बाटो ढुकेर टाउकामा रड प्रहार गर्ने वडाध्यक्षलाई राजनीतिक आडमा जोगाउन खोजिएपछि संरक्षण अभियन्ता न्यायका लागि आँधीखोलाबाट काठमाडौं आइपुगेका छन्।
लामो समयदेखि स्याङ्जाको वालिङ नगरपालिका-९ स्थित सुर्कौंदीमा बालुवा र गिट्टी उत्खनन भइरहेको थियो। उत्खनन भइरहेकै ठाउँमा पुल छ। पुलको ५०० मिटर वरपर उत्खनन गर्न नपाइने मापदण्ड छ।
आँधीखोलामा भने पुलकै वरिपरि उत्खनन भइरहेको थियो। उक्त कार्यले वरपर बस्ती र खेतबारी बगाउने जोखिम छ। उत्खनन गर्न वातावरणीय प्रभाव मूल्यांकन भएको छ कि छैन भनेर संरक्षण अभियन्ताले प्रश्न गरेका थिए। त्यसका लागि सार्वजनिक सुनुवाइ किन भएन? सूचना किन टाँसिएन?
संरक्षण अभियन्ताले यस्तै यस्तै प्रश्न गरेका थिए। प्रश्न गरेकै कारण बाटो ढुकेर रड प्रहार गरिएको संरक्षणकर्मी मेघ आले बताउँछन्।
असार ३ मा आँधीखोला संघर्ष समितिले उत्खनन भइरहेको स्थलमा राखिएको डोजरमा ब्यानर टाँसेर विरोध कार्यक्रम गरेको थियो। कार्यक्रममा उपस्थित वालिङ-१० का वडाध्यक्ष सुनिल खनालले डोजरमा टाँसेको ब्यानर च्यात्न लगाएका थिए। त्यसपछि कार्यक्रममा चर्काचर्की परेको थियो।
विवादबीच कार्यक्रम सकेर संरक्षणकर्मी आले र दिनकर नेपाल गन्तव्यमा फर्किंदै थिए। एक घण्टा जति टाढाको बाटोमा उभिइरहेका वडाध्यक्ष खनाल नेतृत्वको समूहले आले र नेपाल चढेको मोटरसाइकल रोक्यो। “बाइक रोक्ने बित्तिकै रडले टाउकामा हिर्काए। हेलमेट खोलेको थिइनँ, धन्नले जोगिएँ। हातले छेक्दा फ्य्राक्चर भयो,” नेपालले भने, “नियोजित रूपमै ज्यान मार्ने उद्देश्यले रड प्रहार गरिएको थियो, बाँच्न सफल भएँ।”
उत्खनन भइरहेको स्थान सुर्कौंदीमा भेला भएर विरोध जनाइरहेका स्थानीय।
आँधीखोलाबाट काठमाडौं आइपुगेका आले र नेपालले असार २३ मा ललितपुरको पाटनढोकामा आयोजित छलफलमा त्यो घटनाको बेलिबिस्तार सुनाए। रड प्रहारबाट नेपालको हात भाँचिएको थियो। पोखरास्थित फेवा सिटी अस्पतालमा उपचारपछि उनी काठमाडौं आएका हुन्।
आँधीखोलामा भइरहेको उत्खननबारे संरक्षण अभियन्ता नेपालले सामाजिक सञ्जालबाट थाहा पाएको बताए। सचेत नागरिक भएकाले स्थानीय स्तरमा भइरहेको दोहनबारे बोल्नुपर्ने कर्तव्य ठानेर आवाज उठाएको उनको भनाइ छ। “संरक्षणबारे बोल्दा समाज भँडुवाको ट्याग लगाइन्छ,” उनले भने, “स्थानीय स्तरमा संरक्षणकर्मी मात्र नभएर मिडियाकर्मी पनि बोल्न सक्ने अवस्था छैन।”
संरक्षणकर्मी आलेले पनि नदी दोहन भइरहेको देखेर आवाज उठाएको बताए। “विपद् व्यवस्थापन गर्ने जिम्मा समन्वय समितिलाई हुन्छ। वालिङको बजारमा जोखिम हुने भएकाले बालुवा व्यवस्थापन गरिएको भनेर कारण देखाइयो,” उनले भने, “मेरो घर त्यहीं हो। बजारभन्दा पनि स्थानीय बासिन्दा र खेतबारीलाई जोखिम छ। व्यवस्थापन गर्ने नाममा दोहन भइरहेको छ।”
ज्यान मार्ने उद्देश्यले बाटो ढुकेर रड प्रहार गर्ने वडाध्यक्ष खनाल सहित ६ जना विरुद्ध उनीहरूले उजुरी दिएका थिए। तर एक जना साजन पंगेनी मात्र पक्राउ परेका छन्। स्थानीय सरकार र प्रहरीको मिलेमतोमा आक्रमण गर्नेहरूलाई पक्राउ नगरिएको नेपालको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार शाहले भने कुटपिटमा संलग्नहरूको खोजी भइरहेको र अहिलेसम्म फेला नपरेको प्रतिक्रिया दिए। “यो राष्ट्रिय स्तरमा उठिसकेको विषय हो। विभिन्न तरीकाबाट खोजी गरिरहेका छौं,” डीएसपी शाहले भने।
कारबाही गर्न माग
ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने वडाध्यक्ष खनाल सहित आरोपितहरूलाई तत्काल पक्राउ गर्नुपर्ने अधिकारकर्मी तथा सरोकारवालाले माग गरेका छन्। छलफलमा सहभागी अधिकारकर्मी सोम निरौलाले यतिका दिनसम्म पनि मानव अधिकार आयोग र नागरिक समाजले केही नबोलेकामा चिन्ता जनाए। आरोपितलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। “यो आपराधिक क्रियाकलाप हो। भौतिक आक्रमण गरिएको छ। स्थानीय स्तरमा भ्रष्टाचार र बेथिति मौलाएको छ। त्रास र डर छ,” निरौलाले भने।
त्यस्तै, लेखक एवं अधिकारकर्मी कनकमणि दीक्षितले स्थानीय सरकारले आफूसँग भएको शक्तिको आडमा संरक्षणकर्मीलाई डन्डा लगाउनु आपत्तिजनक रहेको बताए। “लोकतन्त्रको बलियो आधार स्थानीय तह पनि हो। स्थानीय सरकारले नै डन्डा लगाउने हो भने नागरिक समाज सकिंदै जान्छ,” दीक्षितले भने।
छलफलमा सहभागी अधिकारकर्मी र संरक्षणकर्मी।
लामो समयदेखि संरक्षणका क्षेत्रमा पैरवी गर्दै आएका वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले वातावरणका विषयमा कानूनी लडाइँ लड्नेलाई समेत कठिनाइ भइरहेको बताए। “वातावरणका पक्षमा मुद्दा लड्छ भनेर बालुवा, गिट्टी र ढुंगाका ठेकेदारहरूको संस्थाले आफ्नो वकील बन्न आग्रह गर्यो। यसलाई मैले पैसाको प्रलोभनका रूपमा बुझें,” उनले भने, “संरक्षणको पक्षमा लाग्दा धम्की, प्रलोभन र ज्यानै जाने खतरा हरेक दिन जस्तो भोग्नुपरेको छ।”
त्यस्तै, संरक्षणकर्मी अर्जुन ढकालले ढुंगा, गिट्टी र बालुवाबाट आर्थिक उपार्जन हुने गरेकाले राजनीति गर्ने धेरैको आम्दानीको स्रोत नदीजन्य पदार्थ भएको बताए। “यो देशभरको समस्या हो। यसका विरुद्ध सबैले बोल्न जरूरी छ,” ढकालले भने।
वातावरणविद् भूषण तुलाधरले आँधीखोलाको अपराधलाई राजनीतीकरण गरेर सामान्यीकरण गर्न खोजेको आरोप लगाए। यसमा संलग्नलाई कारबाही हुनुपर्ने उनको भनाइ थियो। “यो आक्रमण आजीवन नदी संरक्षणमा लागेका मान्छेलाई गरिएको हो,” तुलाधरले भने।
यो पनि पढ्नुहोस् : संरक्षणकर्मी आफैं असुरक्षित