२०८१ सालको जगदम्बा-श्री सम्मान लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई र मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’लाई अर्पण गर्ने निर्णय भएको छ।
मदन पुरस्कार गुठीको भदौ ६ मा बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। लोकसंस्कृति क्षेत्रमा सक्रिय गिरीलाई लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय भएको हो।
जगदम्बा-श्री सम्मान पाएका प्रेमदेव गिरी र मदन पुरस्कार पाएको उरमाल उपन्यास।
पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये काविमोको उपन्यास उरमाल मदन पुरस्कारका लागि छनोट भएको हो। पुरस्कारका लागि रमेश भुसालको छालबाटो , कुमारी लामाको दर्ज्यु संलाप , मनप्रसाद सुब्बाको पञ्चत्त्वको पालाम , श्रेयज सुवेदीको बहुरूपी , सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत श्रेष्ठ सूचीमा अटाएका थिए।
यसअघि २०८० सालको जगदम्बा-श्री सम्मान भाषाशास्त्री योगेन्द्रप्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदान लाई प्रदान गरिएको थियो।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति , सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक लाई प्रदान गरिएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको हो। यो सम्मान पहिलो पटक नारायणगोपाललाई प्रदान गरिएको थियो।
नेपाली भाषामा वर्षभरि प्रकाशित पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार र विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने/व्यक्ति संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिन्छ। दुवैको पुरस्कार राशि समान चार लाख रुपैयाँ छ।
मदन पुरस्कारको घोषणापछि उरमाल का लेखक छुदेन काविमो सँग गरिएको संक्षिप्त कुराकानी :
मदन पुरस्कार पाएको खबर कसरी पाउनुभयो?
म घर (सिलिगुडी)तिरै छु। नदी छेउतिर साइकल चलाउँदै थिएँ। अजित सर (प्रकाशन संस्था फाइनप्रिन्टका अजित बराल)ले धेरै पटक कल गर्नुभएको रहेछ, थाहै पाइनँ। फेसबूक खोल्दा पुरस्कार पाएको भनेर आइरहेको रहेछ। भावुक भएँ म त।
आफ्नो किताबले पुरस्कार पाउला भन्ने मनमा कतै थियो कि थिएन?
पाइएला नै भनेर सोच्ने त होइन, तर केही आशा चाहिं थियो। पाठकहरूबाट किताबबारे जुन किसिमका प्रतिक्रियाहरू आइरहेका छन्, राम्रै होला कि भन्ने लागेको थियो। ठ्याक्कै पुरस्कार नै पाउँदा म त भावुक नै भएँ। मेरो प्रकाशक अजित सरले पनि आँसु नै आयो भन्दै हुनुहुन्थ्यो।
किताबको के कुराले पुरस्कार दिलायो जस्तो लाग्छ?
एउटा त, उपन्यासमा आममान्छे र त्यसमा पनि श्रमिकको कथा भएर होला। त्यस क्षेत्रका चिया श्रमिकहरूको कथा नलेखिएको कुरा थियो। मैले पाँच वर्ष लगाएर मिहिनेत गरेर यो किताब लेखेको हुँ। किताब विमोचनको वेला सुरेश ढकाल सरले भन्नुभएको थियो- ‘छुदेनले पाँच वर्ष लगाएर पीएचडी गरेको भए डाक्टर हुन्थे, किताब लेखेर राम्रो गरे।’ आज ठ्याक्कै मलाई त्यस्तै अनुभूति भयो। किताब लेखेर सही नै भएछ भन्ने लाग्यो।
सबभन्दा ठूलो कुरा चाहिं, उरमाल ले पाउनु एउटा कुरा भयो, लामो समयपछि भारतमा मदन पुरस्कार आयो (यसअघि टिपनटापन कृतिका लागि भारत, कालिम्पोङका पारसमणि प्रधानले २०२५ सालको मदन पुरस्कार पाएका)। त्यो कुराले चाहिं मलाई धेरै भावुक बनायो।
उपन्यासले पुरस्कार पाउँदा यस किताबको परिवेश र ती चिया श्रमिकलाई कसरी सम्झनुहुन्छ?
संयोग कस्तो भने, आज दिउँसो उरमाल हेर्दै थिएँ, त्यस क्रममा किताबको अन्त्यमा आभार खण्डमा लेखेको आफ्नै भूमिका पढें। त्यस वेला पात्रहरूलाई भेट्न मन लागेको थियो। कस्तो राम्रो संयोग भयो, आजै पुरस्कार पाएको खबर आयो। फेरि एक पटक ती पात्रहरूलाई भेट्न जान्छु भन्ने लागिरहेको छ। समय मिलाएर जानेछु।
पुरस्कार पाएपछि लेखकलाई एक खालको दबाब वा दायित्वको भारले थिच्छ भनिन्छ, यसबारे के भन्नुहुन्छ?
भर्खर पुरस्कार पाएकाले अहिले चाहिं खुशी नै हुन दिनुस् (हाँस्दै)। दायित्वको कुरामा, लेखकले सधैं आफ्नो दायित्व त निर्वाह गरेकै हुन्छ। पुरस्कार पाउनु वा नपाउनुले दायित्वमा फरक पार्दैन। पुरस्कार पाएपछि चाहिं दायित्वबोध गरेर लेख्ने भन्ने हुँदैन। बरु पुरस्कारले लेख्न ऊर्जा दिन्छ। मैले लामो समयसम्म लेख्नुपर्छ भन्ने महसूस गरायो। अब तेस्रो उपन्यासको लागि पनि मैले विषयवस्तु छानिसकेको थिएँ। मदन पुरस्कारले त्यसलाई ‘गियर’ दिने काम गर्यो। मैले अझै कुद्नुपर्छ भनेर खुशीको अनुभूति गराएको छ। अब खुलेर लेख्ने हो।
तेस्रो कृति पनि भारतकै परिवेशमा हो?
हजुर, त्यसमा सिक्किमलाई केन्द्र बनाएर कथा लेख्ने सोचिरहेको छु। यो वर्षको अन्त्यसम्म चाहिं पढ्छु मात्रै। आउँदो जनवरीदेखि नयाँ किताबको लेखनमा लाग्ने योजना छ।
यो पनि पढ्नुहोस् : भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ