बुद्धले ईश्वरको अस्तित्व नकारे, तर अनुयायीले उनैलाई ईश्वर बनाए भनिनु बौद्ध विषयवस्तुलाई गहिरिएर नभई परैबाट झलक्क हेरेर बनाइएको फोस्रो धारणा मात्र हो।
बसन्त महर्जन
बौद्ध धर्म-दर्शनमा ईश्वरको अस्तित्व छैन। बुद्ध पूर्णतः अनीश्वरवादी हुन्। यस हिसाबले उनका अनुयायी पनि अनीश्वरवादी हुने भइहाले। प्रत्येक बौद्धको दैनन्दिनी र जीवनभरको दर्शनमा ईश्वर सम्बन्धी प्रसंग कतै उठ्दैन। तापनि बुद्ध र बौद्धबारे एउटा आलोचनात्मक टिप्पणी भइरहन्छ– बुद्धले ईश्वरको अस्तित्व नकारे, तर अनुयायीले उनैलाई ईश्वर बनाएर पूजा गरिदिए। यस्तो टिप्पणी बुद्ध, बौद्ध धर्म-दर्शन र बौद्ध समाज अनुकूल पटक्कै छैन। अर्थात् बौद्ध विषयवस्तुलाई नजीकबाट नियालेर नभई बाहिरबाट झलक्क देखे-सुनेका भरमा बनाइएको धारणा हो यो।
कतिपय धर्म-परम्पराले परमसत्ताका रूपमा ईश्वरको अस्तित्व स्विकार्छन्। तर जीवन-जगत्का सम्बन्धमा बुद्धले जुन साधना-मार्ग देखाए, त्यसमा ईश्वरको कुनै भूमिका छैन। बौद्ध ग्रन्थहरूमा उल्लेख भए अनुुसार बुद्धलाई पनि कतिपय व्यक्ति परमसत्ताबारे सोध्न आउँथे। तर उनी उक्त प्रश्नमा मौन बस्थे र पछि अरू कुनै वैकल्पिक जवाफ दिन्थे। त्यो जवाफबाट प्रश्नकर्ता सन्तुष्ट भएरै फर्कन्थे।
बुद्धले ईश्वरीय परमसत्ता सहित १० वटा प्रश्नमा मौनावलम्बन गर्ने गरेको पाइन्छ। बौद्ध समाजमा तिनलाई ‘दश अव्याकृत प्रश्न’ भनिन्छ। बुद्ध ती प्रश्नमा मौन बस्नुको कारण हो– प्रश्नकर्ताले कहींकतैबाट तिनको जवाफ पाउनु र नपाउनुले उसको जीवनको समस्यासँग कुनै सम्बन्ध नराख्नु। पालि वाङ्मयमा ईश्वर शब्द ‘इस्सर’ का रूपमा प्रयोग भएको पाइन्छ। ईश्वरको खोजीमा अनेकौं ठाउँ भौंतारिएका तत्कालीन एक ऋद्धिवान् भिक्षु अन्ततः बुद्धसँग सोध्न आएका थिए। तब बुद्धले धर्मको कुरा कतै भेट्यौ त भनेर उनैलाई प्रतिप्रश्न गर्दै उनको प्रश्न नै औचित्यहीन रहेको संकेत गरेका थिए। मतलब, बुद्ध र बौद्ध धर्मदर्शन अनीश्वरवादी हुन्।
यस्तोमा बुद्धका अनुयायीले उनलाई ईश्वर नै बनाएर पूजा गरेका हुन् त? पूजा गरिएको जरूर हो, तर ईश्वर बनाइएको कदापि होइन। पूजा चाहिं किन गरेका हुन् भने बुद्ध स्वयंले उपदेश गरेका छन्- ‘पूज च पूजनीय’ अर्थात् जो लायक छ उसको पूजा गर्नू। अनुयायीले आफूले श्रद्धा गरेका र आफूलाई मार्गदर्शन गरेका व्यक्तिले भनेको मान्नु स्वाभाविक हो। अनुकरणीय व्यक्तिलाई सम्झनु र गुणानुस्मरण गर्नुमा के आपत्ति भयो र?
दिवंगत कवि, लेखक, कलाकार, समाजसेवी, शिक्षक, राजनेता, शहीद आदिका नाममा वर्षैभरि विभिन्न कार्यक्रम गर्दै तिनका तस्वीर/मूर्तिमा माल्यार्पण तथा नमस्कार गरिनु पनि पूजा हो। शिक्षक-अध्यापकहरूलाई जहाँ भेट्दा पनि नमस्कार गर्नु हाम्रो संस्कार नै हो। यस्ता सबै श्रद्धा र आदर-सत्कार पूजा नै हुन्। पूजाको तरीका मात्र फरक हुने हो। यस अर्थमा बुद्धपूजालाई मात्र अन्यथा लिइनु मनासिब हुँदैन।
बुद्ध व्यक्तिविशेषको नाम नभएर गुणवाचक शब्द हो। यसले एउटा विशिष्ट गुण वा अवस्था जनाउँछ। निश्चित साधनाविधि पुर्याएर थुप्रै जन्ममृत्युको चक्रमा पिल्सिंदै क्लेशावरण र ज्ञेयावरण हटाई आइन्दा पुनर्जन्म लिनै नपर्ने भइसकेकालाई बुद्ध भनिन्छ। बुद्धका रूपमा कोही पनि अवतार लिन आउने होइनन्। बुद्ध अनेकौं हुन्छन्। अघिल्लो बुद्धको अवतार पछिल्लो बुद्ध होइनन्। यी बेग्लाबेग्लै हुन्। तिनले जीवन-जगत्लाई जुन रूपमा देखे, त्यही कुरा सर्वसाधारणलाई उपदेशका रूपमा सिकाउने हुन्। बुद्ध आफैंमा मुक्तिदाता नभएर मुक्तिका पथप्रदर्शक मात्र हुन्। बुद्धको वन्दना गर्ने क्रममा बौद्धहरू उनलाई शास्ता (मार्गदर्शक) भनी स्मरण गर्छन्।
‘सत्था देव मनुस्सानं’ अर्थात् बुद्धलाई देव र मनुष्य सबैका मार्गदर्शक भनिएको छ। अब प्रश्न उठ्छ– बुद्ध कसरी देवताका पनि मार्गदर्शक हुन्? ईश्वर नमान्ने तर देवता मान्ने कुरा पनि अलि विरोधाभासी भएन र? यहाँ बुझ्नुपर्ने कुरा के भने, ईश्वर मान्ने धर्ममा पनि देव वर्गलाई ईश्वरभन्दा बेग्लै राखिएको पाइन्छ। ती देवदेवताका सम्बन्धमा बेग्लै मूल्यमान्यता हुन्छन्।
जीवन-जगत्मा सबै कुराको निर्धारण हेतु र प्रत्यय अर्थात् कार्यकारणको सिद्धान्त अनुसार हुुने बौद्ध धर्म-दर्शनको मत छ। जस्तो- कोही मान्छे यत्तिकै धनी हुँदैन। त्यसको पृष्ठभूमिमा उसको मिहिनेत, सुझबुझ, इमानदारी, पुरस्कार आदि कारण हुन सक्छन्। गरीबीमा पनि अनेक कारणले भूमिका खेलेका हुन्छन्। राम्रो काम गरेर पुण्य सञ्चय गरे नतीजा पनि त्यस्तै हुन्छ।
नराम्रो कामको नतीजा पनि नराम्रै हुन्छ। नतीजा वर्तमान मात्र नभएर भविष्यको जीवनमा पनि मिल्न सक्छ। भविष्यको जीवन भनेको मृत्युपछि मिल्ने मनुष्यकै वा अन्य योनिको जीवन हो। बौद्ध धर्मले षड्लोकको कुरा गर्छ। त्यसमा एउटा हो, देवलोक। त्यहाँ जन्मने देवता हुन्छन्, तर ती अजर-अमर नभएर नाशवान् हुन्छन्। पुण्यको सञ्चय क्षय हुँदै गएपछि देवताहरू देवलोकबाट च्युत भई अर्कै लोकमा जन्मिन पुग्छन्। यसको तात्पर्य देवता पनि जन्म-मृत्युको चक्रमा पिल्सिएर दुःख पाइरहेका अन्य प्राणी जस्तै हुन्। यसैले बौद्ध समाजमा देवतालाई उचित स्थान दिइए पनि पूजा गरिंदैन।
लुम्बिनीमा गौतम बुद्धको जन्म-प्रसंगलाई उदाहरण लिऔं– माता मायादेवी सुत्केरी हुँदाका बखत इन्द्र र ब्रह्मा पनि उपस्थित रहेको वर्णन पाइन्छ। यो कुरा जन्म सम्बन्धी विभिन्न मूर्ति तथा चित्रकलामा पनि देखिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के भने, यी इन्द्र र ब्रह्मा हिन्दू धर्मग्रन्थमा उल्लेख भए जस्ता यिनै नामका देवता होइनन्।
हिन्दू धर्मग्रन्थमा इन्द्र र ब्रह्मा दुई व्यक्ति हुन् भने बौद्ध सन्दर्भमा असंख्य इन्द्र र ब्रह्मा हुन्छन्। महाब्रह्मा भनेर बेग्लै पात्र पनि हुन्छन्। बौद्ध धर्म-दर्शन अनुसार गौतम बुद्धलाई जन्म दिएपछि मृत्यु भएकी मायादेवी त्यसपछि त्रायंतीश नामक देवलोकमा देवपुत्रका रूपमा जन्म लिन्छिन्। आफूलाई लुम्बिनीमा जन्म दिएकोमा कृतार्थ हुँदै गौतम बुद्ध त्रायंतीश देवलोकमा गएर भेटी उनलाई उपदेश दिएको प्रसंग बौद्ध वाङ्मयमा बडो रोचक ढंगले वर्णित छ।
बुद्धवचनहरूको संग्रह सूत्तपिटक, विनयपिटक र अभिधम्मपिटकको संयुक्त नाम ‘त्रिपिटक’ हो। अभिधम्मपिटकमा संगृहीत उपदेश उनले त्रायंतीश देवलोकमा दिएको उपदेश मानिन्छ। लुम्बिनीमा गौतम बुद्धको जन्मअघिदेखि नै शिशुको सुरक्षामा देवताहरू खटिएको, जन्म र बुद्धत्व लाभका वेला खुशी भएको तथा बुद्धको उपदेश सुनेर तिनले धर्मलाभ गरेको प्रसंग त्रिपिटकमा अनेकौं पटक उल्लेख छ। भौतिकवादीलाई देवता सम्बन्धी यो प्रसंग रुचिकर होइन। तर बुझ्नुपर्ने कुरा, बुद्ध स्वयं भौतिकवादी होइनन्। भौतिकवादलाई उनले मिथ्यादृष्टि भनेका छन्। यी दुई बेग्लाबेग्लै दृष्टिकोण रहेको कुरालाई ध्यान दिइनुपर्छ।
काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा बडो उत्सवपूर्वक ‘करुणामय द्यःया जात्रा’ मनाउने परम्परा छ। करुणामय द्यःयाको अर्थ हो, करुणामय नामका देवता। बौद्ध धर्म-दर्शनको ‘महायान’ सम्प्रदायमा अवलोकितेश्वरको प्रसंग आउँछ। बुद्ध बन्ने संकल्प लिएर बोधिचर्या गरिरहने सत्त्वहरू बोधिसत्त्व हुन् भने बोधिसत्त्व भएर सम्पूर्ण पारमी (साधना) पूरा गरी बुद्धत्व लाभ गर्ने हैसियत राखेर पनि लोकको कल्याणमै लागिरहने संकल्प लिनेलाई ‘अवलोकितेश्वर’ भनिन्छ। यस्ता अवलोकितेश्वरको संख्या ३६० रहेको प्रसंगहरू पाइए पनि मुख्य रूपमा १०८ वटालाई मानिन्छ। यी अवलोकितेश्वर करुणाका प्रतिमूर्ति रहेकाले करुणामय पनि भनिन्छ। बोधिसत्त्व वा अवलोकितेश्वर देवता होइनन्, तीभन्दा फरक र उच्च हुन्। तर ‘करुणामय द्यः’ भनिनु बौद्ध समाजकै लागि ताज्जुबको कुरा हो।
काठमाडौंका नेवार बौद्धहरू हिन्दू आदर्शबाट प्रभावित रहेको र त्यहाँ देवतालाई उच्च स्थानमा राखिने भएकाले करुणामयलाई पनि त्यही सम्मान दिई सम्बोधन गरिएको बुझ्न सकिन्छ। नेवार बौद्धहरूले तारा लगायत अन्यलाई पनि देवता भनी पूजा गर्दै आएका छन्। उनीहरूले बुद्धलाई नै ‘भगवान् द्यः’ भन्ने गरेका छन्। यहाँ भगवान्को तात्पर्य गौतम बुद्ध मात्र नभएर उनीभन्दा अघिका अन्य मानुषी तथा ध्यानी बुद्ध पनि हुन्। तर द्यः भन्ने चलन बाह्य प्रभाव मात्र हो। विश्वस्तरीय कवि रवीन्द्रनाथ टैगोर लगायत केही अन्यले गौतम बुद्धलाई ‘बुद्धदेव’ लेखेको पाइन्छ जुन बौद्ध धर्म-दर्शनसम्मत कुरा होइन।
निष्कर्ष के भने, बौद्ध धर्ममा देवताहरूको प्रसंग रहे पनि तिनको पूजा गरिंदैन। बुद्ध तथा बोधिसत्त्व देवता होइनन्। यसमा ईश्वरको अस्तित्वलाई पूर्णतः अस्वीकार गरिएको छ। तसर्थ बौद्धहरू अनीश्वरवादी नै रहेको कुरा बुझिए यो विषयसँग जोडेर आलोचना गर्नुपर्ने ठाउँ नै रहँदैन।
यी पनि पढ्नुहोस्