‘म सदैव टीकापुर घटनाका पीडितप्रति चिन्तित छु र उहाँहरूको न्याय र सुरक्षा सुनिश्चित गर्न चाहन्छु। दुर्भाग्यवश, केही मान्छे व्यक्तिगत स्वार्थमा लिप्त हुँदा आवश्यक कदम चाल्न कठिनाइ भइरहेको छ।’
टीकापुर घटना भएको १० वर्ष पुगेको छ। त्यस घटनापछि थारू विरुद्ध भएको धरपकडको विरोध र थारू मुद्दा बोकेर नागरिक उन्मुक्ति पार्टीको स्थापना भएको थियो। हाल नाउपा तीन तहको सरकारमा प्रतिनिधित्व गर्दै प्रदेशमा त सरकार बनाउने तथा गिराउने हैसियतमा छ।
नाउपाबाट जितेर आएका जनप्रतिनिधिले थारू समुदायका समस्यालाई चाहिं कसरी हेरिरहेका छन्? उनीहरूले हिजो थारू समुदायसँग गरेका वाचा कति पूरा गरेका छन्? नाउपालाई लिएर पीडितले के सोचिरहेका छन्? यिनै प्रश्न नाउपाका समर्थक तथा कार्यकर्तालाई सोधेका थियौं।
उनीहरूले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको पारिवारिक मनमुटावले तल्लो तहसम्म असर परिरहेको बताए। नाउपाका नेता सत्ताकेन्द्रित बनेको, थारू समुदायको मुद्दा नै बिर्सिसकेको, टीकापुर घटनापछि जेलजीवन बिताएका नेता तथा कार्यकर्ता र उनीहरूको परिवारलाई समेत चिन्न छाडेको आरोप थियो।
जनस्तरबाट उठेका यस्ता प्रश्नलाई नाउपा नेतृत्वले कसरी लिइरहेको छ? यिनै विषयमा केन्द्रित रहेर नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग हिमालखबरका लागि उन्नती चौधरीले गरेको कुराकानी :
साउनको अन्तिम साता हिमालखबरको टोली टीकापुर पुगेर टीकापुर घटनामा जेल परेका स्थानीय बासिन्दासँग कुराकानी गर्दा उनीहरूले तपाईंहरूप्रति आशावादी देखिए पनि नेतृत्वले वास्ता नगरेको गुनासो गरे। यसलाई कसरी लिनुहुन्छ?
पहिलो कुरा त म आफैं पनि राजबन्दी परिवारबाट आएकी हुँ। त्यसैले उहाँहरूका पीडा, अपमान र संघर्षलाई नजीकैबाट बुझेकी छु। मन्त्री हुँदा मैले राजबन्दीहरूको रिहाइका लागि धेरै पहल र प्रयास गरेको इतिहासमा लेखिएको छ। तर हामीलाई थाहा छ, कानूनी प्रक्रिया, राजनीतिक परिस्थिति र विभिन्न संवैधानिक अवरोधका कारण तत्काल समाधान सहज छैन।
म उहाँहरूको आशा र विश्वासलाई बेवास्ता गर्ने पक्षमा छैन। बरु उहाँहरूकै आवाज संसद्देखि सरकारसम्म पुगोस् भनेर निरन्तर बोलिरहेकी छु। टीकापुर मात्र होइन, जहाँ जहाँ अन्यायमा परेका नागरिक छन्, म उहाँहरूको मुद्दा उठाइरहेकी छु। यसलाई व्यक्तिगत वा भावनात्मक मात्र नभई संस्थागत र कानूनी ढाँचाबाट समाधान गर्नुपर्छ भन्ने मेरो विश्वास छ। त्यसैले वास्ता नगरेको भन्न मिल्दैन। बरु अझै जिम्मेवार ढंगले समाधान खोज्दै छु। यसलाई उहाँहरूले बुझिदिनुहुन्छ भन्ने अपेक्षा राखेकी छु।
टीकापुर घटनापछि नै तपाईंहरूको राजनीतिक यात्रा शुरू भयो। नाउपाको स्थापना भयो। स्थानीयदेखि केन्द्रसम्म जित्नु पनि भयो। अहिले थारू समुदायका माग र मुद्दालाई बिर्सेर सत्ता-शक्तिमा केन्द्रित भएको आरोप छ नि?
टीकापुर घटनापछि राजनीति शुरू गर्दा हाम्रो उद्देश्य नै थारू जनताको अधिकार र न्याय सुनिश्चित गर्नु थियो। त्यसकै लागि नागरिक उन्मुक्ति पार्टी बनेको हो। केहीले आरोप लगाउन सक्नुहुन्छ कि हामी सत्ता-शक्ति मात्र खोज्छौं। तर मेरा लागि सत्ता कुनै व्यक्तिगत स्वार्थ होइन, बरु समुदायको आवाजलाई प्रभावकारी ढंगले पुर्याउने माध्यम हो।
म आफैं थारू परिवारको पीडा र अन्याय देखेर राजनीतिमा आएको मान्छे हुँ। त्यसैले आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता कहिल्यै बिर्सिन्नँ। संसद्देखि सरकारसम्म मैले राजबन्दीको रिहाइदेखि समुदायका माग-मुद्दा निरन्तर उठाइरहेकी छु। यदि हामीले कामै नगरेको भए आजसम्म पनि राजबन्दीहरू कारागारमै हुनुहुन्थ्यो भन्ने कुरा प्रस्टसँग भन्न चाहन्छु।
टीकापुर घटनापछि धेरै जना लामो समय जेलमा बस्नुपर्यो। उनीहरूको परिवारको बिचल्ली भयो। तर अहिले नेतृत्वले आफूहरूलाई चिन्दैनन् भन्ने उनीहरूबाट गुनासो पनि आएको छ?
धेरैलाई लाग्छ, काठमाडौंमा बसेकाले मलाई सजिलो भयो होला। वास्तविकता भने अर्कै थियो। त्यो कठिन समयमा म पनि अभाव र पीडासँगै बाँच्न बाध्य थिएँ। सत्य के हो भने, राहतका नाममा सरकारबाट आएको रकम मेरो हातसम्म कहिल्यै पुगेन। मेरा ससुराजीले त्यो रकम बुझ्नुभयो र पछि रेशमजीलाई दिनुभएको रहेछ भन्ने कुरा सुनेकी हुँ। तर आफूलाई त्यसको कुनै अंश कहिल्यै प्राप्त भएन। बरु त्यस्तो कठिन समयमा ससुराले समेत बेवास्ता गर्नुभयो।
राजबन्दी परिवारको पीडा के हुन्छ भन्ने विषयमा बाहिरबाट बोल्ने मात्र होइन, भित्रैबाट बाँचेर महसूस गरेकी हुँ। त्यसैले उहाँहरूको गुनासोलाई म गलत ठान्दिनँ। तर उहाँहरूलाई नचिनेको वा वास्ता नगरेको होइन। बरु म त्यही पीडाको साक्षी भएकाले आजसम्म उहाँहरूको आवाजलाई निरन्तर उठाइरहेकी छु।
जेल बसेका व्यक्तिका परिवारले थारू नेताले जितिसकेपछि आफूहरूको पनि केही व्यवस्थापन हुन्छ, केही सहयोग हुन्छ, रोजगारी पाउँछौं, जेलबन्दी परिवार सम्मानित भएर बाँच्न पाउँछन् भन्ने आशा बोकेका थिए। तर उनीहरूको आशा त निराशामा बदलियो नि?
थारू नेताहरूले जितिसकेपछि ‘अब हाम्रो पीडा कम हुन्छ, सम्मानका साथ बाँच्न पाउँछौं’ भन्ने अपेक्षा राख्नु उहाँहरूको अधिकार नै हो। मैले आफ्नो हैसियत अनुसार सम्भव हुने कदमहरू चालेकी छु। जेलबन्दी परिवारका सदस्य श्रवण चौधरी र प्रदीप चौधरीलाई रोजगारी उपलब्ध गराएको कुरा तथ्य हो। यो सानो उदाहरण भए पनि मेरो प्रयत्न पीडित परिवारलाई सम्मानित जीवनतर्फ लैजाने थियो भन्ने हो।
क्षतिपूर्ति वा सहयोग केवल पैसाको विषय होइन, न्याय र सम्मानको विषय पनि हो। त्यसैले उहाँहरूको आवाज संसद्देखि सरकारसम्म निरन्तर पुर्याइरहेकी छु। आशा निराशामा बदलियो भन्ने गुनासो सुन्न सकिन्छ, तर मेरो तर्फबाट वास्ता नगरेको वा प्रयास नगरेको भन्ने कुरा यथार्थ होइन।
तपाईंहरूले जितिसकेपछि केही काम त पक्कै पनि गर्नुभएको होला। विशेष गरेर पीडितकै लागि भनेर के-कस्तो कामलाई प्राथमिकता दिनुभएको छ?
जनताले जिताएर पठाएपछि उहाँहरूले प्रत्यक्ष नदेखेका वा थाहा नपाएका कामहरू पनि मैले गरेकी छु। मेरा लागि सबैभन्दा ठूलो मुद्दा राजबन्दीहरूको रिहाइ थियो। संसद्देखि सरकारसम्म, मन्त्री हुँदासम्म मैले यसमा निरन्तर आवाज उठाइरहें। त्यही संघर्षको परिणामस्वरूप जेठ महीनामा रेशम चौधरी जेलमुक्त हुनुभयो। यो कुनै सामान्य उपलब्धि होइन, बरु थारू समुदायकै सम्मानसँग जोडिएको ऐतिहासिक क्षण हो।
त्यसपछि अरू राजबन्दीलाई बाहिर निकाल्ने प्रक्रियामा पनि सक्रिय रहें। मन्त्रीको हैसियतमा क्याबिनेटमा प्रस्तुत गरेर सम्भव हुने काम मैले गरेरै देखाएँ।
धेरै नेताहरूले ‘राजबन्दीलाई रिहा गर्छु’ भनेर राजनीतिक भाषण मात्र गरे, तर वास्तविक कदम चालेनन्। मैले भने परिणाम देखाएर प्रमाणित नै गरें।
टीकापुर घटनापछि जेलमा बसेका व्यक्तिका परिवारको आर्थिक अवस्था अझै दयनीय छ। उनीहरूलाई आर्थिक रूपले सशक्त बनाउन, समस्या र गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ होला?
यो यथार्थ हो। धेरैजसो जेलबन्दी परिवारले आज पनि आर्थिक रूपमा कठिनाइ भोग्नुपरेको छ। उहाँहरूको गुनासो सुन्ने मात्र होइन, समाधानतर्फ लैजानु हामी सबैको सामूहिक जिम्मेवारी हो। तर यो जिम्मेवारी कुनै एक नेताले मात्र पूरा गर्न सक्ने विषय होइन। यसमा सरकार, राजनीतिक दलहरू, नागरिक समाज, स्थानीय तह र हामी सबैको भूमिका हुन्छ। व्यक्तिगत रूपमा मैले आफ्नो हैसियत अनुसार रोजगारीको व्यवस्था गर्ने, तिनको आवाज संसद् र सरकारसम्म पुर्याउने काम गर्दै आएकी छु।
अर्थतन्त्र र सम्मान दुवै कुरा दीर्घकालीन समाधान सहित आउनुपर्छ भन्ने मेरो विश्वास हो। त्यसैले मैले यसलाई संस्थागत र नीतिगत रूपमा समाधान गर्नुपर्छ भनेर निरन्तर जोड दिंदै आएकी छु।
अघिल्लो वर्ष भदौ ७ मा अरूसँगै तपाईंहरू दुवै जना कार्यक्रममा सहभागी हुनुभयो। तर यस वर्ष भर्खरै सम्पन्न कार्यक्रममा जेल बसेका व्यक्ति र परिवारको सहभागिता थिएन। किन उनीहरू सहभागी भएनन्?
यस वर्ष धेरै जेलबन्दी परिवारले १०औं वर्षको विद्रोह दिवसमा सहभागिता जनाउन सकेनन्। यसो हुनुको मुख्य कारण केवल राजनीतिक इच्छाशक्ति मात्र होइन, बरु व्यक्तिगत स्वास्थ्य, आर्थिक अवस्था र जीवनका अन्य कठिनाइ पनि हो। मेरो आफ्नै अनुभवले पनि यो कुरा प्रमाणित गर्छ। म पनि धेरै चोटि स्वास्थ्य अवस्था बिग्रँदा उपस्थित हुन सकिनँ। कठिनाइका कारण सबैले सहभागिता जनाउन सक्दैनन्। यसलाई दोष वा अस्वीकृति भनेर हेर्नु गलत हुन्छ।
टीकापुरमा भदौ ७ गते ज्यान गुमाउनेहरूको सम्झनामा सरकारले शहीद पार्क स्थापना गरेको छ। म शहीद पार्कको व्यवस्थापन र विकासप्रति पूर्ण रूपले प्रतिबद्ध छु। स्वास्थ्य अवस्था ठीक भयो भने त्यहाँ उपस्थित भएर योगदान गर्नेछु। मेरो मन सधैं त्यो लक्ष्यमा केन्द्रित छ।
यसअघिका चुनावमा नाउपाका उम्मेदवारलाई जिताउन थारू समुदायका आमनागरिकको सक्रिय भूमिका थियो। अहिले उनीहरूले कार्यक्रममा समेत सहभागिता जनाउन छाडेपछि त्यसले त आउँदो चुनावमा असर पार्ला नि?
जेलबन्दी परिवारको सहभागिता अहिले केही कम भएको छ, तर यसलाई केवल राजनीतिक दृष्टिले नाप्नु न्यायोचित हुँदैन। धेरैजसो परिवार व्यक्तिगत कठिनाइ, स्वास्थ्य अवस्था वा आर्थिक समस्याका कारण कार्यक्रममा आउन सकिरहेका छैनन्। म आफैं पनि धेरै कठिनाइ भोग्दै आएकी व्यक्ति हुँ। त्यसैले यो स्थिति नजीकबाट बुझ्छु। उहाँहरूको अनुपस्थितिले चुनावमा केही प्रभाव पार्ने सम्भावना छ, तर दीर्घकालीन दृष्टिले राजनीतिक स्थिरता, समुदायको विश्वास र न्यायको सुनिश्चितताले अझ ठूलो भूमिका खेल्नेछ।
सकारात्मक रूपमा हेर्ने हो भने हामी सबैका लागि यो अवसर हो, उहाँहरूको विश्वास र समर्थन फेरि जित्न र हाम्रो प्रतिबद्धता देखाउन। त्यसैले व्यक्तिगत अनुपस्थिति चुनावी परिणामको अन्तिम निर्णायक होइन, बरु समुदायसँगको निरन्तर संवाद र कामले नै निर्णायक भूमिका खेल्छ।
अन्त्यमा, टीकापुर घटनामा जोडिएका धेरै मान्छे अझै फरार सूचीमा छन्। उनीहरू विस्थापित छन्। तपाईंहरू सरकारमा हुँदै गर्दा उनीहरूको अवस्था परिवर्तनका लागि के-कस्तो कदम चालिराख्नुभएको छ?
म सदैव टीकापुर घटनाका पीडितप्रति चिन्तित छु र उहाँहरूको न्याय र सुरक्षा सुनिश्चित गर्न चाहन्छु। दुर्भाग्यवश, केही मान्छे व्यक्तिगत स्वार्थमा लिप्त हुँदा आवश्यक कदम चाल्न कठिनाइ भइरहेको छ। हाम्रो पार्टीबाट पीडितहरूको अवस्था सुधार्ने कार्य जारी छ। स्वास्थ्य, पुनर्वास र कानूनी सहायता सहित उहाँहरूको जीवनस्तर सुधार्न हामी निरन्तर पहल गर्दै छौं र भविष्यमा पनि यसलाई प्राथमिकता दिनेछौं। पीडितहरूको अधिकार र न्याय सुनिश्चित हुने वातावरण निर्माण गर्न म प्रतिबद्ध छु।
यी पनि पढ्नुहोस् :