कर्फ्यूको बीचमा टीकापुरका थारू समुदायका घर र पसल जलाउनेहरूलाई १० वर्षसम्म पनि कुनै कारबाही भएन।
टीकापुरले बिर्सन चाहे पनि बिर्सन नसक्ने दिन भदौ ८ गते। थारू समुदायका निम्ति इतिहासमा कलंकका रूपमा अंकित भएको दिन हो। १० वर्षअघि आजकै दिन टीकापुरमा भएको डरलाग्दो घटना टीकापुरवासी थारूले भुलाउनै सकिरहेका छैनन्।
साउन ३० गते सम्साँझ हिमालखबर को टोली अस्पताल चोकमा रहेको निरु ट्रेडर्समा पुग्दा सञ्चालक शिवनारायण चौधरी र उनकी पत्नी निर्मलाले १० वर्षअघिको कहालीलाग्दो साँझ भुल्नै नसकिने सुनाए। के थियो थारू समुदायको सातो लिएको भदौ ८ को त्यो घटना?
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान आन्दोलनकारीको आक्रमणमा परी आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गयो। आन्दोलनकारी राजकुमार कठरिया र सुन्दरलाल कठरियालाई प्रहरीको गोली लाग्यो। कैयौं घाइते भए। भागाभाग भयो। मान्छे जति घरभित्र पसे। बजार सुनसान भयो। घटनापछि सरकारले कैलाली जिल्लालाई नै दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्यो। बजारभरि सुरक्षाकर्मीको उपस्थिति थियो।
टीकापुर बजारभित्र अधिकांश पहाडे र त्यसपछि थारूको बसोबास छ भने शहर आसपासका गाउँमा थारू समुदायको सघन बसोबास छ। नाम चलेका इलेक्ट्रोनिक्स सामान विक्रेता शिवनारायण चौधरीको घर टीकापुर बजारमै छ। उनले आफ्नै घरमा निरु ट्रेडर्स नामको पसल सञ्चालन गरेका थिए। भदौ ७ गते साँझ ७ बजेतिर उनको घर अगाडि एउटा ठूलो भीड आयो। भीडमा आएकाहरू सबै डरलाग्दो मूडमा देखिन्थे। भीडले बन्द शटर खोल्ने प्रयत्न गरिरहेको थियो।
टीकापुर घटनाकै दिन जलाइएको निरु ट्रेडर्स।
शिवनारायण दम्पती सहित माथिल्लो तलामा सुत्केरी गराउन घर बोलाएर राखिएकी उनकी साली पनि थिइन्। भीडले एउटा फलामको रडले शटरमुनिको छिद्रबाट मट्टीतेल खन्याई आगो झोसिदियो। शिवनारायण त्यो दृश्य सम्झिँदै भन्छन्, “बाहिर निस्किने अवस्था थिएन। हामी माथिल्लो तल्लामा थियौं। तल आगो लागेको छ। घरभित्र धूवाँको मुस्लो फैलंदै गयो। हामी आत्तियौं। बाहिर निस्किने ठाउँ थिएन। एक जना छिमेकी भाइको सहयोगले झ्याल तोडेर छिमेकीको घरको छतमा हाम फालेर भाग्यौं। अलिकति ढिलो भएको भए हामी सबै त्यहीं खरानी हुन्थ्यौं। त्यसैले हाम्रो परिवारका लागि भदौ ७ र ८ गते कालो दिन हो। त्यो अप्रिय घटना जति बिर्सन खोज्यो, त्यति सम्झना आइरहन्छ।”
शिवनारायणकी श्रीमती जो सरकारी विद्यालयकी शिक्षक हुन्, उनलाई भदौ ७ आउनासाथ त्यो दृश्य झल्झली दिमागमा आइहाल्छ। उनी भन्छिन्, “बहिनीलाई सुत्केरी गराउन सहज होस् भनी साउन २१ गते गाउँबाट ल्याएर राखेकी थिएँ। त्यसै दिन उसलाई व्यथाले च्याप्न थाल्यो। अस्पताल जाने अवस्था थिएन। हामी राति ९ बजे टीकापुर क्याम्पसछेउमा रहेको परशुराम कठरियाको घरमा ओत लाग्यौं र ज्यान बचायौं। बिहान ४ बजे गर्भवती बहिनीलाई त्यहीं छाडेर हामी त्यहाँबाट हिंड्यौं।”
त्यहाँबाट दम्पती लुक्दै जानकी गाउँपालिकास्थित जगतपुर गाउँको मोतीराम चौधरीको घरमा पुगे। भोलिपल्ट बिहान (भदौ ८) परशुरामले अस्पताल पुर्याए। अस्पतालमै छोरीको जन्म भयो।
शिवनारायणका अनुसार ७ गते राति दोस्रो निशाना किसान मल्टि-परियोजनालाई बनाइयो। त्यसपछि थारूहरूको तरकारी पसलहरूमा आगो लगाइयो। “परशुरामको घरबाट नियाल्दा त्यो रात टीकापुर बजार डरलाग्दो देखिन्थ्यो। रातको समय आगो दनदनी बलेको छ। बजार पूरै उज्यालो देखिन्थ्यो। सुरक्षाकर्मीहरू छेउछाउ उभिएर रमिता हेरिरहेका थिए,” शिवनारायण भन्छन्, “विद्युत्को गाडी ओहोरदोहोर गर्थ्यो। लुटिएको सामान विद्युत्को गाडीमा राख्थे। त्यही गाडीबाट सिंढी निकाल्थे र थारूका घरमा आगो लगाउँथे।”
बाँकी घर र पसलहरू भोलिपल्ट भदौ ८ गते बिहान जलाइए। आगजनीमा शिवनारायणको घरमा करोडौंको क्षति भयो। टीकापुर बस्न सक्ने अवस्था पनि थिएन। उनी मोतीरामको घरमा तीन दिन बसे। “डर यति थियो कि मलाई यहाँबाट बाहिर लैजाऊ भन्दा कोही थारूले आँट गरेनन्। त्यसपछि लम्कीका साथी सन्तोष ठकुरीलाई फोन गरे। उनले नै त्यहाँबाट निकाल्ने व्यवस्था मिलाइदिए। त्यहाँबाट ज्यान जोगाउन निस्केको म डेढ वर्ष लुकेर बसें,” उनी भन्छन्।
पछि शिवनारायण दम्पतीले सुने- भोलिपल्ट भदौ ८ मा टीकापुरका थारूहरूको घरमा छानीछानी आगजनी भयो। १०० भन्दा बढी घर जलाइए। उनी भन्छन्, “चाडपर्वका लागि भनेर झारेको सामान सबै लुटपाट गरियो। प्रहरीकै संरक्षणमा छानीछानी थारूको पसलमा तोडफोड र लूटपाट भयो। यतिसम्म कि दुई पहाडे समुदायको पसलको बीचमा थारूको पसल छ भने थारूको पसलमा मात्र लूटपाट र तोडफोड गरिन्थ्यो। यसले थारूहरूलाई तारो बनाएको प्रस्ट्याउँछ।”
कर्फ्यूमा थारूहरूको घर र व्यवसाय छानीछानी आक्रमण गरी लूटपाट गर्ने र जलाउने गरिएको घटनाको जाँचबुझपछि सरकारले १११ जनालाई क्षतिपूर्ति बापत १० करोड तीन लाख चार हजार ८१६ रुपैयाँ बाँड्यो। जिल्ला प्रशासन कार्यालय, कैलालीको सिफारिश तथा जिल्लास्तरीय सिफारिश समितिको रिपोर्टका आधारमा सिफारिश गरिएको आधारमा मन्त्रिपरिषद्को निर्णय (२०७४ वैशाख ७ गते) अनुसार सो क्षतिपूर्ति वितरण गरिएको थियो।
तर सुरक्षाकर्मीको संरक्षणमा कर्फ्यूको वेला त्यसरी लूटपाट र आगजनी गर्नेहरु को थिए? तिनलाई दुई दिनसम्म किन आगजनी गर्न दिइयो? के बजारमा राखिएका सीसीटीभीमा उनीहरुका क्रियाकलाप कैद भएनन्? किन दण्डहिनता रोक्न पनि तिनलाई अनुसन्धानको दायरामा ल्याउन आवश्यक ठानिएन? किन तिनलाई कारबाही गरिएन? यी यस्ता प्रश्न हुन् जुन अझै अनुत्तरित छन्।
व्यापारीबाट ड्राइभिङ
शिवनारायणलाई भदौ १२ गते सन्तोष ठकुरीले जगतपुरबाट भजनी नगरपालिकाको बनवरसा गाउँसम्म छोड्ने व्यवस्था मिलाइदिए। दम्पती बनवरसा गाउँमा चार दिन बसे। त्यहाँ पनि असुरक्षित महसूस भएपछि उनीहरूले मानव अधिकारवादी संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक)मा फोन गरे। इन्सेकले सीमा नजीकै रहेको बजार चन्दनचौकी बोलायो। दम्पती जसोतसो त्यहाँ पुगे। त्यहाँ लामो छलफलपछि उनीहरू भारत छिरे।
भारतको बेलरायामा पाँच दिन बसे। टीकापुरको अवस्थामा अझै सुधार आएको थिएन। तैपनि उनीहरू नेपाल फर्किए। तिकुनियाँ हुँदै बर्दियाका वीरबहादुर चौधरीको घरमा आएर पाँच दिन बसे। त्यहाँबाट काठमाडौं गए, तर त्यहाँ पनि सुरक्षित महसूस गर्न सकेनन्। उतैबाट फेरि भारतको सिंगाही गएर सात महीना बसेको शिवनारायण बताउँछन्।
टीकापुरको माहोल अलि सुधार हुन थालेपछि पुनः नेपाल फर्के। तर टीकापुर जान सकेनन्। भदौ ८ गते बच्चा जन्माउने सालीको ठेगाना जोशीपुर नगरपालिकास्थित घुसरी गाउँ पुगे। त्यो गाउँ जंगलको छेउमा पर्ने भएकाले आफूलाई त्यहाँ बस्न सुरक्षित नै लागेको शिवनारायण सुनाउँछन्। उनीहरू त्यहाँ सात महीना बसे। भाग्दा भाग्दा आफूसँग भएको पैसा सकिएपछि शिवनारायणले घुसरी गाउँमा ट्र्याक्टर जोत्ने काम गर्न थाले। त्यसबाट आएको थोरै पैसाले जीवन धान्न सजिलो भएको उनले सुनाए।
डेढ वर्ष बाहिर कटाएपछि शिवनारायणले संवाद समूह संस्थाका सुशील बस्नेतलाई घर फर्कने वातावरण मिलाइदिन आग्रह गरे। बस्नेतको पहलमा बल्ल दम्पती टीकापुर फर्किए। घर पुग्दा सामानहरू जलेर सबै खरानी भइसकेको थियो। भदौ ७ र ८ गते भएको तोडफोड र आगजनीको क्षतिपूर्तिका लागि प्रमाण पेश गर्न भनेपछि शिवनारायणले प्रमाण पेश गरे।
उनलाई सरकारले क्षतिपूर्ति बापत डेढ करोड रुपैयाँ दियो। त्यो रकमबाट उनले निरु ट्रेडर्स सुचारु गरेका छन्। “आफ्नो क्षतिको करीब ६० प्रतिशत राहत पाएपछि बल्ल खुट्टा टेक्न सक्ने आँट आयो। घर मर्मत गरें। पसलमा अलि अलि सामान थपेर पुनः व्यवसाय सञ्चालन गरें,” विगत सम्झिंदै उनी भन्छन्, “हामीले कल्पना पनि गरेका थिएनौं, यस्तो अवस्था आउँछ भनेर। श्रीमती विगतको कुरा नकोट्याऔं भन्छिन्। तर त्यो त्यसै आउँदो रहेछ। किनकि त्यो वेला हामीले धेरै पीडा सहनुपर्यो।”
टीकापुर घटनाकै दिन जलाइएको निरु ट्रेडर्स।
टीकापुर घटना हुनुपूर्व निरु ट्रेडर्स नाम चलेको पसल थियो। टीकापुर क्षेत्रमा सबैभन्दा बढी कर तिर्नेको सूचीमा निरु ट्रेडसको नाम आउँथ्यो। शिवनारायणका अनुसार उनी वार्षिक ६ लाख रुपैयाँ भ्याट मात्र तिर्थे। त्यति वेला दैनिक ९० हजारदेखि एक लाख रुपैयाँसम्म कारोबार हुने गरेको शिवनारायण बताउँछन्।
जब उनको पसलमा आगो लाग्यो, त्यो वेला सामान मात्र जलेन, वर्षौंको मिहिनेतले आर्जन गरेका ग्राहक पनि तितरबितर भए। “अहिले दैनिक १५-२० हजारको पनि बिक्री हुँदैन। त्यो वेला पसलमा १० जना जति कामदार हुन्थे,” शिवनारायण भन्छन्, “अहिले सबै आफैं गर्छु। कामदारलाई तलब दिन सक्ने अवस्था छैन। पसल बन्द गरौं भने पनि अरू केही काम जानेको छैन।”
नेतृत्वले डुबायो
टीकापुर घटनापछि थारूहरू एकीकृत भए। रेशमको नाममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) दर्ता भयो। थारूहरू एकजुट भएर नाउपाका उम्मेदवारलाई जिताए।
शिवनारायणको अनुभवमा टीकापुर घटना नघटेको भए शायद नाउपा जन्मिंदैनथ्यो। पार्टी जन्मियो र त्यसले जित्यो पनि। तर रेशम चौधरीले नाउपालाई पारिवारिक पार्टीमा सीमित गरिदिए। त्यसैले टीकापुर घटनाबाट एक भएका थारूहरू अहिले फेरि पुरानै अवस्थामा फर्किएका छन्। स्थिति डामाडोल छ। उनी भन्छन्, “जब मान्छेमा नकारात्मक भावना जाग्छ, तब समाल्न गाह्रो हुन्छ। नाउपा र रेशमको हकमा अहिले त्यही भएको हो।”
शिवनारायण चौधरी।
अहिले पनि समुदायमा ‘थारूहरू एकजुट हुनुपर्छ’ भन्ने भावना छ। साउन ३० गते टीकापुरको खानेपानी व्यवस्थापनको चुनावमा त्यसको झल्को देखियो। पहिला थारूमा यस्तो हिम्मत नहुने गरेको उनले सुनाए। अहिले थारूहरू जुनसुकै पक्षको नै किन नहोस्, थारू उम्मेदवार नै जिताउनुपर्छ, थारूहरू एकजुट हुनुपर्छ भन्ने भावना देखिएको उनको भनाइ छ।
अहिले सचेत हुन खोजिरहेको उनले बताए। तर जुन आन्दोलनले थारूलाई एकीकृत गरायो, त्यही आन्दोलनबाट जन्मेको पार्टीले थारूलाई नै चिन्न छाडेको शिवनारायणको गुनासो छ।
उनको यस्तो तिक्ततापूर्ण कटाक्ष नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठप्रति लक्षित थियो। उनले रेशम चौधरीकै अगाडि भनेको भन्दै सुनाए, “तिमी बिलकुदुवा मुसा (दुलोभित्र बस्ने मुसा) हौ। यो मुसाले ढकियाको पिंध खाएर सिध्याइसक्यो। बाँकी कार्यकर्ता थारूहरू सबै छ्रप्राकुदुवा मुसा (छानामाथि उफ्रिने) हुन्, जो माथि माथि हेर्छन्, तर दुलोभित्र के भइरहेको छ तिनलाई पत्तो छैन भन्दिएँ।”
थारूहरूको सहानुभूतिले जितेका र त्यसैको बलमा पार्टी बनाएका रेशमले थारू मतको दुरुपयोग गरिरहेको उनको भनाइ छ। आफूहरूले पीडा भोगेर भए पनि थारू मुद्दामा उनलाई साथ दिएको शिवनारायणको भनाइ छ। उनी भन्छन्, “हामीले रातदिन एक गरेर जितायौं, तर उनको क्षमता नै रहेनछ। रेशम कलाकार मात्र रहेछन्, राजनीतिक नेता होइन रहेछन्।”