। मैले व्यावसायीक हिसाबले गएको भए, फरक हुन्थ्यो। विशुद्ध सामाजिक सम्पतिलाई संरक्षण गरेर अघि बढ्नुपर्छ भन्ने भावनाले काम गरें।
यस क्रममा मैले संकलन गरेका करीब डेढ सय लोकभाका छन्। यसमा सय वटा गीत सुर्खेतकै सन्दर्भ तथा सेरोफेरोका छन्। संख्या थोरै भए पनि जति संकलन गरे, ति सय वर्षको चिनारी हुन्। यस भेगको एक शताब्दिको चिनारी दिने लय भाका संकलन गरेको छु।
संकलन गरेकामध्ये तपाईलाई सबैभन्दा बढी मन परेको भाका कुन हो?
आफ्ना सबै सन्तानको माया बराबर हुँदोरहेछ। मलाई सबै मन पर्छन्। ख्याली दिए पनि मेरै हो, झ्याउरे दिए पनि मेरै हो। यसमा कुन् सन्तान राम्रो-नराम्रो छुट्याउन गाह्रो हुँदोरहेछ।
आफ्नो भाषा अझ बढी प्यारो हुँदोरहेछ। सिंगारु र देउडा कर्णालीको मुख्य पहिचान हो। अझ सिंगारु गीत अन्यत्र छैन। यसमा जुन बाजा बज्छ, त्यो आफ्नै प्रकारको छ, यहिंको परिवेशमा आधारित छ।
मेरा धेरैजसो गीत स्थान विशेषका छन्। यसमा सुर्खेतको बुलबुले तालसँग सम्बिन्धित धेरै छन्।
लोकगीत पनि छन्। ती सबै जाती, भाषा समुदायलाई जोड्ने आफ्नै परिवेशमा आधारित छन्। तैपनि सबैभन्दा चर्चित सललल मलेवा छ।
सललल मलेवा
घुम्छ बादल मुनि माया लै।
झट्ट नजर आँखीमा
माया कले देला माया लै।
यो गीत मैले २०३२ सालतिर रेकर्ड गराएको थिएँ। पछि आएर देउडा गीत तथा विभिन्न भाषाका गीत पनि रेडियोमा प्रसारण हुन्थे। विशेषगरी ‘छ्याम्म छ्याम्म,’ ‘सिन्की गाजलु’ जस्ता लयले कर्णालीलाई चिनाउँछ।
त्यसैगरी ‘जाउ माया बुलबुले, बुलबुलेमा क्या राम्रो फूल फुले’ जस्ता ठाउँ विशेषका गीतले सुर्खेतको भेगलाई प्रतिनिधित्व गर्छन्। त्यसैले यही गीत मात्र भन्ने छैन। मैले संकलन गरेका गीतमध्ये सिंगारु र देउडा विशेष छन्।
शुरूआतमा मादल बजाउँनुहुन्थ्यो। पछि अरुतिर पनि लाग्नुभयो है?
मैले २०२५ सालमा रंगमञ्चमा टेक्दा मादल बजाउनु त छँदै थियो, अभिनयको पनि पाटो समाएको थिएँ। मलाई अहिले पनि राम्रो याद छ, सुर्खेतको रंगमञ्चमा भाइको रोलमा अभिनय गरेको थिएँ।
उति वेला सुर्खेतमा नाचमा महिला आउँदैनथे। केटा र केटीबीचमा नाचमा केटी हुँदैनथे। छोरीलाई घरबाट बाहिर नपठाउने चलन थियो।
२०३० सालको दशकमा सांस्कृतिक प्रतियोगितामा भाग लिन काठमाडौं जाँदा सुर्खेतमा महिला पाएनौं। पछि जुम्लाबाट सुर्खेतमा बसाई सरेकी एक जना विमला गन्दर्भ बहिनी थिइन्, उनलाई लगेर काठमाडौं गयौं।
केटाकेटी नाचे भने समाजले संक्रीर्ण रुपमा हेर्ने गर्थ्यो। त्यसकारण म आफै मारुनी भएर नाच्न थालें। बजाउनु त पहिलेदेखि नै थियो, नाटकमा अभिनय पनि गर्थें, यसरी पछि नाच्न पनि थालें। त्यसैले नाचघरमा छँदा हिमालदेखि तराईसम्मका नाचहरूमा भाग लिएँ।
तीनै विधामा पारंगत हुनुभयो। यो कसरी सम्भव भयो?
शुरूदेखि मलाई यस्तै जिम्मेवारी आइलाग्यो। नाचघरमा हुँदा करारको जागीर हो। सबै कुरामा पोख्त भएपछि सजिलो हुन्छ भन्ने थियो।
करारको जागीरमा एउटा पक्ष मात्र भयो भने निकाल्न सक्छन् भन्ने चर्चा हुन्थ्यो। सबै कुरा जान्यो भने त राख्छन् भन्ने मनमा परेको थियो। त्यसैले नाच, गीत, संगीत, अभिनय, बजाउने सबै सिक्न अग्रसर भइरहे। काम गर्दागर्दै सबै क्षेत्रमा दक्षता हासिल गरें।
कला, संस्कृतिका क्षेत्रमा आउने नयाँ पुस्तालाई केही सुझाव छन्?
जे काम गर्ने हो, त्यसमा समर्पण हुनुपर्छ। इमान्दारिता हुनुपर्छ र त्यसप्रति जिम्मेवार बन्नुपर्छ। जे काम गर्नु छ, त्यो ठाउँको माटोको टीका लगाएर काम गर्नुपर्छ। जन्मभूमिको माटोको टीका लगाउनुपर्छ। त्यो भनेको कामप्रति समर्पण गरेर अगाडि बढ्नुपर्छ।
अहिलेका पुस्ताको देशमा केही भएन भन्ने गुनासो हुन्छ। तपाई त पञ्चायतदेखि गणतन्त्रसम्म देशका विभिन्न क्षेत्र घुम्नु भएको छ। केही परिवर्तन भए जस्तो लाग्छ?
युग परिवर्तनशील छ, संस्कृति पनि परिवर्तनशील हुनुपर्छ। सबै कुरा चलायमान हुन्छन्। कोही छिटो होला, कोही ढिलो होला, तर सबै चिज चलायमान छन्।
व्यवस्था परिवर्तन हुनुपर्थ्यो, भएको छ, ठीक भयो। तर, एउटै के हो भने हतारले काचै रह्यो भन्ने हो कि ढिलो गर्दा डढ्यो भन्ने हो? म त्यहिंनिर छुट्याउन सकिरहेको छैन। लोकतन्त्र हतारले काचै रह्यो भन्ने कि गणतन्त्रमा ढिला भएर डढ्यो! जेहोस्, परिवर्तन हुनुपर्छ।
अर्को, सरकारको काम नीति नियम बनाउने, पालना गराउने हो। अहिले तीन तहका सरकार छन्। एउटा दुर्भाग्य के छ भने सैद्धान्तिक कुरामा स्वर्गको नियम बनाउने कार्यान्वयनमा केही पनि छैन। तीन तहमा पनि एकरुपता भएन। सिद्धान्त एउटा, व्यवहार अर्के भयो, तालमेल मिलेन। सबैभन्दा महत्त्वपूर्ण के हो भने जुनसुकै नीति पनि व्यावहारिक हुनुपर्छ।
अन्त्यमा, आगामी योजनाहरू के छन्?
अबको यात्रा धेरै केही छैन। अहिलेसम्म म देशका सबै ठाउँमा घुमें। संकलक भएको नाताले मसँग केही संकलन छन्। त्यो भएर १९९० सालयताका सबै रंगमञ्च, कलाकार, तत्कालीन रंगकर्मी लगायतका विषयमा संकलन गरेका सबै कुरालाई दस्तावेज बनाउँछु। अर्को, पुराना लोकभाका तथा सुर्खेतको रंगमञ्चको दस्तावेज बनाउने हो।
यो पनि पढ्नुहोस् : ‘मदन पुरस्कारले मलाई लामो समयसम्म लेख्नुपर्छ भन्ने महसूस गराएको छ’